काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था ‘स्टेवल’ रहेको देखिएको छ । पछिल्लो दुई साताको कोरोना तथ्याङ्कका आधारमा संक्रमणको अवस्था ‘स्टेवल’ रहेको देखिएको हो ।
देशभरीमै सबैभन्दा बढी संक्रमण र मृत्युदर काठमाडौंमै छ । औसतमा ३ हजारदेखि माथि दैनिक संक्रमित थपिँदै गएका छन् । उपत्यकामै अक्सिजनको अभाव भएको छ । कोरोना नियन्त्रणका लागिभन्दै वैशाख १६ गतेदेखि जेठ १३ गतेसम्म निषेधाज्ञा जारी छ । तर, संक्रमण दर भने घटेको छैन ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली निषेधाज्ञाकै कारण अवस्था भयावह हुनबाट रोकिएको बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार (हिजोसम्म) काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३९ हजार नाघेको छ । १७ सय ९१ जनाको मृत्यु भएको छ । पराजुलीले भने, “काठमाडौंको अवस्था ‘स्टेवल’ देखिन्छ । यहाँ अधिकतम ४८ प्रतिशतसम्म संक्रमण बढेको थियो भने न्युनतम ३२ मा झरेको थियो । केही दिन घटे पनि फेरि बढेको छ । यसलाई स्टेवल नै मान्न सकिन्छ ।”
नेपालमा संक्रमण र मृत्युदर विश्वमै उच्च संक्रमण भएका देशकै हाराहारीमा छ । अन्तर्राष्ट्रिय समुदायले समेत नेपाललाई सहयोग गर्नुपर्ने बताउँदै आएका छन् ।
काठमाडौंको संक्रमण रोक्न नागरिक नै सचेत हुनुपर्ने प्रजिअ पराजुलीको तर्क छ । उनी भन्छन्, “अत्यावश्यक कामबाहेक बाहिर नआइदिनुस् । समय अझै चुनौतीपूर्ण छ । अस्पतालमा उपचार पाउन गाह्रो छ । यो लडाईं सबै मिलेरै लड्नुपर्छ ।”
काठमाडौंमा निषेधाज्ञालाई कडा पारिएको छ । उपत्यका भित्रिने नाकामा समेत कडाइ गरिएको छ । तर, स्थानीय तहको सिफारिसका आधारमा उपत्यका छाड्न भने दिइएको छ । यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आवश्यकताभन्दा धेरै भिडभाड देखिएको गुनासो गर्दै आएको छ । मन्त्रालयले निषेधाज्ञामा जति कडाइ गरिएकाे बताइए पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशत मात्रै कमी आएको बताएकाे छ । उसले अनावश्यक भिडभाड नगरिदिन अनुराेध गर्दै आएको छ ।
निषेधाज्ञाकै समयमा २ लाख ३० हजार बढीले काठमाडौं छाडेका छन् ।