वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक नियन्त्रणसम्बन्धी कानुन यथाशीघ्र पास गराउन सांसदहरुलाई आग्रह गरेका छन् । पछिल्लो एक हप्तामा दुईवटा बन्दुक आक्रमण भएसँगै बाइडेनले यस्तो आग्रह गरेका ह्वाइट हाउस स्रोतलाई जनाउँदै बीबीसीले उल्लेख गरेको छ ।
यहाँको हाउस अफ रिप्रिजेन्टेटिभबाट गएको मार्च ११ मा पारित भएका दुईवटा विधेयक पारित गर्न उनले सिनेटसमक्ष आग्रह गरेका हुन् । उक्त विधेयक पास भएमा हतियार बिक्रेताको पृष्ठभूमि जाँच्ने अधिकारको दायरालाई थप बढाउने जनाइएको छ ।
“भविष्यमा थुप्रै जीवनको रक्षा गर्ने सामान्य ज्ञानको यस विषयमा कदम चाल्न मलाई एक मिनेट पनि प्रतीक्षा गर्न जरुरी छैन,” बाइडेनले भने, “यस विषयमा गम्भीर कदम चाल्न म सिनेट र हाउसका मेरा सहकर्मीहरुसँग आग्रह गर्दछु ।” आफ्नो चुनावी अभियानमा समेत बाइडेनले बन्दुकसम्बन्धी अपराध नियन्त्रण गर्नेे विषयलाई पटक–पटक दोहोर्याएका थिए ।
गएको सोमबार कोलोराडोस्थित सुपरमार्केटमा एक बन्दुकधारीले १० जनाको ज्यान लिने गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए । त्यसको ६ दिनअघि एटलान्टामा पनि अर्का एक व्यक्तिले त्यसैगरी आठजनाको ज्यान लिएका थिए ।
विश्वका अन्य विकसित देशमा भन्दा अमेरिकामा सबैभन्दा धेरै आम मानिसले लाइसेन्स लिएर बन्दुक बोक्ने गरेका छन् । ‘गन भाएलेन्स अर्काइभ’का अनुसार गत वर्ष अमेरिकामा बन्दुक आक्रमणबाट मात्र ४३ हजारको मृत्यु भएको थियो ।