काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको लागि ‘अपवित्र’ गठबन्धनको पछि नलाग्न आग्रह गरेका छन् । मंगलबार साँझ ट्विटरमार्फत अध्यक्ष थापाले ‘पार्टी फुटाएर, सांसद किनबेच गरेर सरकार बनाउने संस्कारले कांग्रेसको भलो नगर्ने’ बताएका हुन् ।
उनले बरु ६ महिनाभित्र निष्पक्ष वातारवरणमा नयाँ चुनावमा गर्ने गरी अघि बढ्न पनि देउवालाई सुझाव दिएका छन् ।
"अपवित्र गठबन्धन बनाएर, पार्टी फुटाएर, सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार अभ्यासले कांग्रेसको भलो गर्दैन, प्रजातन्त्र विकृत हुन्छ," थापाले ट्विटरमा भनेका छन्, "निष्पक्ष चुनावको वातावरण सुनिश्चित गरी ६ महिना भित्र नयाँ चुनावमा गरौं। विगतका त्रुटि कमजोरी हटाऔँ । चुनाव मात्र विद्यमान संकटको समाधान हो।"
उनले सम्पूर्ण राष्ट्रिय शक्ति र स्राेत अहिले कोरोना महामारीविरुद्ध केन्द्रित गर्न पनि आग्रह गरेका छन् ।