काठमाडौं । नेकपा (एमाले)मा थप केही नेताहरुलाई स्थायी कमिटीमा पुर्याइने भएको छ ।
आज बालुवाटारमा बसेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले उक्त कमिटी भंग गर्दै त्यसलाई एमाले केन्द्रीय कमिटीमा रूपान्तरण गर्नेलगायत निर्णय गरेको थियो ।
सोही बैठकले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीमा रहेका पूर्वमाओवादी केन्द्रका रामबहादुर थापा ‘बादल’सहितलाई स्थायी कमिटीमा लैजाने निर्णय गरेको हो ।
बैठकले बादलसहित पूर्वमाओवादीपट्टिका टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणिचन्द्र थापा तथा एमाले नेताहरु विष्णु रिमाल, रघुवीर महासेठ, रघुजी पन्त र वेदुराम भुसाललाई स्थायी कमिटी सदस्यमा व्यवस्थापन गर्ने निर्णय गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।