site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भोलि उठी कहाँ जाने केही थाहा छैन...
Sarbottam CementSarbottam Cement

मेलम्ची । बुधबार दिउँसो इन्द्रेश्वरी माध्यमिक विद्यालयको स्टोर रूममा पुग्दा विनोद श्रेष्ठ र उनकी पत्नी अजीता श्रेष्ठ बडो विक्षिप्त देखिन्थे । एकनास परिरहेको झरी थामिएको थिएन । उस्तै थियो उनीहरूको आँखा, संरक्षित सिमसार क्षेत्रसँग तुलना गर्न मिल्दो । सुहाउँदो ।

विनोद ३२ वर्षका भए । जीवनमा उनलाई इन्द्रावतीले त्यसरी धर्म छाडेको र आकार बदलेको थाहा थिएन । न, मेलम्चीले नै त्यसरी बाटो बिराएको थियो । 

दुवै नदी कहिले वल्लो किनार, कहिले पल्लो किनारतिर भँगालो सोझ्याएर आफ्नै लयमा गतिमान थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, मङ्गलबार मेलम्ची नदी (जुन लाम्टाङ राष्ट्रिय निकुञ्ज हुँदै बग्छ र काठमाडौंबासीको तिर्खा मेट्ने ध्याउन्नमा पनि छ )ले रौद्र रूप धारण गर्‍यो । विशालकाय रूख र भीमकाय ढुङ्गासहित बगेको नदीले आफ्नो साविकको सतह छोप्यो । बजार क्षेत्रतिर भँगालो सोझियो ।

नदी कसरी उर्लियो र बगर ढाक्यो ? स्थानीयबासीहरूले अनुमान गर्न सकेका छैनन् । विनोद र अजीताले पनि भेउ पाउन सकेका छैनन् । इन्द्रावतीको विद्रूप रूप र डुब्दै गरेको बजार क्षेत्रको दृश्य मात्रै उनीहरूको मथिङ्गलमा फेरो मारिरहेको छ । एक प्रकारको ‘ट्रमा’मा छन्, उनीहरू ।

Global Ime bank

अहिले कल्पनातीत बाढीले तल्लो बजार क्षेत्र बगरमा परिणत भएको छ । झरी नथामिएकाले बाढी रोकिने छाँट छैन । इन्द्रावती विध्वंसतर्फ नै उद्यत छ ।

“हिजो (मङ्गलबार) साँझ ५ बजेतिर इन्द्रावतीमा भेल बढेको थियो । वर्षात्को समय बाढी त स्वाभाविक हो किन भनेर हामीले खासै वास्ता गरेनौँ,” विनोद बाढीको सुरुआती अवस्थाबारे वर्णन गर्दै भन्छन्, “इन्द्रावतीको बाढी त केहीछिन थामियो पनि । तर, मेलम्ची पो बढ्न थाल्यो ।”

मेलम्ची र इन्द्रावतीको दोभानभन्दा केही तल मेलम्चीको तल्लो बजार क्षेत्र । केही वर्ष अघिसम्म पनि बजार त्यसरी फैलिएको थिएन । बाढीको सामान्य पनि भय नभएकाले बजार विस्तारित भयो । मेलम्ची नगर क्षेत्रको रूपमा विकास भएपछि स्थानीय तहले आफ्नो संरचना उभ्यायो । चलचित्र घर, पसल, कलकारखाना पहिल्यै थियो । आमा ह्योल्मो बसपार्क, कभर्डहल आदि संरचना थपिएपछि बाक्लो आवादीको परिचय पनि पाएको थियो, तल्लो बजारले ।

“पहिले सामान्य बजार क्षेत्र थियो । अहिले त ठूल्ठूला होटल बन्दै थिए । मेलम्ची नगरपालिकाले बहुउद्देश्यीय भवन पनि बनाउँदै थियो । बसपार्क पनि थपिएको थियो,” बालुवाको लेदो, थुप्रोभित्र हराएको र भग्नावेशका रूपमा सीमित बजार क्षेत्रबारे बताउँदै विनोद भन्छन्, “बाढी आउला भन्ने कसले चितायो र ? फेरि यस्तो बाढी कसैको आँखाले देखेको पनि होइन ।” 

राणाकालीन विकासको अवशेष पनि मेटियो

मेलम्ची र इन्द्रावती नदी दोभान क्षेत्रसँग राणाकालीन साइनो पनि छ । राणाकालमा मेलम्ची र ज्यामिरे, लाँगर्चे आवतजावत गर्न इन्द्रावती खोलो बाधक थियो । मेलम्ची, तालामाराङ, ग्याल्थुम, किउल आदि वल्लो तटीय क्षेत्रका मानिसहरूसँगको सम्पर्क काठमाडौंसँग हुन समस्या थिएन । पल्लो तटीय क्षेत्रका मानिसहरू हिउँदयाममा त जसोतसो ओहोरदोहोर गर्थे । वर्षात् कालमा कठिन हुने देखेपछि राणा प्रधानमन्त्री चन्द्र शमशेरकै पालामा मेलम्ची र ज्यामिरे जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको थियो । मङ्गलबारको बाढीले त्यसलाई पनि नामेट बनाइदिएको छ । राणाकालीन विकासको अवशेष पनि इन्द्रावती नदीले आफूसँगै समाहित गरेको छ । र, मेलम्ची क्षेत्रलाई धेरै पछि छाडेको छ ।

“अहिले त झोलुङ्गे पुलको अवशेष पनि भेटिँदैन । पुल हालेको ठाउँ कहाँनेर थियो भनेर ठम्याउन पनि मुस्किल छ । पुल मात्रै होइन अरू संरचनाहरूको अवस्था पनि अज्ञात छ । अरू त अरू नवलपुर जोड्ने पक्की पुल, त्योभन्दा पारीका तीनचारे तले घर पनि कहाँ थिए भनेर ठम्याउन मुस्कि छ,” बजार क्षेत्रबाट विस्थापित भएर इन्द्रेश्वरी माविमा आश्रय लिइरहेका विनोद भन्छन्, “बाढीले त राणाकालीन विकासको अवशेष पनि मेटाइदियो । हामी त निकै पछाडि पो पर्ने भयौँ ।”

इन्द्रावती भेलले मेलम्ची क्षेत्रलाई राणाकालभन्दा पनि पछाडि पुर्‍याइदिएको उनको ठम्याइ छ ।

मेलम्चीमा यो शताब्दीमा नआएको बाढी आइरहेको छ । बाढीले अद्यापि वितण्डा मच्चाइरहेको छ । मेलम्ची बजार क्षेत्रलाई पूर्णरूपमा निलेको इन्द्रावतीले इलाका प्रहरी कार्यालय (बजार क्षेत्रबाट सय मिटर दक्षिण)तर्फ कटान थालेको छ । इलाका प्रहरी कार्यालयबाट दक्षिणतर्फ रहेको नयाँ बन्दै गरेको बस्ती (मन शान्ति) पूर्णरूपमा खण्डहर तुल्याइएको छ ।

मेलम्ची खानेपानी परियोजना अभिशाप त बन्ने होइन ?

मेलम्ची खानेपानी परियोजना भित्रिएपछि विकासको घुम्टो उघारेको यस क्षेत्र शनैःशनैः प्रगति पथमा लम्किँदै थियो । मानिसहरूको जीवनस्तर अपेक्षाकृत सुध्रँदै पनि थियो ।

तथापि मेलम्ची खानेपानी परियोजना अभिशाप त बन्ने होइन भन्ने प्रश्न मेलम्चीबासीको मनमा भने ठिङ्ग उभिई नै रहेको रञ्जीत श्रेष्ठ बताउँछन् ।

मेलम्ची नदी त्यस भेगको सौन्दर्य मात्रै होइन । सभ्यता हो । जीवन हो । तर, त्यसको मूल भँगालो काठमाडौंतिर सोझ्याएपछि पारिस्थिति प्रणाली नै बिग्रने हो कि, त्यहाँका मानिसहरूको जीवन नै समाप्त हुने हो कि, सभ्यता नै विनष्ट भएर मेलम्ची क्षेत्र रुग्ण बन्दै जाने हो कि भन्ने प्रश्न उभिए पनि स्थानीयबासीले सहेको उनी बताउँछन् ।

तर, अहिले बाढी उर्लिएर मेलम्ची बजार इतिहास बनेपछि यसको कारण खोज्नुपर्ने रञ्जीतको तर्क छ ।

“कतै मेलम्ची खानेपानी परियोजनामार्फत् पानी लैजाने नाममा प्रकृति दोहन भयो कि ? बाँध बनाउँदा २०७२ को भूकम्पले खज्मजिएको त्यहाँको भूबनोट झन् गिजोलियो र पहिलो झर्‍यो कि ? हैन भने ५० मिटर माथि खोलो कसरी आउन सक्छ ? ५० मिटर खोलो पुर्ने लेदो कहाँबाट उत्सर्जन भयो ? नदीका विशालकाय ढुङ्गा छोपिने गरी बाढी कहाँबाट पैदा भयो ? यसको खोजी गरिएन भने नदी तटीय क्षेत्रका बस्ती समाप्त हुनेछन् । मेलम्ची त सकियो नै,” उनी पीडा पोख्छन् ।

उनले मेलम्चीको बाँध खोल्दा स्थानीयबासीलाई सुइँको पनि नदिएको आक्रोश पोखे । “मेलम्ची खानेपानी परियोजनाले बाँध खोल्दै रहेछ । सरसफाइ गर्दै रहेछ, हामीले पत्रिका पढेर थाहा पायौँ । नदी तटीय क्षेत्रका मानिसहरूलाई थाहा दिनुपर्दैन ? पूर्वसूचना दिनुपर्दैन ?,” उनको आक्रोश थियो ।
 
जुरे बिर्साउने पहिरो नाकुतेमा

तिम्बु, चनौटे, सेराफाँट, तालामाराङ हुँदै मेलम्ची बजारमा बाढी पस्नुको कारण खानेपानीको बाँध नभएको स्वास्थ्यमन्त्री तथा त्यहाँका जनप्रतिनिधि शेरबहादुर तामाङ बताउँछन् । उनकाअनुसार नाकुते क्षेत्रमा विशाल पहिरो गएको छ, जुरे बिर्साउनेगरी । २०७१ साउनमा जुरेको पहाड खस्दा भोटेकोसी नदी थुनिएको थियो । १ सय २३ जना बेपत्ता भएका थिए ।

नाकुते (हेलम्बु क्षेत्रमा रहेको मेलम्ती ध्याङ र तार्के ध्याङ बीचको भूभाग)मा त्यसैगरी पहिरो खसेको छ । मेलम्ची थुनिने र खोलिने उपक्रम जारी छ । यही कारण मेलम्चीमा बाढी पसेको उनी बताउँछन् ।

“मेलम्ची खानेपानीको बाँध खोलेर निम्तिएको क्षति होइन । बाँध खोल्दा लेदो आउँदैन । लेदो आउनुको कारण भनेकै पहिरो हो । विशाल पहिरो खसेर अहिले पनि नदी खोलिने र थुनिने क्रम जारी छ । बाढीको कारण त्यही हो,” तामाङ किटानका साथ भन्छन् ।


भोलि उठी कहाँ जाने केही थाहा छैन...

अहिले बाढीग्रस्त क्षेत्र मेलम्ची बजार मात्रै हो जस्तो भएको छ । बुधबार दिनभर उद्धार र राहतको काम मेलम्ची बजार लक्षित गरेर नै भयो । सभामुख अग्निप्रसाद सापकोटा, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पनि त्यहीँ नै बढ्ता केन्द्रित भए । सञ्चारकर्मीको ध्यान पनि मेलम्ची बजार क्षेत्रतिरै केन्द्रित भएझैँ देखियो ।

जबकि, मानवीय क्षति मेलम्ची बजार क्षेत्रभन्दा माथि नै छ । त्यहाँ अहिलेसम्म ७ जना हताहती भएको पुष्टि भएको छ । मेलम्ची खानेपानी परियोजनाको बाँध रहेको क्षेत्र तिम्बु, किउल, ग्याल्थुम क्षेत्रमा उद्धार र राहतको काम व्यस्थित हुन नसकेको गुनासो स्थानीयबासीले गरिरहेका छन् । हराएका आफन्तहरू खोजिदिन आग्रह गर्दै पीडितहरू मेलम्चीसम्म आइपुगेका छन् । जनप्रतिनिधिहरूसँग गुहार मागिरहेका छन् ।

मेलम्ची बजार क्षेत्रका स्थानीय उद्धार र राहतको काम अझै व्यवस्थित हुन नसकेको गुनासो गर्छन् । “अब पानी पर्‍यो भने बाँकी रहेको बजार क्षेत्र पनि बगाउँछ । त्यसैले बस्ती पूर्णरूपमा खाली गर्न र  त्यहाँका बासिन्दाहरूलाई सुरक्षित ठाउँसम्म लैजान कुनै पहल भएको छैन,” उनी भन्छन्, “हामीले आफूले लगाएकोबाहेक केही लुगाफाटो निकाल्न पाएनौँ । जीवनभरको कमाइमा खोलो पसिहाल्यो । बालबच्चालाई के खुवाउने ? आज त स्कुलमा छौँ, भोलि उठेर कहाँ जाने हो ? केही थाहा छैन । यो गुनासो कसलाई सुनाउने हो त्यो पनि थाहा छैन !”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  २१:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC