site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सफलताका लागि सकारात्मक सोचौं

मानिस यस्तो प्राणी हो जसको वास्तविक पहिचान उसको विचारबाट हुन्छ । मानिसको जस्तो सोच्दछ, ऊ त्यस्तै बन्दछ । त्यसैले असल मानिस हुन हरेक व्यक्तिले सकारात्मक सोच राख्नुपर्दछ । भनिन्छ– “सकारात्क सोच नै मानिसको जीवनको उर्जा हो । बन्दूकको नालमा भन्दा सकारात्मक सोचमा हजारौँ गुना बढी शक्ति हुन्छ ।”

हरेक व्यक्तिको यस्ता शक्तियुक्त सकारात्मक सोचलाई सही ठाउँमा, सही समयमा, सही तरिकाले प्रयोग गर्न सकियो भने जीवन र जगतको स्वरुप नै अकल्पनीय सुन्दर बन्दछ । तर बिडम्बना हामी सकारात्मक सोचप्रति दिनप्रतिदिन गरिब हुँदै गइरहेका छौँ । नकारात्मक सोचले भने हामी निकै भरिपूर्ण छौँ । यही कारण हाम्रो देशले आसातीत प्रगति गर्न सकिरहेको छैन । तर यसको अर्थ यो पनि होइन कि हाम्रो देशमा केही पनि भएको छैन । 

मानिसको सकारात्मक सोचले कति उपलब्धि हासिल गर्छ भन्ने कुरा केही सकारात्मक सोचकर्ताहरुको भनाइले पुष्टि गर्दछ । हेनरी मैत्से भन्छन्– “उसको लागि फूल सधैँ अगाडि हाजिर हुन्छ, जो फूल देख्न चाहन्छ । तर चाहना फूल देख्ने नै हुनुपर्छ ।” मैत्सेको मतलब हो लक्ष्य स्पष्ट हुनुपर्दछ । विष्टर्न चर्चिल भन्छन्– “निरासावादी व्यक्ति हरेक अवसरमा समस्या देख्छ, तर आसावादी व्यक्ति भने हरेक समस्यामा अवसर देख्छ ।” चर्चिलको यो भनाइले समस्या र अवसर भन्ने कुरा पनि अरु केही नभएर मानिसको सोचाइ मात्र हो भन्ने कुरा देखिन्छ । भनिन्छ नि समस्या मान्छेलाई लडाउन होइन, बरु उठाउन आउँछ । त्यसैले समस्या आउँदा खुट्टा लुलो होइन, दह्रो बनाउनुपर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भागवत गीतामा भनिएको छ– “तपार्इँ जस्तो सोच्नुहुन्छ, अन्त्यमा त्यस्तै हुुनुहुन्छ ।” पूर्वजन्म र पुनर्जन्ममा समेत विश्वास राख्ने गीतामा कृष्ण अर्जुनलाई भन्छन्– “प्राण त्याग गर्ने बेलामा जे सोचिन्छ अर्को जन्ममा सोही भएर जन्मिइन्छ । त्यसैले सकारात्मक सोच ।” विश्वले नै महान् दार्शनिक ग्रन्थ मानेको गीता दर्शनलाई मान्ने हो भने मानिसले यो जन्ममा सोचेको कुराको प्रभाव अर्को जन्ममा समेत पर्ने देखिएको छ भने यो जन्ममा त नपर्ने कुरै भएन ।

सोचाई सकारात्मक भए पानीले समेत औषधीको काम गर्दछ भन्ने एउटा उदाहरणीय प्रयोग छ । अमेरिकामा सन् १९६० तिर मेडिकल अनुसन्धानमा संलग्न अनुसन्धाताहरुले २ जना पुड्काहरुलाई अग्लो बनाउने दबाइ दिइएको भनी एउटालाई असली दबाइ र अर्कोलाई चाहिँ पानी मात्र दिइयो । तर जसलाई पानी दिइएको थियो उसलाई पानी नभनेर दबाइ नै दिइएको भनिएको थियो र उसले पनि दबाइ नै सोचेर नियमित सेवन गरिरहेको थियो । अन्त्यमा दुवैको उचाइ बढ्यो । सकारात्मक सोच्दा दुवै जनामा सकारात्मक असर परी उचाइ बढेको भन्ने अनुसन्धानबाट प्रमाणित भयो । औषधी सोचेर खाँदा पानीले समेत औषधीको काम गरको सकारात्मक सोचको यो ज्वलन्त उदाहरण हो ।

Global Ime bank

जोसँग सकारात्मक सोच छ । ऊ नै सफलताको शिखर चुम्दछ । जोसँग सकारात्मक सोच छैन, ऊ भाग्यलाई दोष दिएर टाउकोमा हात लाएर दिन गुजार्छ । एउटै विद्यालयमा एउटै कक्षामा पढेका सकारात्मक सोच भएका विद्यार्थीहरु भविष्यमा नेतृत्वको चुलीमा पुगेका र नकारात्मक सोच भएकाहरु परिवारको भार बनेका उदाहरण हाम्रै वरिपरि बग्रेल्ती छन् । खेलहरुमा पनि खेलाडीलाई सकारात्मक हौसला दिँदा सोचेभन्दा राम्रो परिणाम ल्याएका उदाहरण प्रसस्तै छन् । व्यापार व्यवसायमा त झन् सकारात्मक सोचको ज्यादै महत्व छ । जति सकारात्मक सोच उति उच्च आर्थिक प्रगति हुन्छ । नकारात्मक सोच भएका व्यक्तिभन्दा सकारात्मक सोच भएका व्यक्तिहरु कयौँ गुणा छिटो आफ्नो लक्षित गन्तव्यमा पुग्दछन् 

हरेक कुरालाई सकारात्क नजरले हेर्नु नै सकारात्मक सोच हो । सकारात्मक सोचले हरेक व्यक्तिमा क्षमता र उर्जा सिर्जना गर्दछ । त्यसैले आजकल सकारात्मक सोच सम्बन्धी तालिमहरु सञ्चालन गरिन्छन् । मानिसको स्वाभिमानमा वृद्धि, नेतृत्वको विकास, व्यवसायमा वृद्धि, संगठनको प्रगति सबै सकारात्मक सोचका उपज हुन् । 

सफलताको मूल सूत्र नै सकारात्मक सोच हो । त्यसैले सफलताको लागि सकारात्मक कुरा खोज्नु आवश्यक छ । जीवनका बाटाहरुमा समस्या देखे समस्या नै समस्याको पहाड भेटिन्छ । समाधान र सफलता देखे जताततै सफलता नै सफलता हात लाग्छ । हरेक व्यक्तिको सफलता अरुको हातमा छैन, आफ्नै मनमष्तिष्कमा छ । मात्र मन र मष्तिष्क सकारात्मक हुुनुपर्छ । सकारात्मक सोच कसैबाट मागेर लिनुपर्दैन, न त यसलाई पैसा हालेर किन्नु नै पर्छ । यो त जति सकारात्मक सोच्दै गइन्छ त्यति नै बढ्रदै जान्छ । दिन दोगुना, रात चौगुना । सकारात्मक सोचको मुहान हामी आफैँ हौँ । मात्र आफैँ । त्यसैले हरेक व्यक्तिले आफूलाई सकारात्मक सोचको महान् समुन्द्र बनाउँ ।

डा. योगी विकाशानन्द भन्छन्– “संसारलाई बदल्नु छ भने सुरुवात आफैँबाट गर्नुपर्छ ।” हामीमा पछिल्लो समय सबै काम अरुले नै गरिदिनुपर्ने र आलोचना खेती चाहिँ आफूले गर्न पाउनुपर्ने दाबी बढ्दो छ । यो बिलकुल गलत हो । अरुले यो गरेन त्यो गरेन भनिरहँदा मैले चाहिँ के गरेँ त भन्ने ठाउँबाट प्रश्न सुरु गर्नुपर्छ । डा. म्याक ओडेलका अनुसार “एउटा महान् कार्यको थालनी गर्ने दिन आजै हो ।” रत्तिभर ढीला नगर्नुस्, अरुको आलोचना गरेर समय बर्बाद गर्ने होइन, आफ्नो काम गरेर समय सदुपयोग गर्नुहोस् । सबैप्रति सकारात्मक धारणा बनाउनुस् । जीवन र जगतलाई सुन्दर देख्नुस् ।  सकारात्क सोच घर, संस्था, संगठन कार्यालय, समाज सबैमा प्रयोग गर्नुस् । याद राख्नुहोस् सकारात्मक  सोचको सुरुवात आफैँबाट गर्नुहोस्, अहिले नै गर्नुहोस्, अनि मात्र अरुमा पनि सकारात्मक सोच आउने छ ।

डा. डेभिड एल कुपराइटर भन्छन्– “कल्पना मानव जीवनको महत्वपूर्ण स्रोत हो । सकारात्मक प्रतिफल पाउनको लागि सकारात्मक कल्पना गर्नुहोस् ।” हामी दिमागमा जति नकारात्मक कुराहरु खेलाउँदै जान्छौ हामी कर्ममा पनि त्यतैतर्फ उन्मुख हुन्छौँ । मन र मष्तिष्कमा नकारात्क कुराको गुँड लगाउने अनि मुखले चाहिँ सकारात्मक बाटोतर्फ हिँड्छु भनेर सकारात्मक सोचको यात्रा संभव छैन । हुँदैन । मुखले सकारात्मक सोचतर्फ यात्रा भने पनि मनमा नकारात्मक सोच छ भने हामी आफूले थाहा नै नपाई नकारात्मक मार्गतर्फ यात्रा गरिरहेका हुन्छौँ । त्यसैले सकारात्मक यात्राको पहिलो खुड्किलो मनमष्तिष्क हो । मुख होइन ।

नेपाली समाजमा हिजोआज जतासुकै पनि नकारात्मक कुरा मात्र देख्न र सुन्न पाइन्छ । कहीँ कतै समूहमा बसेर छलफल गरिरहेका मानिस हुन् वा दुईजनाबीचको कुराकानीमा होस्, संचार माध्यममा होस् वा अन्य क्षेत्रमा होस्, सबैतिर केवल नकारात्मक कुराकै चर्चा बढी हुने गरेको छ । यस्तो भएन, त्यस्तो भएन भन्ने गुनासा, असन्तुष्टि एवं निराशाले वातावरणलाई दूषित तुल्याएको छ । यसरी वातावरण नै दूषित भएपछि मानिसको मनस्थितिमा समेत स्वाभाविक तवरले नकारात्मक असर पर्छ । समाज नकारात्मक सोचको शिकार बन्दै गइरहेको छ भने त्यो समाजभित्रका पात्र हामी चाहिँ सकारात्मक कसरी हुन सकौँला ? समाज नकारात्मक सोचले अगाडि बढ्दैन भन्ने थाहा छ, तर पनि नकारात्मक विचारको ओइरो छ । 

नकारात्मक भावनाको विकास हुनुमा केही मात्रामा नेपालको संक्रमणकालीन राजनीतिक अवस्था जिम्मेवार भए पनि सम्पूर्ण दोष यसैमाथि थुपारेर पन्छिन मिल्दैन । जिम्मेवार नागरिकले अरूलाई दोष दिनुभन्दा आप्mनो तर्फबाट के गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । त्यसो भयो भने केही मात्रामै भए पनि सकारात्मक वातावरण सिर्जना हुन्छ । समाजमा विद्यमान सकारात्मक कुराको खोजी एवं पहिचान गरेर सकारात्मक विचार अपनाउनु नै आजको आवश्यकता हो ।

जो व्यक्ति जीवनप्रति सकारात्मक सोचाई राख्छ, त्यही व्यक्तिले जीवनमा सफलता पाउन सक्छ । नकारात्मक सोचाई र विचारहरुलाई सकारात्मकमा परिवर्तन गर्न सके हामीले हाम्रो व्यक्तिगत र व्यावसायिक जीवन दुवै ठाउँमा सफलता पाउन सक्छौँ । सकारात्मक सोचमा ठूलो शक्ति छ । यसको ठीक विपरीत नकारात्मक सोचले शक्ति क्षय गरिदिन्छ । हाम्रा वरिपरि पनि सकारात्मक आँखाले हेरे धेरै उपलब्धिमूलक उदाहरणहरु छन् । अशक्त झमक घिमिरे सकारात्मक सोचको उपजले साहित्याकाशमा चम्किन् । यदि उनीमा आत्मबल थिएन भने उनी अहिले पनि ओछ्यानमा नै खुम्चिएकी हुन्थिन् । अपांगता भएकाहरु सगरमाथा चढिसकेका छन् ।

गाउँबाट रित्तो हात हिँडेका सीताराम कट्टेलहरु (धुर्मस सुन्तली) ले भूकम्प प्रभावित र मुसहर बस्तीलाई नयाँ जीवन दिएका छन् । 

राजनीतितर्फ हेर्ने हो भने वि. सं. २००७ सालसम्म एकतन्त्रीय जहाँनीया शासनमा जकडिएको र विश्वले विकासको शिखर चुमिसक्दा बल्ल प्रजातन्त्र आएको नेपाल ७० वर्ष पनि नपुग्दै गणतन्त्रमा प्रवेश गरेको छ । सकारात्मक आँखाले हेर्दा यति छिटो राजनीतिक परिवर्तनको उपलब्धि सायदै विश्वमै होला । नेपालको विकासको सुरुवात नै २००७ सालपछिको हो । त्यसबाट यता हेर्दा विकासमा फड्को नै मार्न नसके पनि केही काम अवश्य भएको छ । एमालेको आफ्नो आफ्नो गाउँ आफैँ बनाउ अभियानले गाउँमा विकासको चेतना पु¥याएको छ । माओवादीले सुरु गरेको १० वर्षे द्वन्द्वले धेरै कुरा विनास गरेको हामीले देख्यौँ, लेख्यौँ । तर त्यसले ल्याएको चेतनाको हामीले कहिले हिसाब गरेनौँ कि ? लोकतान्त्रिक गणतन्त्रको यात्रा १० वर्षे द्वन्द्वको बीजारोपणबाट नै भएको कुरा सायद हामीले बिस्र्यौँ । हामी परिवर्तन स्वीकार गर्नै नसक्ने र यथास्थितिमा रुमलिने रोगको शिकार भएका छौँ । संघीयतामाथिको नकारात्मक धारणा पनि यस्तो यथास्थितिवादीताको उपज हो । संघीय संरचनामा स्थानीय तहको व्यवस्था र त्यसले घरदैलोमा गरेको अधिकारको वितरणको  सकारात्मक पाटोको बहस भने अझै हुन सकेको छैन । नराम्रा मात्र कुरा देख्ने सबै नकारात्मक सोचका उपज हुन् ।

सकारात्मक सोचका लागि केही प्रक्रियाहरु सुझाइएका छन् । सर्वप्रथम त म सकारात्मक छु, अथवा आजैबाट म सकारात्मक हुन्छुबाट सुरु गरौँ । हरेक दिन बिहान सकारात्मक सोचाइबाट दिनको सुरुवात गरौँ । अरुलाई कृतज्ञता र धन्यवाद व्यक्त गर्ने, दानी बन्ने, स्वास नियन्त्रण गर्ने, सकारात्क कल्पना गर्ने र ध्यान गर्ने जस्ता केही उपायहरु सकारात्मक सोचका आधारभूत तत्वहरु भनिएका छन् । यस्ता कुरा पढ्नेभन्दा अनुशरण गर्ने गरौँ । जहिले पनि आफूले अरुबाट खुशी या केही सामान पायाँैं भने त्यो खुसी वा सामान दिने व्यक्तिलाई धन्यवाद व्यक्त गर्नुपर्छ, यसले मनमा नराम्रो सोचहरु प्रकट हुन दिँदैन । बरु मनमा मायाको भावानाहरु प्रकट हुन दिन्छ । जहिले पनि बिहान उठ्ने बितिकै जीवनमा आफुले पाएको खुशीहरुको लागि संसारप्रति आभारी हुँदै धन्यवाद व्यक्त गर्ने गर्नु उचित हुन्छ । आफू जन्मेको स्थान, समाज

देश र बाँचेको धर्ती र वातावरणप्रति सधैँ कृतज्ञ र खुशी हुन सिकौँ ।

हाम्रो स्वाभाव कस्तो रुपमा विकसित हुँदै गइरहेको छ भने जहिले पनि हामी अरुको लिनमा खुसी हुन्छौँ । सित्तैँमा पाए अलकत्र खाने, उल्फाको धन फूपूको श्राद्ध जस्ता उखान हाम्रो समाजमा प्रचलित छन्  । अरुलाई दिनु परे मन खुम्च्याउँछौँ हामी, तर लिन परे खसी । अरुको लिएर हुने खुसी क्षणिक खुसी मात्र हो । जहिले पनि अरुलाई मद्दत गर्ने भावना मनमा पाल्नु पर्छ । यो नै वास्ताविक र दीर्घकालीन खुसी हो । आफूमा भएको गुण, क्षमता र सीप अरुलाई पनि बाड्नका लागि हो । भण्डारण गर्नका लागि होइन । गुण, क्षमता र सीप भण्डारण गरेर ब्याज प्राप्त पनि हुँदैन । तर ज्ञान र सीप बाँड्दा भने घट्दैन, बरु यो झन् झन् बढ्छ । अरुलाई दिँदा अकल्पनीय खुसी पनि मिल्छ । यो खुसी लिन मानिस कहिले चुक्नु हुँदैन । अरुलाई दिएर प्राप्त गरेको खुसीले नै मानिसलाई सकारात्मक बाटोतर्फ लैजान्छ । लिएर पाएको खुसीले कहिल्यै सकारात्मक बनाउँदैन ।

मानिस श्वासप्रस्वास विना बाँच्न सक्तैन । स्वासप्रश्वास हेर्दा सामान्य र निरन्तर प्रक्रिया लाग्छ । तर श्वासप्रश्वासमा अपार शक्ति छ । भनिन्छ– “जो व्यक्ति आफ्नो श्वासमा नियन्त्रण गर्न सक्छ, त्यो व्यक्तिले आफ्नो जीवनलाई पनि नियन्त्रणमा राख्न सक्छ ।” जब कोही व्यक्ति क्रोधित हुन्छ, तब उसको श्वास फेर्ने गति छोटो र छिटो हुन्छ । यस्तो अवस्थामा मनमा विभिन्न नकारात्मक विचारहरु आउने गर्दछन् । मनमा सकारात्मक विचार ल्याउनको लागि जहिले पनि लामो श्वास फेर्ने गर्नुपर्छ । लामो स्वास सकारात्मक सोचको मुहान हो । जब रिस उठ्छ तब तत्कालै लामो श्वास लिन सुरु गरि हाल्नुस् ।

ध्यान सकारात्मक सोचको सबैभन्दा ठूलो मुहान हो । ध्यान गर्दा सबैभन्दा बढी सकारात्मक विचारहरु आउने गर्छ । ध्यान गर्दा आफूमा भएको सबै नकारात्मक विचारहरुलाई मन र दिमागबाट निकाल्दै सकारात्मक विचारहरु सोच्न सक्छौं । एउटा शान्त ठाउँमा बसेर आँखा चिम्लेर विस्तारै विस्तारै श्वास फेर्नुस् र मनमा भएका नराम्रा विचारहरु विस्तारै विस्तारै श्वाससँगै बाहिर फाल्नुस् । राम्रा विचारहरु श्वाससँगै मन भित्र हाल्नुस् । आहा ! यो आनन्द अकल्पनीय छ ।

र अन्यमा, आफूले जिन्दगीमा अहिलेसम्म प्राप्त गरेका उपलब्धिहरुको मूल्यांकन सकारात्मक कोणबाट गरौँ । यसो गर्दा भविष्यमा पनि त्यस्तै सफलताहरु पाउन प्रोत्साहित हुन्छौं । अनि मनमा पनि आफ्नो काम र जीवन प्रति सकरात्मक विचारहरु आउँछ । अरुको कहिल्यै कुभलो नसोचौँ । अरुलाई सकारात्मक सोचौँ, आफू सकारात्मक बनौँ । जीन्दगीको सफलता यसैमा निहित छ । योे नै मानव जीवनको सार्थकता हो ।
तष्पबचबm।उयपजबचभ२िनmबष्।िअयm

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७४  १४:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC