बीबीसी । टेस्ला कम्पनीका मालिक एलन मस्कले विश्वकै सर्वाधिक धनी व्यक्तिको शीर्ष स्थान गुमाएका छन् । विद्युतीय कार उत्पादक टेस्लाको सेयर मूल्य ८८० अर्ब डलरको उचाइबाट अचानक २० प्रतिशतले घटेपछि उनको सम्पत्तिमा पनि गिरावट आएको हो । यो हप्ता टेस्लाको सेयर ठूलो स्तरमा घटेको छ ।
टेस्लाले केही समयअगाडि मात्र क्रिप्टोकरेन्सी ‘बिटकोइन’मा आफूहरुले १.५ अर्ब लगानी गरेको बताएको थियो । मस्कको सम्पत्ति कम भएसँगै अमेजोनका मालिक जेफ बेजोस दुई महिनापछि पुनः शीर्ष स्थानमा आएका छन् ।
केही समयअगाडि ५० हजार डलर पार गरेको बिटकोइन पछिल्ला दिनहरुमा फेरि घट्दै गइरहेको छ । यसमा लगानी गर्नु अनिश्चित, अप्रत्याशित र जोखिमपूर्ण मानिएको हुँदा यससँग जोडिने डरले पनि टेस्लाका लगानीकर्ताहरु आफ्नो सेयर बेच्न प्रेरित भएको हुन सक्ने बताइएको छ । तर, यो गिरावटले फर्मलाई कुनै ठूलो नोक्सान भने नपु¥याएको विश्लेषक डान लेभ्स बताउँछन् । उनले भने, “मस्क र टेस्लाले आक्रामक रूपमा बिटकोइनलाई अपनाइरहेका छन् । त्यसैले लगानीकर्ताहरुले बिटकोइन अनि टेस्लालाई एकैठाउँ जोड्न थालिसकेका छन् ।”
किन कम मूल्यमा बिक्री भइरहेको छ बिटकोइन ?
टेस्लाले बिटकोइन खरिद गरेको घोषणा गर्नासाथै बिटकोइनको मूल्य केही हप्तामै झन्डै ५० प्रतिशतले वृद्धि भएको थियो । तर, ५७ हजार डलरभन्दा माथि पुगिसकेको बिटकोइन आइतबार २० प्रतिशतले घट्यो । मंगलबार यसको कारोबार ४८ हजार डलरभन्दा कममा भइरहेको थियो । मस्ककै कारण बिटकोइनको मूल्य बढेको भन्ने श्रेय आइरहेका बेला गिरावटका लागि पनि उनैलाई जिम्मेवार ठह¥याइएको छ । केही दिनअगाडि मात्र उनले ट्विट गर्दै बिटकोइनको मूल्य उच्च भएको ‘लल्’ भनेर व्यंग्यात्मक शैलीमा हाँसेर उडाएका थिए ।
त्यसैगरी, अमेरिकाकी अर्थसचिव ज्यानेट येलनले पनि बिटकोइनसम्बन्धी चिन्ता व्यक्त गर्दै यो कारोबारको अत्यन्तै अप्रभावकारी तरिका भएको चेतावनी दिएकी थिइन् ।
अरु के कुराबाट प्रभावित भइरहेको छ टेस्ला ?
टेस्ला विभिन्न चुनौतीहरुसँग लडिरहेकै बेलामा अहिले मस्कको ध्यान बिटकोइनतर्फ गइरहेको छ । फर्मले यसअघि कारको रेन्जमा सुधार ल्याउने भनेर आफ्नो सबैभन्दा कम मूल्यको ‘मोडल वाई एसयूभी’को अधिकांश कारोबार रोकेको थियो ।
त्यस्तै, अघिल्लो महिना चिनियाँ निरीक्षकहरुले टेस्लाका ब्याट्रीमा आगो लागेको र असामान्य एक्सलरेसनबारे बताएपछि कम्पनीको सुरक्षा र गुणस्तरसम्बन्धी मुद्दा उठाइएको थियो ।
यता, प्रतिस्पर्धी कार निर्माता कम्पनीहरु जेनेरल मोटर्स र भोक्सवागन पनि पछिल्ला केही महिना विद्युतीय गाडीमा केन्द्रित भइरहेका छन् । यस्ता विभिन्न चुनौतीका बीच पनि सन् २०२० मा टेस्लाको सेयर ९० डलरबाट बढेर ७०० डलर पुगेको पुग्यो । जसले मस्कलाई पहिलोपटक जेफ बेजोसभन्दा अगाडि आउनमा मद्दत ग¥यो ।
तर, सोमबार टेस्लाको सेयरमा आएको ८ प्रतिशत गिरावट सेप्टेम्बरपछिकै सबैभन्दा ठूलो थियो । जसले मस्कको कुल सम्पत्तिबाट १५ अर्ब डलरभन्दा धेरै गुमाइदिएको ब्लुमबर्गले जनाएको छ । मंगलबार पनि कम्पनीको सेयर फेरि २ प्रतिशतले घट्यो ।
त्यसैगरी, मस्कको ट्विटले पनि टेस्लाको सेयर मूल्यमा ठूलो उतार–चढाव ल्याइरहेको छ । गत वर्ष उनले ट्विट गर्दै बजारमा टेस्लाको सेयर मूल्य अत्यन्तै धेरै भएको भनेर लेखेपछि कम्पनीले १४ अर्ब डलर गुमाएको थियो ।