काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोजसम्म नेपालको ३० प्रतिशत जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुसार अब खोप निरन्तर ल्याइने पनि मन्त्रालयले जनाएको छ ।
नेपाललाई जापान सरकारले कोभ्याक्स सुविधामार्फत् दिएको एस्ट्राजेनिका खोप आज आएकोसमेत गरी सबै (१६ लाख डोज) खोप नेपाल आइपुगेको छ । यसअघि २४ लाख ४८ हजार कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १३ लाख ५७ हजार ६० डोज एस्ट्राजेनेका खोप नेपाल ल्याइएको थियो ।
नेपालको जनसंख्यामध्ये ७० प्रतिशत कोभिड–१९ विरुद्धको खोप लगाउने सूचीमा छन् । मन्त्रालयको तथ्यांकअनुसार नेपालमा भदौ ७ गतेसम्म ४९ लाख ४३ हजार ७३२ जनाले पहिलो र ३८ लाख ५७ हजार ५९८ जनाले दुवै डोज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अबको खोप दिने प्राथमिकता जोखिम समूह हेरेर छुट्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउँछन् ।
नेपालमा कोभिड १९ विरुद्धको खोप लागउनेहरू पनि संक्रममित हुने क्रम बढेको छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन खोप संक्रमण सर्नसक्ने जोखिमका आधारमा खोप लगाउने र नलगाउने दुवै जोखिम वर्गमा पर्ने भएकाले खोप लगाउनेहरूले पनि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न सुझाउँछन् ।
“खोप लगाउनु संक्रमण हुनबाट बच्नु नभई संक्रमित भएपनि सिकिस्त हुने अवस्था हुन नदिनु हो । नेपालमा दुई डोज खोप लगाएकाहरू अब संक्रमणले छुँदैन जस्तोगरी लापरबाही गरेर हिँड्ने गरेको देखिन्छ, यसले संक्रमणको जोखिमलाई झनै बढाएको छ । खोप लगाउनेलाई संक्रमण नै हुँदैन भन्नु भ्रम हो,” उनले भने ।
उनका अनुसार खोप लगाएका व्यक्तिहरू अस्पताल जाने अवस्थासम्म नपुग्ने तर संक्रमित भने हुने गरेको विभिन्न अध्ययनहरूले पुष्टी गरेका छन् ।
“नेपालमा बढी फैलिएको डेल्टा भेरियन्टको भाइरल लोड संक्रमित व्यक्तिमा धेरै देखिन्छ । भारइरल लोड बढी हुनु भनेको अरूलाई सार्ने सम्भावना पनि बढी हुनु हो । यसर्थ भेरियन्टहरू परिवर्तन हुँदैजादा खोप नलगाएका संक्रमित हुने सम्भावना त झन् धेरै भयो । खोप लगाएका पनि संक्रमित हुने जोखिम भने रहन्छ”, डा. पुनले भने ।
नेपालमा अहिले प्रत्येक ४ जनामा परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ ।