site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘अरू मुड आउँदा गीत लेख्थे, म मुड बनाएर लेख्थेँ’

रेडियो नेपालमा सुनेर आइडल मानेका व्यक्ति थिए, उनी । हर चलचित्रका गीतमा उनले संगीत भरेका समाचार आउँथे । अक्सर अधिकांश चलचित्रका एउटा न एउटा गीत उनले गाएकै हुन्थे । र, हिट पनि हुन्थे । 

त्यसैले हर संगीतप्रेमीका आदर्श थिए, शम्भुजित बास्कोटा । रेडियो नेपालले लिने अन्तर्वार्तामा उनको स्वर सुनेर दयाराम पाण्डेले आफ्नो मथिङ्गलमा शम्भुजितको तस्बिर कल्पना गरेका थिए । र, आफ्नो आदर्श मानेका थिए । 

वि.सं. २०५३ सालमा काठमाडौं प्रवेश गर्दा दयारामसँगै प्रवेश गरेका केही थान सपनामध्ये गीतकार बन्ने पनि एउटा थियो । त्यो सपनालाई विपनामा रूपान्तरण गर्ने उनको मनमौजी योजना थियो । त्यो योजना पूरा गर्ने माध्यम शम्भुजित हुन्छन् भन्ने उनको निष्कर्ष थियो । त्यही आकांक्षा बोकेर उनी काठमाडौंमा शम्भुजितलाई खोज्न थाले । 

Dabur Nepal

कता भेटिएलान् शम्भुजित ?

कसैले घरको ठेगाना दिए, कसैले रेडियो नेपाल भने । कसैले भने– उनी एकेडेमीमा भेटिन्छन् । दयाराम पुगे एकेडेमी । केही समयको प्रतीक्षापछि उनले शम्भुजितलाई भेटे पियानो अगाडि । शम्भुजितलाई देख्दा दयारामलाई लाग्यो– साक्षात् नाट्यश्वरीको रूप नै शम्भुजित हुन् ।

शम्भुजितले सोधे– तिम्रो नाम के हो भाइ ?

स्कुलका प्रतियोगिताहरूमा कहिल्यै कसैले चियाउन नसकेका । बोल्नमा टाठो भइसकेका थिए दयाराम ।

दयाराम पाण्डे भन्दै उनले घर स्याङ्जा हो मात्रै भनेनन्, आफूलाई कण्ठस्थ रहेका उनका गीत सुनाए । शम्भुजितको साधनाको आफू ठूलो फ्यान भएको बताए । उनको गीतको सुरुको संगीतको एक ट्युन बज्न नपाउँदै हरेक गीत पहिचान गर्न सक्ने बताए । गीत–संगीतमा आफ्नो रुचि र काठमाडौं आउनाको कारण सुनाए । आफूलाई अवसर र अनुभवी अग्रजको साथ तथा सहयोगको खाँचो रहेको बताए । उनी बोल्दै थिए । करिब पाँच मिनेटजति बोलेपछि शम्भुजितले भने– भाइ, तपाईंको भन्ने कुरा सकियो अब ?
दयाराम रोकिए । शम्भुजितले भने– ल अब बाहिर जानुस् ।

आफूले लेखेको गीतको डायरी झोलामा हालेर देखाउँछु भनेर लगेका थिए । भयो/भएन । भएन भने कसरी लेख्ने भनेर सुझाव माग्न शम्भुजितलाई भेट्न पुगेका दयारामलाई त्यति बेला लाग्यो– कस्तो व्यक्तिलाई आइडल मानेर हिँडिरहेको छु ? मनभरिको सपना भत्किन क्षणभर लागेन । उनको दिमागमा एउटा उखान दौडियो– बालुवाको घरजस्तै जिन्दगी भताभुंग भयो । 

० ० ०

दयाराम ‘रोयणी’ साप्ताहिकमा लेख्न थालेका थिए । अन्तर्वार्ता पनि लिनुपर्थ्यो । त्यही सिलसिलामा ०५५ मा दयाराम पुगे निर्देशक युवराज लामाको अन्तर्वार्ता लिन । चिनजानसँगै भेटघाट बाक्लियो । दयारामले एउटा गीत युवराजलाई दिए ।

सम्बन्ध थप नजिकिसकेको थियो । एक दिनको बिहानी युवराजले दयारामलाई भने– पाण्डे मामा, तपाईं प्राइम स्टुडियो आउनुस् त अहिले ।

