नेपालको जनसंख्याको कति प्रतिशतले नेपाली चलचित्र हेर्छ ? कसैसँग कुनै आधिकारिक तथ्यांक छैन । नेपालमा करिब तीन करोड जनसंख्या छ । यसको तीन प्रतिशतले मात्रै चलचित्र हेर्ने हो भने एउटा चलचित्र नौ लाख दर्शकले हेर्छन् । र, एउटा टिकटको औसत ३०० रुपैयाँ राख्ने हो भने एउटा चलचित्रले २७ करोड ग्रस कलेक्सन गर्छ । यसको एक भाग मात्रै मेकरको हातमा पर्यो भने नौ करोड रुपैयाँ हुन्छ । औसतमा डेढ–दुई करोडमा नेपाली चलचित्र बनिरहेको अवस्थामा मेकरले लगानी बढाएर सिनेमा बनाउन सक्छ । यसको अर्थ बजेटका कारण मेकर खुम्चिनु पर्दैन ।
तर, अवस्था त्यस्तो छैन । नेपाली चलचित्र हेर्ने दर्शकको संख्या न्यून छ । नेपालमा फिल्म कल्चर विकास हुन सकेको छैन । त्यसमा पनि अपेक्षित राम्रा चलचित्र बन्न नसक्दा दर्शक आकर्षित हुन नसकेको बताइन्छ । के कारणले नेपाली चलचित्र हेर्न दर्शकमा आकर्षण भएन ? नेपाली चलचित्र र दर्शकबीच किन फराकिलो दूरी कायम भएको हो ? मेकरले दर्शकको मनोविज्ञान किन बुझ्न सकेनन् ? दर्शकको चाहनालाई सम्बोधन गर्ने चलचित्र बनाउन नसेकेकै कारण दर्शक र चलचित्रबीचको दूरी बढेको हो ? यो दूरी घटाउन सकिँदैन ? यी र यस्तै जिज्ञासको सेरोफेरोमा फिल्म समीक्षक तथा निर्देशक मनोज पण्डितसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीमा आधारित सामग्री ।
० ० ०
दर्शक र यसको अवधारणा के हो भन्नेमा पहिला स्पष्ट हुनुपर्छ । नेपालमा दर्शकको अस्तित्त्व के हो भन्ने विषयमा त्यति धेरै गम्भीर भएर सोचेको पाइएको छैन । दर्शक आफैँमा स्वार्थ समूह हो । दर्शक स्वार्थ हो । दर्शक जीवनका थुप्रै उतार–चढावको सामना गर्दै बाँचिरहेको हुन्छ । त्यसैले पहिलो दर्शक के हो भनेर यसको गहिरो विश्लेषण आवश्यक छ ।
सिनेमा कथा हो । तर, दर्शक यथार्थ हो । कथा र यथार्थबीच सधैँ द्वन्द्व भइरहन्छ । सर्जकहरु सधैँ कथाको संसारमा हुन्छन् । तर, दर्शक जहिले पनि यथार्थको संसारमा हुन्छ । सर्जकको चाहना कल्पना र कथाको संसारबाट यथार्थको संसारमा पदार्पण गर्नु हुन्छ । तर, दर्शकको चाहना यथार्थको संसारबाट कथाको संसारसँग अन्तरक्रिया गरौँ भन्ने हुन्छ । यी दुई विपरीत अवधारणा हुन् । संसारमा चल्ने हरेक प्रक्रियामा विपरीत अवधारणाको मेल हुन्छ । विपरीत अवधारणाको मेल त्यति बेला हुन्छ, जति बेला आवश्यकता र पूर्तिबीचको सम्बन्ध स्थापित हुन्छ ।
दर्शकको आवश्यकता के हो भन्नेमा नेपालमा नेपाली चलचित्रका मेकरहरुले खासै धेरै गम्भीरता देखाएको पाइँदैन । दर्शकको आवश्कता के हो भन्ने विषयमा खासै धेरै अध्ययन तथा अनुसन्धान पनि भएको छैन । र, यसको अवधारणा र महत्त्वमा पनि खासै चासो दिइएको छैन ।
दर्शकले यो चलचित्र हेर्यो र यो हेरेन भनेर भन्ने र दर्शकलाई वर्गीकरण मात्रै गर्न खोजेको पाइन्छ । दर्शक बहुआयमिक हुन्छ । दर्शक आफूले हेर्ने चलचित्रमा इंगेज हुन चाहन्छ । दर्शकले व्यस्तता खोज्छ, जुन मानव समुदायको चरित्र नै हो । दर्शक चलचित्रमा आफू प्रतिविम्बित भएको हेर्न चाहन्छ । दर्शक एक्साइटेड हुन चाहन्छ । दर्शक सरप्राइज हुन खोज्छ ।
दर्शक बजारमा आफ्नो आवश्यकता पूर्ति गर्ने साधन खोज्दै हिँड्छ । दर्शकका यी आवश्यकता मध्ये मेकरले कुनचाहिँ आवश्यकता पूरा गरिदिन्छ भन्ने कुराले चलचित्रसँग दर्शकको सम्बन्ध स्थापित हुन्छ । दर्शक आवश्यकताहरुमा रुमलिरहेको पात्र हो । जो पर्दामा देखिएको कथासँग सम्बन्ध स्थापित गर्न चाहन्छ ।
संसारका सबै दर्शक एकै हुन् । यो वा त्यो देशमा अनुहार र भाषाका आधारमा दर्शक फरक होलान् । तर, वास्तवमा विश्वभरका दर्शक एकै हुन् । नेपाली र अमेरिकी दर्शक फरक–फरक हुन् भन्ने हुँदैन । धेरै पढे–लेखेका र कम पढेका वा नपढेका दर्शकबीच पनि त्यति धेरै फरक हुन्छ भन्ने मलाई लाग्दैन । खालि आवश्यकता के हो र त्यसको परिधिमा के फरक छ भन्ने मात्रै हो ।
इलियट दर्शक र गाउँका दर्शकमा फरक छ भनेर म मान्दिनँ । उनीहरुको चिन्तनको प्रणालीमा केही फरक होला । तर, आवश्कता सबैमा समान छ । दर्शकलाई विभाजन गर्नुपर्ने ठूलो आवश्यकता म देख्दिनँ । दर्शकको विभाजन गर्न खोज्नु दर्शकको अस्तित्त्व नबुझ्नु हो । फिल्ममेकरको सीमिततालाई डिफाइन गर्न र ढाकछोप गर्न इलिट र गाउँले दर्शक भनेर भनिरहेका छौँ । गाउँका हुन् वा सहरका सबै दर्शक समान छन् । किनभने, उनीहरु केही आवश्यकता बोकेर आएका छन् । आफ्नो आवश्यकता पूरा भएन भने दर्शकले मेकरलाई हेर्दैन, सुन्दैन ।
नेपाली जनताको आधारभूत आवश्यकता सिनेमा हो ? हामीले नेपालमा आधारभूत आवश्यकताका रुपमा सिनेमालाई विकास गर्न सक्यौँ कि सकेनौँ ? यसमा गहिरोसँग सोच्नुपर्ने र विश्लेषण गर्नुपर्ने भएको छ । नेपाली दर्शकलाई चलचित्र हेर्नुपर्ने आवश्यकता विकास गर्न हामीले बनायौँ कि बनाएनौँ ? यो प्रश्न गरेर यसको जवाफ खोज्ने हो भने नेपाली जनताको प्राथमिकतामा सिनेमा छैन । हामीले हाम्रो सिनेमालाई प्राथमिक आवश्यकतामा कहिल्यै पारेनौँ । आवश्यकताहरुको प्राथमिकता निर्धारण गर्दा पाँचौँ आवश्यकतातिर पनि पर्दैन चलचित्र अर्थात् मनोरञ्जन । कम आवश्यक वस्तुहरुको सूचीमा चलचित्र पर्ने भएकाले नेपाली सिनेमासँग नेपाली दर्शकको अन्तरक्रिया अत्यन्तै कम छ । यसकारण नेपाली दर्शकलाई मेकरले र दशर्कले पनि चलचित्र बुझ्न नसकेको हो । तर, जनतालाई चलचित्र आवश्यकताको साधनमध्ये एक हो भनेर बुझाउन सक्नु र त्यहीअनुसारका चलचित्र बनाउन सक्नु हाम्रो दायित्त्व हो । यदि, यसो गर्न सकियो भने नेपालमा दर्शकको संख्या असाध्यै ठूलो हुने छ । यदि, चलचित्रलाई जनताको आवश्यकताका रुपमा विकास गर्न सके हरेक बालिग नागरिक नेपाली चलचित्रको दर्शक हुने सम्भावना छ । तर, हामीले हाम्रा चलचित्रलाई आधारभूत आवश्यकताको रुपमा विकास गर्नै सकेनौँ ।
यसका लागि अर्थात् नेपाली चलचित्रलाई आधारभूत आवश्यकताका रुपमा निर्माण गर्न ठूलो बहसको आवश्यकता छ । जुन दिन सिनेमा आधारभूत आवश्यकता र सामाजिक वस्तुका रुपमा स्थापित हुन्छ, त्यति बेला दर्शकको विभाजन गरिरहनुपर्ने आवश्यक हुँदैन । त्यो बेला हरेक व्यक्ति हाम्रो सिनेमाको दर्शक बन्न सक्छ । किनकि, दर्शक वर्गीकृत भएर आउँदैन । ऊ आफ्ना थुप्रै आवश्यकताको परिपूर्तिका लागि आउँछ । दर्शकका ती थुप्रै आवश्यकता मध्ये कुनै आवश्यकता परिपूर्ति गर्न सके ऊ हलसम्म जान्छ । एउटै दर्शक थुप्रै चलचित्रको क्रय गर्ने व्यक्ति बन्न सक्छ । हामी दर्शक विभाजन गरिरहेका छौँ । तर, यहाँ आवश्यकता सिनेमाको वर्गीकरणको छ । एउटै मान्छे थुप्रै प्रकारका सिनेमाको दर्शक हुनसक्छ । कारण, एउटै व्यक्तिको रुचि, चाहना र आवश्यकता फरक–फरक हुन्छ । र, उसले फरक–फरक खालका चलचित्र हेर्न सक्छ । त्यसैले हामी भ्रममा छौँ, यो दर्शकले यो चलचित्र हेर्छ, तर यो हेर्दैन भनेर । जुनसुकै चलचित्रको दर्शक जो–कोही पनि हुनसक्छ, त्यसैले हामी भ्रममा नपरौँ । मात्रै हाम्रो सिनेमाले दर्शकको आवश्यकतासँग जोडिने सामर्थ्य बोक्नुपर्छ । व्यक्तिको चाहना पूरा गर्ने र आवश्यकता समाधान गर्न सक्ने सामर्थ्य राख्छ कि राख्दैन भन्ने मुख्य प्रश्न हो ।