site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 कोरोना कहर : लाखौं धरौटी बुझाउन नसक्दा अस्पतालले भर्ना लिएन, सडकमै गयो प्राण
Sarbottam CementSarbottam Cement

डिस्क्लेमर : यो कुनै चलचित्र वा उपन्यासको प्लट होइन । यो त, राज्यको चरम अव्यवस्थाबाट सिर्जित परिघटना हो । प्रिय पाठक ! बेदबहादुरको दुर्दान्त पढेर ज्यादा भावुक बन्न र द्रवीभूत हुन जरुरी छैन । नागरिकप्रति सरकारको उदासीनताको वज्र ढिलाचाँडो तपाईं-हाम्रो थाप्लामा पनि बज्रने नै छ । राज्यको नजरको सस्तो भावुकताको अर्थ नै के छ र ?

० ० ०

आम नागरिकजस्तै सपनाको कुम्लो, काम्लो बोकेर ओखलढुङ्गा, सुनकोसी गाउँपालिका, साबिक कटुञ्जे २ का वेदबहादुर क्षेत्री ५ वर्षअघि काठमाडौं भित्रिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं उनका लागि सुखद् रहेन । गाउँमा पनि उनको भागमा ऋण सिवाय केही भागमा परेको थिएन । त्यसकै तिर्न, बुझाउन बाँकी हिस्सा बोकेर काठमाडौं खाल्डो पसेका थिए । यहाँ पनि उनले ऋण नै कमाए । ऋणले ऋण काढ्दै गयो । गरिबीकै गर्तमा धकेल्दै लग्यो । दुःखको भवसागरबाट उत्रने छाँट नदेखेपछि पारिवारिक द्वन्द्व, मनमुटाव थपिन थाल्यो ।

वेदबहादुरका नाताले सालो पर्ने रमेश कार्की अन्यमनस्क भावमा सुनाउँछन्, “त्यही त हो नि हजुर ! कमाउन नसकेपछि । जोईपोइबीच कुरा मिल्न छाड्यो ।”

Global Ime bank

बौद्धकै उत्तरपट्टि डेरा लिएका थिए । सस्तो ज्याला, मजदुरी, आय–आर्जनको बाटो थियो । श्रीमती लक्ष्मीले पनि सकेजति सघाएकी थिइन् । तर, ऋणबाट पार पाउन सकेनन् । अन्ततः पारिवारिक विखण्डनको दुःखद् परिघटना निम्तियो ।

परिवारसँग छुट्टिएर सडकमै आश्रय लिन थालेका थिए । श्रीमती लक्ष्मीले घर फर्काउन नखोजेकी पनि होइनन् । छोराछोरीको अनुहार सम्झिएर, उनीहरूको भविष्यले पिरोलेर घर आउलान् भनेर लक्ष्मीले आशाको बत्ती निभाइसकेकी थिइनन् ।

तर, वेदबहादुरले मदिरालाई साथी बनाए । रक्स्याहाकै साथ मञ्जुर गरे । डेरा, परिवार त्यागेर सडकको सहारा लिएपछि उनको परिचयमा ‘भरिया’ थपिएको थियो । बौद्ध, जोरपाटी क्षेत्रमा भारी बोकेर साँझ-बिहानको छाक टार्न थाले । श्रीमान्‌लाई आफूसँगै राख्ने लक्ष्मीको सारा प्रयास व्यर्थ भयो । 

“त्यस्तै तीन वर्ष भयो होला हजुर उहाँ सडकपेटीमा रमाउन थालेको । घर जाउँभन्दा नसुनेपछि कसको के लाग्दो रहेछ र ?,” रमेश ती दिन सम्झँदै भन्छन् ।

विगत डेढ–दुई वर्षदेखि भने लक्ष्मीले वास्ता गर्न छाडेकी थिइन् । छोराछोरीले पनि बाबुको खासै वास्ता गर्दैनथे । चैत ११ देखि लकडाउन सुरु भयो । त्यसको ज्यादा असर वेदबहादुरलाई नै पर्‍यो । भारी बोक्ने काम पाउन छाडेपछि उनी नगरपालिकाको शरणमा परेका थिए । आफूले भारी बोकिदिएका साहूहरूकहाँ हात पसारेर साँझ–बिहान गुजार्दै आएका थिए । जेनतेन भोक भर्दै आएका थिए ।

भारी बोकेर लैजाँदा त साहूकहाँ प्रवेश पाउँदैनन् उनीहरूले भोक र रोगले गाँजेका रित्ता, अनिँदा भरियाहरू कसरी भित्र छिर्न पाउनु ! सडकमा कोही भोकभोकै बस्नुपर्दैन, कोही भोका–नाङ्गा हुँदैनन् भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दिव्यवाणी सिंहदरबारको चारपर्खाल छिचोलेर बौद्धसम्म पुग्न सकेन । कैयन् रात, कैयन् दिन वेदबहादुर भोकभोकै सडकपेटीमा बिताए ।

लाग्दो कात्तिकदेखि भने अनुहारको रोगन फेरिएको थियो । सडकमै आश्रय लिने उनका साथीहरूले पनि वेदबहादुरको अनुहार डढ्दै गएको देखेर आश्चर्यचकित भएका थिए । सुरुमा त उनीहरूले मदिराको कारणले होला भनेर लख काटे । डराउन उचित ठानेनन् ।

कात्तिकको २–३ गतेदेखि शरीमा ज्वरो देखा पर्‍यो । बिहान–दिउँसो ज्वरो सामान्य हुने । राति भएपछि ह्वात्तै बढ्ने । ६ महिनादेखि भारी नपाएका भरिया भाइसाथीहरूले अस्पताल पुर्‍याउन कसरी । वेदबहादुरको गलितम् शरीर देखेर विह्वल हुँदै बसे ।

“ज्वरोले इन्तु न चिन्तुसँग बाटामा मुढोजस्तो भएर लडिरहेको देखेर बौद्धका एकजना शेर्पा थरका व्यक्तिले जोरपाटी, आत्तरखेलको नेपाल मेडिकल कलेजसम्म पुर्‍याइदिनु भएछ,” रमेश भन्छन्, “कोरोना जाँचेछ । छातीको एस्सरे गरेछ र फोक्सोमा पानी जमेको छ उपचार गर्ने भए धरौटी जम्मा गर्नुपर्छ भनेपछि पैसा दिन सकिएन । त्यत्तिकै फिर्ता हुनुभयो ।”

कात्तिक ४ गते मेडिकल कलेज पुगेका वेदबहादुरको अस्पतालबाट फिर्ता हुँदा पनि ज्वरो घटेको थिएन । शरीर जीर्ण बन्दै गइरहेको थियो । दम पनि बढेको थियो । खोक्दा छाती घ्यार्घ्यार गर्थ्यो । कोरोना परीक्षणको रिपोर्ट दिनुको सट्टा अस्पतालले उल्टै मोटो रकम धरौटी माग्यो ।

“भरियाले कहाँबाट बुझाउनु आठ-नौ लाख धरौटी ?,” उनी भावुक हुँदै पीडा सुनाउँछन्, “उपचार खर्च नभएपछि अस्पतालबाट सडकै फिर्ता हुनुभयो । साथमा ज्वरो र छातीको दुखाइ बोकेर ।”

अस्पतालले फिर्ता पठाउनुको कारण उनीहरूले भोलिपल्ट मात्रै बुझे । वेदबहादुरलाई कोरोना सङ्क्रमण भएको रहेछ । धरौटी बुझाउन नसक्ने बिरामीलाई अस्पतालले शय्या किन दिन्थ्यो र ? ५ गते राति उनी बौद्ध ओरालोको सार्वजनिक शौचालयनजिकै सुतेर रात बिताए । भोलिपल्ट कोरोना सङ्क्रमित भएको ठहर भएपछि सबैजना छेउ पर्न डराए । उद्धार गर्ने कोही भएन ।

दोष नेपाल मेडिकल कलेजको थिएन । उसले त खाली स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो आदेश पालना मात्र गरेको न हो । सरकारले कात्तिक २ गतेपछि भर्ना भएको सबै कोरोना सङ्क्रमितको उपचार गर्न नसक्ने, विपन्न, असहाय, अपाङ्गता भएका, एकल महिला आदिको मात्र उपचार गर्न सक्ने भनेर हात उठाइसकेको थियो । वेदबहादुरसँग विपन्नताको पुर्जी थिएन । न गरिबीको कुनै प्रमाणपत्र नै थियो । खल्ती हेरेर अस्पताले धनी-गरिब छुट्टयाउने कुरै भएन । भरियासँग लाखौं रुपैयाँ हुँदैन भनेर अस्पतालको चेतनाले ठम्याओस् पनि कसरी ? मेडिकल कलेजले वेदबहादुरलाई घर फर्कने बाटो देखाइदियो ।

कोरोना सङ्क्रमणले उनको मदिरा–प्यास रोक्न सकेन । हातमा कोरोना पोजेटिभको पुर्जी बोकेर उनी भट्टी छिरेछन् । कात्तिक ६ गते नै उनले त्यसो गरेका रहेछन् । भोलिपल्ट मात्रै टोलवासीले थाहा पाए । गाउँभरि सर्वत्र त्रास व्याप्त भयो । प्रहरीलाई खबर गरे । 

मदिराको सुरमा उनी कता अलप भए कता ? कसैले भेउ पाउन सकेनन् । वेदबहादुरलाई कुनै अस्पतालले भर्ना लिई पो हाल्छ कि भनेर उपाय खोज्न निस्किएका स्थानीय मोहन गौतम सुनाउँछन्, “कोरोना सङ्क्रमित भनेपछि मानिसहरू सबै तर्कंदा रहेछन् । कसले सहायता गर्नु ?”

तत्कालीन एमालेको युवा संघका क्षेत्रीय अध्यक्षसमेत रहेका उनले स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गरे । आफ्नै पार्टीको सरकार भएकाले सहायता मिल्नेमा उनी ढुक्क पनि हुँदा हुन् । स्वास्थ्य मन्त्रालयको ९८५१२५५८३७ नम्बरको हटलाइनमा सम्पर्क गर्दा फोन उठ्नै दुरुह भयो । धेरैपल्ट फोन डायल गरेपछि बल्लतल्ल फोन उठ्यो । एकजना कर्मचारीले रूखो जवाफ फर्काए ।

“सरकारले निःशुल्क उपचार गर्न नसक्ने भनेको छ, संक्रमितले अस्पतालले तोकेको धरौटी बुझाएमात्र अस्पताल पुर्‍याइदिने जवाफ दिए” गौतम भन्छन्, “सरकारले विपन्न, असहाय नागरिकलाई निःशुल्क उपचार गरिदिने भनेको छ नि भनेर सोध्दा, खै हामीलाई थाहा छैन भनेर पन्छिए ।” त्यसपछि गौतमले स्वास्थ्यमन्त्री भानुभक्त ढकालका सञ्चार हेर्ने माधव तिवारीलाई पनि फोन गरे । उनले  प्रस्ट जवाफ नदिएको गौतम सुनाउँछन् ।

निरुपाय भएका मृतकका साला रमेशले बिहानदेखि स्वास्थ्य मन्त्रालयको हटलाइनमा फोन गरेर बसे । अनुनय-विनय गरेपछि अपराह्नतिर एम्बुलेन्स उपलब्ध गराउन सहमत भयो । एम्बुलेन्सत त आयो । तर, वेदबहादुर होसमा थिएनन् । एम्बुलेन्सका कर्मचारीले ‘जड्याहा’लाई कुन अस्पताल भर्ना गर्नु भनेर एम्बुलेन्स रित्तै फर्काएको रमेश बताउँछन् ।

फूलपातीको रात पनि वेदबहादुर सडकपेटीमै काटे । अष्टमीको दिनको सूर्योदयसँगै रमेश एम्बुलेन्सको खोजीमा जुटे । बौद्ध प्रहरीलाई लाख बिन्ती बिसाएपछि अस्पताल पुर्‍याइदिन राजी भएको थियो । भिनाजुले अस्पताल जान पाउने भए, उपचारखर्च ज्यान धरौटी राखेर भए पनि बेहोरौंला भनेर रमेशको अनुहारमा शारदीय घाम लागेको थियो ।

खुसीको बत्ती निभ्न रत्तिभर पनि लागेन । सडकमा बेवारिसे पल्टिइरहेका वेदबहादुरलाई उठाउन प्रहरीले एम्बुलेन्स ल्याएको मात्र के थियो, विपरीत दिशाबाट आएको स्कुटरले वेदबहादुरलाई ठक्कर दियो । टाउकामा गहिरो चोट लागेका वेदबहादुरको घटनास्थलमै प्राणपखेरु उठ्यो ।

यो आलेख तयार पार्दासम्म वेदबहादुर शव सडकबाट उठ्न सकेको छैन ।

“सद्‌गत गर्ने पैसा पनि छैन । कुन खर्चले किरिया उतार्नु भनेर दिदी, भान्जाभान्जी पिरोलिइरहेका छन्,” रुँदै रमेश भन्छन्, “अब हामीले आफ्नै भाग्यलाई त सराप्‍ने होला !”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC