काठमाडौं । लघुकथा समाज नेपाल, केन्द्रीय समितिले ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०७८’ तथा ‘पद्मा–रामचन्द्र लघुकथा पुरस्कार–२०७८’ को घोषणा गरेको छ ।
शुक्रबार समाजको सम्पन्न भर्चुअल बैठकले पहिलो पटक प्रदान गर्न लागिएको ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०७८’ सर्वनाम नाट्य संस्थालाई प्रदान गर्ने निर्णय गरेको छ ।
सर्वनामले लामो समयदेखि नाट्य रुपान्तरण गरी लघुकथा मञ्चन गर्दै आएको छ । रंगमञ्चमासमेत प्रस्तुत गर्दै सर्वनामले लेखन र वाचनमा मात्रै सीमित लघुकथालाई दृश्यमा परिर्वतन गरिदिएर लघुकथाका क्षेत्रमा विशेष योगदान पुर्याएको समाजको ठहर छ ।
पहिलो पटक प्रदान गर्न लागिएको यो सम्मानकासाथ १५ हजार नगद राशीसमेत प्रदान गरिने छ ।
त्यस्तै समाजले ‘पद्मा–रामचन्द्र लघुकथा पुरस्कार–२०७८’ लघुकथा लेखक डा. रवीन्द्र समीरलाई प्रदान गर्ने निर्णय गरेको छ । लामो समयदेखि लघुकथामा क्रियाशील सर्जक डा. समीरका थुप्रै लघुकथा कृतिहरू प्रकाशित छन् । पुरस्कारकासाथ १० हजार नगद राशी पनि प्रदान गरिने छ ।
घोषणा गरिएका दुवै सम्मान तथा पुरस्कार लघुकथा समाजले आउँदो भदौ ५ गते आयोजना गर्ने समाजको वार्षिकोत्सव कार्यक्रममा प्रदान गर्ने जनाएको छ ।