site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हामीलाई भलिबल र क्रिकेट पुस्तकालयले सिकाएको हो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

सिरहा जिल्लाको लहानदेखिको उत्तरी गाउँ बस्तीपुरमा जन्मिएका प्रा. डा. विपिन अधिकारीको बाल्यकाल गाउँमै बित्यो । गाउँकै विद्यालयबाट शिक्षा आर्जन गर्दै अगाडि बढेका अधिकारीले गाउँमै स्थापित पुस्तकालयमा धेरै पुस्तकहरू पढे । उनी आज पनि पुस्तकालयको महत्त्व उत्तिकै रहेको बताउँछन् । प्रस्तुत छ, काठमाडौं विश्वविद्यालय, स्कुल अफ लका पूर्वडीन अधिकारीसँग पुस्तक र पुस्तकालयमा केन्द्रित रहेर गरिएको कुराकानी ः

कोर्सभन्दा बाहेकको किताबमा रुचि कहिलेदेखिको हो ?
हाम्रो गाउँमा २००४ सालमै प्रधानमन्त्री पद्मशमशेरको निगाहमा स्कुल खुलेको हो । गाउँका अगुवा स्व. मित्रलाल गिरीको पहलमा स्थापित यस स्कुलका लागि लेखापढी स्व. ईश्वर बरालले गर्नुभएको थियो । त्यस बेलासम्म उहाँले आईए पास गरिसक्नुभएको थियो ।

पढ्नुपर्छ भन्ने वातावरण म सानो हुँदादेखि नै मेरो गाउँमा थियो । उतिखेर त्यो स्कुल मिडिल स्कुल भएकाले त्यहाँ पढिसकेपछि हाइस्कुल र कलेज पढ्न गाउँका युवा–युवतीहरू जनकपुर, विराटनगर र काठमाडौं जान्थे । २०१५ सालपछि भने सो स्कुल हाइस्कुलमा परिणत भयो । त्यसपछि त गाउँ नै शिक्षामय भयो । दसैं–तिहारमा घर फर्किँदा गाउँ नै ठूला ‘प्रोफाइल’हरूको गाउँजस्तो लाग्दथ्यो । त्यसैले पनि त्यसपछिका पिँढीले शैक्षिक क्षेत्रमा ठूलो फड्को मार्यो । पढे लेखेका मान्छेको धेरै इज्जत हुन्थ्यो । त्यसैले पनि पढ्ने लेख्ने विषयमा मलाई सानै उमेरदेखि रुचि भएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कोर्सबाहिरका किताब÷पत्रपत्रिका पढ्ने ठाउँ पुस्तकालय हुन्थ्यो वा घरमै ?
घर–गाउँमा पढ्ने लेख्ने वातावरण थियो । तर, गाउँ–घरमा किताब, पत्रपत्रिका किन्न सक्ने औकात कसैको थिएन । बस्तीपुरको के कुरा, नजिक पर्ने लहानमा पनि पत्रिका पसल थिएन ! तर, म सानो हुँदा नै गाउँमा पुस्तकालय खुलिसकेको थियो । पुस्तकालयमा नेपाली, अंग्रेजी र हिन्दीका चार–पाँच दराज किताबहरू थिए । दसैं–तिहारमा वा अन्य बिदामा घर फर्किँदा पढे लेखेका सबैले सहर–बजारबाट किताब, पत्रपत्रिकाको बिटो नै बोकेर ल्याउँथे । गोरखापत्रबाहेक हामी पुराना पत्रपत्रिका मात्र पढ्थ्यौँ । ‘सोभियत भूमि’, ‘स्वतन्त्र विश्व’जस्ता म्यागेजिनहरू हुलाकबाट काठमाडौंदेखि नै आउँथ्यो । त्यस बेलाका नाम चलेका हिन्दी पत्रिकाहरू ‘धर्मयुग’, ‘इल्युष्ट्रेटेड विकली’, ‘दिनमान’, ‘कादम्बिनी’, ‘सारिका’जस्ता धेरै पुराना पत्रिका देखिन्थे । तिनमा केटाकेटीले बुझ्ने कुरा कम थियो । तर, तिनको महत्त्व हामीलाई थाहा हुन्थ्यो ।

गाउँको पुस्तकालयको आफ्नै घर थियो । स्कुल बन्द भएपछि पुस्तकालय खुल्थ्यो । यसमा खेलकुदको प्रावधान पनि थियो । हामीले फुटबल स्कुलबाट सिक्यौँ । तर, हामीलाई भलिबल र क्रिकेट पुस्तकालयले सिकाएको हो ।

Royal Enfield Island Ad

पुस्तकालयको व्यवस्थापनमा तपाईं जुट्नुभयो कि भएन ?
हाम्रो गाउँको पुस्तकालयको नाम ‘समता पुस्तकालय’ थियो । मलाई लाग्छ, यो नाम प्रदीप दाजु (प्रदीप गिरी)हरूले जुराउनुभएको हो । उहाँ त्यसै बेलादेखि नै गाउँका केटाकेटीलाई समाजवाद, समानता र परिवर्तनका कुरा सुनाउनुहुन्थ्यो । गाउँमा गिरी, बराल, दाहाल, आचार्य, खड्का, भुजेल, अधिकारी, रेग्मी, यादव, झा परिवारका धेरै युवा थिए । उनीहरूको पूरा सहयोग पुस्तकालयलाई प्राप्त हुन्थ्यो । गाउँमा हुलाक भएकोले बाहिर बस्नेले पनि सहयोग पठाउँथे ।

बाहिरबाट आएका युवाले स्कुलमा पढाउन जाने चलन पनि थियो । पुस्तकालयमा पनि समय–समयमा छलफल हुन्थ्यो । गाउँमा जिल्ला शिक्षा अधिकारी वा सीडीओहरू आउँदा उनीहरू पनि पुस्तकालयमा पुग्थे । पहिले पुस्तकालय गाउँको राम नारायण मन्दिर परिसरमा थियो । एकजना जाँन ज्याकोब भन्ने पिसकोरका शिक्षकका लागि स्कुलले एउटा सानो घर बनाइदिएको थियो । तीन वर्ष पढाएपछि उनी फर्किए । त्यस उप्रान्त पुस्तकालय सोही घरमा सारियो ।

त्यस बखत कस्ता किताबले ध्यान बढी तान्थ्यो ? कसको र कस्ता किताब धेरै पढ्नुभयो ?
केटाकेटी उमेरको हुँदा खेलकुद र पत्रपत्रिकाको फोटो हेर्नेभन्दा अर्को अनुभव छैन । केटाकेटीले पढ्ने सामग्री समता पुस्तकालयमा थिएन । कक्षा–९ वा १० मा पुगेपछि पढ्न सकिने साहित्यका पुस्तकहरू भने पाइन्थे । नेपाली साहित्यका कतिपय पुस्तक मैले त्यहीँ पढेको मेरो सम्झनामा अहिले पनि छ । जाँन ज्याकोबले हारोल्ड रोबिन्सका उपन्यासहरू पनि पुस्तकालयलाई दिएका थिए । राम्रा युवा–युवतीका फोटो हुन्थ्यो, कभर पेजमा । तर, अंग्रेजी भाषाको किताब भएकोले हामी पढ्न सक्दैनथ्यौँ । ‘गिल्टी मेन अफ इन्डियाज पार्टिसन’ भन्ने राममनोहर लोहियाले लेखेको किताब पनि त्यहाँ थियो । मैले त्यही पुस्तकालयमा ‘अकेला’ शीर्षकको हिन्दी उपन्यास पढेको अहिले पनि सम्झिन्छु । यो एउटा संघर्षशील जेठो छोराको कथा हो । मलाई उसको दुःख देखेर धेरै चित्त दुखेको थियो । रानु नामका कुनै हिन्दी लेखक थिए । उनले लेखेको जस्तो लाग्छ । पढ्नुबाहेक पुस्तकालयलाई मैले कुनै सहयोग गरेको भने सम्झना छैन ।

उपन्यास, आत्मकथा, कथा, निबन्ध यस्ता किताब स्कुलका विद्यार्थीहरूको लागि जरुरी छ ?
युवावयमा म सबैखाले किताब पढ्ने गर्थेँ । जस्तो पायो त्यस्तो । तर, विस्तारै ‘फिक्सन’बाट ‘नन फिक्सन’तर्फ ढल्किएँ । मलाई साहित्य, इतिहास, राजनीति, सामाजिक विकासमा बढी रुचि थियो । काठमाडौं आएपछि नयाँसडकको अमेरिकी लाइब्रेरी र कान्तिपथको ब्रिटिस लाइब्रेरीमा गएर पढ्ने लेख्ने अवसर मिल्यो । अचेल त विचारप्रधान पुस्तकहरू मात्रै पढ्छु । अहिले त प्रायः किताब किनेर नै पढिन्छ । किनेर पढ्ने अवसर मिलेको छ । बजारमा जस्तो पुस्तक पनि पाइन्छ । संविधान, कानुन र अर्थराजनीतिजस्ता विषयले मलाई छुन्छ ।

म अहिले अमेरिकी प्राध्यापक ब्रुस अकरम्यानले दुई वर्षअघि लेखेको किताब ‘रिभोल्युसनरी कान्स्टिट्युसन्स’ हेर्दै छु । यो किताबमा ‘करिज्माटिक लिडरसिप’ र ‘रुल अफ ल’को वर्तमानकालको अनुभव विश्लेषण गरिएको छ । नेपालसम्बन्धी पुस्तक म प्रायः छोड्दिन । हो, पुराना किताबहरू बजारबाट हराएको देख्दा भने दुःख लाग्छ ।

हामी जे जस्तो पुस्तक जसरी पनि पढ्न सक्छौँ । विद्यार्थी भाइबहिनीले पनि सक्छन् । उनीहरू आजको परिस्थितिमा झनै प्रतिस्पर्धाशील छन् । विश्वस्तरमा विद्यार्थीका लागि विशेष रूपमा लेखिएका र कल्पनाशील पुस्तक तथा अडियो भिजुअल अचेल पाइन्छन् । हाम्रो चुनौती उनीहरूलाई नेपाल र नेपाली विषयवस्तुमा कसरी सिर्जनशील बनाउने भन्ने हो । जसको पढाइमा विविधता छैन, ऊ सोचाइमा आत्मकेन्द्रित हुने सम्भावना हुन्छ ।

उपन्यास, आत्मकथा र निबन्धहरू पढ्नु तथा लेख्नु विद्यार्थीहरूका लागि अति जरुरी छ । मलाई लुई फिसरले गान्धीका बारेमा लेखेको पुस्तक तथा बर्टान्ड रस्सेलको अटोबायोग्राफी आज पनि महत्त्वपूर्ण लाग्छ । एउटाले सत्यको अनुभवको कुरा गर्दछ, अर्कोले आधुनिकताको । धेरै पढेर राम्रो हुने होइन, कम पढे पनि हुन्छ । तर, गतिलो पुस्तकहरू पटक–पटक पढेन भने सद्विचारहरू ‘कल्टिभेट’ गर्न सकिँदैन । पढाइको भाका कहिले पनि हुरी–बतासजस्तो हुँदैन ।

अचेल पुस्तकालय परम्परा हराउँदै गएको हो ? यसको दूरगामी असर के होला ?
हामी यति बेला डिजिटल युगमा छौँ । पैसा तिर्न सके मोबाइलमा सबै कुरो पाइन्छ । मान्छे ज्ञानभन्दा पनि संसूचनाको खोजीमा हुन्छ । स्पाइन (ढाड) भएको पुस्तक दराजमा राखेर पढ्ने प्रचलन हराउँदै छ । अब त पुस्तकालयका लागि सामाजिक सक्रियता पनि छैन । घरमा भएको टेलिभिजनले कामधामपछिको समय सिध्याइदिन्छ । तर, संसारमा पुस्तकालयहरूको न महत्त्व घटेको छ न त यसको प्रयोगमा नै कमी आएको छ । बरु, परम्परागत पुस्तकालयलाई विविधीकरण गर्ने र आजको पिँढीको आवश्यकता पूरा गर्नेतर्फ सोच्नुपर्दछ । पाठकहरूमा पुस्तकको अभिरुचि घटेको छैन । आजको नेपालमा जति पुस्तक पत्रिका प्रकाशित हुन्छ, जति तिनको बिक्री हुन्छ, त्यति कहिले हुँदैनथ्यो । अरू देशमा पनि ‘ट्रेन्ड’ यही हो । तर, पुस्तकालयका बारेमा हाम्रो समाज, राज्य सबै उदासीन देखिन्छन् । पढ्ने समाज नपढ्ने समाजभन्दा विकासोन्मुख हुन्छ । त्यसैले पुस्तकालयलाई पब्लिक एजेन्डामा पछि पार्नु हुँदैन ।

अहिले साहित्य पढ्दै हुनुहुन्छ कि पढिरहनुभएको छैन ? 
मेरो साहित्य पढ्ने बानी छुटिसकेको छ । धेरैअघिदेखि नै छोडेँ । नेपाली वा अंग्रेजी साहित्यका पुराना कुरा पहिले पढेका विषय, सन्दर्भ मात्र आउँछन् मलाई । मैले ‘सोसल एन्थ्रोपोलोजी’का विदेशी प्राध्यापकहरूलाई बीपी कोइरालाको उपन्यास ‘सुम्निमा’लाई लिएर विवेचना गरेको थिएँ । तर, यति बेला नेपाली साहित्यमा धेरै विकास भइसक्यो । म यसबारेमा धेरै पछाडि छु ।

अहिले नेपालका सम्बन्धमा व्यापक रूपमा लेखिँदै छ । समय पाएसम्म, मिलेसम्म मेरो रुचि त्यतातिर छ । 

पछिल्लो समय लेखपढमा तपाईंको समय बित्दो छ । के गर्दै हुनुहुन्छ ?
म अहिले नेपालका राणा प्रधानमन्त्री पद्मशमशेरले घोषणा गरेको नेपालको पहिलो संविधानका बारेमा केही लेख्दै छु । यो संविधान प्रायः लागु भएन । यो प्रजातान्त्रिक पनि थिएन । तर, नेपालको पछिका संवैधानिक विकासमा यसको योगदानको समीक्षा भएको छैन । यस विषयलाई मैले ‘एकेडेमिक ट्रिटमेन्ट’ दिँदै छु । इतिहास र संवैधानिक कानुनको दृष्टिले मेरो यो समीक्षा यसै वर्ष आउनेछ ।

अचेलका युवालाई पुस्तकका बारेमा कस्तो सल्लाह दिनुहुन्छ ?
आजका युवा जमात पढे लेखेका छन् । पढाइ लेखाइमा राम्रा छन् । उनीहरूमा क्षमता पनि छ । परिवर्तनको आकांक्षा छ । तथापि, आफ्नो मुलुकलाई उनीहरूले अझै बुझ्नुपर्दछ । भाषा, धर्म, इतिहास, ललितकला, भूगोल र मुलुकमा आएका परिवर्तनहरूप्रति उनीहरू जागरुक हुनुपर्दछ । देशको स्वाभिमान, स्वतन्त्रता र स्वाधीनतालाई कायम नराखी नेपाली जातिले आफ्नो सभ्यतालाई निरन्तरता दिन सक्दैनन् । युवामा आफ्नै देशमा केही गरूँ भन्ने चाहना भएन भने र हाम्रो पद्धतिलाई हामीले समानता, सामाजिक न्याय र राष्ट्रवादी बनाउन सकेनौँ भने नवनिर्माणको उद्देश्य पछाडि पर्न सक्छ । सबै युवाले यसप्रति प्रेरित हुनु जरुरी छ ।

युवाका लागि एउटा किताब सिफारिस गर्नुप¥यो भने कुन पुस्तकको नाम लिनुहुन्छ ?
त्यस्ता धेरै किताबहरू होलान् । फेरि, म त्यति राम्रो पाठक पनि होइन । त्यही पनि सोधिहाल्नुभयो, एजरा क्लाइनको ‘वि वेयर पोलराइज्ड’ (२०२०) भन्ने पुस्तक पठनीय छ । यो पुस्तक पहिचानको राजनीतिसँग सम्बन्धित छ । हामी किन अतिवादी बन्छौँ ! एकपल्ट हेर्नुस् त, अमेरिकी युवा लेखकको पाको विचार ।

प्रस्तुति : राजेश खनाल
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  ०७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro