site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आउँदो वर्ष निर्देशकहरूको अग्निपरीक्षा
SkywellSkywell

काठमाडौं । कोरोनाका कारण २०७७ सालमा ढुक्कले बसेका चलचित्र निर्देशकका लागि ०७८ भने टाउको दुखाइको वर्ष बन्ने भएको छ । एक वर्ष चलचित्र निर्माण नगरी बसेका निर्देशकहरूलाई लामो अन्तरालपछि बजारमा आउँदा तनाव झेल्नुपर्नेछ ।

आउँदो वर्ष बजारमा राम्रो छवि बनाएका अधिकांश निर्देशकका चलचित्र आउने भएकाले आपसमा प्रतिस्पर्धा कडा हुने देखिन्छ । नाम चलेका निर्देशकहरूका चलचित्र एकै वर्ष आउने भएपछि आउँदो वर्ष निर्देशकहरूका लागि अग्निपरीक्षाको वर्ष हुनेछ ।
 
समीक्षक र दर्शकको साथ पाएका निर्देशकहरूबीच नै यो वर्ष प्रतिस्पर्धा हुने भएपछि अब्बल सिनेमा आउने अपेक्षा पनि बढेको छ । 

निर्देशक दीपेन्द्र के खनाल चलचित्र सुटिङको लाइनअपले ०७८ को चलचित्र रिलिजको लाइनअप संकेत गरिरहेको बताउँछन् । अहिले चलचित्र छयांकनमा जान प्राविधिक र इक्युपमेन्टको अभाव देखिएजस्तै आउँदो वर्ष रिलिजमा पनि प्रतिस्पर्धा हुने निश्चित रहेको उनको भनाइ छ । 

KFC Island Ad
NIC Asia

“अहिले हेर्दा आउँदो वर्ष राम्रा चलचित्र हेर्न पाइन्छ कि भन्ने आशा छ । पहिलो कुरा त अपेक्षा गरेकै साथीहरूका चलचित्र आउँदै छन् । दोस्रो कुरा धेरै चलचित्र एकै वर्ष आउँदै छन् यसले पनि राम्रो चलचित्र बनाउन मेकरलाई प्रेसर छ,” दीपेन्द्र भन्छन्, “योभन्दा पनि महत्त्वपूर्ण पक्ष त लकडाउनमा डिजिटल प्लेटफर्ममा विश्वका उत्कृष्ट सिनेमा हेरेका कारण दर्शकमा सिनेमा साक्षरता बढेकाले पनि अब राम्रो चलचित्र बनाउनुको विकल्प छैन ।” उनी लकडाउनदेखि नै आफूले राम्रो चलचित्र बनाउनुपर्ने दबाब महसुस गरेको बताउँछन् । 

बलिउड र हलिउडबाट आउने ठूला चलचित्रसँग नेपाली चलचित्रले कडा टक्कर गर्नुपर्ने भएकाले आउँदो वर्ष कडा प्रतिस्पर्धा हुने दीपेन्द्र बताउँछन् । 

Royal Enfield Island Ad

दीपाश्री निरौला, झरना थापा, निश्चल बस्नेत, दीपेन्द्र के खनाल, विनोद पौडेल, रामबाबु गुरुङ, प्रदीप भट्टराई, खगेन्द्र लामिछाने, सन्तोष सेन, दिनेश राउत, दीपेन्द्र लामा, सुदर्शन थापालगायत निर्देशकका चलचित्र आउँदो वर्ष आउँदै छन् । 

०७८ मा आउने केही चलचित्र यो अन्तरालमा निर्माणकै क्रममा रहे भने केहीले योबीचमा स्क्रिप्टको तयारी पनि गरे । 

दीपाश्रीले निर्देशन गर्ने चलचित्रको स्क्रिप्टमा दीपकराज गिरीले लामो समय काम गरे । प्रदीप भट्टराईले पनि कोभिडले उपलब्ध गराएको फुर्सदमा स्क्रिप्टमै घोत्लिए । “जति समय भयो स्क्रिप्टमा त्यति नै बस्न मन लाग्छ । छायांकनमा गयो भने गयो होइन भने थप परिस्कृत गर्दै जान मन लाग्छ,” प्रदीप भन्छन्, “यो समय जति स्क्रिप्ट हेर्यो त्यति सच्याउन मन लाग्यो । परिस्कृत बनाउने क्रम चलिरह्यो । र, चलिरहेकै छ ।”

अर्का निर्देशक विनोद पौडेल पनि ‘बुलबुल’ प्रदर्शनपछिको लामो समय स्क्रिप्टमै खर्चिरहेका छन् । युवाको संघर्षको कथा खोज्ने क्रममा उनले लामो समय बिताए । अहिले उनी रिसर्चका लागि प्रहरी अधिकृतको कार्यालय धाइरहेका छन् । ०७८ मा प्रदर्शन हुने केही चलचित्रले रिलिज डेट पनि लिइसकेका छन् । 

‘लुट–२’ निर्देशनपछि समीक्षक र दर्शकको गाली खाएका निर्देशक निश्चल बस्नेत यतिबेला अर्को चलचित्रको तयारी गरिरहेका छन् । राम्रो स्क्रिप्टको खोजीमा रहेको भन्दै लामो समय अभिनयमा व्यस्त उनी ०७८ मा नयाँ चलचित्र निर्देशन गर्दै छन् । उनले चलचित्रको नाम पनि राखिसकेका छन्, ‘जिन्दावाद’ । यो चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । ०७८ को वैशाखमा चलचित्र छायांकनमा जाने निश्चित उनले बताएका छन् । ‘जिन्दावाद’मा दयाहाङ राई र सौगात मल्लले अभिनय गर्ने निश्चित भइसकेका छन् । स्वस्तिमा खड्काले पनि अभिनय गर्ने निश्चित जस्तै छ । ०७८ मै यो चलचित्र रिलिज हुनेछ । उनको चलचित्र व्यग्र प्रतिक्षितमध्येको एक हो । कारण उनले ‘लुट’ निर्देशन गरेर नेपाली चलचित्र उद्योगमा कथा र कथा भन्ने नयाँ शैलीको विकास गरेका थिए । त्यसैले उनलाई ट्रेन्ड सेटर निर्देशकका रूपमा लिइन्छ । 

तालीपछि राम्र्रोसँग गाली खाएका उनले यसपटक गाली खाने काम गर्दैनन् कि भन्ने धेरैको अपेक्षा छ । उनी स्वयंले पनि गाली खानेगरी निर्देशन नगर्ने बताउँदै आएका छन् । 

निर्देशक विनोद पौडेल पनि नयाँ चलचित्र निर्माणको तयारीमा छन् । विदेशिएका भुटानी शरणार्थीको कथा रहने ‘एक्रोन इन्टरनेसनल’का लागि ग्रान्टको खोजी गरिरहेका उनी त्योभन्दा पहिला नै ०७८ मा नयाँ चलचित्र निर्माण गर्ने तयारीस्वरूप स्क्रिप्ट लेखिरहेका छन् । विनोदका अनुसार उनको चलचित्रले काठमाडौंमा संघर्षरत युवाको कथा भन्नेछ । 

निर्देशक रामबाबु गुरुङ तीनवटा स्क्रिप्टमा काम गरिरहेका छन् । सेन्टी भाइरसपछि कुनै पनि चलचित्र निर्देशन नगरेका रामबाबु मौलिक कथा भन्ने निर्देशकका रूपमा परिचित छन् । ‘कबड्डी’ मार्फत आफूलाई अब्बल निर्देशकका रूपमा प्रमाणित गरेका उनी अहिले तत्कालका लागि भने लगानी सुरक्षित गर्ने बाटो खोजिरहेको स्रोत बताउँछ । परिणाम उनी लिएर आउँदै छन्, ‘कबड्डी–४’ । उनको चलचित्र पनि ०७८ मै आउनेछ । 

‘आमा’ निर्माण गरेका निर्देशक दीपेन्द्र पनि ०७८ लाई लक्षित गरेर नयाँ चलचित्रको अन्तिम तयारीमा जुटेका छन् । लकडाउनको समय स्क्रिप्ट लेखनमा खर्चिएका उनले आफ्नो चलचित्रलाई ‘चिसो मान्छे’ नाम दिएका छन् । 

‘आमा’बाट दर्शक र समीक्षक दुवैको तारिफ पाएका दीपेन्द्र ०७८ मा पनि विषय वस्तु र प्रस्तुतिका हिसाबले अब्बल चलचित्र निर्माण गरेर आफूलाई उत्कृष्ट निर्देशकको दर्जामा राखिरहने प्रयासमा छन् । 

यसका लागि उनले विषयवस्तु रोजेका छन्, रोजगारीका लागि विदेशिएका युवा । जसको मृत शरीर मात्रै नेपाल फर्किन्छ ।

केही दिनमै चलचित्र छायांकन सुरु गर्ने तयारी गरेका उनले स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाललाई मुख्य कलाकारका रूपमा लिइसकेका छन् । 

भाइ–भ्रातृत्व र भावनात्मक नेपाली समाज कसरी चिसो हुँदै गइरहेको छ भन्ने कथा समेट्ने उनको चलचित्र ०७८ भदौ ११ गते रिलिज हुनेछ । 

बक्स अफिस रेकर्ड ब्रेकर निर्देशक दीपाश्री निरौला पनि ०७८ मा नयाँ चलचित्र लिएर आउने पक्कापक्की छ । कोरोनाका कारण अन्तिम समयमा पछि हटेको ‘छक्का पञ्जा’ युनिट यसको अर्को सिरिज ‘छक्का पञ्जा–४’को तयारीमा छ । स्क्रिप्ट अन्तिम चरणमा रहेका बेला कोरोनाको महामारीका कारण पछि हटेको यो समूहले पनि चलचित्रको तयारी गरिरहेको छ । 

सुरुमा अरूकै ब्यानरमा काम गरेर बजार लयमा फर्किसकेपछि चलचित्र निर्माणको सोचमा रहेको यो समूहका नेतृत्वकर्ता दीपकराज स्क्रिप्ट मन परेको अवस्थामा मात्रै अरूको चलचित्रमा काम गर्ने अन्यथा कथामा सम्झौता नगर्ने बताउँदै आएका छन् । 

पत्रकार तथा समीक्षक दीपेन्द्र लामाको चलचित्र पनि आउँदो वर्ष दर्शकले हेर्न पाउनेछन् । उनको चलचित्र ‘२ नम्बरी’ छायांकन भइरहेका बेला कोरोना महामारी फैलिएपछि छायांकन स्थगित भएको थियो । ७५ प्रतिशत छायांकन बाँकी रहेको चलचित्रको मुख्य फिमेल कलाकारका रूपमा उनले भुटानी अभिनेत्री उगेन छोदेनलाई लिएका छन् । पहिलो निर्देशन ‘घामपानी’ बाट अवार्डको स्वाद चाखेका उनले दोस्रो चलचित्र ‘गोपी’बाट मिश्रित प्रतिक्रिया पाएका थिए । त्यसपछि उनले ‘छ माया छपक्कै’ निर्देशन गरेका थिए । यसबाट उनले राम्रै चर्चा कमाए पनि । 

अब चौथो चलचित्रमार्फत आफूलाई थप सक्षम निर्देशकका रूपमा उभ्याउनुपर्ने बाध्यता भएकाले पनि उनले यो चलचित्रमा मिहिनेत गर्नेछन् ।
 
दिनेश राउत पनि यो वर्ष आफ्नो चलचित्र लिएर आउँदै छन् । कलाकारसमेत फाइनल गरिसकेका उनी छायांकनको अन्तिम तयारीमा छन् । कास्टिङ डाइरेक्टरका रूपमा अनुप बराललाई लिएर कलाकारको छनोट गरेका उनको चलचित्र ‘प्रकाश’ पनि आउँदो वर्ष रिलिज हुनेछ । आफैं अनुभवी र सफल निर्देशक भए पनि ‘सेल्फी किङ’ विशाल सापकोटालाई निर्देशन गर्न दिएका दिनेश योपटक भने आफैं निर्देशन गर्दै छन् । उनको यो चलचित्रलाई पनि अपेक्षित मान्न सकिन्छ । 

यता, दिनेशले पहिलो सिरिज निर्देशन गरेको चलचित्र ‘प्रसाद’ को सिक्वेल भने सौरभ चौधरीले निर्देशन गर्दै छन् । उनले आफ्नो प्राथमिकतामा बजार मात्रै नरहेको भन्दै नयाँ चलचित्र गर्ने बताएपछि ‘प्रसाद–२’ निर्देशनको अवसर सौरभले पाएका हुन् ।
०७८ मै आउने यो चलचित्रमा निर्देशक फेरिए पनि मुख्य कलाकार भने फेरिने छैनन् । विपिन कार्की र नम्रता श्रेष्ठ मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् । 

सुरुमा तारिफ र विस्तारै गाली पाएको यो चलचित्र व्यापारिक रूपमा भने सफल भएको थियो । दर्शकले नोटिस गरिसकेको भएकाले यसले पनि इनिसियल दर्शक हलसम्म तान्ने निश्चित प्रायः छ ।

सामाजिक विषयवस्तुमा आधारित रहेर निर्माण हुन लागेको चलचित्र ‘बोक्सीको घर’ पनि ०७८ मै रिलिज हुने बताइएको छ । फ्लोरमा गइसकेको ‘बोक्सीको घर’लाई सुव्रतराज आचार्य र सुलक्षण भारतीले निर्देशन गर्दै छन् । 

केही चलचित्र निर्माण सम्पन्न भइसके पनि कोरोनाका कारण रिलिज हुन नसकेका चलचित्र पनि ०७८ मा दर्शकमाझ आउनेछन् । जस्तै– ‘पानीफोटो’, ‘ए मेरो हजुर–४’, ‘परदेशी–२’ आदि ।

युद्धमा हराएको छोरो आउने बाटो हेरेर दशकभन्दा लामो समयदेखि कुरिरहेकी बूढी आमाको कथा देखाउने चलचित्र ‘पानीफोटो’ लिएर आउँदै छन् अभिनेता खगेन्द्र लामिछाने । १० वर्षे जनयुद्धको बाछिटा अझै सकिएको छैन भन्ने यो चलचित्र विषयवस्तु र खगेन्द्र स्वयंका कारण पनि दर्शकले पर्खिरहेको सिनेमा हो । उनी स्वयंले कथादेखि पोस्ट प्रोडक्सनसम्म निकै मिहिनेत गरेको यो चलचित्र पनि खगेन्द्रको आफ्नै निर्देशन पनि भएकाले प्रतिक्षित बनेको छ । लामो समयदेखि होल्ड भएर बसेको यो चलचित्र पनि आउँदो वर्ष नै प्रदर्शनमा आउनेछ । यही चलचित्र छायांकनका लागि खगेन्द्रको चलचित्र युनिट जनयुद्धको उद्गम थलो रोल्पा पुग्दा फिचर फिल्म सुटिङका लागि यो नै पहिलोपटक भएको आफ्नो जिल्ला आएको भन्दै स्थानीयले अविरजात्रा मात्रै गरेनन् । स्थानीय सरकारले समन्यवकारी भूमिकासमेत निर्वाह गरेको थियो । 

निर्माणकै चरणमा छायांकनमा रहेकाबेला कोरोनाका कारण बीचमै रोकिएको चलचित्र हो, ‘ए मेरो हजुर–४’ । यो चलचित्र पनि दर्शक कोरोनाको त्रासविना हलमा जान थालेपछि ०७८ मा रिलिज हुनेछ । यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी छिन् । युवा पुस्तामाझ लोकप्रिय नायक अनमोल केसीका कारण पनि यो चलचित्रले इनिसियल दर्शक बटुल्ने निश्चित प्रायः छ । 

टिनएजर दर्शकको मन जितेको ‘प्रेम गीत–३’ पनि निर्माण सम्पन्न भएर बसेको बिग बजेटको अर्को चलचित्र हो । लयमा फर्किएपछि हल रिलिज हुने यो चलचित्र पनि आउँदो वर्ष नै प्रदर्शनमा आउने निर्माता तथा निर्देशक सन्तोष सेनले बताएका छन् । 

सन्तोष सेन र छेतेन गुरुङले यो चलचित्रलाई निर्देशन गरेका छन् । सन्तोष आफ्नो चलचित्रले दर्शक तान्नेमा ढुक्क छन् ।

गीतमा होस् अथवा चलचित्रमा अक्सर परदेशिएका नेपालीको कथा भनेर दर्शक स्रोता रुवाउने निर्देशक, गायक तथा संगीतकार नारायण रायमाझी पनि ‘परदेशी’ सफलतापछि यसको सिरिज लिएर आउँदै छन् । उनले निर्देशन गर्दै गरेको ‘परदेशी–२’ पनि कोरोना संक्रमणको त्रास र सरकारको निर्देशनका कारण बीचमै छायांकन रोकेर बसेको थियो । प्रकाश सपुतललाई लिएर बनाएको यो चलचित्र पनि ०७८ मै आउँदै छ । 

पहिलो सिरिजले दर्शकको मन जितेको तर दोस्रो अपेक्षित हुने नसके पनि ‘चपली हाइट–३’ आउँदो वर्ष दर्शकमाझ आउँदै छ । यसमा निकेश खड्काको निर्देशन रहनेछ ।

‘म यस्तो गीत गाउँछु–२’ पनि आउँदो वर्ष प्रदर्शनमा आउने चलचित्र हो । सुदर्शन थापाले यसलाई निर्देशन गरेका छन् । निर्माण सम्पन्न भएर पनि कोरोनाका कारण रिलिज हुन नपाएको यो चलचित्र टिनएजर लक्षित छ । 

कोरोनाका कारण निर्माणको चरणमा रोकिएका र उक्त समय कथामा तयारी गरिरहेका निर्देशक तथा निर्माताका चलचित्र ०७८ अर्थात एकै वर्ष आउन लागेका हुन् । 

दर्जनौं चलचित्र निर्माण तथा प्रदर्शन हुने गरे पनि मुस्किलले ५ प्रतिशत मात्रै सफल हुने नेपाली चलचित्र क्षेत्रमा आउँदो वर्ष कति निर्देशक सफल हुने हुन्, त्यो त उनीहरूको मिहिनेत र दर्शककै हातमा छ । तर, गिनेचुनेका निर्देशकका चलचित्र एकै वर्ष आउँदा उनीहरूको नाडी दर्शकले छाम्ने मात्रै होइन एकको तुलना अर्कोसँग गरेर कोभन्दा को अब्बल खुट्याउने पनि छन् । त्यसैले ०७८ निर्देशकहरूका लागि अग्निपरीक्षाको वर्ष पनि हुनेछ । 

एकै वर्ष यति धेरै अपेक्षित चलचित्र चल्छन् ? 

राम्रा बने चल्छ भन्छन्, निर्देशक तुलसी घिमिरे । राम्रो चलचित्र बने संख्याले नकारात्मक असर नगर्ने बरु यसले सरकारात्मक प्रभाव पार्ने उनको तर्क छ । 

“कुनै पनि चलचित्र राम्रोसँग चलेको छ अथवा दर्शकले मन पराएका छन् भने त्यसलगत्तै रिलिज हुने चलचित्रलाई त्यो फाइदाको पक्ष हो । अघिल्लो चलचित्र दर्शकले मन पराएको छ भने अर्को पनि राम्रो होला भनेर दर्शक हलसम्म जानुहुन्छ,” घिमिरे भन्छन्, “तर अघिल्लो चलचित्र राम्रो छैन भने त्यसपछि राम्रो चलचित्र रिलिज भए पनि दर्शक त्यो चलचित्र हेर्न जानुअघि १० पटक सोच्नुहुन्छ । कारण अघिल्लो चलचित्रजस्तै यो पनि छ कि भन्ने शंका मनमा रहिरहन्छ ।”
 
त्यसैले लगातार राम्रा चलचित्र रिलिज हुँदा त्यसको असर सकारात्मक पर्नेमा ढुक्क हुनुपर्नेमा उनी जोड दिन्छन् । तर, अपेक्षित चलचित्र एउटै समय आउँदा निर्माण पक्षले पब्लिसिटी होस् वा विषयवस्तुको गहनता र मेकिङ यसलाई हतियार बनाएर दर्शकको ध्यान भने खिच्न हरसम्भव प्रयास भने गर्नुपर्नेछ । 

आउँदो वर्ष रिलिज डेटका लागि पनि तछाड मछाड हुनेछ । विशेषगरी लामो सार्वजनिक बिदामा आफ्नो चलचित्र रिलिज गर्न चाहने प्रवृत्ति रहेका कारण दसैं, तिहार, तिजजस्ता पर्व र नयाँ वर्ष ताक्ने निर्माता–निर्देशकहरूले प्रदर्शन मिति जुधाउने सम्भावना उत्तिकै रहेको वितरक तथा प्रदर्शकहरू बताउँछन् । 

निर्माता तथा वितरक रवीन्द्रसिंह बानियाँ आउँदो वर्ष पहिला नै बनिसकेका र निर्माण हुन बाँकी चलचित्र एकैपटक आउने भएकाले प्रतिस्पर्धामा खरो उत्रिनुपर्ने बताउँछन् । “निर्माण सम्पन्न भइसकेका र निर्माणको चरणमा रहेका चलचित्र एकै वर्ष आउने भएकाले रिलिज डेटसमेत जुध्ने सम्भावना अधिक छ,” रवीन्द्र भन्छन्, “यो प्रतिस्पर्धालाई त हामीले स्विकार्नैपर्छ । नेपाली मात्रै होइन हिन्दी र अंग्रेजी चलचित्र पनि आउने भएकाले त्यसको सामना गर्न पनि तयार हुनुपर्नेछ ।”

वितरक गोपालकाजी कायस्थ ०७८ को सिनेमा वितरणको दबाब अहिले नै पर्न थालेको बताउँछन् । “ठूला ब्यानरका दर्शक तान्न सक्ने चलचित्र एउटै समयमा आउने देखिन्छ । सबैलाई बिदाको डेट चाहिन्छ,” गोपालकाजी भन्छन्, “कोरोनाले एक वर्ष थलिएको यो उद्योगलाई उकास्ने चलचित्र एउटै मितिमा नआओस् भन्ने हाम्रो चाहना हो ।”
 
आफूहरूले चलचित्र संघ र निर्माता संघसँग कुरा गरेर फरक मितिमा आउन आग्रह गर्ने यद्यपि अन्तिम निर्णय निर्माताकै भएको उनी बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  ०८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro