काठमाडौं । उपाधि दाबेदार म्यान्चेस्टर युनाइटेड प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा फुलहमलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले आफूलाई पुनः शीर्ष स्थानमा उकासेको हो ।
फुलहमको मैदानमा भएको खेलमा घरेलु टोलीले पहिले अग्रता बनाएको थियो । खेलको पाँचौं मिनेटमा लुकम्यानले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए ।
२१ औं मिनेटमा एडिन्सन काभानीले युनाइटेडका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा एक गोल गरेको युनाइटेड दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको थियो । खेलको ६५ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए ।
जितसँगै युनाईटेडले १९ खेलमा ४० अंक जोडेको छ । युनाइटेड अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित फुलहम १२ अंक जोडेर १८ औं स्थानमा छ ।