काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रदीप यादवले संसद्बाट बहुमत प्राप्त प्रधानमन्त्री शेरबहादुर देउवालाई हेप्ने काम नगर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई चेतावनी दिएका छन् ।
सांसद यादवले एमालेप्रति संकेत गर्दै संसद्बाट बहुमत साबित गराएका प्रधानमन्त्री देउवालाई हेप्ने, घोच्नेलाई जनताले माफी नदिने जिकिर गरे ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देउवा नेतृत्वको गठबन्धनले आगामी निर्वाचनपछि पनि पाँच वर्ष सरकार चलाउने गरी जनताले ‘म्यान्डेट’ दिने दाबी गरे ।
“संसदमा बहुमत साबित गरेर भएको प्रधानमन्त्रीलाई परमादेशको प्रधानमन्त्री भनेर हेप्ने, घोच्ने ? त्यस्तालाई जनताले माफी दिने छैनन् । अब यो गठबन्धन सरकार १८ महिनाको मात्रै होइन्, आगामी निर्वाचनपछि पनि पाँच वर्षका लागि निर्वाचित भएर आउनेछ । यो हाम्रो दावा हो,” उनले भने ।