सीएनएन । २०२० मा पहिलोपटक विश्वका दश सबैभन्दा व्यस्त विमानस्थलमध्ये सातवटा चीनका परेका छन् । पछिल्लो २२ वर्षदेखि शीर्ष स्थानमा रहँदै आएको अमेरिकाको हार्ट्सफिल्ड–ज्याक्सन अट्लान्टा इन्टरनेस्नल एयरपोर्टलाई पछि पार्दै चीनको ग्वाङजाउ बाइयुन इन्टरनेस्नल एयरपोर्ट २०२० को सबैभन्दा व्यस्त विमानस्थल बनेको हो । २०१९ मा ११ औँ स्थानबाट यो अचानक गत वर्ष १ नम्बरमा आएको हो ।
बिहीबार एयरपोर्टस् काउन्सिल इन्टरनेस्नल (एसीआई)ले सार्वजनिक गरेको रिर्पोटमा अघिल्लो वर्ष यात्रुहरूको सङ्ख्यादेखि विमानहरूको उडानमा ठूलो उतारचढाव देखिएको उल्लेख छ ।
२०२० मा चीनको ग्वाङजाउको विमानस्थलले विश्वकै सबैभन्दा धेरै ४ करोड ३८ लाख यात्रुहरू उडाएको छ जुन २०१९ को तुलनामा ४० प्रतिशत कम हो । दोस्रो स्थानमा रहेको अमेरिकाको एटलान्टाले चाहिँ २०२० मा ४ करोड २९ लाख यात्रुलाई सेवा दिएको छ ।
महामारीबाट उम्किसकेपछि भने एट्लान्टाले पुनः आफ्नो पहिलो स्थान प्राप्त गर्ने सम्भावना रहेको एसीआईका प्याट्रिक लुकस बताउँछन् । २०२० का व्यस्त विमानस्थलहरूमा चिनियाँ सहर छेङ्दु, सेनजेन, कुनमिङ, सांघाई र जिआनका विमानस्थल पनि शीर्ष दशमा पर्न सफल भएका छन् ।
डोमेस्टिक उडान धेरै देशहरूमा राम्ररी सञ्चालनमा आउन थालेपनि अन्तर्राष्ट्रिय उडानमा चाहिँ अझैपनि अधिकांश देशले कडाइ गरिरहेका छन् । यसकारण पनि व्यस्त विमानस्थलहरूको सूचीमा चीनले सबैभन्दा धेरै स्थान प्राप्त गरेको बताइएको छ ।