
काठमाडौं । नेपाली सेनाले कोरोना संक्रमणका बिरामीलाई जहाजमा बोक्न मिल्ने ‘क्याप्सुल’ ल्याउने गृहकार्य सुरु गरेको छ ।
जहाज र हेलिकोप्टरमा ‘क्याप्सुल’ नहुँदा जोखिममा परेका संक्रमितलाई सेनाले उद्धार गर्न सकेको छैन ।
सैनिक प्रवक्ता सन्तोस बल्लभ पौडेलका अनुसार ‘क्याप्सुल’ जडान भएपछि चालकदलका सदस्यलाई पनि जोखिम हुनेछैन । उनले भने,“अहिलेकै अवस्थामा हामीले कोरोना संक्रमित बोक्यौं भने चालकदलका सबै आइसोलेसनमा बस्नुपर्ने हुन्छ । तर क्याप्सुल जडान भएपछि क्वारेन्टिन,आइसोलेसनमा बस्न पर्दैन । यो बाहिरबाट ल्याएर जडान गर्नुपर्छ । यसका लागि प्रक्रिया सुरु भइसकेको छ ।”
कोरोना महामारीमा सुरुदेखि शव व्यवस्थापनमा जुटेको सेनाले पछिल्लो समय अक्सिजन प्लान्ट सञ्चालन र त्यसको सुरक्षाको जिम्मेवारी निर्वाह गर्दै आएको छ ।
प्रवक्ता पौडेलका अनुसार रुपन्देही, काभ्रे र काठमाडौंमा बन्द रहेका तीनवटा अक्सिजन प्लान्टलाई सेनाको जनशक्तिले सञ्चालन गरिदिएको छ । ती उद्योगबाट अक्सिजन भर्ने काम समेत सुरु भएको छ ।
यस्तै विभिन्न १० ओटा सीमानाकामा एक हजार शय्याको होल्डिङ सेन्टर निर्माणको काम पनि सेनाले अघि बढाएको छ । यसका लागि टेण्डर आव्हान समेत भइसकेको छ ।