site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
एडम्को प्रेम 
Sarbottam CementSarbottam Cement

टङ...टङ । मोेबाइमा आएको नोटिफिकेसनले मेरो ध्यान भङ्ग हुन्छ । स्टारबक्समा बसेर कफी पिइरहेको म हत्तपत्त कफीको कप टेबलमा राखेर मोबाइलमा मेसेज चेक गर्न पुग्छु ।

“हेलो सिजन, हाउ आर यू ?”

एडम्को मेसेज रहेछ । म खुसीले उत्तेजित हुँदै रिप्लाई गर्छु । 

Prabhu Bank
Agni Group
NIC Asia

“एडम् आई एम फाइन्, थ्याङ्क्स” 

“हाउ एवाउट यू ?”

Global Ime bank

उताबाट तुरुन्त रिप्लाई आउँछ । 

“आई एम ग्रेट । थ्याङ्क्स, सिजन । वाई द वे आई ह्याब अ गुड न्युज फर यू, आई एम प्लानिङ टु कम ब्याक टोकियोे नेक्स्ट मन्थ ।” 

एडम्को मेसेजले आश्चर्यचकित म, रिप्लाई गर्छु, “रियल्ली एडम् ! ह्वाट अ सरप्राइज ! आई एम लुकिङ फरवार्ड टु सियू सुन ।”

उताबाट फेरि एडम्को मेसेज आउँछ ।

“सियू ।”

“ओके सिजन वाई ! होप टू सियू सुन । टेक केयर ।” 

मैले पनि “ओके बाई टेक केयर” भनेर मेसेज सेन्ड गरेँ ।

साथै म अचम्म पर्छु, एडम् किन आउन लागेको होला टोकियो ! अमेरिका सिफ्ट भएको एक वर्ष त भयो । कफी उठाउँदै सुरुप्प सुरुप्प पिउन थाल्छु । कफीको चुस्कीसँगै अतितको सागरमा पौडिन पुग्छु ।

००० 

कामको पहिलो दिन म अलि चाँडै टोकियोस्थित होटेल हिल्टन पुगेको थिएँ । धेरै प्रयासपछि यो होटेलमा मैले काम पाएको थिएँ । टोकियोको एक प्रख्यात फाइभस्टार होटेल थियो, होटेल हिल्टन । 

होटेलको लकर रुममा ड्रेस चेन्जका लागि गएको थिएँ । त्यतिकैमा एउटा गोरो अग्लो अमेरिकन केटासँग भेट भयो । ऊ पनि ड्रेस चेन्ज गर्दै थियो, सायद । मैले “गुड मर्निङ” भनेँ । उसले पनि मुस्काउँदै “गुड मर्निङ” भन्यो । त्यति भनेर ऊ ‘बाई’ भन्दै सरासर आफ्नो काममा गयो । 

पहिलो दिन अलि मनमा डर र संकोचले घेरा हालेको थियो । काम कस्तो होला ? को–वर्करहरू कस्ता होलान् ? विदेशको ठाउँ, यी यावत् कुराले मलाई पिरोलिरहेको थियो । तर काम राम्रै भेटाएको थिएँ । होटेलको डाइनिङ हलमा रहेको बफे (वफेट) मा खाना रिप्लेस गर्नुका साथै पाहुनाहरूको स्वागत–सत्कार गर्दै परिकारबारे जानकारी दिनु । सुुरुसुरुमा अलि कठिन नै भए पनि पछि काममा अभ्यस्त हुँदै गएँ । 

खानाको परिकारबारे जानकारी गराउनुपर्ने भएकाले धेरैभन्दा धेरै पाहुनासँग बोल्ने मौका पनि पाउँथेँ । जे होस्, कामप्रतिको मेरो लगाव बढ्दै गएको थियो । 

प्रख्यात होटेल भएर विभिन्न देशका भीआईपीहरूको आगमन हुन्थ्यो । म सबैसँग खुलेर बोल्थँे । बिस्तारै काममा पोख्त हुँदै गएँ । कामको बीचमा एक घण्टाको लन्चब्रेक हुन्थ्यो । त्यो बेलामा मोबाइलको मेसेज हेर्न पनि लकर रुममा जान्थेँ, किनकि काममा मोबाइल बोक्नु बर्जित थियो । नियम कडा थियो, होटेलमा । 

एकदिन लकर रुममा मोबाइलको मेसेज चेक गर्दै थिएँ । “गुड मर्निङ” भन्ने आवाजले मेरो ध्यान तान्यो । नजिकै उही पहिलो दिन भेटेको अमेरिकन केटा पो रहेछ । ऊ मुस्कुराउँदै मलाई हेरिरहेको थियो । मैले पनि मुस्कराउँदै– ‘गुड मर्निङ’ भन्दै मिलाउनलाई हात अगाडि बढाएँ । 

हामीले एक–अर्कासँग परिचय गर्यौँ । उसको नाम एडम् रहेछ । सनफ्रान्सिसकोबाट आएको । यो होटेलमै काम गरेको पाँच वर्ष भएको रहेछ । उसले मेरो नाम सोध्यो, मैले मेरो नाम भन्दै म नेपालबाट आएको हुँ भनेँ । र, मैले उसलाई सोधेँ “तिमीलाई नेपालबारे थाहा छ एडम् ?” 

