काठमाडौं । नेकपा (एमाले)को बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागिएको छ ।
आज बालुवाटारमा बसेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा रूपा सुनार प्रकरणमा नैतिकताको प्रश्न उठेको भन्दै उनको राजीनामा मागिएको हो ।
साबिक महाधिवेशन आयोजक कमिटी सदस्य एवं पूर्वमन्त्री जगतबहादुर विश्वकर्माले उनको राजीनामा मागेका थिए । उक्त प्रकरणलाई लिएर व्यापक विरोध भएको भन्दै मन्त्री श्रेष्ठको राजीनामा मागिएको एक नेताले जानकारी दिए ।
रुपा सुनारलाई दलित भएको भन्दै कोठा दिन अस्वीकार गरेको आरोपमा पक्राउ परेकी घरधनी सरस्वती प्रधानलाई यही असार ९ गते मन्त्री श्रेष्ठको रोहबरमा छाडिएको थियो ।
पक्राउ परेकी घरधनीलाई छुटाउन मन्त्री श्रेष्ठ आफैँ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए ।