काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा सेवा आयोगमा पदाधिकारी नियुक्त गर्ने तयारी गरेका छन् । ६ महिनादेखि पदाधिकारीविहीन बनेको आयोगमा मन्त्रिपरिषद्ले आजै पदाधिकारी नियुक्त गर्ने तयारी गरेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
आयोगमा लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीसहितको तीन सदस्य सिफारिस समितिले पूर्वशिक्षा सचिव मधु रेग्मीलाई अध्यक्ष, पूर्व शिक्षा सहसचिव डिल्लीराम रिमाल र पूर्वप्रधानाध्यापक नन्दकुमारी महर्जनलाई सदस्यमा रूपमा सिफारिस गरेको थियो ।
सिफारिसमा अनियमितता भएको भन्दै तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नियुक्तिको सट्टा छानबिन गर्न निर्देशन दिएका थिए । निवर्तमान मन्त्री श्रेष्ठको निर्देशनमा शिक्षा सचिव रामप्रसाद थपलियाले सिफारिस र मूल्यांकन पुनर्विचार गर्न आयोगलाई पत्र समेत लेखेका थिए ।
स्रोतकाअनुसार अब सरकारले सोही सिफारिसलाई मान्यता दिन लागेको हो । यसबारेमा सोध्दा आयोगका सूचना अधिकारीले नियुक्ति प्रक्रियाबारे अनविज्ञता प्रकट गरे ।