
काठमाडौं । प्रधनमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सबैभन्दा पहिले त्यसलाईं असंवैधानिक र अलोकतान्त्रिक भनेर निर्णय गर्ने पार्टी नेपाली कांग्रेस थियो । तर, अहिलेसम्म आउँदा कांग्रेसभित्र थुप्रै उथलपुथल देखिएका छन् ।
आफैँले असंवैधानिक घोषणा गरेको प्रतिनिधिसभा विघटनविरुद्धको विरोध प्रदर्शनमा सभापति शेरबहादुर देउवा कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिँदै छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनको निर्णय खारेज नभए संविधान र लोकतन्त्र जोखिममा पर्ने अडानमा छन् । त्यसैले नेकपा विवादका कारण कांग्रेसमा नै दुई धार खडा भएको छ ।
“म प्रतिनिधिसभा पुनःस्थापित हुँदा सांसद् हुने पनि होइन, मलाई व्यक्तिगत रुपमा कुनै लाभ चाहिएको पनि छैन । कांग्रेसको स्थापनाको औचित्य नै विधिको रक्षाका लागि भएकाले मैले त्यही बाटोमा आफ्नो अडान राखेको हुँ,” पौडेलले भने, “तर शेरबहादुरजी निर्वाचनका पक्षमा देखिँदै हुनुहुन्छ । सर्वोच्चको निर्णय कुरौँ भन्दै देशर्लाइ असंवैधानिक रुपमा मध्यावधिमा होम्न खोज्दै हुनुुहुन्छ ।”
उनले राष्ट्रिय आत्मविश्वासमै संकट देखिएको भन्दै यस्तो अवस्था लोकतन्त्रविरुद्ध उभिने प्रधानमन्त्री ओलीका कारण आएको बताए । “संविधानमा स्पष्ट रुपमा प्रतिनिधिसभा विघटन गर्नै नमिल्ने प्रावधान राखिएको छ, हामी (शेरबहादुरदेखि ओलीसम्म सबै)ले सहमतिमै यो व्यवस्था राखेका हौँ,” पौडेलले भने, “त्यस्तो संविधानअनुसार सर्वोच्चले फैसला गर्छ भनेर विश्वास गर्नुको साटो संविधानको पक्षमा फैसला आउँदैन कि भन्दै शंका पैदा गर्ने प्रयास भइरहेको छ ।”
पौडेलले सर्वोच्चमाथि अविश्वास खडा गर्ने प्रयास भए पनि सर्वोच्चले त्यस्तो अविश्वास अन्त्य गरिदिने विश्वास गरेका छन् । “सर्वोच्चले पनि लोकतन्त्रका पक्षमा फैसला गरेन भने संविधान र लोकतन्त्र मात्रै जोखिममा पर्दैनन्, देश नै अफगानिस्तानजस्तै बन्न सक्छ,’ पौडेलले भने, “त्यस्तो अवस्था आउन नदिने कर्तव्य राष्ट्रिय शक्तिहरुको हो । देशकै पुरानो लोकतान्त्रिक शक्ति भएकाले कांग्रेसको यसमा धेरै दायित्व छ ।”
प्रदेशमा संकट, निर्णयबाट पन्छिए देउवा
प्रतिनिधिसभा विघटन भएपछि दुई समूहमा विभाजित भएको नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रदेश नम्बर–१ र वागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको छ । तर, कसलाई समर्थन गर्ने र सरकार निर्माणमा कस्तो भूमिका खेल्ने भन्ने विषयमा समेत सभापति देउवा र नेता पौडेलबीच फरक–फरक मत देखिएको छ ।
सभापति देउवा ओलीनिकट समूहकै पक्षमा देखिएका छन् भने पौडेल असंवैधानिक बाटोमा देशलाई लैजाने पक्षसँग सहकार्य गर्न नहुने अडानमा छन् । त्यही विवादमा मंगलबारका लागि डाकिएको केन्द्रीय समिति बैठक नै स्थगित भएको छ ।
दुवै प्रदेशमा कांग्रेस जहाँ उभियो, त्यही पक्षको सरकार बन्ने अवस्था छ । तर, कांग्रेसका शीर्ष तहमा मै अविश्वास बढेपछि कांग्रेस केन्द्रीय समिति अनिर्णयको बन्दी बनेको छ ।
कांग्रेसले गएको पुस २५ गतेका लागि डाकेको केन्द्रीय समिति बैठक मंगलबार (आज)का लागि सारेको थियो । सभापति देउवा प्रदेशमा कसलाई समर्थन गर्ने भन्ने निर्णय प्रदेशलाई नै दिउँ भन्ने प्रस्ताव लिएर सोमबार पौडेल निवास बोहोराटार पुगेका थिए । तर, पौडेल राष्ट्रिय समस्यामा कहाँ उभिने भन्ने निर्णय केन्द्रबाटै हुनुपर्ने अडानमा अडिग भएपछि सहमतिको प्रयास असफल भएको हो । दुई नेताबीच सहमतिको प्रयास असफल भएपछि देउवाले केन्द्रीय समिति बैठक नै स्थगित गरिदिएका छन् । सरकारविरुद्ध विरोध प्रदर्शन गरिरहँदा देउवाले अझै पनि सरकारी पक्षसँगै निकटता देखाएकोमा पौडेलले असन्तुष्टि जाहेर गरेका छन् ।
“प्रदेशका साथीहरु हामीलाई हेरेर के गर्ने भन्दै बसिरहनुभएको छ । तर, शेरबहादुरजी प्रदेशलाई नै निर्णय गर्न दिऊँ भन्दै आफ्नो इच्छा उताबाट पूरा गर्न खोज्दै हुनुहुन्छ,’’ पौडेलले भने, “मैले नीति हामी बनाऊँ रणनीति प्रदेश संसदीय दललाई नै बनाउन भनौँ भन्ने प्रस्ताव गरेको छुुँ ।” पौडेलले सभापतिले केन्द्रीय समिति नै स्थगित गरेर पार्टीलाई अनिर्णयको बन्दी बनाउन लागेको आरोप बताए ।
सोमबारको भेटमा महाधिवेशनदेखि राष्ट्रिय राजनीतिका विषयमा समेत कुरा भए पनि कुनै सहमति हुन नसकेको पौडेलको बुझाइ छ । “सभापति देउवासँग करिब डेढ घण्टा कुरानकानी भयो, राष्ट्रिय राजनीतिदेखि आन्तरिक राजनीतिसम्म थुप्रै विषयमा कुराकानी भयो । तर, सहमति, समझदारी कुनै पनि विषयमा हुन सकेन,” सोमबारको भेटबारे पौडेलले भने, “म देशलाई विधिबाट डिरेल हुन नदिऊँ भन्ने पक्षमा छु, उहाँ निर्वाचन भएपछि लोकतन्त्र जोगिन्छ भन्ने तर्कमा हुनुहुन्छ ।”
पौडेलले असंवैधानिक कदमबाट देशलाई तहसनहस पार्ने पक्षसँग नै सहकार्य गर्ने भए कांग्रेसलाई जनताले किन विश्वास गर्ने भन्ने प्रश्न पनि उठाएका छन् । “पार्टीको झगडामा देशलाई नै तहसनहस पार्नेसँग कांग्रेसले सहकार्य गर्ने हो भने कांग्रेसलाई जनताले कसरी विश्वास गर्ने ?,’’ पौडेलले थप प्रश्न गरे, ‘‘विधिको पक्षमा उभिन नसक्ने कांग्रेस जनताले खोजेका हुन र ?” उनले आफ्नो विधिका पक्षको अडान नबदलिने भन्दै सभापति देउवासँग समेत विधिका लागि मात्र सहमति हुने बताए ।
‘यो कुरा त अब महाधिवेशनको मुद्दा बन्छ होला नि ?’ भन्ने प्रश्नमा पौडेलले महाधिवेशनको पनि सुनिश्चिता हुन नसकेको बताए । “महाधिवेशनलाई यो मात्र हैन, मुद्दा कति छन् कति !,” पौडेलले भने, “महाधिवेशनका कुरा उठ्यो भने सभापतिजी गर्ने हो त महाधिवेशन, कसले नगर्ने भनेको छ भन्दै रिसाउनुहुन्छ,” उनले भने, “तर, महाधिवेशनका लागि गर्नुपर्ने काम उहाँ गर्नु हुन्न । अझै कति धकेल्ने हो, उहाँलाई नै थाहा होला ।”
नयाँ मुद्दामा पुग्दा आफूअनुकूल बनाउन सभापतिले महाधिवेशन सारिरहेको पौडेलको भनाइ थियो ।
फाइल तस्बिर ।