काठमाडौं । दाङकी सांसद गंगा चौधरी (सत्गौवा) ले आफू कुनै गुटमा नलागेको जिकिर गरेकी छिन् । प्रधानमन्त्री केपी ओलीविरुद्ध संसद्मा पेस गरिएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी चौधरी अहिले तटस्थ बस्न रुचाएको बताएकी हुन् ।
उनले अविश्वासको प्रस्तावको समर्थन फिर्ता लिएर पार्टी एकताको पक्षमा उभिएको पनि बताएकी छिन् । “मलाई कहिले कताको, कहिले कताको भनेर नाम जोडेर प्रचार गरिएको छ । खासमा म एकताको पक्षमा छु । कतै गएको छैन । मेरा लागि दुवै आदरणीय नेता हुनुहुन्छ,” उनले भनिन् ।
उनले अमुक समूहसँग नजोड् आग्रह गरिन् । “म दुवै नेतालाई जोड्न लागिपरेको छु । कति सक्छु थाहा छैन,” उनले भनिन् । नेकपाभित्रको लडाइँ, विग्रह अब विधिवत्रुपमा संसद् प्रविष्ट भएको छ । नेकपा दाहाल–नेपाल समूहको आज बसेको बैठकले अविश्वासको प्रस्तावबारे निर्णय लिने जिम्मा स्थायी कमिटी र सचिवालयलाई दिएको छ । स्थायी कमिटी सदस्य भीम रावलले अरू दलसँग छलफल, परामर्श गरेर निष्कर्षमा पुग्ने बताएका छन् ।
नेकपाभित्रको शक्ति संघर्ष संसद् छिर्दैगर्दा सांसदहरू ध्रुवीकरण हुने क्रम बढेको छ । ओलीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ९० सांसदमा ७ जनाले दाहाल-नेपालको साथ छाडेका छन् । गौरीशंकर चौधरी र प्रभु साह ओली नेतृत्वकै सरकारको मन्त्री बन्न पुगे । शेरबहादुर तामाङ, यज्ञ बोगटी, माया ज्ञवाली ओली कित्तामा लागिसकेका छन् । लालबाबु पण्डित र गंगा चौधरीले आफूलाई तटस्थ उभ्याएका छन् ।
चौधरीले पार्टी एकताबाहेक अर्को विकल्प नदेखेकाले बीचमा उभिएको जिकिर गरेकी छन् ।