काठमाडौं । फोर्ड र गुगलबीच रणनीति साझेदारी सम्झौता भएको छ । एक कार्यक्रमकाबीच दुई कम्पनीले सन् २०२३ देखि फोर्ड तथा लिंकनका गाडीमा एन्ड्रोइड अपरेटिङ सिस्टम जडान गर्ने गरी सम्झौता गरेका हुन् ।
गुगलसँगको ६ वर्षे सहकार्यपछि फोर्डले आफ्नो तथ्यांकका लागि गुगल क्लाउड नै आफ्नो उपयुक्त क्लाउड भएको बताउँदै एन्ड्रोइड सिस्टम जडानका लागि गुगलसँग सहकार्य गरेको हो ।
यसका लागि यी दुई कम्पनीले ‘टिम अपसिफ्ट’ नामको आफ्नो छुट्टै संयुक्त समूह पनि बनाएका छन् । जसमा दुवै कम्पनीका प्रतिभाको प्रवर्द्धन, फोर्डको रुपान्तरणमा सहयोग, व्यक्तिगत उपभोक्ता सेवा, परिवर्तनका लागि उत्प्रेरकको भूमिका खेल्ने, तथ्यांक सहजीकरण लगायतको आपसी सहयोग हुने विश्वास गरिएको छ । सवारीसाधन खरिद गर्दा र स्वामित्व हस्तान्तरणमा यसमा भएको तथ्यांकले सहयोग गर्नेछ ।
फोर्डको व्यापारमा र अटोमोटिभ टेक्नोलोजीमा गुगलको एआई, तथ्यांक विश्लेषण र क्लाउड प्लेटफर्मले सेवाग्राहीलाई सुरक्षित बनाउने बताइएको छ । डिजिटल यातायात, आधुनिकीकरण तथा सवारीसाधनमा टेक्नोलोजीको प्रयोगका लागि कम्पनीलाई गुगलले गुगल क्लाउड, एआई, एमएल तथा तथ्यांक विश्लेषणलगायत क्षेत्रमा सहयोग पुर्याउने कम्पनीको विश्वास छ ।
गुगलसँगको सहकार्यपछि फोर्डले ग्राहकको विशिष्ट टेक्नोलोजी प्रयोगको तथा सेवामा सुधार भएको अनुभूति दिलाउने बताएको छ । यस्तै उत्पादनको विकास, निर्माण तथा ‘सप्लाई चेन’ व्यवस्थापन र एआईको प्रयोगले कर्मचारी तालिम सिर्जना र उद्योगका इक्विपमेन्टको क्षमता बढाउनेछ ।
सन् २०२३ देखि फोर्ड तथा लिंकनका गाडीमा विश्वस्तरीय गुगल एप, गुगल म्याप तथा भ्वाइस टेक्नोलोजीसहितको एन्ड्रोइड अपरेटिङ सिस्टम जडान हुनेछ भने गुगल एसिस्टेन्स जडान गरिनेछ ।
संगीत, पोडकास्ट, अडियोबुकलगायतको प्रयोगका लागि गुगल प्लेको व्यवस्था गाडीमा हुनेछ । यसका लागि ‘थर्ड पार्टी डेभलपर’ लाई एपको एक्सेस दिएर सेवाग्राहीको अनुभवलाई उत्कृष्ट बनाइनेछ ।
फोर्ड विश्वमा अटोमोबाइल क्षेत्रमा प्रसिद्ध कम्पनी हो । यसले कार, ट्रक, एसयूभी, विद्युतीय सवारी र लिंकन ‘लक्जरी’ सवारीसाधनको उत्पादन गर्छ । यसले विश्वमा एक लाख ८७ हजार बढीलाई रोजगारी दिएको छ ।