बीबीसी । कम्पनी गुगल, हावामा प्रकाशको किरण मार्फत उच्च गतियुक्त ‘हाइ–स्पीड इन्टरनेट’ सेवा ल्याउनमा सफल भएको छ ।
यसबाट कङ्गो खोला पारि डाटा ट्रान्समिट गर्न सकिनेछ जसको अर्थ ब्राजाभिल र किनशाका १ करोड ७० लाख नागरिकहरुले सस्तो र तिव्र गतिमा इन्टरनेट चलाउन पाउनेछन् ।
प्रोजेक्ट तारा, गुगलको सहायक कम्पनी अल्फाबेटको अति महत्वकांक्षी परियोजना थियो । यो परियोजनाको उत्पति प्रोजेक्ट लुनबाट भएको थियो जसमा वायुमण्डलको ‘स्ट्राटोस्फियर’ तहमा बेलुनको प्रयोग गरिएको थियो ।
यो हालैको आविस्कारले विशेष रुपमा दुई अफ्रिकी शहरबीच ‘कनेक्टिभिटी ग्याप’ हटाएको छ । रिपब्लिक अफ कंगोको ब्राजाभिल र डेमोक्रेटिक रिपब्लिक अफ कंगोको किन्सहासा शहर केबल दुई माइलको दुरीमा भएपनि यी दुवै शहरलाई इन्टरनेट मार्फत जोड्न अत्यन्तै कठिन थियो । परम्परागत केबल प्रयोग गर्दा नदि पार गर्नुपर्ने हुँदा ब्रोडबान्डको शूल्क पाँच गुणा महङ्गो बन्न पुगेको थियो ।
तर अब ‘वायरलेस अप्टिकल कम्युनिकेसन (डब्लूओसी) सिस्टम’ राखिसकेपछि यसले २० दिनमा ९९.९९ प्रतिशत उपलब्धता सहितको ७०० टेराबाइट्स इन्टरनेट डाटा प्रदान गर्नेछ । भविष्यमा सबै किसिमको मौसममा यसले काम गर्नेछ भन्ने अपेक्षा नभएपनि ताराको लिंकले दुई शहरका १ करोड ७० लाख मानिसहरुलाई छिटो र सस्तो इन्टरनेट सेवा दिलाउन सकेकामा खुसी जनाइएको छ ।
यो प्रणालीले एकदम साँघुरो र हाम्रो आँखाले नदेख्ने प्रकाशका किरणहरु प्रयोग गरि उच्च गतिको डाटा प्रदान गर्न सक्छ जुन परम्परागत फाइबर जडान गरिए जत्तिकै राम्ररी चल्नेछ । त्यस्तै यसले चरा लगायत विभिन्न अवरोधकहरुलाई कसरी छलेर समस्या घटाउने भन्ने तरिका पनि पत्ता लगाइसकेको छ ।
यस किसिमको प्रविधि केन्या, भारत, अमेरिका र मेक्सिकोमा पनि प्रयोग गरिएको छ । यसको संरचनामा लामो दुरीमा राखिएका दुईवटा पोल मात्र आवश्यक रहेको बताइएको छ ।