काठमाडौं । बर्दियामा ६१ क्विन्टल ३० किलो केराउसहित एकजना पक्राउ परेका छन् ।
बर्दियाको मधुवन नगरपालिका–७ बस्ने ट्याक्टर चालक २० वर्षीय रामकुमार चौधरीलाई प्रहरी टोलीले केराउसहित नियन्त्रणमा लिएको हो ।
मंगलबार मधुवन–५, बडगाउँबाट चौधरीले चलाएको भे१त ९६५५ नम्बरको ट्याक्टरमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा केराउ बरामद गरिएको हो । उक्त ट्याक्टरबाट करिब दुई लाख ७६ हजार ५०० रुपैयाँ बराबरको ३९ क्विन्टल ३० किलो केराउ बरामद गरिएको थियो ।
यस्तै, भारततर्फ लैजानका लागि सोही स्थाननजिकै थुपारी राखिएको करिब एक लाख ५४ हजार रुपैयाँ बराबरको २२ क्विन्टल केराउ बरामद गरिएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
ट्याक्टरसहित चालक चौधरीलाई आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।