उसले उत्सुकतापूर्वक भन्यो, “मलाई नेपाल एकदम मन पर्छ । एकचोटि अवश्य जानेछु त्यो सुन्दर हिमालयको देश ।” 

मैले खुसीले गद्गद् हुँदै भनेँ– “तिमीलाई स्वागत छ नेपालमा ।” 

उसले फेरि भन्यो– “यो होटेलमा लगभग सबै देशका स्टाफ छन्, तर नेपालबाट आएको तिमी नै पहिलो हौ ।” 

म आश्चर्यचकित भएँ । यसरी नै हाम्रो मित्रताको सुरुवात भएको थियो । 

प्रायः काममा जाँदा हाम्रो लकर रुममा भेटघाट हुने गथ्र्यो । उसको र मेरो कार्यस्थल बेग्लाबेग्लै भए पनि लकर रुम सँगसँगै थियो । त्यो होटेलमा करिब तीन सय स्टाफ थिए । चारवटा त रेस्टुरेन्ट मात्रै थियो । जे होस्, कुराकानी गर्नै भए पनि मेरो एउटा साथी बनेको थियो, एडम् । 

एकदिन उसले मलाई भन्यो– “सिजन मैले नेपाली रेस्टुरेन्टबारे हिजो राति टीभीमा एउटा प्रोग्राम हेरेको थिएँ । नेपाली खाना खान मन लाग्यो । तिमी पनि जान्छौं ?” 

मैले अचम्म मान्दै सोधेँ– “कहाँ एडम् ? टोकियो मै हो ?” 

उसले भन्यो– “म बस्ने ठाउँनजिकै सिनओकुबो भन्ने ठाउँमा हो ।” त्यो ठाउँबारे त मलाई थाहा थियो तर गएको चाहिँ थिइनँ ।

मैले भने– “आउँदो शनिबार मेरो डे–अफ (बिदा) छ, सँगै जाउँला ।” उसले स्वीकृतिमा टाउको हल्लाउँदै भन्यो– ‘ओके डन् ।’ 

मलाई टोकियोेको नेपाली रेस्टुरेन्टबारे त्यति जानकारी थिएन । तर... ऊ त यहाँ बाह्र वर्षदेखि बसिरहेको थियो । उसलाई धेरै जानकारी थियो । जापानी भाषामा पनि पोख्त थियो ऊ । नम्र बोली, सबैसँग घुलमिल हुने स्वभावको, सहयोगी थियो ऊ ।

म साँच्चै नै उसको व्यवहारले आकर्षित भएको थिएँ । मनमनै सोचें एउटा राम्रो साथी पाएँ, जोसँग खुलेर कुरा गर्न सक्छु । सँगै रेस्टुरेन्टमा जान सक्छु । नत्र यता साथीभाइको निकै अभाव हुँदो रहेछ । जापानीहरू त्यति ख्ुल्दैनन् विदेशीहरूसँग । त्यसैले साथी बनाउन निकै गाह्रो । उही नोमीहोदाई (सँगै पिउने) भन्दै बियर पिउन गइन्छ, पिइन्छ, खाइन्छ, हाँसिन्छ, रमाइन्छ । सकिएपछि आ–आफ्नो पैसा तिर्यो अनि हिँड्यो । त्यसपछि मर्यो बाँच्यो, मतलब भएन ! 

भोलिदेखि उही रुटिन लाइफ । काममा आयो । काम गर्यो । गयो । सिर्फ कामसँग मतलब छ । उनीहरूलाई सम्बन्ध–मित्रता भन्ने कुरासँग कुनै सरोकार छैन । आकर्षण छ त केवल नयाँनयाँ परिकार खान, नयाँनयाँ ठाउँ डुल्न, अनि काम र पैसासँग मात्रै । ती आफ्ना कुरा कसैसँग पनि बाँडदैनन्, तर अरूको कुरो थाहा पाउनचाहिँ एकदम उत्सुक ! तिनको पनि पछाडि कुरा गर्ने बानी, हामी नेपालीझैँ ! कसैको नकारात्मक कुरामा खुबै चियोचर्चो गर्नुपर्ने ! तिनको यस्तो बानीबारे मलाई जानकारी भएको मेरी पत्नी जापानी भएको र अरू केही जापानी साथीहरूको संगतले नै हो । 

तथापि, जापानीहरू साह्रै इमानदार हु्न्छन् । त्यस्तै कामप्रति लगनशील पनि । धेरै नबोल्ने, शान्त प्रकृतिको । तर नकारात्मक प्रवृत्ति (पक्ष) प्रवल । कसैसँग घुलमिल हुन नचाहने । मित्रता, प्रेम, सम्बन्ध भन्ने कुराको ज्ञान नभएको रोबोटजस्तो लाग्न थालेका थिए, मलाई ती । 

तर एडम् एकदमै भिन्न, मिलनसार अनि सहयोगी भावनाले ओतप्रोत भएको एउटा आत्मीय साथी थियो । एकदिन हामी दुवै सिनओकुबुस्थित सोलमारी भन्ने नेपाली रेस्टुरेन्ट गएका थियौँ, भनौ मलाई एडम्ले लगेको थियो । त्यहाँको वातावरणले मलाई नेपाल नै पुगेको भान भयो । गेटमै बुद्धको शान्त मूर्तिले मलाई खुबैै आकर्षित गरेको थियो । परदेशमा पनि नेपाली परिवेश पाएको थिएँ मैले, धेरै समयको अन्तरालपछि । मन त्यसैत्यसै फुरुङ्ग भएको थियो । 

हामीले पहिले मोःमोः अर्डर गर्यौँ । एडम्लाई मोःमोः निकै मनपर्दो रहेछ । जापानमा पाउने ग्यौजाजस्तै भन्दै थियो । ‘तर ग्यौजाभन्दा मोःमोः निकै मीठो हुन्छ रे’ भन्दै थियो ऊ । सायद पहिले कतै खाएको होला भन्ने मैले अनुमान गरें । 

त्यसपछि नेपाली खाना अर्डर गर्यौँ । दाल, भात, तरकारी, अचारको साथमा कुखुराको मासु सजाएर खण्डे थालमा खाना ल्याइयो । एडम् दंग पर्दै स्टिलको खण्डे थालमा सजाएको नेपाली परिकार हेर्न थाल्यो । मैले नेपाली खाना खाने तरिका सिकाएँ । ऊ निकै मीठो मानेर खान थाल्यो । 

मैले सोधँे– “एडम् नेपाली बियर पनि पिउने हो ?” 

उसले छक्क पर्दै भन्यो– “नेपाली बियर पनि पाइन्छ र ?” 

मैल दुई बोतल एभरेस्ट बियर अर्डर गरेँ । हामी दुवैले खाम्पाई (चियर्स) भन्दै पियौँ । 

ऊ भन्दै थियो– नेपाली बियर त गजबको स्ट्रङ रहेछ, जापानी बियरभन्दा । 

मैले जिस्किँदै भनेँ– “यो संसारको सबैभन्दा उच्च हिमशिखर माउन्ट एभरेस्टमा बनेको बियर हो नि, मेरो साथी फुजीजस्तो होचो माउन्टेनमा बनेको हो र ?” 

ऊ मज्जाले हाँस्यो, मेरो ठट्टा सुनेर । म पनि हाँस्दै एडम्सँग बियर पिउँदै गएँ । 

उसले नेपाली खाना दाल, भात, तरकारी, अचार पहिलोपल्ट खाएको थियो । नत्र मोःमोः मात्रै नेपाली खाना होला भन्ने उसले ठानेको थियो ! उसको कुरा सुनेर मलाई खुबै हाँसो उठ्यो । यसपटक म मज्जाले हाँसे । अनि भनेँ, “नेपाली खाना मीठो लाग्यो हैन त ?” 

एडम्ले प्रफुल्ल हुँदै भन्यो– “एकदम मीठो छ । तर अलि पिरो लाग्यो ।” सायद युरोपियन, अमेरिकनलाई हामी नेपालीजस्तो पिरो खाने बानी नभएर होला, मैले सोचेँ । 

रेस्टुरेन्ट ऊ बसेकै सिनओकुबु भन्ने ठाउँमा रहेछ । यो ठाउँमा प्रायः विदेशीहरू बस्दा रहेछन् । कोरियन, चाइनिज, फिलिपिनो, नेपाली आदि । यो ठाउँ नेपालीको अड्डाजस्तो भइसकेको रहेछ । धेरै नेपाली रेस्टुरेन्टहरू पनि खुलेका रहेछन् । 

जे होस्, खुबै रमाइलो भएको थियो त्यस दिन । हामी नेपाली खानाका साथै नेपाली बियरको स्वादमा रमाएका थियौँ । यसरी हाम्रो मित्रता सुमधुर हुँदै गइरहेको थियो । 

म एडम्को बारेमा धेरै कुरा जान्न उत्सुक थिएँ । कारण, एउटा मन मिल्ने अमेरिकन साथी पाएको थिएँ । त्यसैले दंग पनि थिएँ । 

जापानमा सेप्टेम्बर–अक्टोबरतिर ‘फायरवर्क’ हुन्छ । जसलाई जापानमा हानावी नामले मनाइन्छ । यो एउटा पर्वजस्तै हो, जापानीका लागि । थरीथरीका झिलिमिली पट्काहरू उडाउँछन् आकाशमा, हाम्रो देशमा तिहारमा पटका पड्काएजस्तै । यहाँ त टोलटोलमै सरकारी तवरमै पटका पड्काएर आतिशबाजी गरिन्छ । मान्छेको ओइरो लाग्छ । जापानी युवा–युवतीहरू यौखाता (जापानी ड्रेस) मा सजिएर खुबै रमाइलो गर्छन् । 

बाटाभरि पसल राखिएका हुन्छन्, स्ट्रिट फेस्टिबलजस्तै गरेर । विभिन्न किसिमका परिकार तथा पटकाहरू बेच्ने गरिन्छ । करिव एक घण्टाजति आकाशमा रंगीबिरंगी पटका, रकेटहरू पड््काएर आकाश नै झलमल्ल पार्छन् । यसरी आकाशको झिलिमिली हेरेर मजा लिन्छन् । रमाउँछन् । 

एकदिन एडम्लार्ई मैले हानावीको दिनमा घरमा निम्तो गरेँ । ऊ खुबै खुसी भयो, किनकि म बसेको ठाउँको बरन्डाबाट फायरवर्क मजाले हेर्न सकिन्छ । बाहिर हुलमुलमा जानै पर्दैन । मेरी श्रीमती पनि त्यस दिन प्रायः आफ्ना जापानी साथीहरूलाई घरमा बोलाउने गर्छिन् । 

हानावीको दिन करिब पाँच बजेतिर एडम् घरमा आएको थियो । मैले मेरी पत्नी आइकासँग एडम्को परिचय गराएँ । एडम्को नम्र स्वभाव देखेर आइका प्रभावित भएकी थिइन् । मेरो चारवर्षे छोरो पनि छोटो समयमै ऊसँग घुलमिल भइसकेको थियो । अर्थात् एड्मको शालिन व्यवहारले मेरो परिवारको मन जितेको थियो । 

मैले नेपाली परिकार बनाएको थिएँ । साथै मेरी पत्नीले जापानी परिकार सुसी र टेम्पुरा । एडम्का साथै अरू जापानी साथीहरूले पनि नेपाली परिकार खुबै स्वाद मानीमानी खाएका थिए । खानापछि कौसीबाट करिब एक घण्टाजति हानावी (फायरवर्क) को झिलिमिलीमा हामी हराएका थियौँ । साह्रै रमाइलो भएको थियो त्यसदिन । 

एकदिन कुरैकुरामा मेरी श्रीमती भन्दै थिइन्, “एडम् त गजबको ह्यान्डसम रहेछ ।” मैले पनि जिस्किँदै भने, “म जतिको त हैन होला ?”

“तिमीभन्दा धेरै टल अनि ह्यान्डसम छ । पहिले उसलाई भेटेकी भए त उसैसँग बिहे गर्थेँ,” उनले मलाई जिस्काउँदै भनिन् ।

मैले बनावटी रिस पोख्दै भनेँ, “अहिले गरे पनि केही छैन । यी जापानी केटीहरूलाई त खैरो कपाल र नीला आँखा देख्नै नहुने हगि ?” तिनले पनि झर्किंदै भनिन्, “गर्नुहुन्थ्योे नि, तर उसको त गर्लफ्रेन्ड होली नि ? यस्ता ह्यान्डसम अमेरिकन केटाको त गर्लफ्रेन्ड नहुने कुरै छैन ।” 

साँच्चै, जापानीहरूलाई पनि अमेरिकीको आकर्षणले खुबै लोभ्याएको छ । हामी नेपालीलाई जस्तै ! हामी पनि त सपनाको देश भन्छौँ, अमेरिका जान मरिहत्ते गर्छौं । तर यिनीहरूलाई त अमेरिका जानुभन्दा पनि खैरो कपाल, नीलोे आँखाको जादूले मोहित पारेको छ । 

म एडम्को बारेमा जान्न चाहन्थेँ । तर ऊ आफ्नो बारेमा केही कुरा गर्नै खोज्दैनथ्यो । त्यसैले मैले अर्काको निजी कुरा कोट्याउन चाहिनँ पनि । 

तर पनि एकदिन त सोधिहालेँ– “एडम्, तिम्रो गर्लफ्रेन्ड जापानी हो ?” 

ऊ एकछिन त अकमक्क पर्यो मेरो अनपेक्षित प्रश्नले, तर पनि हाँस्दै भन्योे– “तिमी गेस गर्न सक्छौं ।” 

त्यसपछि मैले सोध्न सकिनँ । मनमनै सोचँे पक्कै पनि जापानी नै हुुनुपर्छ । प्रायःजसो अमेरिकन, युरोपियनले जापानी नै बिहे गरेको देखेको छु, यहाँ । उसले भन्न नचाहेको हुुनुपर्छ । यी युरोपियन, अमेरिकनहरू हामीजस्ता खुला दिलका कहाँ हुन्छन् र ? हामी पो मन मिल्ने साथी पायो कि आफ्नो मन, मुटु खोलेरै देखाइदिन्छौँ । मैले आफ्नै मनलाई सान्त्वना दिने प्रयास गरेँ । 

एकदिन कुरै कुरामा एडम्ले सोध्यो– “सिजन, तिमीलाई योग कतिको मन पर्छ ? मैले त अर्को विकेन्डमा योग क्लास जाने विचार गरेको छु । यहीँ टोकियोमा छ, निर्मल योग तिमी पनि जान्छौं ?” 

मैले तुरुन्तै जवाफ दिएँ– “मलाई योगमा इन्ट्रेस्ट त छ, एडम् । तर मलाई त थाहा भएन टोकियोमा पनि योग क्लास छ भन्ने ?” प्रश्नवाचक दृष्टि एडम्तिर फैलाएँ । “अझ मैले त विपश्यना योगको दशदिने कोर्स पनि गरेको छु ।” 

एडम्ले खुसी हुँदै भन्यो– “त्यसो भए अर्को साता जाने है ?” 

ऊ पहिले पनि गइसकेको रहेछ भन्ने लाग्यो मलाई । हामीले सँगसँगै कतिचोटि टोकियोेका बारहरू चहारेका थियौँ । यसरी नै हाम्रो मित्रता दिनप्रतिदिन गाढा हुँदै गइरहेको थियो । 

मोबाइलको रिङटोनले मेरो तन्द्रा भंग हुन्छ । म फेरि वर्तमानमा फर्किन्छु । मोबाइल हेर्छु । आइकाको रहेछ । मोबाइल उठाउँदै हेलो भन्छु । उताबाट आवाज आउँछ “मोसी ! मोसी !! डोको इत्तानो ? (हेल्लो, कहाँ गएको ?)” जापानीहरू फोनमा हेल्लोको सट्टा मोसी ! मोसी !! भन्छन् । म भन्छु, “कोहो नोन्देरु स्यो (कफी पिउँदै छु) ।” 

“हिरु गोहान् ताबेनाइनो ? (लन्च खादैँनौ)” तिनले सोधिन् । 

“ताबेरु ताबेरु (खाने खाने)” म हडबडाउँदै जवाफ दिन्छु । 

“हायाकु खाइते कित्ते, बातासिमो सिगोतो इकु कारा (छिटो आऊ, मलाई काममा जानु छ)” उनले झर्किँदै भनिन् । 

“वाकात्ता मो सुगु खाएरु (बुझँे, छिट्टै आउँछु)” भन्दै मोबाइल डिसकनेक्ट गरेँ । हत्तपत्त कफी सकाएर स्टारबक्स कफी सपबाट बाहिर निस्केर घरतिर हतारिएकोे पाइला चालेँ । 

लन्च तयार पारेर मलाई पर्खेर बसेकी रहिछन् आइका । मीठो स्पागेटी बनाएकी थिइन् । छोरासँगै सबैले लन्च गर्यौँ । मैले श्रीमतीलाई फुर्काउँदै भने– “होन्तो नि ओइसिखात्ताने, आरिगातो (साँँच्चै मीठो लाग्यो । धन्यवाद)” । 

तिनी “डोमो” (स्वागत छ) भन्दै मसक्क मस्किन् । 

मैले एडम्को कुरा भन्न सुरु गरेँ । 

“सितेरु मादा, एडम् निहोन नि कुरु इत्ता (थाहा छ, एडम् फेरि जापान आउने रे)” ।

“नान दे, मादा कुरु ? (फेरि किन आउने ?)” तिनी झर्किइन् । 

“नान दे का सिरानाई (थाहा छैन)” मैले भनेँ ।

“ताबुन, आनाता नि, आई ताई इन् ज्यानाई (सायद तिमीलाई भेट्न मन लागेर हो कि ?)” तिनले हाँस्दै भनिन् । 

“बोकु जना कुत्ते आनाता नि आइताई इत्ता यो (म होइन तिमीलाई भेट्न मन लाग्यो रे भन्दै थियो ।)” मैले जिस्काउने सुरले भनेँ । 

“आइता कुनाई आनो ओखासी हितो डा यो (भेट्न मन छैन त्यस्तो अचम्मको मानिससँग)” भन्दै बाहिर निस्किन् अनि “ज्याने” भन्दै हात हल्लाइन् । “ज्याने” भनेको बाहिर निस्कँदा प्रयोग गर्ने जापानी शब्द हो । मैले पनि “इतरासायी (राम्रोसँग जाऊ)” भन्दै हात हल्लाउँदै बाई भनँे । 

श्रीमती गएतिर हेर्दे मनमनै गुनेँ– हैन यिनीहरू किन यति डाहाढे भएका होलान् ! 

आज मेरो बिदाको दिन भएर यसो बिहानै हावा खान निस्केको थिएँ । साथमा कोही साथी थिएनन् । एक्लै कफी पिउँदै बिदेसिएको मजा लिँदै थिएँ । यहाँ यस्तै छ, पत्नी कामबाट लखतरान भएर फर्किन्छिन् । म काममा जान्छु । म कामबाट थाकेर फर्किन्छु । तिनी जान्छिन् । सँगै बसेर खाना खान नपाएको पनि तीन–चार दिन भइसकेको थियो । आज परिवारसँगै बल्ल लन्च खाने साइत जुरेको थियो । 

के गर्नु, आफूले चाहेर मात्र नहुने रहेछ । काम नै यस्तै । बाँच्नै पर्यो । पैसा कमाउन आएको कमाउनै पर्यो । हेर्दा जति खुसी देखिन्छ, त्यति नै दुःखी छ बिदेसिएको जिन्दगी ! के गर्नु, देशमा राम्रो भएको भए को आउँथ्यो र विदेश, गधाजस्तो जोतिनलाई । 

हाम्रो देशमा त खै, गणतन्त्र पनि घाँडो भएजस्तो छ जनतालाई ! नहोस् पनि किन, केही होला भनेको, गणतन्त्रको नाममा लुट मात्रै मच्चाएका छन्, नेताहरूले । अनि कसरी चित्त बुझाउन् त जनताले पनि ! ‘जुनै जोगी आए पनि कानै चिरेका’ भनेभैmँ, झन्झन् बिग्रेर गएको छ । 

“पा पा, जितेन्स्या इका नाइनो ? (पापा साइकल चढ्ने हैन ?)”, छोरोको यो आवाजले मेरो सोचाइमा ब्रेक लाग्छ । ऊ हतारिँदै भन्छ, “इको इको (जाऊँ जाऊँ)” । म छोरालाई साइकल सिकाउन बाहिर निस्केँ । 

छोरालाई साइक्लिङ गराएर घरमा आएँ । रातिको खाना पकाएर छोरासँगै आफूले पनि खाएँ । श्रीमतीका लागि फ्रिजमा राखी दिएँ । काम सकाएर आधा रातमा आउँछिन् । आज नाइट सिफ्ट परेकाले फर्किन अलि ढिला नै हुन्छ । 

छोरो टीभीको कार्टुनमा हराउँछ । मलाई भने मनमा निकै खुल्दुली लागिरहेको छ, एडम्को म्यासेज सम्झेर । के भएछ एडम्लाई ? बिहे गर्यो होला कि नाईं ? एक्लै आउने हो या दुवै आउने हो ? जापानको माया लागेर हो वा घुम्न, अथवा साथीभाइ भेट्न आउन लागेको हो ? 

फ्रिजबाट बियर निकालेँ र गिलासमा खन्याएर पिउनँ लागेँ । पिउँदापिउँदै एडम्सँग बिताएका पलहरू सिनेमाका दृश्यझैँ एकपछि अर्को गर्दै आँखाअगाडि आइपुगे ।

०००

एकदिन टोकियोको एउटा बारमा बियर पिँउदापिँउदै एडम्ले एक्कासि भन्यो, “सिजन म तिमीलाई एउटा कुरा भन्न चाहन्छु...”, तर उसले वाक्य बीचमै रोकेको थियो । 

“के ? भनन् । किन कुनै समस्या पर्यो ? मैले केही सहयोग गर्नुपर्यो भने भन है । हामी नेपाली साथीभाइलाई सहयोग गर्न सधैं तम्तयार हुन्छौँ ।” मैले चुस्की लिँदै भनेँ । ऊ अलि अप्ठ्यारो मान्दै थियो । अलि हिच्किचाउँदै उसले भन्यो, “म तिमीलाई पहिले नै यो कुरा भन्न चाहन्थेँ, तर आँटै आएन । कुरा के हो भने, मेरो ब्वाइफ्रेन्ड छ अस्ट्रेलियामा । हामी एक–अर्कालाई एकदमै माया गर्छौैं । टोकियोको एउटा डान्स प्रोग्राममा भेट भएको थियो ।” म छक्क पर्दै उसलाई हेर्न थालेँ ! उसले भनेको कुरामा विश्वास गर्न गाह्रो भइरहेको थियो मलाई । 

ऊ भन्दै गयो, “म ‘गे’ हुँ सिजन । यदि तिमीलाई मसँगको मित्रतामा अप्ठ्यारो महसुस हुन्छ भने मित्रता तोड्न सक्छौ । म तिमीलाई पहिलेदेखि नै भन्न चाहिरहेको थिएँ, तर भन्न सकिरहेको थिइनँ ।” उसले एकै सासमा भनि सिध्यायो । 

म आश्चर्यचकित भएँ ! उसका कुरा सुनिरहेँ । मात्र सुनिरहेँ । मनमनै सोचेँ, कसरी एडम् ‘गे’ हुन सक्छ ? ऊ कुनैै पनि एङ्गलबाट ‘गे’जस्तो देखिँदैन थियो । किनभने ‘गे’ भन्नाले केटीको जस्तो व्यवहार गर्ने केटा, अनि रातिराति काठमाडौंको सडकपेटीमा जम्मा हुने केटीको मेकअपमा देहव्यापारका लागि ग्राहकको खोजीमा देखिनेको जमात होला कि भन्ने मलाई लाग्थ्यो । 

एड्मको कुराले मेरो भ्रमको पर्दा च्यातियो । किनकि यहाँ एउटा सबल पुरुष जो कुनै पनि कुरामा कम छैन, युवतीहरू उसको एक इसारामा पछि लाग्न सक्छन्, त्यस्तो पुरुषले ‘म ‘गे’ हुँ, मलाई केटीहरूप्रति आकर्षण छैन, म एक पुरुषलाई प्रेम गर्छु, र छिटै बिहे गर्न तयार छु’ भनिरहेको छ । फेरि मनमनै उत्तर खोजेँ, सायद यो प्रकृतिको खेल हो । प्र्रकृतिले नै यस्तो बनाई दिएको होला उसलाई । ऊ आफैंले चाहेर बनेको होइन । प्रकृतिको अगाडि कसको के लाग्छ र ! 

प्रकृतिले त एउटा पुरुष, एउटा नारी गरी दुई थरीको मान्छे बनाइदिएको छ । जसको संसर्गले सृष्टिको निरन्तरता चलिरहोस् । कसरी भयो होला पुरुष–पुरुषका बीचमा पनि प्रेम अनि संसर्ग ? यसले त सृष्टिको निरन्तरतामा बाधा पार्छ । यसलाई कसरी प्राकृतिक भनौं, म रनभुल्लमा परेँ ।

तर ऊ त मेरो साथी हो, ‘गे’ भन्दैमा साथी बनाउन नहुने हो र ? मनले बलियो आधार खोज्यो । अनि सुस्तरी भनँे, “तिमी मेरो असल साथी हौ । मलाई तिम्रो यौनिकतासँग कुनै सरोकार छैन । तिमी ‘गे’ हुनु र नहुनुमा मलाई केही फरक पर्दैन । त्यो तिम्रोे स्वतन्त्रताको कुरा हो ।” यति भन्दै मैले उसको गिलासमा बियर खन्याइदिएँ । 

लामो निःश्वास छोड्यो एडम्ले । भन्यो– “धन्यवाद सिजन । तिमीजस्तो साथी पाउनु पनि मेरो भाग्य नै हो । साँच्चै नै, नेपालीहरू खुला विचारधाराका हुँदारहेछन्, जापानीहरूभन्दा । फेरि मिलनसार पनि, तर यो कुरा मेरो होटेलका कसैलाई पनि थाहा छैन र थाहा नहोस् । मलाई घृणाको पात्र बन्नु छैन । यहाँ अमेरिकाकोजस्तो खुला संसार छैन । एक–अर्काको चियोचर्चो गर्ने बानी छ । मैले जे गर्दै छु ठीक गर्दै छु । म जे छु, त्यसमै खुसी छु । तिमीलाई थाहा छ सिजन, म ‘गे’ हुँ भन्ने थाहा हुनेबित्तिकै मसँग घृणा गरेर नबोल्ने साथीहरू धेरै देखेको छु । ‘गे’ हुनु नराम्रो कुरो होइन । मैले कसैलाई दुःख दिएको पनि छैन । मैले मेरो परिवारलाई सधैँ सपोर्ट गरेँ, तर मेरो दाजुले धेरै दुःख दियो ।” 

मैले सोधेँ– “मलाई तिम्रो परिवारबारे बताउन सक्छौ एडम् ।”

ऊ भन्दै गयो, “सनफ्रान्सिसकोमा एउटा मिडिल क्लास परिवारमा जन्मेको हुँ । मभन्दा दुई वर्ष जेठा दाजु डेभिड थियो । ऊ ड्रग्सको लतले तीन वर्षअघि बित्यो । उसकी विधवा श्रीमती र दुई बच्चाहरूलाई मेरो ममले हेरचाह गर्छिन् । म पनि सकेजति हेल्प गर्छु । डेभिडले धेरै दुःख दिएको थियो ममलाई । हामी स–साना हुँदा नै मेरो ड्याड अर्कै केटीसँग बिहे गरेर छुट्टै बस्न थाल्नुभयो । हामीलाई ममले धेरै दुःख गरेर हुर्काउनुभयो, तर डेभिड पनि ड्याडजस्तै भएर निस्कियो । उसले बिहे गरेर बच्चा जन्माए पनि आफ्नो परिवारलाई कहिल्यै हेरेन । त्यसमाथि ड्रग्सको लतले उसको ज्यानै गुम्यो । म त ममलाई खुसी दिन चाहन्छु ।”

मैले कुरा कोट्याउँदै सोधेँ– “अनि, तिम्रो ममलाई थाहा छ, तिमी ‘गे’ भन्ने कुरा ?”

उसले हाँस्दै भन्यो– “अमेरिकामा कुनै पनि वर्गलाई पूर्ण अधिकार र स्वतन्त्रता छ । ‘गे’ ‘लेस्बियन’ सबैको आ–आफ्नै अधिकार छ । त्यहाँ, यहाँ जस्तो घृणाको नजरले हेरिँदैन् । मेरो मम पनि साह्रै खुसी छिन् । मलाई जत्ति नै एलेक्सलाई पनि माया गर्छिन् । भन्छिन्, एलेक्स पनि उनकै छोरा हो ।” 

आश्चर्यचकित भएर उसलाई हेर्दै भनेँ– “साँच्चै, तिमी भाग्यमानी छौ, एडम् । हाम्रो देशमा त अझै ‘गे’ र ‘लेस्बियन’लाई हेर्ने दृष्टिकोण फरक छ । धेरै फरक छ । हाम्रो समाज त्यति खुल्न सकेको छैन । पुरुषपुरुषको विवाह त असम्भव छ । त्यसै कारण समाजमा यो पक्ष लुकेर बसेको छ । अनि नचाहँदा–नचाहँदै पनि समाजका लागि, परिवारका लागि भनेर बिहे गराइदिन्छन् । यसले दुवै परिवारको जीवन तहसनहस बनाइदिन्छ । हामी अझै पनि प्रकृतिलाई आत्मसात् गर्न सकिरहेका छैनौं । अप्राकृतिक भनि समाजमा घृणा फैलिरहेको छ । 

एडम् मेरो कुरा सुनेर गम्भीर भयो । भन्यो– “बिस्तारै बुझ्छन् । जब चेतनाको स्तर बढ््छ समाजमा, त्यसपछि मान्छेको विकृत धारणाहरू बदलिँदै जानेछ । ‘गे’ ‘लेस्बियन’ हुनु कुनै विकृति होइन । यो प्राकृतिक देन हो । बस्, समाजमा लुकेर बसेको एउटा सत्य हो भन्ने कुरा जब समाजले बुझ्नेछ, त्यतिबेला घृणाको पर्खाल भत्कनेछ ।”

मेले स्वीकृतिमा मुन्टो हल्लाउँदै फेरि सोधेँ– “एडम् मलाई एलेक्सबारे केही बताउन । कस्तो रहेछ ऊ, तिम्रो जीवनसाथी हेर्ने उत्सुकता जाग्यो ।”

उसले हाँस्दै मोबाइल झिकेर फोटो खोज्न थाल्यो । एकै छिनपछि मलाई मोबाइलमा रहेको फोटो देखाउँदै भन्यो– “यी मेरो एलेक्स, नयाँ वर्षको पार्टीमा सनफ्रान्सिसकोको मेरो घरमा खिचेको । ऊ अस्ट्रेलियाबाट आएको थियो, मसँग न्यु इयर मनाउन ।” उसले एउटा चिटिक्क परेको केटाको फोटो देखाउँदै भन्यो । मैले फोटा हेर्दे हाँसेर भने– “जोडी त गज्जब मिलेको रहेछ ।” त्यसपछि ऊ पनि खित्का छोडेर हाँस्यो ।

एडम् भन्दै गयो– “ऊ एउटा अस्ट्रेलियन थाले डान्सर हो । हाम्रो अफेयर चलेको पनि दुई वर्ष भइसक्यो । ऊ मेरा लागि भनेर धेरैचोटि जापान पनि आइसक्यो । अब हामीले अमेरिका सिफ्ट हुने निर्णय गरेका छौँ । उहीँ बिहे पनि गर्ने । हाम्रो निर्णयले मेरो मम एकदमै उत्साही हुनुभएको छ । अबको दुई महिनापछि म अमेरिका फर्किँदै छु, जापानलाई सदाका लागि छाडेर ।”

मलाई कस्तोकस्तो लाग्यो । बल्लबल्ल एउटा मिल्ने साथी बनाएको, त्यसले पनि अब छाडेर जाने भयो । मनमा निराशा छायो । अनि आफूलाई सम्हाल्दै भने– “अनि होटेलको काम छ त तिम्रो एडम् ?” 

उसले भन्यो– “अर्को महिनासम्म मात्र हो सिजन, त्यसपछि सकिन्छ । मैले छाडेर जाने सूचना दिइसकेँ । अब अमेरिकामै काम खोज्नुपर्ला ।” 

“तर तिमीलाई त जापान मन पर्छ होइन र ? फेरि यहाँ बसेको पनि त धेरैै भइसक्यो, कसरी चटक्कै छाडेर जान सक्छौ ?” 

मेरो कुरा सुनेर एडम् अलिक गम्भीर भयो । भन्यो– “हो सिजन, मन त पर्छ तर यहाँको समाज तिमीले भनेजस्तो नेपालको जस्तै हो । खुला छैन । हामी यहाँ निसासिन्छौँ । फेरि एलेक्सलाई जापान खासै मन पनि पर्दैन । उसलाई अमेरिका बस्ने मन छ रे ।” 

बल्ल कुरा बुझँे मैले एलेक्सका लागि नै एडम्ले जापान छाड्ने निर्णय गरेको रहेछ । गज्जब लाग्यो मलाई, एडम्को प्रेम देखेर । जापानको प्रशंसा गरेर नथाक्ने मान्छे, जापानजस्तो बस्न लायकको सुन्दर देश अमेरिका पनि हैन भन्ने मान्छे, एलेक्सको प्रेममा डुबेर जापान छाड्ने निर्णय लिन्छ ! 

प्रेम त आखिर प्रेम नै हो नि, जहाँ त्याग समर्पणको भाव हुन्छ । चाहे स्त्री–पुरुषको प्रेममा होस्, चाहे पुरुष–पुरुषको प्रेममा होस्, प्रेमले आफ्नो रंग त देखाइहाल्छ नि ।

म नतमस्तक भएँ । एडम्को प्रेमप्रतिको समर्पणलाई नमन गरेँ । 

“हा ! हा !! हा !!!” छोरोको अट्टाहस् सुनेर मेरो तन्द्रा भङ्ग भयो । छोरो ‘टम एन्ड जेरी’को कार्टुन हेर्दै खित्का छोडेर हाँसिरहेको थियो । म एकनाशले छोराको हाँसोमा हराउन पुगेँ । छोरो अझै पनि हाँस्दै थियो, “हा ! हा !! हा !!!”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  ११:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement