नयाँदिल्ली । सरकारले आलोचनात्मक ट्विटहरु हटाएपछि भारतका हजारौं मानिसहरु आक्रोशित भएका छन् । सरकारले अक्सिजन आपूर्ति सुनिश्चित गर्नभन्दा ट्विट हटाउन सहज महसुस गरेको भन्दै ट्विटर प्रयोगकर्ताहरुले आक्रोश व्यक्त गरेका बीबीसीले जनाएको छ ।
अस्पतालहरुमा अक्सिजन अभाव भएर कोरोनाका जटिल संक्रमितको मृत्यु भएपछि सरकारको भूमिकालाई लिएर ट्विटरमा आलोचना भइरहेको छ । कोरोना नियन्त्रणमा सरकारको भूमिकामाथि प्रश्न उठाइएपछि सरकारले त्यस्ता ट्विटहरु हटाउन ट्विटरलाई आदेश दिएको थियो ।
सूचना प्रविधि ऐन २००० अनुसार भ्रम र डर सिर्जना गर्ने पोष्टहरु हटाइएको सरकारी अधिकारीहरुको दाबी छ ।
“यस्तो गम्भिर मानवीय संकटको बेला अनैतिक उद्देश्यका लागि सामाजिक सन्जालको दुरुपयोग गर्ने प्रयोगकर्ताविरुद्ध कारबाही गर्न आवश्यक छ,” विद्युतीय तथा सूचना प्रविधिमन्त्रीलाई उदृत गर्दै ‘द हिन्दु’ले जनाएको छ ।
सरकारले ट्विट सेन्सर गर्नका लागि एक आपतकालीन आदेश दिएपछि केही पोष्ट भारतमा हेर्न नमिल्ने बनाइएको ट्विटरका एक प्रवक्ताले पुष्टि गरेका छन् । समाचारहरुमा जनाइएअनुसार पश्चिम बंगालका एक नेता, कलाकार आदिको ट्विट सेन्सर गरिएको हो । उनीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका चुनावी र्यालीहरुले कोरोना संक्रमण थप बढाएको भन्दै सरकारको आलोचना गरेका थिए ।
सरकारको यस्तो आदेशको पालना गरेको भन्दै प्रयोगकर्ताहरुले ट्विटरको समेत आलोचना गरेका छन् ।