काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीलाई उत्पादनसँग जोड्ने र पूर्णकालीन बाहेकका कार्यकर्तालाई उत्पादनमा जोडिने कुरा अनिवार्य गर्ने प्रस्ताव गरेका छन् । नेकपा एसको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव गरेक हुन् ।
“पार्टीलाई उत्पादन कार्यसँग जोडिने छ । निश्चित संख्याका पूर्णकालीनबाहेक सबै पार्टी सदस्यलाई उत्पादन कार्यमा अनिवार्य रूपले जोड्ने नीति अवलम्बन गरिने छ,” केन्द्रीय कमिटीमा अध्यक्ष नेपालले पेस गरेको प्रस्तावमा भनिएको छ, “प्रत्येक कमिटीले आर्थिक परिचालन र व्यवस्थापनका स्पष्ट योजना बनाएर चल्ने प्रणाली स्थापित गरिने छ ।”
प्रस्तावमा वार्षिक योजना र बजेट कमिटीबाट पारित गरेर मात्र खर्च गर्ने प्रणाली विकास गर्ने उल्लेख छ । “विशेष कार्यक्रम तथा अभियानको पनि बजेट निर्माण गरी खर्च गर्ने र कमिटीबाट अनुमोदन गर्नुपर्ने व्यवस्था गरिने छ,” प्रस्तावमा भनिएको छ ।
उनले पार्टीका प्रत्येक कमिटीबाट पार्टी स्कुल तथा प्रशिक्षण अभियान चलाउने प्रस्ताव गरेका छन् भने प्रत्येक कमिटीले वर्षमा कम्तीमा दुई पटक पार्टी स्कुल/प्रशिक्षण सञ्चालन गर्नुपर्ने उल्लेख गरेका छन् ।
“पार्टी स्कूल प्रशिक्षणमा सैद्धान्तिक वैचारिक विषयका अतिरिक्त उद्यमशीलता विकास, उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र राष्ट्रिय पुँजीको विकास, भ्रष्ट्राचार निवारण, सुशासन तथा जनसरोकारका विषयहरू समेत समावेश गरिने छ,” नेपालले सांगठनिक विषयमा भनेका छन्, “प्रत्येक कमिटीलाई जनउत्तरदायी बनाउन पार्टीको तर्फबाट एक स्थानीय तह एक जनसहजकर्ता तयार गरी आवश्यक तालिम तथा प्रशिक्षण दिएर टोल फ्री नम्बर सहित जनताको सेवामा परिचालन गरिनेछ ।”