“म स्टुडियो पुग्दा मैले झन्डै डेढ वर्षपहिले दिएको गीत शम्भुजित दाइले आफैँले संगीत भरेर गाइरहनुभएको थियो,” आफू खोज्दै जाँदा दोहोरो बातचित पनि नगरेका तिनै शम्भुजितले आफ्नै गीत गाउँदाको क्षण सम्झिन्छन् दयाराम, “त्यो क्षणको खुसी म कसरी शब्दमा आज सुनाउन सकुँला र ? गीत–संगीतको लिजेन्ड व्यक्तिले आफ्नो पहिलो गीत गाउँदा को पुलकित हुँदैन होला र ?”

त्यो गीत ‘मुस्कान’ चलचित्रका लागि निर्देशक युवराज लामाले लिएका थिए । विपना थापा, दिलीप रायमाझी, सुशील क्षेत्रीलगायत कलाकार चलचित्रको मुख्य भूमिकामा थिए । ‘मिठा मिठा सपना...’ बोलको स्याड सङ थियो त्यो गीत । उनी भन्छन्, “यो शम्भुजितको पहिलो स्याड सङ हो । मलाई लाग्छ– त्यसपछि पनि उहाँले स्याड सङ सायदै गाउनुभएको होला ।”

कालान्तरमा तिनै दयाराम पाण्डेका गीतमा तिनै शम्भुजित बास्कोटाले संगीत भर्ने र गाउने मात्रै काम गरेनन्, सँगै राखेर गीत लेख्न लगाए । जब सँगै काम गर्न थाले शम्भुजित र दयाराम, एक दिन उनले यो कहानी सुनाए । शम्भुजितले भने– त्यो बेला तिमी जसरी दिनकै आउँथ्यौ, त्यसैगरी अरू पनि आउँथे । मैले कसका कुरा सुन्ने र कसका गीत गाउने ? त्यो सम्भव नै थिएन ।

युवराज लामाकै अर्को चलचित्रमा गीत लेख्ने अवसर पाए उनले । ‘मनमन्दिर’ चलचित्रमा सत्यराज आचार्य र देविका प्रधानले गाए । न पहिलो गीत चल्यो न दोस्रो ।

‘ख्यालख्यालैमा’ भन्ने चलचित्र बन्दै थियो । शम्भुजित र राजु शाहले उनलाई बोलाए । गीत लेख्न बोलाएका रहेछन् । पानीपोखरमा शम्भुजितको घर थियो । त्यहीँ गए ।

दयारामले शम्भुजितसँग आग्रह बिसाए– यसअघिका मेरा दुइटै गीत चलेनन् । अबचाहिँ मलाई चल्ने गीत लेख्न दिनुस् ।

–    कस्तो लेख्छौ त ?

–    हजुर फरक खालको गीत गर्ने मान्छे । म केही चल्ने खालको गीत गाउने प्रयास गर्छु । अंग्रेजी र नेपाली मिलाएर ट्राई गरौँ ?

–    अंग्रेजी र नेपाली त अलि मिल्दैन ।

–    त्यसो भए हिन्दी र नेपाली मिसाएर गरौँ त ?’

–    लेख न त हेरौँ ।

अनि दयारामले लेखे, ‘हमसे पुछोना...’

गीत रेकर्ड भयो । बजारमा आयो । तर, रेडियो नेपाल र हिट्स एफएमले ब्यान्ड गरे । यसको नेगेटिभ चर्चा भयो । तर, यो नेगेटिभ चर्चाले दयारामलाई भने फाइदा नै भयो । उनी नोटिस भए ।

“त्यसपछि त्यो बेला चलेका संगीतकारहरू सचिन सिंह, सुरेश अधिकारी, महेश खड्का, चेतन सापकोटा, वसन्त सापकोटा, ताराप्रकाश लिम्बूले मलाई खोज्न थाल्नुभयो,” दयाराम भन्छन्, “उहाँहरूले आफैँले खोज्न थालेपछि मैले उहाँहरूसँग काम गरेँ । मैले मन लागेर पनि काम गर्न नपाएको भनेको रञ्जीत गजमेर र शक्ति बल्लवसँग हो । किनभने, उहाँहरूले त्यो बेला करिब–करिब काम गर्न छोडिसक्नुभएको थियो ।”

०६२ देखि ०६९ सम्मका चलचित्रका गीतमा दयारामको एकाधिकार नै रह्यो भन्दा पनि सायद अरूलाई अन्याय हुँदैन ।  “०६२ देखि ०६९ सम्मका करिब ९० प्रतिशत चलचित्रमा मेरा गीत हुन्थे नै । हालसम्म ५०० चलचित्रमा हजारभन्दा धेरै मेरा गीत रेकर्ड भइसकेका छन्,” उनी भन्छन्, “बिहान ८ बजे सुरेश अधिकारीकोमा, मध्याह्न महेश खड्काकोमा पुग्ने उनी दिउँसो चेतन सापकोटा, लक्ष्मण शेषकोमा पुग्थे । साँझ शम्भुजित बास्कोटाको घरमा हुन्थे ।

शम्भुजित बास्कोटा त्यो बेला यति व्यस्त हुन्थे उनी भित्र रहँदा उनीसँगै एउटा समूह हुन्थ्यो । गेटमा एउटा समूह हुन्थ्यो भने छेउको चिया पसलमा अर्को समूह उनको समय कुरेर बसिरहेको हुन्थ्यो ।

तर, शिव रेग्मी हुन् अथवा दयाराम दाहाल । दीपक श्रेष्ठ हुन् वा मदन घिमिरे, चलेका अधिकांश निर्देशकले संगीतकारमा शम्भुजितलाई लिएका हुन्थे भने गीतकारका रूपमा दयारामलाई ।

निर्देशक–निर्माताको एउटा समूह उठेर जान्थ्यो, अर्को समूह आउँथ्यो । त्यो पनि उठेर जान्थ्यो अनि अर्को समूह आएर बस्थ्यो । “तर, त्यो समय अधिकांश निर्देशकले मलाई गीतकारका रूपमा लिएकाले म हरेक समूहको बसाइमा त्यहीँ हुन्थे,” दयाराम भन्छन्, “अहिलको जस्तो होइन, त्यो समय त्यहीँ निर्देशक, निर्माता, गीतकार, संगीतकार एकै ठाउँमा बसेर गीत लेखिन्थ्यो । सजिलो के थियो भने एउटा गीतको ट्युनिङ शम्भुजित दाइले १०/१५ मिनेटमा निकाल्दिनुहुन्थ्यो । एउटा गीतको तीन÷चारवटा ट्युनिङ निकाल्निुहुन्थ्यो ।”

अधिकांश गीतको शब्द शम्भुजितसँगै बसेर एकै ‘सिटिङ’मा सक्थे दयाराम । तर, केही गीतलाई भने समय लाग्थ्यो । जस्तै, ‘हिफाजत’ चलचित्रको ‘हरेहरे नारायण...’ गीत सक्न उनलाई तीन महिना लागेको थियो ।

सहभागीलाई काम गर्ने गज्जबको माहोल तयार गरिदिन्थे शम्भुजित । काम नसकी उठ्दैन थिए । मध्यरातमा भुटेको मासु र तारेको आलु आइपुथ्यो । जसरी हुन्छ राम्रो काम निकाल्नुपर्छ भन्ने उद्देश्यले त्यहीअनुसारको वातावरण तयार हुन्थ्यो शम्भुजितको घरमा ।

दयारामले लेखेका दर्जनौँ गीत छन्, जो दर्शकले रुचाए । ‘सिन्का सिन्का...’, ‘मागेर पाउने भए...’, ‘यो फूलको त कुरै छोडौँ...’, ‘ढल्क्यो ढल्क्यो...’, ‘आयो तिम्रो याद आयो...’, ‘मै राम्री हुन...’, ‘मुसुक्कै हाँस्यौ मोहनी लायौ...’, ओए ओए करेन्ट लाग्छ मलाई छोए...’, ‘हजुरबाले भनेथे...’ उनले लेखेका गीत हुन् ।

चलचित्रमा सोलो गीत लेख्ने उनको ठूलो रहर थियो । त्यो रहर पूरा गरिदियो, ‘निखिल दाइ’ले । त्यसपछि उनले ‘दुई पल’, ‘त्रिशूल’, ‘हंगामा’, ‘दुर्गा’, ‘बर’, ‘हिम्मत–२’, ‘पापी मान्छे–२’ लगायत करिब चार दर्जनभन्दा धेरै चलचित्रमा सोलो गीत लेखे । जुन समय प्रतिचलचित्र चारदेखि पाँचवटा गीत अनिवार्यजस्तै थियो ।   

० ० ०

गीतकारका पनि त आफ्नै समस्या छन् । पारिश्रमिक लियो, गीत बेच्यो । गीत हिट हुन्छ । नागरिकको जिब्रोमा गीत झुन्डिन्छ । नागरिकले चिन्छन्, गीत गाउनेलाई । तर, गीत कसले लेख्यो कसैलाई पत्तै हुँदैन ।

केही वर्षअगाडिको प्रसंग । घर पुगेका थिए दयाराम । जुन समय हास्यटेलिशृंखला ‘तीतो सत्य’ हिट थियो । दसैँको समय परदेशिएकाहरू गाउँ फर्किएका थिए । लोकदोहोरी र भलिबलको उर्वर भूमिमा स्याङ्जालीहरू भेला भएपछि भलिबल खेल्छन् नै । दयाराम पनि कोर्टमा पुगेका थिए । एकजना साथीले भने– त्यो तीतो सत्य सुरु हुनुभन्दा अगाडि आउने गीत कसको होला है ? कस्तो राम्रो लाग्छ । नाम त दयाराम पाण्डे छ, कहाँको पाण्डे र’छ ? 

दयारामले भने– मै हो’त, मैले लेखेको हो नि ।

–    गफ दिन्छस्, कहीँ नपाएर तैले गीत लेख्छस् ।

दयारामलाई ‘तीतो सत्यको शीर्ष गीत मैले नै लेखेको हो, चलचित्रमा दयाराम पाण्डे नाममा गीत लेख्ने मान्छे मै हुँ भनेर विश्वास दिलाउनै गाह्रो पर्याे ।

यस्ता किस्सा उनीसँग थुप्रै छन् । नारायणगढमा एउटा कार्यक्रम थियो । कार्यक्रममा गीतकारका रूपमा सम्मान गरे । स्टेजमा अरू पनि थिए । गायक/गायिकाहरू गीत गाइरहेका थिए । एकजनाले उनलाई भने– दीपक लिम्बूले गाएको ‘मागेर पाउने भए म...’ गीत कसले लेखेको होला नि, कस्तो राम्रो छ ?

दयारामले भने– म नै हो यो गीत लेख्ने । दीपकका हिट गीतमा आधाभन्दा धेरै त मेरै गीत होलान् । 

ती व्यक्तिले भने– तपाईंले नै लेखेका गीत हुन् ती पनि ? हो है ?

ती व्यक्तिको सोधाइ र भावभंगीमा गीतकार दयाराम नै हुन् भन्नेमा शंका गरिरहेको स्पष्टै देखिरहेका थिए । 

० ० ०

प्रथम नेपाल फिल्म अवार्ड नै गीतकारका रूपमा हात पारेका उनले यो अवार्डमा ह्याट्रिक गरे । कालिका एफएम अवार्ड, राष्ट्रिय बक्सअफिस अवार्ड, इनास अवार्ड, छायाछवि म्युजिक अवार्ड, कृति अवार्ड, रापती म्युजिक अवार्डलगायत थुप्रै अवार्ड हात पारिसकेका उनले राष्ट्रिय चलचित्र पुरस्कार अवार्डमा निर्णायकको भूमिका पनि निर्वाह गरिसकेका छन् ।

दयाराम त्यस्ता भाग्यमानी गीतकार हुन्, जसले आफ्नो सक्रिय जीवनकालमै दुई पुस्तासँग काम गर्ने अवसर पाए । शम्भुजित बास्कोटाले मात्रै उनका गीतमा संगीत गरेनन्, उनका छोरा सौर्यजित बास्कोटाले पनि संगीत भरे । उद्वव पौडेलले मात्रै आफ्नो चलचित्रमा दयारामको गीत लिएनन्, उनका छोरा निरक पौडेलले पनि आफ्नो चलचित्रमा गीतकार दयारामलाई लिए । उदितनारायण र दीपानारायणले मात्रै कहाँ हो र उनका छोरा आदित्यनारायणले पनि उनका गीत गाएका छन् ।

पहिलो पुस्ताका नायक शिव श्रेष्ठले मात्रै दयारामका गीतमा कम्मर मर्काएनन्, पछिल्लो पुस्ताका प्रदीप खड्का पनि उनका गीतमा नाचे ।

प्रायः धेरै गीतकारहरू भन्ने गर्छन्– गीत मुड आउँदा लेखिन्छ । तर, दयाराम अलि फरक सुनिए । उनी भन्छन्, “म गीत मुड बनाएर लेख्छु । म्युजिकको एउटै सिटिङमा १५ मिनेटमा अन द स्पट धेरै गीत लेखेको छु ।”

त्यसो त दयाराम चलचित्रका गीत मात्रै लेख्दैनन् । उनी सुगम संगीतदेखि आइटमसम्मको जानरामा कलम चलाउँछन् । त्यसैले त उनका गीत धेरैले गाएका छन् । शम्भुजितदेखि उदितनारायण, साधना सरगमदेखि अञ्जु पन्तसम्मले उनका गीतमा स्वर भरेका छन् । संगीतको अघिल्लो पुस्ता शम्भुजितदेखि अहिलेका अर्जुन पोखरेलसम्मले उनका शब्दमा संगीत भरेका छन् । 

० ० ०

चलचित्रका गीत लेखनमा पुराना गीतकारहरू नै थिए, जो अधिकांश सुगम संगीतमा आफूलाई स्थापित गरिसकेका लिजेन्ड थिए । त्यसैले निर्माता तथा निर्देशकहरू चलिरहेको भन्दा आधुनिक, मुखै खोलेर भन्दा ‘हाउडे’ गीत लेख्नुप¥यो भने धेरैले दयारामलाई खोज्न थाले । समय परिवर्तन हुँदै थियो । समयसँगै नयाँ पुस्ताको टेस्ट फरक हुँदै थियो । त्यसैले उनका गीतले सफलताको स्वाद चाख्दै थिए । चलचित्रका गीतको काउन्टडाउनमा एफएमहरूले गीत बजाउँदा हरेक हप्ता १० वटा गीतमा आधाभन्दा धेरै त उनकै गीत हुन्थे ।

फर्केर हेर्दा, यादव खरेल, किरण खरेलको समयमा गीतकारको इज्जत थियो । तर, पारिश्रमिक थिएन । दयारामले दुई हजारबाट २५ हजारसम्म प्रतिगीत  पारिश्रमिक लिए । ऊ बेला वास्तविकतासँग गीत नजिक हुन्थे, अहिले कल्पनाशीलतामा गीतकार धेरै खेल्छन् । जस्तै, ‘कुन लोककी परी हौ तिमी... ।’

पहिला सरल शब्द चयनमा जोड दिइन्थ्यो । अहिले क्लिष्ट शब्द राखे गीत राम्रो हुन्छ भन्ने गीतकारमा भ्रम छ । उदाहरण, पलकित पल्लवी सुशोभित सुरवी... । यो भ्रम दयाराममा पनि नभएको होइन । 

उनलाई यो महसुस गराइदिए, किरण खरेलले ।

एक दिन किरणले दयारामलाई आफ्नै घरमा बोलाए । बच्चा हुँदा उनकै गीत सुनेर हुर्र्किएका दयाराम पुलकित हुँदै किरणको घर बानेश्वर पुगे ।

किरणले सोधे– दया के गर्दै छौ ? कस्तो हुँदै छ गीत–संगीत ? तिम्रो गीत सुनेको थिएँ, चलचित्र मौसमको ।

दया– हजुर, दाइ ठिकै छ । हजुरलाई कस्तो लाग्यो ? (उत्साही हुँदै सोधे ।) उनी उत्साही हुनु पनि ठिकै थियो, कारण उनी आफैँलाई भयंकर राम्रो लागेको गीत, त्यसमाथि पनि अवार्ड पाएको गीत ।

किरण– ठिक छ, माइन्ड नगर । तर, यस्तो चाहिँ नलेख । क्लिष्ट शब्द राख्नु हुँदैन । गीतमा सधैँ सरल शब्द हुनुपर्छ ।
किरणले त्यो समय भर्खरै लेखेका थिए, ‘ए दिल मलाई सुटुक्क भन, कसले चोर्याे मन...।’

किरणको भनाइ थियो– गीत त्यस्तो हुनुपर्छ, जुन गीतका शब्द एकपटक सुन्दा हरेकको दिमागले सहजै सम्झन सकोस् ।

गीतकारमा आफूले आदर्श मानेका किरण र यादव खरेलजस्ता व्यक्तिले दिएको सुझाव दयारामलाई शिरोधार्य थियो ।    
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  १०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro