काठमाडौं । तत्कालीन समयका अब्बल नायक तथा नायिका राजेश हमाल र करिष्मा मानन्धरले पछिल्लो राजनीतिक गतिविधिप्रति आफ्नो धारणा राखेका छन् । सामाजिक सञ्जालमार्फत उनीहरुले पछिल्लो राजनीतिक क्रियाकलापप्रति असन्तुष्टिसहित आ–आफ्नो धारणा राखेका हुन् ।
जनायिका करिष्मा मानन्धरले राजेन्द्र महतोको अभिव्यक्तिप्रति लक्षित गर्दै बहुल राष्ट्रिय राज्य किन ? भन्दै प्रश्न गरेकी थिइन् ।
“गरिब भए पनि गौरव थियो । एकता थियो । बहुल राज्य ठिक छ । बहुल राष्ट्र भनेको के हो ? र यसको आवश्यकता किन ?” उनले प्रश्न गरेकी छिन् ।
जनता समाज पार्टीका नेता महतोले उपप्रधानमन्त्रीमा नियुक्त भएपछि उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनका लागि मुक्ती आन्दोलन गर्ने अभिव्यक्ति दिएका थिए । उनको सोही अभिव्यक्तिप्रति करिष्माको प्रतिक्रिया आएको हो ।
नायक राजेश हमालले लोकतान्त्रमा नेता होइन जनताले बोल्ने हो भनेका छन् । उनले लोकतान्त्रिक शासन व्यवस्थामा नेताको काम जनताको आवाज सुन्ने हो भनेका छन् ।
“लोकतन्त्रमा जनता बोल्ने हो, नेता सुन्ने हो । विपरित त भइरहेको छैन ? जनताले आफ्नो दायित्व निर्वाह गर्न जरुरी छ,” राजेशले लेखेका छन् ।”