site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
फेरि दसैँ आयो तर देशको दशा सुध्रिएन

घुमिफिरी फेरि दसैँ आयो । मानव सभ्यताले निर्धारित  समय मापनको विधिमध्ये विक्रम सम्वत्को तिथिमिति मिलाएर यस वर्षको दसैँ पनि सदा झैँ हाम्रो घर आँगनमा टप्किएको छ । बडादसैँ र विजया दशमी भनी पनि पुकारिने प्रत्येक दसैँमा हामी आगामी दिन मंगलमय बन्ने शुभकामना लिन्छौँ, दिन्छौँ । वास्तविकता भने त्यति सुखद  छैन । यद्यपि समग्रमा दुःखद पनि भन्न मिल्दैन । 

कृषि कर्मबाट फुर्सद मिलेपछि आप्तजनसँग सामूहिक भेटघाट र खानपिनसँगै रमाइलो गर्ने अवसरमा विकसित गरिएको मानिने चाडपर्वमध्ये दसैँसमेत एक हो । विविध संस्कृतिको धनी नेपालमा मनाइने सबैजसो पर्वहरू प्रकृति, मौसम वा कृषि कर्मसँग निकटता रहेको बुझिन्छ । तिनको व्याख्या पनि यसरी नै गरेको सुनिन्छ । 

जुनसुकै कारण र मौसममा मनाइए पनि हाम्रा नेपाली चाडपर्व अन्ततः संस्कृति र राष्ट्रिय पहिचानको माध्यम बनेका छन् । वैश्विक संस्कृति पनि अधिक चाड पर्वसँग जोडिएकै छन् । सबैका पर्वको आआफ्नै विशेषता र व्याख्या भए पनि ती संस्कृतिको प्रमुख पहिचानसमेत बनेका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रकृतिको चिनारी दिने, कर्मसँग जोडिएको चाडपर्व क्रमशः विकसित हँुदै सामाजिक संस्कार, संस्कृति बनेको हुनुपर्छ । सन्दर्भ दसैँको पृष्ठभूमि पनि यही हो । सम्बद्ध जीवन जगत्लाई प्रत्यक्ष, परोक्ष प्रभावित गर्ने आरम्भमा अंकुरित विषयले निरन्तरको अभ्यासमा झाँगिएर चाडपर्वले बहुआयामिक प्रभाव पारेको छ । 

कर्मसँग जोडियो, धर्मसँग जोडियो । आस्थाको भाव बन्यो र आर्थिक, सामाजिक मेलमिलापको गतिविधि भयो । अब दसैँ कर्मधर्म मात्रैमा सीमित रहेन । व्यापक आर्थिक, व्यापारिक र उत्पादन, उपभोगको संस्कृति पनि बन्यो । यसरी चाडपर्व जीवनपद्धतिको महत्त्वपूर्ण स्रोत, सिर्जना बनेको देखिन्छ । सुरुमा सकारात्मक तर नकारात्मक दृश्यसमेत पर्वमा देखिन थालेको पनि वर्षौं भएको छ । 

Royal Enfield Island Ad

तामझाम र आडम्बर नै सामाजिक मर्यादा ठान्ने कथित धनीमानीको व्यवहारले हुँदा खाने वर्गलाई मर्मान्त चोट दिने नै भयो । तिनका केटाकेटीको ठाँटबाठ र आफ्ना केटाकेटीको खाली पेट, नांगो आँङ ? पैसा नहुने बाआमाले के भनी सम्झाउलान् आफ्ना अदना  बालबच्चालाई । तिनको लालसा बालखैमा निमोठिएको छ । संस्कृतिमा थपिएको निष्ठुरी विकृति । 

नेपाली समाजले कति दसैँ मनायो होला ? जति वर्ष बिते, जति विकसित भनियो त्यति नै गहिरो बनेको खाडलको दुई किनारामा दुई वर्ग उभिएको छ । सम्पन्न र विपन्न । निम्नमध्यमलाई धौधौ छ, मध्यम वर्ग आडम्बरी वर्गतिरै लहसिन उत्सुक हुन्छ । देशमा यस्तो अवस्था किन सुध्रिएन ? झन् थप बिग्रियो किन ?

यो त भयो हाम्रो आर्थिक, सामाजिक दृश्यको ऐना । राजनीतिक परिदृश्य पनि सुन्दर छैन । हुन्थ्यो भने आर्थिक दृश्य पनि अलि संलो देखिने थियो । धमिलो राजनीतिले अमिलो अर्थस्थिति हाम्रो नियति नै बन्यो । सुध्रिन्छ कहिले, प्रतीक्षामै वर्षौं गुमे, पुस्तौँ बिते । राजनीतिले नै बिगार्यो, राजनीतिले नै सुधार्ने हो, राजनीति नै सुध्रिने हो । केही सुधारेको पनि त छ । पूरै नकारात्मक र निराशा होइन ।

मानिसको खुसी असीमित छ । कति हुँदा खुसी, के हुँदा पर्याप्त खुसी वा कति नहुँदा दुःखी, के नहुँदा बेखुसी ? यसको सीमा छ र ? असीमित । फुलेको पारिजात, हाम्रोतिर शृंगारको फूल पुकारिन्छ । आफ्नै अनुभूति, गमलाको त्यही पोथ्रोमा कोपिला देखिएको केही दिन बिते, आजै एउटा फूल सुगन्धित फक्रिए छ । रमाइलो खुसी लाग्यो, अनायास मुसुक्क ओठ विस्फारित भएछ । सबै वेदना बिलाए, तत्क्षण खुसी दियो एक थुँगा फूलले ।

मानिसको खुुसीको कारण ? सीमा छ ? असीमित छ । लाखौं हुनेलाई करोडौं चाहिएको छ । करोडौंलाई अर्बौं, खबौंको लोभ छ । त्यसैले त तस्करी टिकेको छ, माफियागिरी उच्च छ । भ्रष्टाचार मौलाएको छ । असीमित विकृति । खुसीको सीमा छैन,असीमित । शुद्ध श्रम मिहिनेत पनि यही समाजमा छ । 

ती केटाकेटीले मनपरी, भेटभरी दसैँ परिकार पाए, एकसरो नयाँ लुगा तिनको आंगले भेटे ? तिनको खुसी शृंगारको एक थुँगा फूलले दिएको भन्दा धेरै बढी रमाइलो हुनेथियो । खाना, नानामा त तिनले दसैं चिन्ने थिए । आफ्ना बा आमासित तिनको प्रेमको सीमा कति पुग्ने थियो ? असीमित ।    

सम्पन्न, विपन्न खाडल गहिँरिदो छ । केहीको उत्थान भएको छ, केहीको पतन । अर्थको मर्म छोडेर पर्वले पुनः धारण गरिरहेको सहिष्णुतातिर हेरौँ । यही राजनीति हो, जसले पर्वलाई पनि द्वन्द्वको अखडा बनायो । संस्कृति संस्कृतिबीच वैमनस्य खडा गर्यो । जातिजाति, क्षेत्रक्षेत्रलाई लडाउन खोज्यो । राजनीतिक स्वार्थको विषालु खेती गर्यो । 

‘वादे वादे जायते तत्त्व बोध ।’ मानिसको चेतनालाई राजनीतिले मात्रै निर्देशित गर्ने होइन रहेछ । समाजमा त्यो विवेकी शक्ति पनि विद्यमान हुने रहेछ । स्वतन्त्र चिन्तक विवेक । यही विवेकले समाज र व्यक्तिलाई उन्नत वा सुसंस्कृत संस्कारतिर लाग्न प्रेरित गर्ने रहेछ । विविध नेपाली संस्कृतिको द्योतक विभिन्न चाडपर्वप्रति सबैमा देखिएको सहिष्णुता र सम्मान यही विवेकी चिन्तकहरुको बहसको देन हो । नकारात्मक उद्देश्यमाथि विकेकी बहसको प्रहारले समाजलाई सकारात्मक परिणामतिर धकेल्यो ।

वादेवादे..... । 

राजनीतिले फटाउन खोजेको हाम्रो मन यस्तै विवेकी चिन्तकले जोडे । सबै राजनीतिक पात्रलाई एउटै डालोमा हाल्न पनि हुँदैन । केही फोर्न खोज्ने भए पनि यही राजनीतिमा जोड्न चाहने पनि त देखिए । बहु धर्म, संस्कृति रहेको समाजमा खास विशेषतासमेत हुने रहेछ । आआफ्नो धर्म,संस्कृतिको उत्थान र सम्मान चाहनेले अन्यको धर्म संस्कृतिको पनि सम्मान गर्नुपर्ने सिक्दो रहेछ । अरुको सम्मानले आफ्नो सम्मान बढ्ने बुझ्दो रहेछ । यही बुझाइले सांस्कृतिक सहिष्णुताको आधुनिक संस्कारमा नेपाल पुनः प्रवेश गर्दै छ । 

दसैंको सन्देश पनि सम्मान सूचक छ । मेलमिलाप, बा आमा, आफन्त र सबै प्रियजनको शुभकामना, आशीर्वचन ग्रहण गर्ने, पाउने सन्देश सूचक बडादसैं । पूर्वीय वा हाम्रो नेपाली संस्कार प्रकृति, परिवार र सबैप्रति अनुग्रह राख्न प्रेरित गर्छ । यही हाम्रो संस्कृतिको मूल हो ।   

पर्वलाई जोडेर राजनीतिले उत्पन्न गरेको सही, बेसही बहसमा सहिष्णु विवेकी मतले सकारात्मक परिणामतिर सामाजिक चेतलाई लक्षित  गर्यो । सबै बहसको परिणाम नकारात्मक हुँदैन, बहसले धेरैजसो सकारात्मक निष्कर्ष दिने गर्छ । राजनीतिले विगार्यो कि सुधार्यो ? धेरै बिगारेको छ केही सुधारेको पनि । कसले बिगार्यो होइन जे गर्यो यहीे राजनीतिले । 

कसैले आधा भाग पानी रहेको गिलासलाई आधा भरिएको भन्ला तर त्यो भरिएको चाहिँ होइन नि । खास अर्थ खाली भन्ने नै बुझिन्छ । भरिएको स्थिति त भरिनुमै पो हुन्छ नि ? आधा पेटलाई कसले भरियो भन्छ ? त्यसैले राजनीतिले कति बिगार्यो, कति सपार्यो ? धेरै बिगारेको छ । 

कति दसैँ आए, गए । फेरि आयो दसैं तर देशको अर्थ अवस्था वा जनताको खासगरी विपन्न वर्ग झन् बढी विपन्न हुँदैछ । केही अपवाद होलान् । राजनीति पनि सुध्रिएको अनुभूति कसैसँग छ ? सत्तामा हुनेको दृष्टिदोषको कुरा भिन्नै । समग्र यथार्थमा उही आधा भरिएको गिलास खाली जस्तै ।   
 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १४:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro