दाङ । दाङमा जारी निषेधाज्ञा असार ३१ गते सम्मलाई लम्ब्याइएकाे छ । कोरोना संक्रमणकाे जाेखिम कायमै भएकाले जारी लकडाउनलाई असार ३१ गते सम्म लम्ब्याइएकाे जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन समितीका संयोजक तथा दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
असार मसान्त चलिरहेकाले स्थानिय तहका प्रमुखहरूको व्यस्तताका कारण आज जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक बस्न नसकेपनि सबैसँग टेलिफोनमार्फत् अनुमति लिई लकडाउन थपिएको उनको भनाइ छ ।
यसअघि असार १५ गते बसेको केन्द्रको बैठकले गरेका निणर्यमा कुनै फेरबदल नगरिएको र लकडाउनलाई थप ९ दिन थपिएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताए । सार्वजनिक र निजी सवारीका साधनलाई सिट क्षमता अनुसार मात्रै यात्रु राखेर जिल्ला भित्र सञ्चालन गर्न उनले आग्रह गरेका छन् ।
त्यस्तै, बजार तथा व्यवसाय बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने र सरकारी कार्यालय एवम् बैंक तथा वित्तीय संस्थाहरू बिहान १० देखि बेलुका ५ बजेसम्म खुला गर्ने पुरानै निणर्यलाई यथावत राखिएको उनले बताए ।