काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु गरेको छ । बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु समयमा सुरु गरी छिटो परिणाम ल्याउन विषयगत मनत्रालयहरूसम्हग छलफल सुरु गरेकाे हाे ।
सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु कार्यन्वयनका लागि समयतालिका सहितको कार्ययोजना बनाउन निर्देशन दिए । "बजेट कार्यान्वयनका लागि हामी गम्भीर छौँ । बजेटका योजना र कार्यक्रमहरू सुरुदेखि सम्पन्न गर्ने समयसम्मको स्पष्ट समयतालिकासहित अघि बढ्नुहोस्," अर्थमन्त्री पौडेलले भने, "बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सहयोग, समन्वय र सहजीकरण गर्छ ।"
उनले बजेटमा समावेश भएका कार्यक्रमहरुको समयमा सुरु गर्नका लागि कार्यविधि र निर्देशिका समयमा तयार पार्न तथा नयाँ आर्थिक वर्षको सुरुवात देखि नै कार्यान्वयन प्रकृया अघि बढाउने गरी तयारी गर्न निर्देशन दिए ।
अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कार्यान्वयन र त्यसबाट आउने परिणाममा विशेष ध्यान दिन जरुरी रहेको बताउँदै स्रोत सम्बन्धी व्यवस्था अर्थ मन्त्रालयले गर्ने बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ तथा सचिवहरू उपस्थित थिए ।