काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भीजी अटोमोबाइल्स प्रालिले बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा ल्याएको छ ।
यो भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटर मध्येमा पर्दछ । सुजकी एक्सेस स्कुटर विगतमा नेपालमा पनि मध्यम वर्ग र व्यावसायिक प्रयोजनमा निकै रुचाइएको स्कुटरमा पर्छ । एक्सेस स्कुटरमा आगाडी ग्यास सिलिन्डर अटाउने, फराकिलो सिट तथा अगाडिको भागमा स्टिलको कभर समेत रहेको छ । यसले गर्दा दैनिक प्रयोजनका लागि निकै नै उपयोगी रहेको कम्पनीले जनाएको छ ।
हाल नेपालमा भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग गरिएको छ । नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात बीएस ६ प्रविधि जडान गरिएको छ भने एफआई प्रविधि समेत रहेको हुँदा उत्कृष्ट माइलेज आउने कम्पनीको दाबी छ ।
२ भल्वयुक्त इन्जिन प्रयोग भएको यस स्कुटरमा इन्जिनले ६७५० आरपीएममा ८.७पीएस पावर र ५५०० आरपीएममा १० एनएमटर्क जेनेरेट गर्ने जनाइएको छ ।