मोहन निरौला
नेपाल कला–संगीत एवम् चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्व श्रद्धेय चेतन कार्की गत जेठ २ गते ब्रह्मलीन हुनुभयो । कला–संस्कृतिका मर्मज्ञ ८४ वर्षीय कार्की चलचित्र क्षेत्रका लागि मात्र होइन, नेपाली गीत–संगीत क्षेत्रका पनि अभिभावक हुनुहुन्थ्यो ।
नेपालीलगायत हिन्दी, उर्दु, अंग्रेजी, संस्कृत भाषाको पनि उहाँ ज्ञाता हुनुहुन्थ्यो । भारतका धेरै प्रान्तका भाषाका बारेमा उहाँमा पर्याप्त जानकारी पनि थियो । वास्तवमा उहाँ भाषा, साहित्य, कला र संस्कृतिका इन्साइक्लोपिडिया नै हुनुहुन्थ्यो भन्दा फरक परोइन ।
यस्ता बहुआयामिक व्यक्तित्व चेतन कार्की गीत–संगीतका साथै चलचित्रको लेखन र निर्देशनमा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँको निधनले सम्पूर्ण कला, साहित्य, संस्कृति, गीत–संगीत र चलचित्रजगत मर्माहत बनेको छ । राष्ट्रकै अपूरणीय क्षति भएको छ । उहाँसँग अब कसैले ज्ञान, शिक्षा र प्रेरणा लिन पाउने छैनन् ! आउने पुस्ताका लागि यो दुःखद स्थिति हो ।
श्रद्धेय चेतन कार्की दाइ (पहिलो भेटदेखि नै म उहाँलाई दाइ नै सम्बोधन गर्थेँ)सँग म ज्यादै निकट नभए पनि उहाँसँगै मैले धेरै ज्ञान र प्रेरणा पाएको छु ।
नेपालमा निजी क्षेत्रले चलचित्र निर्माण नगर्दाको समय र नेपाल टेलिभिजन स्थापना हुनुभन्दा पहिले राजधानीमा रंगमञ्च राम्रैसँग फस्टाएको थियो । म पनि एउटा रंगमञ्चको विद्यार्थी भएकोले प्रायः नाटकको पूर्वाभ्यास र मञ्चनमा नै व्यस्त रहन्थेँ ।
यो ४० को दशक अर्थात् वि.सं. २०३६ देखि २०४० सालसम्मको कुरा हो । वर्षमा तीन÷चारवटा नाटकमा अनेक भूमिकाका साथ व्यस्त भइरहिन्थ्यो । त्यतिखेर नाटक महोत्सवको प्रभावकारिता निकै थियो । महोत्सवमा पुरस्कृत हुनु हिजोआज चलचित्र अवार्ड कार्यक्रममा पुरस्कृत हुनुजस्तै थियो ।
तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान र जीएए (गोदावरी एल्मुनाई एसोसिएसन)ले बर्सेनि नाटक महोत्सवको आयोजना गर्दै आएका हुन्थे । ती महोत्सवहरूमा प्रायः म पनि भाग लिने गर्थेँ ।
२०३६ सालमा जीएएले आयोजना गरेको नाट्य प्रतियोगितामा म पनि एउटा नाटकमा अभिनय गर्दै थिएँ । त्यस नाटकमा मैले दोहोरो भूमिका निर्वाह गरेको थिएँ, बाबु र छोराको । श्रद्धेय चेतन कार्की त्यस प्रतियोगिताको निर्णायक हुनुहुन्थ्यो ।
नाटकको प्रस्तुतिपश्चात् म चेतन दाइलाई भेट्न गएको थिएँ । उहाँले नाटकमा मेरो अभिनयको प्रशंसा गर्नुभयो र भन्नुभयो, “मोहन, तिमीले दुवै चरित्रमाथि न्याय गरेका छौ । तिमीले प्रगति गर्नेछौ ।” यति भन्दै उहाँले मेरो काँधमा धाप पनि मार्नुभयो ।
म दंग परेँ । नाट्यक्षेत्रमा सक्रिय एउटा कर्मीका लागि योभन्दा ठूलो पुरस्कार अरू के नै हुनसक्छ र ! उहाँले दिनुभएको हौसला र प्रेरणारूपी धाप आज पनि मेरो काँधमा त्यसैगरी स्थिर रहेको म अनुभूत गरिरहेको छु ।
श्रद्धेय चेतन कार्की दाइसँग मेरो पहिलो र प्रत्यक्ष भेटको अवसर त्यही नै थियो । त्यसपछि समय–समयमा म उहाँलाई भेट्न गइरहन्थेँ । उहाँको सम्झना शक्ति तीक्ष्ण थियो । एकपटक भेट भएको मानिसलाई बर्सौँपछि पनि बिर्सनु हुन्नथ्यो, दाइ !
