पोखरा । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका एकजना सांसदले विपक्षी गठबन्धनलाई सरकार बनाउन नसघाउने भएका छन् । सांसद कृष्ण थापाले विपक्षी गठबन्धनलाई नसघाउने भएका जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले जानकारी दिए ।
उनले साथ नदिने भएपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को बहुमत पुग्दैन । बहुमतको लागि ३१ सांसद चाहिनेमा उनले मत नहाल्दा ३० सांसद मात्र पुग्छन् ।
जनमोर्चाका बाँकी दुई सांसद खिमविक्रम शाही र पियारी थापाले हस्ताक्षर संकलन गरेका थिए । अब गण्डकीमा फेरि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नै दोहिरिने संकेत देखिएको छ । उनले आइतबार पदबाट राजीनामा दिएका थिए ।
बुधबार अपराह्न ४ बजेसम्म नयाँ सरकार गठन गर्न आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले आह्वान गरेकी थिइन् ।