हजुर ! मेरो लाशमा शब्दको अञ्जली नदिनु !
मरिहाले मलाई श्रद्धाञ्जली नदिनु !
धड्कन चलुञ्जेल, सास रहुञ्जेल
गुहार नपाएको मेरो चित्कार
कसैले नसुनेको मेरो आवाज
तिम्रो श्रद्धाञ्जलीले फेरि किन मार्छौ ?
मरेपछि गोहीका आँशु किन झार्छौ ?
भो, मेरो बेनाम लाशमा
कुनै ओठे शब्द या अञ्जली नदिनु !
कृपया ! मलाई श्रद्धाञ्जली नदिनु !
फोटो राखी बलौटे बन्दना पनि नदिनु !
मलाई केही समवेदना पनि नदिनु !
तिमीलाई के पत्तो !
म तिमीले ज्यूँदो देखेकै बेला कतिपटक मारिएकोछु
शक्तिसित हार्ने कानुनसित वा
चिसा चुल्हाले किन्न नसक्ने नुनसित मरेकोछु
कैले निर्मलाहरुको जीवनसित
कैले कालापानीमा रुने घाम र जुनसित मरेकोछु
उपचार नपाएका आमासामु मरेकोछु
हाम्रै पैसाले किनेर हाम्रो ढाडमाथि गुड़ाईएका पजेरोमुनि
घायल आमाका सपनासामु मरेकोछु
निसास्सिई निसास्सिई
बिना साथ, भुइँ न आकाश,
नि:श्वास नि:श्वास
सिद्दिने मेरो सासको बेदनामा
तिम्रो ‘सम’ वेदना होला र ?
नक्कली मन्चका दुई शब्दले सम चेतना छोला र ?
तिम्रो कर्मकाण्डी मन संवेदनाले रोला र ?
आमाको मासु र रगत, छिमेकीलाई फगत बेचेझैं
हाम्रो बाटो, माटो, डाँडो र पानी पराइलाई बेच्नेलाई नै
माला र मन्च दिलाएका तिमी
नाता, पैसा र कृपाको चास्नीमा बिलाएका तिमी
त्यहीं मुन्टो गाडी मुख सिलाएका तिमी
म मर्दा दुईमिनेट मुख किन खोल्छौ, नखोल !
भुइँमान्छेको लागि नबोल~ !
बेकसुर कैदी या हकहीन रैती बिचरो, पिल्पिलाएको म
प्रजा नै ‘पर जा’ भएको प्रजातन्त्र, र
लोकलज्जा गुमाएको लोकतन्त्रले थिल्थिलाएको म
पुक्लुक्क ढलें भने के भो त?
नौनाडी गलेर जलें भने के भो त?
म यसै ठिक छु !
कृपया ! चिताको हुर्मत नलिनु !
मलाई श्रद्धाञ्जली नदिनु !
कसैले नठड्याई नउभिने तिमी
आदेशविना नकुर्लने तिमी
चुपचाप मेरो आवाज भगाईरहनु
छोटे राजालाई माला लगाईरहनु
नाङ्गा बादशाहको ‘जदौ’ र ‘जी-हजुर’ गाइरहनु
ठुल्ठुला महल र झन्डावाल गाडी चढ्नेका नाममा
बेफिक्री ठप्पा लगाइरहनु !
आमालाई चोक्टा पारिंदा बोलेनौ
हजारौं छोरा मारिंदा बोलेनौ !
छोरी बेचिंदा कुटिंदा बोलेनौ
तिनको अस्मिता लुटिंदा बोलेनौ !
म मर्दाचाहीं किन बोल्नु ?
तिमी बस्, समाचार खोल्नु !
दिनरात सुनिने छोटे राजाहरुको
सुगारटाई र ‘लुडो’ खेलको महिमा बोल्नु !
भत्केका माटोमा मन नमोल्नु
तिम्रो महँगो मन, रैती किसानको लागि किन खोल्नु ?
जंगी निशानको लागि किन बोल्नु ?
बाँचुन्जेल नसुनिएको ‘म’
मरेपछि कसैले किन सुन्नु ?
ज्युँदै नचुनिएको म मर्दा
बनावटी शब्द किन उन्नु ?
बुनिसकेर पनि कसैले धम्मरधुस लागेर
उधारिदिएको स्वेटरजस्ता आमाका सपनालाई
वृद्धाश्रममा फेंकिदिनु !
सके तिनलाई बेचिखानेको स्तुति लेखिदिनु !
मेरो नाम निशान छेकिदिनु !
कुर्सीका खेलाडीलाई महापुरुषको संज्ञा दिनु !
म एक आंकडा हुँ, मर्छु, समवेदना नदिनु !
ज्यूँदोमा जति पीडा दिन्छौ, लिएकै छु
मरेपछि यो आतंकी कष्ट अलि नदिनु !
कृपया ! म मर्दा श्रद्धाञ्जली नदिनु !
डा. धर्मागत भट्टराई