उहाँसँग एकपटक कुराकानी हुँदा उहाँले नै मेरा पिता पूण्यप्रसाद निरौला गण्डकी अञ्चलाधीश कार्यालयमा शाखा अधिकृत भएको मलाई स्मरण गराउनुभएको थियो ।
चेतन दाइ (वि.सं. २०२०÷२१ सालतिर हुनुपर्छ) मत्स्य विकास अधिकृत भएको समयको कुरा हो, यो । त्यसबखत मेरा पिताजीको पनि उहाँसँग परिचय रहेको कुरा मैले पिताजीसँग कुरा गर्दा थाहा पाएको हुँँ ।
चेतन दाइले मलाई औधी माया गर्नुहुन्थ्यो । वास्तवमा मलाई मात्र होइन, उहाँलाई भेट्न आउने सबैलाई । उहाँको स्वभाव नै थियो सबैलाई माया गर्ने । सबैसँग मिठो बोल्ने । अनि, आफूले जाने–बुझेका ज्ञानगुनका कुरा बाँड्ने ।
उहाँले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘विश्वास’मा एउटा सानो भूमिकामा मैले पनि अभिनय गर्ने मौका पाएँ । यो वि.सं. २०४३ सालको कुरा हो । २०४१ सालमा प्रदर्शनमा आएको चलचित्र ‘आदर्श नारी’पछि मैले काम गर्ने मौका पाएको दोस्रो चलचित्र थियो, चेतन दाइको निर्देशनमा बनेको ‘विश्वास’ ।
चलचित्र ‘आदर्श नारी’मा निर्देशक हेम लामाले मेरो आवाजको आफ्नै शैली रहेको देखेर आफ्नो चलचित्रमा मलाई अभिनय गर्ने मौका दिनुभएको थियो भने चेतन दाइले मेरो अभिनय क्षमताका आधारमा, मेरो अभिनय मन पराएर ‘विश्वास’मा अभिनय गर्ने मौका दिनुभएको थियो । दुवै अवसर मेरा लागि स्वर्णिम थिए ।
वि.सं. २०४४ सालको अन्तिमतिर म चलचित्र ‘अन्याय’मा काम गरिरहेको थिएँ । त्यही बेला एक दिन गोपाल भुटानी दाइले मलाई फोन गर्नुभयो । र, भन्नुभयो– चेतन, सरले तपार्इंलाई खोजिरहनुभएको छ । हामी भिडियो फिल्म ‘मनका आँखा’ बनाउँदैछौँ । तपाईँ तुरुन्त आउनुपर्यो ।
म ‘अन्याय’मा प्रोडक्सनको कामदेखि अभिनयसमेत गरिरहेको थिएँ । तथापि, समय मिलाएर चेतन दाइलाई भेट्न गएँ । चेतन दाइले भेटमा ‘मनका आँखा’को प्रसंग उठान गर्दै भन्नुभयो, “हामी तुरुन्तै सुटिङमा जाँदै छौँ । तिमीलाई दृष्टिविहीन युवकको महत्वपूर्ण भूमिकाका लागि मैले छनोट गरेको छु । आनन्द थापा अशक्त, अपांगता भएको व्यक्तिको भूमिकामा छानिएका छन् । यो तिमीहरू दुवैजनाको कथा हो । अरू कलाकारहरूमा मिथिला शर्मा, खेम सापकोटा, गोपाल पौडेलहरू छन् । कहिलेदेखि भ्याउँछौ ?”
चेतन दाइको यो कुराले ममा खुसीको सीमा नै रहेन । मैले शारदा बस्नेत र विश्व बस्नेतसँग कुरा गरेर ‘अन्याय’मा मेरो काम सकेर आउँछु, दश दिनजति लाग्छ होला भनेँ । २०४४ साल माघ दोस्रो साताको कुरा हो यो ।
‘अन्याय’को काम सकिन १०÷१२ दिन लाग्ने भयो । त्यसैबीचमा गोपाली भुटानी र गोपाल पौडेलको फोन आउन थाल्योे– मोहनजी, चेतन दाइले तपाईँलाई हिरोको भूमिका दिनुभएको छ । किन ढिलो गर्नुभएको । छिटो आउनुस् ।
तारन्तार फोन आएपछि मैले ‘अन्याय’को युनिटसँग बिदा मागे र ‘मनका आँखा’मा काम गर्न गएँ । यस फिल्मको सुटिङ जहरसिंह पौवा र काठमाडौंमा भइरहेको थियो ।
एउटा गीतमा पनि मैले अभिनय गर्नुपर्ने थियो । गीत थियो, ‘देउताहरू रमाउने...’ शब्दमा । यो गीतको छायांकनमा अभिनय गर्न मलाई एकदमै गाह्रो भएको मलाई अहिले पनि सम्झना छ । तर, चेतन दाइले गाली नगरी हौसला दिँदै काम गराउनुभएको थियो ।
२०४५ सालमा उक्त भिडियो फिल्म भृकुटीमण्डपको हाइभिजन हलमा तीन महिनासम्म प्रदर्शन भएको थियो । नेपाल टेलिभिजनबाटसमेत फिल्म प्रसारण भएको थियो ।
‘मनका आँखा’ प्रदर्शन भएपछि फिल्मीजगतमा मात्रै हैन, नेपाली दर्शकमाझ पनि म चिनिन थालेको मलाई स्पष्ट सम्झना छ । हुन त ‘मनका आँखा’भन्दा अगाडि मैले ‘आदर्श नारी’, ‘विश्वास’, ‘सन्तान’, ‘अन्याय’, ‘बेहुली’लगायत दर्जनौँ टेलिफिल्महरूमा अभिनय गरिसकेको थिएँ । तर, मलाई अभिनेताका रूपमा ‘मनका आँखा’ले नै स्थापित गराएको थियो । यसको श्रेय श्रद्धेय चेतन कार्की दाइलाई नै जान्छ ।
२०४२ सालमा नेपाल टेलिभिजनको स्थापना भएपछि रंगमञ्चका अधिकांश कलाकारहरू प्रायः टेलिचलचित्रतर्फ व्यस्त हुन थाले । यसबाट म पनि अछुतो रहिनँ । त्यसताकाका रंगमञ्चका कलाकारहरू कृष्ण मल्ल, रमेश बुढाथोकी, अशोक शर्मा, सूर्यमाला शर्मा, रवि खडका, सन्तोष पोखरेल, बद्री अधिकारी, लय संग्रौला, सुभाष गजुरेल, उत्तम केसीलगायत कलाकार सबै टेलिचलचित्रमा व्यस्त हुँदै गएका थिए ।
तर, व्यावसायिक चलचित्रमा काम गर्नुको बेग्लै महत्व थियो । सायद त्यसैले पनि होला, म टेलिभिजनका लागि निर्माण हुने टेलिफिल्महरूका साथै ठूलो पर्दाको चलचित्रहरूमा पनि संलग्न भइरहेँ । यसरी मेरो व्यस्तता चलचित्र लेखन र अभिनयमा रह्यो नै । र, विस्तारै म चलचित्र निर्देशनमा पनि सक्रिय भएँ । घरी नाटक, घरी टेलिफिल्म र फिल्महरूका कारण उतिखेर कामबाट फुर्सद नै पाइन्थेन ।
‘मनका आँखा’पछि २०४५ सालमा चेतन दाइले ‘भूमरी’ चलचित्रको निर्देशन गर्नुभयो । ‘भूमरी’मा उहाँले मलाई चरित्र अभिनेताको भूमिका निर्वाह गर्न दिनुभएको थियो । अभिनेत्री मिथिला शर्मा फिल्ममा नायिकाको भूमिकामा हुनुहुन्थ्यो । मैले उहाँको पिताको भूमिका निर्वाह गरेको थिएँ । व्यावसायिक चलचित्रमा सबैभन्दा लामो भूमिका निर्वाह गर्ने अवसर पनि मलाई चेतन दाइले नै दिनुभएको हो । यो क्षण पनि मेरा लागि अविष्मरणीय रहेको छ ।
‘भूमरी’कै छायांकनताका फुर्वा छिरिङको चलचित्र ‘फेरि भेटौँला’को छायांकन पोखरामा भइरहेको थियो । मनीषा कोइरालाले पहिलोपटक अभिनय गरेको यस चलचित्रको संवाद लेखन मेरो थियो । साथै, म सहायक निर्देशक तथा सहनायिका पार्वती अधिकारीको पिताको भूमिका पनि निर्वाह गर्दै थिएँ ।
‘फेरि भेटौँला’मा पूरा समय दिनुपर्दथ्यो । म ‘फेरि भेटौँला’को टोलीसँग बसेको थिएँ । उता, ‘भूमरी’को छायांकन पनि पोखरामा नै भइरहेको थियो । यो सबै कुरा मैले चेतन दाइलाई जानकारी गराएको थिएँ ।
पोखरामा रहँदा कहिलेकाहीँ त मैले डबल सिफ्ट पनि काम गर्नुपरेको छ । चेतन दाइ आफूसँग काम गर्ने सहयोगीहरूको भावनाअनुसार काम गर्नुहुन्थ्यो । त्यो मैले उहाँसँग निरन्तर काम गरेपछि अनुभव गरेको थिएँ ।
२०५२ सालदेखि हाम्रो संस्था ‘परिवर्तन नेपाल’ले समय–समयमा सामाजिक र राष्ट्रियता जागरणका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको छ । संस्थाले आयोजना गर्ने यस्ता गतिविधिहरूमा चेतन दाइ जहिले पनि हामीलाई प्रोत्साहित गर्नुहुन्थ्यो । हौसला दिन हाम्रा कार्यक्रमहरूमा आइरहनुहुन्थ्यो । त्यो गुण म कहिले पनि बिर्सन सक्दिनँ ।
चेतन दाइले २०६५ सालतिर नेपाली चलचित्रका पहिलो निर्देशक हिरासिंह खत्रीको नाममा आफैँले अक्षयकोष स्थापना गरेर ‘हिरासिंह खत्री चलचित्र पुरस्कार’ स्थापना गर्नुभएको थियो । उक्त पुरस्कार समितिमा मलाई सदस्यसचिवका रूपमा मनोनय गर्नुभएको थियो । उक्त पुरस्कार चारपटक प्रदान गरिएको थियो । केही वर्षदेखि सो पुरस्कार प्रदान गरिएको थिएन ।
म समय–समयमा चेतन दाइलाई भेट्न पुल्चोकको दमकलपछाडि रहेको कवि मुरारी सिग्देलको पत्रिका पसलमा गइरहन्थेँ । चेतन दाइ मुरारीजीको पसलमा बिहान र बेलुका आउनुहुन्थ्यो । दाइसँग भेट्न चाहनेहरूका लागि त्यही ठाउँ नै सुगम हुन्थ्यो । दाइसँग भेट्नुपर्दा म प्रायः कविजीलाई फोन गरेर मात्र जान्थे ।
