site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ऊर्जा दिने किताब : जीवन काँडा कि फूल

‘जीवन काँडा कि फूल’ एक आत्मपरक कथा हो, जसमा झमक घिमिरेले पढ्न र लेख्नका लागि गरेका संघर्ष र कठिनाई व्यक्त गरेकी छन् । उनी एक प्रेरणादायक महिला हुन्, जसले मस्तिष्क पक्षघात भए तापनि कहिल्यै हार मानिनन् । उनको शरीरका प्रायः अंगहरूले काम गर्दैनन् । उनी न त हात चलाउन सक्छिन् न त बोल्न नै । उनको आफ्नै परिवारका सदस्यहरूले नै उनलाई घृणा गर्थे । उनकी हजुरआमाले भने उनको हेरचाह गर्थिन् । उनलाई खुवाउँथिन्, नुहाइदिन्थिन् र उनलाई बाँकी जीवन ओछ्यानमै बिताउनबाट रोकिन् ।

दुर्भाग्यवश ! उनकी हजुरआमा उनको आफ्नै आँखाअगाडि बितिन् । उनी त्यति बेला सानै थिइन् । त्यसैले पनि केही गर्न सकिनन् । उनी आशा गर्थिन्, उनकी हजुरआमा फिर्ता आउनुहुन्छ भन्ने ! तर, त्यो कहिल्यै भएन । त्यस बेला उनका आमाबुबा उनको हजुरआमाको मृत्यु शोकमा थिए । तसर्थ, उनले आफ्नो खुट्टाको मद्दतबाट खाना खान सिक्न थालिन् । त्यसअघि, उनलाई या त उनका आमाबुबा वा उनकी सानिमाले खुवाउनुपर्थ्यो । तर, यो त्यस क्षण सम्भव थिएन ।

उनी अबोध बालिका थिइन्, जो समाजको घृणाका बीच हुर्किन् । उनले आफ्ना मनका भावना कहिल्यै बोल्न सकिनन् । उनलाई पशुजस्तै व्यवहार गरिन्थ्यो र उनको आफ्नै परिवारले उनलाई बोझका रूपमा हेर्थ्यो । उनले शारीरिक अपांगताका कारण नै समाजबाट भेदभाव सहन पर्यो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनीसँग कुराकानी गर्ने कुनै माध्यम थिएन । हजुरआमाको मृत्युपछि झमक पनि मरिदिए हुन्थ्यो भनेर मानिस सुनाउँथे । झमकसँग यस्ता अपशब्द सुनेर पनि चुप लाग्नुबाहेक अरू कुनै विकल्प थिएन ।

उनी सधैँ नयाँ कुरा सिक्नका लागि उत्साहित हुन्थिन् । तर, उनका आमाबुबाले यो कोसिसलाई बेकारका रूपमा लिने गर्थे । जब उनको बुबा बहिनीलाई पढाउँथे, उनी टाढाबाटै अवलोकन गर्थिन् । उनी आफ्नी बहिनीले अक्षरहरू उच्चारण गरेको सुन्थिन् र मनमनै त्यही गर्थिन् ।

बुबाले आफ्नी बहिनीको हात समातेकोे र उनलाई कागजमा अक्षरहरू लेख्न सिकाएको हेरिरहन्थिन् झमक । यसरी उनी निरन्तर अभ्यास गर्न थालिन् । उनको कलम, शीतका थोपाहरू, बाँसको डाँठ वा साना ढुंगाहरू र कागजचाहिँ प्रकृति थियो । जब उनले पहिलोपटक अक्षर लेख्न सिकेकी थिइन्, त्यो खुसी बाँड्ने कोही थिएनन् ।

विस्तारै उनले शब्द र वाक्य निर्माण गर्न थालिन् । पछि गएर उनकी बहिनी मीना उनका लागि धेरै सहयोगी भइन् । उनी हरेकपल्ट आफ्नो विद्यालयबाट दिदीलाई पढ्न भनेर घरमा पढ्न नयाँ किताबहरू बोकेर ल्याउँथिन् ।
केही समयपछि मानिसले झमकलाई खुट्टाबाट लेख्ने केटीका रूपमा चिन्न थाले । उनलाई भेट्न आउँथे । उनी भने आफ्नो कामहरूका लागि चिनिन चाहन्थिन् । अरू केहीका लागि होइन ।

त्यसरी कलम चलाउँदै जाँदा उनले कविता, निबन्ध आदि लेख्न थालिन् । उनलाई पनि पहिचान मिल्दै गयो । उनी आफ्ना लेखनबाट सम्मानित पनि भइन् । पछि गएर उनले कान्तिपुरमा पनि नियमित लेख्न थालिन् । तर, जीवन त्यति बेला सहज थिएन । किनकि, देशमा अराजकता थियो । द्वन्द्वकालमा उनले लेख्नुभन्दा अगाडि धेरैपटक सोच्नुपर्थ्यो । किनकि, त्यहाँ कुनै पनि समयमा र कहीँ पनि कसैको मृत्यु हुन सक्थ्यो ।

उनी कहिलेकाहीँ सोच्थिन् पनि, उनलाई अपांगता भएका महिला भएकाले मात्र छोडिएको हो । उनले बाल्यकालमा पाउन नसकेका स्वतन्त्रता पाउनका लागि आफ्नो जीवनमा धेरै संघर्ष र चुनौतीहरूको सामना गरिन् र जितिन् पनि ।

झमक घिमिरेलाई नेपाली हेलेन केलर पनि भन्ने गरिन्छ । किनभने, उनीहरू दुवै एउटै अवस्था, मस्तिष्क पक्षाघातबाट पीडित । केलरको विपरीत उनी एक गरिब परिवारकी, जहाँ उनका आमाबुबाले शारीरिक अपांगता भएका बालिकाले पीडा भोग्नुको सट्टा मर्नु ठिक सम्झिन्थे !

समाजले उनलाई बेकार काँडाका रूपमा लिएता पनि उनी यो निष्कर्षमा पुगेकी छन् कि जीवन एउटा फूल हो, काँडा होइन । यदि, फूलहरू मात्र भए जिन्दगी झनै खराब हुन्थ्योे र काँडा नभएको भए मानिस जीवनलाई राम्रो बनाउने कुनै प्रयास नै गर्दैनथे भन्ने उनको दृष्टिकोण छ ।

‘जीवन काँडा कि फूल’ एक प्रेरणादायक पुस्तक हो, जसले हामीलाई केही न केही गर्ने ऊर्जा दिइरहेको हुन्छ । यदि, हामी जान्ने इच्छा राख्छौँ भने यो पुस्तकले मार्गनिर्देश पनि गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro