काठमाडौं । कोरोना संक्रमण हाम्रो सानो सानो कमजोरीले गर्दा सर्ने गर्छ । कोरोना भाइरसको संक्रमण बोल्दा निस्केको थुकका छिटाबाट चाडो सर्ने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ ।
कोरोना संक्रमण थुक वा थुकका ड्रपलेटबाट सर्ने हो । हामीले बोल्दा थुकका छिटा अन्यमा नपरोस् र कोरोना संक्रमण नसरोस् भनेर नै मास्क लगाउन भुल्न हुँदैन । पटक–पटक आँखा मुख छुन हुँदैन । थुकका छिटा ६ फिट परसम्म जान सक्छ । थुकका सानोभन्दा सानो छिटा ( मुखमा पानीको कण निस्कने हुन्छ ) जसलाई एरोसल भनिन्छ ।
एरोसल हाम्रो लागि एकदमै खतरा हो । अर्को बन्द स्थानमा बस्नु हुँदैन । यदि तपाईँ कोहीसँग घण्टौंसम्म कुराकानी गरेर बस्नुभयो भने कोरोना संक्रमण खतरा बढी हुन्छ । भेन्टिलेसन नभएको बन्द कोठा र कोही व्यक्तिसँग कति समय बिताएको छ त्यसमा पनि भर पर्छ । कोही पनि व्यक्ति सँगै हुँदा अनिवार्य मास्क नलगाउने, सम्पर्कको अवधि भिडभाड र जमघट जनघनत्व र भौतिक दूरी कायम हुन नसक्ने अवस्था, चर्को बोली, होहल्ला, गायन र खोकीजस्ता सास जोड्सँग बाहिर निस्कने काम गरियो भने कोरोना संक्रमण सर्ने जोखिम उच्च हुन्छ ।
लकडाउनपछि सरकारले वा सम्बन्धित निकायले कार्यस्थल खुल्नुभन्दा अघि तपाईँहरुले कोरोनाबाट बच्ने कार्यस्थल यस्तो बनाउनुपर्छ भन्नुपर्थ्यो तर त्यस्तो भनिएन । अर्को कोरोना संक्रमण विदेशबाट आउने र तराइबाट आउनेलाई मात्र हुन्छ । काठमाडौंबासीलाई नहुने भनेर हेलचेक्र्याइँ गर्दा अहिले कोरोना कार्यस्थलमा फैलिएको छ । कार्यस्थलमा कोरोना संक्रमण फैलिएपछि ति कर्मचारी घरमा गए घरमा पनि संक्रमण सर्यो ।
अर्को धेरैले कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएमा सामाजिक सञ्जालमा राखेको देखिन्छ । तर त्यसले एकघण्टा पनि काम गर्दैन । कोरोना संक्रमित कतिपय व्यक्ति बिनालक्षण निको भएका छन् । केहीलाई कोरोनाले गम्भिर बनाएर अन्तिममा फर्किएर आएका हुन्छन् । कोरोना नयाँ भाइरस हो । हामीले त्यो बुझ्न जरुरी छ ।
काठमाडौं उपत्यकामा अप्रिल वा मे महिनामा अहिले थपिएका संक्रमित थपिएका भए हजारौँ मानिसले कोरोनाबाट ज्यान गुमाउँथे । किनभने त्यो समयमा नेपाली चिकित्सकलाई कोरोनाको सपोटिङ् औषधिबारेमा थाहा थिएन । महामारीको समयमा सकेसम्म ज्यान जोगाऔँ भनिन्छ । कोरोना संक्रमण हुनै नदिने उपाय नै हामीले अहिले पनि अबलम्बन गर्नुपर्छ । सकेसम्म सार्वजनिक यातायत नचढ्न र यदि चढ्नै परेमा भाइजर लगाउनैपर्छ ।
जब कोरोनालाई बेवास्ता गर्छौं तबसम्म यो बढ्छ । कोरोनाबाट बच्ने उपाय अवलम्बन गर्यौँ भने फेरि घट्छ । कोरोनाको औषधि नबनेसम्म यतिकै रहने हुँदा जनस्वास्थ्यको मापदण्ड पालना संक्रमण दर घटाउनुपर्छ ।
कार्यस्थलको संरचना कस्तो बनाउने
क– बन्द स्थानमा सुधार गर्ने कार्यस्थललाई स्वस्थ र सुरक्षित बनाउन संस्थाहरुले अपनाउनु पर्ने “कोभिड–१९ कार्यस्थल जोखिम न्यूनीकरण” का उपायहरु घरबाटै काम गर्ने ।
–प्राकृतिक हावाको राम्रो आवत जावत हुन सक्ने धेरैभन्दा धेरै स्थानहरुको व्यवस्था गर्न राम्ररी हावा खेल्न नसक्ने ठाउँहरु जस्तै अफिसका कोठा, करिडर, शौचालय, स्टोर, भर्याङ्ग आदिको पहिचान गरि त्यस्ता ठाउँहरुमा झ्याल, ढोका वा निकास पंखा आदि थप्ने ।
–विगतमा एयर कन्डिसनर चलाउन भनि बन्द गरिएका झ्याल, ढोका, अस्थायी छेकबार आदि खोल्ने र त्यस्ता ठाउँहरुमा प्राकृतिक हावा राम्ररी खेल्न सक्ने बनाउने जस्तै बैठक कक्ष, रिसेप्सन, सभा कक्ष आदिमा ।
ख) भौतिक दूरी कायम गर्ने
– ६ फिटको भौतिक दूरी कायम गर्न कार्यालयमा रहेका फर्निचर, मेच, टेबुल, दराज, कुर्सी आदिलाई पुनः संगठित गर्ने ।
– कार्यालयका कर्मचारी तथा त्यहाँ सेवा लिन आउने ग्राहकवर्गलाई सम्झाउन र नियम पालना गर्न आवश्यक सूचना, संकेत चिन्हहरु भित्ता र भुईँमा लेख्ने–टाँस्ने, छेकबार र हिँड्ने बाटोहरु एकतर्फि गर्न मिल्दो बनाउने ।
– कार्यालय्भित्र भिडभाड हुन सक्ने साँघुरा र साना स्थानहरु जस्तै भर्याङ्ग, लिफ्ट, कोरिडर, शौचालयको प्रस्थान ढोका आदिमा भिड कम गर्न आवश्यक छेकबार राख्ने ।
–कार्यस्थल, खाजा घर र शौचालय आदिमा भौतिक दुरी कायम हुन सक्ने गरि बस्ने ठाउँहरुको व्यवस्था पुनः संगठित गर्ने ।
ग) स्वचालित प्रविधि जडान गर्ने
–पटक पटक छोएर गर्नुपर्ने सम्पूर्ण कार्यहरुलाई सेन्सर राखेर सकेसम्म स्वचालित प्रणालीमा परिणत गर्ने । जस्तै– ढोका खुल्ने–बन्द हुने, बत्ति बल्ने–निभ्ने, हात धुने–सुकाउने, घण्टी बज्ने आदि ।
–धेरै ग्राहक उपस्थित हुने स्थान वा कोठाको क्षेत्रफललाई तोकिएको भौतिक दूरी कायम हुन सक्ने गरि भाग लगाएर एकपटकमा अटाउन सक्ने व्यक्ति संख्या तोकेर मात्र सेवा प्रदान गर्ने नियम बनाउने ।
– दूर सञ्चार र अनलाइनजस्ता माध्यम प्रयोग गर्ने ।
– कार्यालयको खाजा खाने समय, विश्राम समय र कर्मचारीको कार्य गर्ने समय समेत सम्भव भए सम्म मिलाएर तालिका तयार गरी लागू गर्ने ।
–कार्यालयमा सेवा लिन आउने ग्राहकद्वारा हुन सक्ने भीड कम गर्नु महत्वपूर्ण भएकोले त्यसको लागि आवश्यक कर्मचारी संख्या, कार्य तालिका र नियमहरु तयार गरि लागू गर्ने ।
– भिडभाड, घुइँचो घटाउने व्यवस्था गर्ने । जस्तैः खाता खोल्ने–बन्द गर्ने, जानकारी लिने, फाराम भर्ने, स्टेटमेण्ट निकाल्ने आदि सबै अनलाइन गर्ने ।
– कार्यालयभित्रका व्यवस्थापकीय बैठक आदि सबै सकेसम्म अनलाइन गर्ने ।
– कर्मचारी डाकेरै बैठक गर्नुपर्ने अवस्थामा एकदमै सम्बन्धित र थोरै व्यक्ति मात्र बसेर खुला ठाउँ जस्तै कौसी, बरण्डा, चौर आदिमा सञ्चालन गर्ने ।
– सकिन्छ भने आफ्नो पालो नआएसम्म ग्राहकलाई बाहिरै चौर, कौसी, बरण्डा आदिमा बस्ने र फोन गरेर वा घण्टी बजाएर मात्र भित्र आउने व्यवस्था मिलाउने ।
– हात धुने बेसिनको व्यवस्था गर्न कठिन स्थानमा ७० प्रतिशत अल्कोहल भएको हातले नछोई प्रयोग गर्ने स्यानीटाइजर स्टेशनको व्यवस्था गर्ने ।
कार्यस्थलमा कोभिड हेर्ने एउटा टिम बनाऔँ
प्रत्येक कार्यस्थलमा कोभिड १९ व्यवस्थापन सम्बन्धी सानो टिम बनाउँनुपर्छ । जस्तै कुनै कार्यस्थलमा पियनलाई कोरोना संक्रमण देखिएमा हाकिमलाई सिधै फोन गर्ने गरेको देखिन्छ । यदि उक्त टिम भएको भए थप समन्वय हुने र व्यस्थापनमा सजिलो हुने हुन्थ्यो । अर्को उक्त टिमले हरेक तीनदेखि चार दिनमा कार्यस्थलमा बनाइएको कोरोनाबाट बच्ने नियम पालना गरे नगरेको हेर्न सक्थ्यो । कोरोनाबाट बच्ने कुरा पटक पटक भनिरहयो भने मात्र लागुहुन्छ ।
कार्यस्थलमा ध्यान दिनुपर्ने कुराहरु
कोभिड – १९ मा कुनै पनि व्यक्तिको स्वास्थ्य स्थिति बारे थाहा पाउन प्रमुख उपाय मानिएको ‘तापक्रम जाँच’ गरेर मात्र संस्थाका प्रत्येक कर्मचारी र त्यहाँ आउने ग्राहक, पाहुना आदिलाई प्रवेश गराऔँ । कार्यस्थलमा काम गर्दा दिनभरी मास्क खोल्नु भएन । एसी खोलेर बस्नु हुँदैन । नेपालको अधिकांश एसी हेमोफिल्टसहितका आवश्यक मापदण्ड पूरा गरेको देखिँदैन । यदि खोलि हालेमा झ्याल खोल्नुपर्छ ।
कार्यस्थलको झ्याल र ढोका खोल्ने, मिटिङ् भनेर चिया र कफी खाने काम नगरौँ । धेरैलाइ मिटिङको दौरानमा चिया र कफी खाँदा मास्क त खोल्नुपर्छ । अनि कोरोना सर्छ । तर मैले नियमित मास्क लगाएको छु , भौतिक दुरी कायम गरेको छु तर पनि कोरोना संक्रमण भयो भन्ने पनि सुनिन्छ । अर्को अहिले अफिस जाने व्यक्तिहरु पनि चिकित्सक जस्तै हुन् । बाहिर काम गर्न जाने व्यक्तिले घर पनि मास्क लगाउनुपर्छ । घरमा जेष्ठनागरिकलाई मास्क लगाउन आग्रह गर्नुपर्छ ।
दसैंको टीका अनलाइन लगाऔँ
कोरोना संक्रमण बढिरहेको छ । सकेसम्म अनलाइनबाट नै योपटकको दसैँ मनाऔँ । घरकै परिवारलाई टीका लगाउनुभन्दा अघि जेष्ठनागरिकलाई मास्क र भाइजर लगाउन लगाउनुपर्छ । आफन्तलाई टीका मास्क लगाएर लगाउने तर खानपान गराउँदा मास्क खोल्ने गर्दा सानो गल्तीले कोरोना आदान प्रदान भइहाल्छ । धेरैलाइ थाहा छ कोरोना सर्छ । तर कार्यान्वयन गरिँदैन । आफन्तलाई पनि यो दसैँमा नआउन भनौँ ।
कोरोना भाइरस (कोभिड १९) बाट बच्ने पाँच सुत्र
कोरोना संक्रमणबाट बच्न हामीले पाँच सुत्र कार्यान्वयन गर्नैपर्ने हुन्छ । मिटिङ् वा छलफल १५ मिनेटमा सक्ने, आफु घरबाट बाहिर जाँदा वा बाहिरका व्यक्तिहरु घरमा आउँदा अनिवार्य मास्क लगाउने, आफ्ना वरिपरीका व्यक्तिसँग कम्तिमा दुई मिटरको दुरी कायम गर्ने, पटक पटक २० सेकेन्डसम्म मिचेर साबुन पानीले हात धोएर, वा स्यानिटाइजर लगाएर हात सफा राख्ने, आँखा, नाक, मुख नछुने, बन्द र साँघुरो स्थानहरुमा सकेसम्म नबस्ने र नजाने साथै कोठामा झ्याल र ढोका खुल्ला राखी हावाको सञ्चार (भेन्टिलेसन) बढाउने ।
(पुण्यार्जन फाउन्डेसनका अध्यक्ष डा.कोइरालासँग गरिएको कुराकानीमा आधारित )