२०५७ साल असार २३ गते गिरिजाप्रसाद कोइरालाविरोधी मेरो अभिव्यक्तिपछि उत्पन्न तत्कालीन सरकारको अराजक क्रियाकलापले गर्दा म १५ दिन भूमिगत भएँ । म सार्वजनिक भएपछि चेतन दाइले मलाई कविजीको पसलमा बोलाउनुभयो । त्यस बेला दाइले भन्नुभएको मलाई अझै सम्झना छ, “मोहन, तिमीले भ्रष्टाचारीहरूविरुद्ध उठाएको आवाज र अभिव्यक्ति ठिक छ । तिमीले आफ्नो जीवनमा एउटा राम्रो काम गर्यौ ।” यति भन्दै उहाँले फेरि मेरो काँधमा धाप मार्नुभएको थियो ।
वास्तवमा चेतन दाइ राष्ट्रवादी र स्वाभिमानी व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ कहिल्यै पनि प्रचारमा आउन चाहनु भएन । पद, शक्ति र आर्थिक मोहमा कहिल्यै पर्नु भएन । यो चरित्र नै उहाँको पहिचान बन्यो ।
चेतन दाइसँग भेट्दा उहाँलाई मैले मेरो पिताजी पूण्यप्रसाद निरौलाले लेख्नुभएको प्रकाशित कृति दिएको थिएँ । मेरो पिताजीले ‘संस्कृत–अंग्रेजी–नेपाली शब्दकोश’ लेखिरहनुभएको थियो । २०६७ सालतिरको कुरा हो यो । मैले चेतन दाइसँगको भेटमा पिताजीले लेख्न थाल्नुभएको शब्दकोशका बारेमा बताएँ । चेतन दाइले एकफेर पाण्डुलिपि हेर्न माग्नुभयो । मैले बुवासँग चेतन दाइको कुरा गराएँ । त्यसपछि उक्त शब्दकोशको पाण्डुलिपि लगेर चेतन दाइलाई दिएँ । साथसाथै, भूमिका लेखिदिन पनि अनुरोध गरेँ ।
चेतन दाइले भूमिका मात्रै लेख्नु भएन, शब्दकोशमा रहेका संस्कृत, अंग्रेजी र नेपाली तीनै भाषाका शब्दहरूलाई सूक्ष्म रूपमा हेरेर, करेक्सनसमेत गरिदिनुभयो । उक्त ‘पूण्य नेपाली–संस्कृत–अंग्रेजी शब्दकोश’ चेतन दाइसमेतको समुपस्थितिमा सोही वर्ष माघमा लोकार्पण गरिएको थियो ।
चेतन दाइसँग भएका ज्ञानवद्र्धक कुराहरू धेरै छन् । म एउटा सामान्य कलाकर्मीले त यति धेरै शिक्षा, ज्ञान र सामीप्यता पाएको छु भने उहाँनिकट अन्य व्यक्तिहरूले कति ज्ञान पाएका होलान्, कति माया पाएका होलान्, म उल्लेख गर्न सक्दिनँ । मजस्ता कैयौँ अनुयायी छन् उहाँका । सबै अनुयायीले उहाँलाई मजस्तै आफ्नो आदर्श मान्छन् ।
अपार ज्ञानको भण्डार भएका गीतकार, लेखक, निर्देशक तथा विद्वान् लोकसंस्कृतिका मर्मज्ञ श्रद्धेय चेतन कार्की दाइको पार्थिव शरीरमा कोभिड—१९ को कारणले गर्दा फूलमाला अर्पण गरेर श्रद्धाञ्जलि पनि दिन पाइएन ! यही दुःख लागेको छ । शब्द श्रद्धाञ्जलि श्रद्धेय चेतन दाइ ।