काठमाडौं । पप गायिका रिहाना भारतमा जारी किसान आन्दोलनका विषयमा गरेको ट्वीटका कारण चर्चामा तानिएकी छिन् । उनले ‘हामी यो विषयमा किन बोल्दैनौँ ?’ भन्दै प्रश्न गरेकी थिइन् । रिहानाको उक्त ट्वीटको समर्थन र विरोधमा ट्वीटहरु भए ।
केही बलिउड अभिनेत्रीहरु रिहानाको ट्वीटको समर्थनमा बोले । अभिनेत्री कंगना रनौत भने यसविरुद्ध उभिएकी छिन् । उनले रिहानालाई ‘मूर्ख’को संज्ञा दिँदै भारतीयहरु अमेरिकीहरुले जस्तो आफ्नो देश नबेच्ने जवाफ फर्काइन् ।
कंगानाले मूर्ख भनेकी उनै पपस्टार रिहाना यो कोरोना महामारीसँगको युद्धमा अगाडि बसेर लडिरहेकी छिन् । उनले सन् २०१२ मा स्थापना गरेको क्लारा लायनेल फाउन्डेसनमार्फत महामारीसँग लडिरहेकी छिन् । खासगरी उनको यो परोपकारी संस्था संसारभरको शिक्षा र अन्य सामाजसेवी कार्यका लागि स्थापना गरिएको थियो ।
तर, रिहानाले आफ्नो यस फाउन्डेसनमार्फत कोरोनासँग जुझिरहेकाहरुको सहयोगका लागि ५० लाख अमेरिकी डलर सहयोग गरेकी छिन् । यति मात्रै नभई उनले कोरोना राहत कोषमा १० लाख अमेरिकी डलर पनि दान गरेकी छिन् । यसका साथै उनले ट्वीटरका सीईओ ज्याक डाँर्सीसँगको सहकार्यमा घरेलु हिंसाबाट पीडितहरुलाई सहयोग गरिरहेकी छिन् ।
सन् १९८८ फेब्रुअरी २० मा बारबाडोसको सेट माइकेलमा रिहानाको जन्म भएको हो । उनको रियल नाम राबिन रिहाना फेंटी हो । उनलाई डेमो टेप्स रेकर्डका लागि अमेरिकी रेकर्ड निर्माता इवान रोजनले अमेरिका ल्याएका थिए । त्यसपछि उनको सांगीतिक यात्राको थालनी भयो । नवभारत टाइम्सबाट ।