काठमाडौं । ४५ दिनदेखि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी एउटा धर्ना कार्यक्रम स्थगन गरिएको छ । विधान र मापदण्डविपरीत वितरण गरिएका क्रियाशील सदस्यहरू खारेजीको माग गर्दै डेढ महिनादेखि धर्ना दिइएको थियो ।
६ बुँदे माग राख्दै ४५ दिनअघि सुरु गरिएको धर्ना क्रियाशील विवाद समितिले ५० प्रतिशत माग सम्बोधन गरेकाले स्थगन गरिएको नेपाल विद्यार्थी संघका पूर्वसहमहामन्त्री राजेश रौनीयारले जानकारी दिए ।
मापदण्डविपरीत वडा कार्यसमितिको निर्णयबिना, पालिका प्रदेश र क्षेत्रको बैठक नबसी क्षेत्र र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता बाँडेको भन्दै बाराका असन्तुष्ट नेता तथा कार्यकर्ताहरू धर्नामा बसेका थिए । संस्थापन पक्षले पूर्वाग्रह साधेर आफूइतरका सदस्यहरूको क्रियाशील नवीकरण नगरेकाहरूको अविलम्ब सदस्यता नवीकरण गर्नुपर्नेलगायत उनीहरूको माग थियो ।
नेता रौनियारका अनुसार क्रियाशील विवाद समाधान समितिले १३औँ महाधिवेशनमा रोकिएको १६६ जनाको नामावली र सो बराबरको नयाँ क्रियाशील सदस्यता खारेज गरेसँगै बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ को विवाद समाधान भएको छ । यस्तै, क्षेत्र नम्बर–४ को करिब ४०० फर्जी क्रियाशील सदस्यता बदर भएको छ ।
“क्षेत्र र जिल्ला समितिले नवीकरण गर्न छुटाएका ३०० साथीहरूको नवीकरण गराउन सफल भएका छौँ,” रौनियारले भने, “५० प्रतिशत माग पूरा हुनु सामान्य विषय होइन, बाँकी अधिवेशनमा हामी लड्छौँ । गोजीबाट पार्टी चलाउनेहरूलाई तह लगाउँछौँ ।”
रौतहटको रिले अनशन ३३औँ दिनमा
रौतहटको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयमै जारी रिले अनशन मंगलमार ३३औँ दिन पुगेको छ । ४१ वटा वडा रहेको निर्वाचन क्षेत्र नम्बर–१ का ३१ वडामा विवाद रहेको भन्दै रिले अनशन जारी छ ।
रिले अनशनमा बसेका महासमिति सदस्य श्यामचन्द्र झाले सभापति शेरबहादुर देउवानिकट मानिने जिल्ला सभापति कृष्णप्रसाद यादवको पार्टी कब्जा गर्ने रणनीतिका कारण समस्या समाधान नभएको बताए । उनका अनुसार जिल्ला सभापति यादवले १२ वटा वडामा वडा सभापतिहरूलाई क्रियाशील सदस्यताको फारम उपलब्ध गराएका छैनन् ।
यादवले १८ वटा वडामा भने वडा सभापतिहरूको निर्णयविपरीत आफूनिकटको नाम थप गरी प्रत्येक वडामा कम्तीमा १५ जनाको नाम हटाएको झाको आरोप छ । “महासमिति सदस्य, जिल्ला कोषाध्यक्षलगायत अन्य ७८ जना प्रभावशाली नेताहरूको क्रियाशील नवीकरण भएकै छैन,” उनले भने ।
करिब तीन हप्ताअघि अनशनस्थलमा पुगेर पार्टी सहमहामन्त्री प्रकाशशरण महत र केन्द्रीय सदस्य रामशरण महतले माग पूरा गर्ने आश्वासन दिए पनि समस्या समाधान भएको छैन । रमेश लेखक नेतृत्वको क्रियाशील छानबिन समितिले सम्बोधन गर्न नसकेको आफूहरूको मागलाई कृष्णप्रसाद सिटौलाको नेतृत्वको क्रियाशील विवाद समाधान समितिले झनै उपेक्षा गरेको उनीहरूको गुनासो छ ।
“न त क्रियाशील छानबिन समितिले फाइल खोलेर हे¥यो, न त कृष्ण सिटौलाको विवाद समाधान समितिले हामीलाई वास्ता गर्यो,” नेता भोगेन्द्र झा भन्छन्, “पार्टी कार्यालयमा बैठक बस्न त नेताहरू आउँदैनन्, गुनासो पोको खोलेर हेर्ने त परको कुरा ।”
विगत ३३ दिनदेखि नेताहरू डा. देवचन्द्र मिश्र, श्यामचन्द्र झा, भोगेन्द्र झा, हरिशचनद्र यादव, उदय यादव, नवलकिशोर साहलगायत नेताहरू पालैपालो २४ घण्टे रिले अनशनमा बसेका छन् ।
यस्तै, बाराको क्षेत्र नम्बर–३ अन्तर्गतको फेटा नगरपालिकाको ७ नम्बर वडा, कलैया उपमहानगरपालिकाको वडा नम्बर–१४ र जितपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर–१४ का नयाँ सदस्यलाई पनि १४औँ महाधिवेशनमा भाग लिन वञ्चित गरिएको छ ।
यस्तै, बाराको क्षेत्र नम्बर–२ अन्तर्गत पचरौता नगरपालिकाका १, २, ६, ७, ८ र ९ नम्बर वडा, सुवर्ण गाउँपालिकाका २, ३ र ४ नम्बर वडा, देवताल गाउँपालिकाको वडा नम्बर–४, महागढी नगरपालिकाका १, २, ४, ६ र ७ नम्बर वडा र करैयामाई गाउँपालिकाका २ र ५ नम्बर वडाका नयाँ सदस्यले पनि महाधिवेशनमा भाग लिन पाउने छैनन् ।
उनीहरूलाई पनि १४औँ महाधिवेशनपछि मात्र क्रियाशील सदस्यता दिने गरी अहिले स्थगित गर्ने निर्णय गर्दै विवाद समाधान समितिले प्रतिवेदन बुझाएको छ ।