काठमाडौं । कक्षा–१२ को परीक्षा तयारी गरिरहेका मध्य बानेश्वरका सुशान्त अधिकारी कोभिड–१९ को दोस्रो लहरसँगै चिन्तित छन् । गत वर्षजस्तै यो वर्ष पनि परीक्षा सर्ने हो कि भन्ने चिन्ताले उनलाई सताएको हो ।
“रुटिन त आएको छ । तर, कोभिड संक्रमित बढिरहेका छन् । एसईईजस्तै सर्छ कि ! अनिश्चित हुँदा पढ्न दिक्क लाग्ने,” उनले भने ।
कोभिड–१९ दोस्रो लहरको संक्रमण बढेसँगै विद्यार्थी तथा अभिभावक चिन्तित छन् । ०७६ चैतमा एसईई निश्चित हुँदाहुँदै परीक्षा स्थगित गरेर लामो समयपछि मात्र भएको थियो । कक्षा–१२ को परीक्षा पनि ढिलो गरी गत वर्ष मंसिरमा भयो ।
यस्तै, क्याम्पसका परीक्षाहरु पनि समयमै हुन सकेन र त्रिभुुवन विश्वविद्यालयले माघदेखि थालेको परीक्षा अहिले पनि चलिरहेको छ । यसपटक पनि त्यस्तै होला भनेर विद्यार्थी चिन्तित छन् ।
तर, परीक्षा तोकिएको समयमै हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले एसईई जेठमा गर्ने तालिका सार्वजनिक भइसकेको भन्दै तोकिएकै समयमा हुने बताए । एसईईका लागि दुई हजारभन्दा बढी परीक्षा केन्द्र तोकिने हुँदा स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा गर्न सकिने उनको भनाइ छ ।
“परीक्षा रोकिँदैन । अहिलेसम्म तोकिएको मितिमै हुन्छ भन्ने बोर्डको निर्णय छ,” उनले बाह्रखरीसँग भने, “गत वर्ष पनि एसईई तोकिएकै समयमा गर्न हामी सक्षम थियौँ । तर, सारियो । यसपटक पनि परीक्षा गर्न हामी तयार छौँ । आवश्यक परे दुई चरणमा पनि गर्न सक्छौँ ।”
एसईई आउँदो जेठ १३ देखि २४ गतेसम्म हुने तय छ । बोर्डले गत फागुन अन्तिम साता तालिका सार्वजनिक गरेको थियो ।
यस्तै, कक्षा–१२ को पनि परीक्षा तालिका सार्वजनिक भइसकेको छ । जेठ २६ बाट परीक्षा सुरु भएर असार ४ गते सकिने तय छ । परीक्षा तालिका अनुसार समयमै गराउन बोर्ड तम्तयार बसेको प्रवक्ता जंगबहादुर अर्याल बताउँछन् । उनले भने, “हामी तयार छौँ । परीक्षा तालिका अनुसार नै हुन्छ ।” परीक्षाका लागि चाहिने सम्पूर्ण कुराको व्यवस्थाका लागि अहिले आफूहरु खटिरहेको उनले जानकारी दिए ।
अहिले त्रिभुवन विश्वविद्यालय (त्रिवि) र आंगिक क्याम्पसमा स्नातकको परीक्षा सकिन लागेको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशी भन्छन्, “अहिलेसम्म त्रिविको परीक्षा नियन्त्रण कार्यालयको निर्णयानुसार परीक्षा नरोक्ने भन्ने छ । जेठसम्म सकाउने हिसाबले अर्को परीक्षा तालिका प्रकाशित गर्ने सोच्दै छौँ । हेरौँ, के हुन्छ ।”
आइतबारसम्म व्यवस्थापन संकायको परीक्षा सकिने र त्यो सकिएपछि ६० प्रतिशत समस्या टर्ने उनी बताउँछन् । उनका अनुसार अन्य संकायको तुलनामा व्यवस्थापन विषयमा परीक्षार्थी धेरै छन् । “अन्य परीक्षामा धेरै विद्यार्थी छैनन् । त्यसैले समस्या हुँदैन । एउटा सेन्टरमा ५०, १०० या २०० भन्दा बढी हुँदैनन्,” उनले भने । स्वास्थ्य मापदण्डको पालना गरेर परीक्षा लिइएको उनले बताए ।