प्रतिस्पर्धा बुबासँगै भयो, प्रमाणित गर्नमै २७ वर्ष बित्यो

प्रतिस्पर्धा बुबासँगै भयो, प्रमाणित गर्नमै २७ वर्ष बित्यो

नेपाली सुगम संगीतको क्षेत्रमा स्वरूपराज आचार्य लोकप्रिय नाम हो । २७ वर्षको सांगीतिक करिअरमा उनले पाँच हजारभन्दा धेरै गीत गाइसकेका छन् । जसमध्ये उनका सयौं गीत लोकप्रिय छन् । भक्तराज आचार्यका छोरासमेत रहेका उनी आफू र सत्यराज (दाइ) को गायकी सधैँ बुबासँग तुलना गरेर स्रोताले सुन्ने गरेको बताउँछन् । ‘लिजेन्ड’ गायक–गायिकाका छोराछोरीलाई उनीहरूको पदचाप पछ्याउन सुरुका दिनमा जति सजिलो हुन्छ, पछिल्ला दिनमा त्यति नै कठिन हुने गरेको उनको अनुभव छ । उनै स्वरूपराज आचार्यसँग कोरोनाका कारण सांगीतिक क्षेत्रमा परेको प्रभाव, पछिल्लो समय युट्युब केन्द्रित हुन थालेका गीत र कलाकार, गीतको गुणस्तर र व्यावसायिकता तथा भक्तराज आचार्यलाई स्वरूप आफ्ना सिर्जना सुनाउँछन् वा सुनाउँदैनन् ? स्वरूपले गीत सुनाउन खोज्दा भक्तराज सुन्छन् वा सुन्दैनन् ? यी र यस्तै प्रश्नको सेरोफेरोमा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानी :

कोरोनाले सांगीतिक क्षेत्रमा कतिको प्रभाव पर्यो ? 
कोरोनाले सांगीतिक क्षेत्रमा प्रभाव पारिरहेको छ । स्टुडियोको काम फाट्टफुट्ट भए पनि मुख्य पक्ष भनेको स्टेज शो हो, त्यो हुन सकेको छैन । चलचित्रको काम पनि भएको छैन । चलचित्रका गीतहरू बनिरहेका छैनन् । स्वर भर्नु मात्रै गीतको काम होइन । वाद्यवादन, ब्याकग्राउन्ड स्कोरदेखि कन्सर्टसम्म रोकिएको छ । अहिले भएको त स्टुडियोको काम त्यो पनि न्यून मात्रै हो । कन्सर्ट भएका छैनन् । अब कति वर्ष भिडमा हुने काम नहुने हो थाहा छैन । सांगीतिक तथा सांस्कृतिक कार्यक्रम हुने छैनन् । संगीत क्षेत्र पनि अछुतो छैन । सांगीतिक क्षेत्र पहिलाकै अवस्थामा फर्किन धेरै समय लाग्छ ।

व्यक्तिगत रूपमा कोरोनाका कारण तपाईंको सांगीतिक जीवनमा कत्तिको प्रभाव पार्यो ? 
संसारै आक्रान्त भएको छ । हाम्रो देश अथवा छिमेकी देश, कुनै युरोपेली देश वा अमेरिका मात्रै होइन । तुलनै गर्न नमिल्ने गरी काम घटेको छ । डरले हिँड्न सक्ने अवस्था छैन । काम आयो भने पनि जाने कि नजाने भन्ने हुन्छ । गए कसरी सुरक्षित भएर जाने भन्ने हुन्छ । धेरै गायक–गायिकहरूलाई कोरोना संक्रमण भएको छ । बाहिर नाम नआएको मात्रै हो । 

करिब ६–७ महिना त काम नगरी बस्नुपर्यो । पहिलाको रफ्तारमा आउन धेरै समय लाग्छ । 

अरू व्यापार व्यावसाय ठप्प हुँदा पनि सांगीतिक क्षेत्रचाहिँ तुलनात्मक रूपमा सक्रिय नै रह्यो नि । कारण ? 
मचाहिँ गीत–संगीतको काम तुलनात्मक रूपमा कम भयो भन्छु । केही गीत आउँदा त्यस्तो देखिएको मात्रै हो । बरु व्यापार–व्यवसाय विस्तारै सुरु भए । होटल तथा पसलहरू खुलेका छन् । लयमा फर्किने क्रममा छन् । मेरो कोणबाट कुरा गर्दा त सबैभन्दा धेरै असर सांगीतिक क्षेत्रमा परेको छ । 

सबैभन्दा धेरै संक्रमणको जोखिम भएको क्षेत्र यातायात खुलिसकेको छ । त्यसैले संगीत र योभन्दा पनि चलचित्र क्षेत्र त अझसम्म पनि खुलेकै छैन । यो क्षेत्रमा धेरै असर परेको छ भन्ने मेरो बुझाइ छ । सांगीतिक क्षेत्रमा करिब ९० प्रतिशत काम घटेको छ । 

दिनकै दर्जनौं गीत रेकर्ड भइरहेका छन्, यो आवश्यकता हो कि, अनावश्यक लगानी भइरहेको छ ?
अहिले जति पनि लगानी भइरहेको छ, यो रहर हो । अधिकांश लगानी विदेशमा बस्नेहरूबाट भइरहेको छ । विदेशमा बस्ने गीतकार तथा संगीतकारहरूबाट भइरहेको छ । यसबाट लगानी फिर्ता होस् अथवा नाफा होस्भन्दा पनि नाम होस् भन्ने उद्देश्यले लगानी गरिरहनु भएको छ । 

नेपाली सांगीतिक क्षेत्रमा भइरहेको लगानीको तथ्यांक निकाल्ने हो भने ठूलो परिमाणमा लगानी भइरहेको छ । व्यावासायिक रूपमा लेख्ने र गाउनेहरूले एल्बमको काम गरिरहनु भएको छैन भन्दा पनि हुन्छ । अर्थात् निकै कमले मात्रै गरिरहनुभएको छ । कारण, यसबाटै आश्रित हुनुपर्छ । यसबाटै आएको आम्दानीले हातमुख जोर्नुपर्छ । 

नेपाली सांगीतिक क्षेत्र विदेशमा बस्ने नेपालीको लगानीले धानिरहेको अवस्था छ । हामी आफैंले त लगानी गर्न सकिरहेका छैनौं । भर्खर आफ्नै लगानीमा ‘मैसाप’ एल्बम तयार गरिरहेका छौं । 

गलत ठाउँमा लगानी भइरहेको हो ?
कानुनअनुसार रोयल्टी आउन थाल्यो भने, कलाकारहरू शोषित तथा पीडित नभएको अवस्थामा गलत ठाउँमा लगानी हुने छैन । कहाँबाट लगानी फिर्ता हुन्छ भन्ने ठाउँ पत्ता लगाएर लगानी गरियो भने बेठिक ठाउँको लगानी होइन ।

व्यापारीले लगानी गर्दा पनि कहाँबाट सामान ल्याउने, कतिमा ल्याएर कतिमा बेच्ने, कति भाडा तिर्नुपर्छ र महिनाको अन्तिममा कति फाइदा हुन्छ भनेर हिसाब गर्छ । यो संगीतको व्यापारमा पनि म कहाँबाट सुरक्षित हुन्छु, कसरी बेच्ने भन्ने योजना बनाएर लगानी गर्नुपर्छ । अन्यथा नबुझी आउँदा लगानी डुबिरहेको हो । तर, यो ‘कू’ ठाउँमा गरिएको बेतुकको लगानी होइन । 

क्रिएटिभ काम हो, राम्रो भयो भने फाइदा हुन्छ । तर, बुझेर आउनुपर्छ । रोयल्टीका लागि हामीले थालेको आन्दोलन निष्कर्ष पुग्यो भने आम्दानीको बलियो स्रोत त्यो पनि हुन्छ । लगानी गर्दा सम्झौतापत्रमा के लेखिएको छ, त्यसमा सुरुमै ख्याल गरिनुपर्छ । अन्तर्राष्ट्रिय प्लेटफर्महरू छन्, त्यहाँ बिनाब्रोकर आफैं गीत–संगीत बेच्न सकिन्छ । युट्युब त रिटर्नका हिसाबले रोयल्टी दिने प्लेटफर्मको नवौं स्थानमा पर्छ । यस्ता थुप्रै प्लेटफर्म छन् त्यहाँ गीत बेच्न सकिन्छ । आफ्नै युट्युब च्यानल खोलेर राम्रो आम्दानी गरेर पनि बसिरहनुभएको छ । त्यसैले बुझाइको कमजोरीका कारण मात्रै लगानी खेर गइरहेको हो । 

निकै कम गीतले मात्रै लगानी उठाइरहेको अवस्थामा पनि गीतमा यति धेरै लगानी किन भइरहेको छ ? 
सोखका लागि लगानी भइरहेको छ । पैसा फिर्ता आउनेभन्दा पनि नामका लागि लगानी भइरहेको छ । पैसा उठोस् वा नउठोस् मतलब छैन, नाम भए भइगयो नि भन्नेहरूले लगानी गरेका कारण यति धेरै लगानी भइरहेको हो । 

अहिले गायक–गायिकाहरू आफ्नै युट्युब च्यानलमा गीत अपलोड गरेर त्यसको रेभिन्युलाई मुख्य आम्दानीको स्रोत बनाइरहेको अवस्था छ । यसैलाई दीर्घकालीन आम्दानीको स्रोत पनि हो भन्ने अनुमान लगाइरहेको अवस्था छ । तपाईंचाहिँ आफ्नै लगानीभन्दा अरूका गीत पारिश्रमिक लिएर गाइदिइरहनु भएको छ । कालान्तरमा यसको असर पर्छ कि ?
पक्कै पनि पर्छ । ३६५ दिनमा ३६५ वटै गीत गाउँदा पारिश्रमिक लिएर गाइरहेका हुन्छौं । तर, आफ्नै युट्युब च्यानल हुँदा आफ्नै एल्बमको गीत हुँदा युट्युब च्यानलमा अपलोड गर्न सजिलो हुन्छ । आफ्नै एल्बमको गीतमा आफ्नै लगानी हुन्छ । त्यसको कपिराइट पनि आफैंमा हुन्छ । पछिल्लो समय सेयरमा बस्ने चलन पनि छ । जस्तै मैले पारिश्रमिक नलिई गीत गाउने तर मेरो युट्युब च्यानलमा अपलोड गर्न सकिन्छ । कतिपय अवस्थामा हामीले ५० प्रतिशतभन्दा कम पारिश्रमिकमा गीत गाइरहेका हुन्छौं, त्यस्ता गीत आफ्नो युट्युब च्यानलबाट अपलोड गर्न सकिन्छ । 

सत्य र म भाग्यमानी भनौं अथवा अनलक्की अहिलेसम्म हामीले गीतमा एक रुपैयाँ पनि लगानी गर्नुपरेको छैन । तर, अब तयार भइरहेको एल्बम ‘मैसाप’बाट भने हामी आफैं लगानी गर्दै छौं । यसमा हामी संगीत, गायन, उत्पादन आफैं गर्दै छौं । हामी आफ्नै युट्युब च्यानललाई यो एल्बममार्फत प्रोमोट गर्दै छौं । गीतको भिडियोका लागि कुराहरू भइरहेका छन् । सबैले बिस्तारै बुझ्दै छौं । योभन्दा अगाडिको ‘मनमोहिनी’ एल्बममा पनि सेयरिङमै थियौं हामी । पारिश्रमिक लिएर मात्रै गाउँदा त्यसको कपिराइट गायकमा नहुने हुँदा कालान्तरमा त्यसको असर पर्ने हुँदा हामी पनि आफैं लगानी गर्दै छौं । 

भ्युज हेर्दा अहिले तपाईंले गाइरहनु भएकाभन्दा अर्कै प्याटर्नका गीत मन पराएको जस्तो देखिन्छ । यसका कारण पनि लगानी गर्न नहतारिनु भएको हो ?
स्रोता भनेको भोको बच्चा जस्तो हो । समयमा खाना दिएन भने बच्चाहरूले चाउचाउ खाएर पेट भर्छन् । चकलेट चाउचाउ बिक्री भइरहेको अवस्थामा पक्कै पनि पर्ख र हेरको नीति त हो नै । यति बेला के गर्ने, कस्तो गर्ने कुहिरोको काग भएको अवस्था छ । कति लगानी गरेर कहाँबाट त्यसको लगानी फिर्ता ल्याउने भन्ने योजना बनाउनुपर्छ । 

एउटा एल्बम निकाल्ने र कमाइ भएन भने यो क्षेत्रबाटै पलायन हुने भन्ने हुँदैन हाम्रो । जीविकोपार्जनको माध्यम नै यही हो हाम्रो । यही नै पेसा भएकाले सोचविचार गरेर मात्रै लगानी गर्नुपर्छ । सबै कलाकार कुरिरहेको अवस्था छ । तर, यसको अर्थ आधुनिक गीतको जानरा नै अहिले चलिरहेको छैन भन्ने होइन । मेलोडी कहिल्यै मर्दैन । पप, रक, गजल, लोक वा लोकदोहोरी आओस्, भजन र स्वेशगान आओस् तर मेलोडी कहिल्यै मर्दैन । त्यसैले हामी आत्तिनु पर्दैन । 

तर, हामीले (सत्य र म) अहिले गरिरहेको भन्दा थोरै पृथकचाहिँ गर्नुपर्छ भन्ने पक्षमा छौं । किन भने आफ्नो एल्बम आउँदा हामीले केही न केही नयाँ गरिरहेका हुन्छौं । यसपटकको एल्बममार्फत हामी मास ओरियन्टेड र क्लास ओरियन्टेड गीत निकाल्न लागेका छौं । सत्यस्वरूपले राम्रो गीत निकालेछन् भन्ने आम स्रोता–दर्शकलाई पक्कै पनि हुनेछ ।
 
थाेरै प्रसंग बदलौं, बुबाको गायन व्यक्तित्वले कहिलेकाहीँ गीत छनोटमा प्रभाव पार्छ ?
पार्छ । कति गीत सत्य र म दुवैले छाडिदिएका हुन्छौं । हामीले जे पायो त्यही गर्न मिल्दैन । किन भने हाम्रो तुलना नै जहिल्यै बुबा (भक्तराज आचार्य) सँग हुन्छ । 

हामीले राम्रो गीत गायो भने भक्तराजका छोराहरू हुन् यति त गाउनै पर्यो नि भनिदिने र नराम्रो भयो भने भक्तराजको इज्जत नै फाले छोराहरूले भन्ने हुन्छ । त्यसैले हामी गीत–संगीत छनोटमा सधैं सतर्क हुनैपर्छ । 

मलाइ लाग्छ नेपालमा सत्य र मबाहेक अरू कोही गायक छैन होला जसलाई कुनै गीत गाउँदा घोरिएर सोच्नुपरोस् । अहिले भाइरल हुने गीत, दुईअर्थ लाग्ने शब्द छ भने त्यो गाउनलाई हामीले ५० पटक सोच्नुपर्छ । स्रोताले भनिहाल्नुहुन्छ– कहाँ भक्तराज कहाँ उसका छोराहरू । तर, जुन छवि सत्य र मैले बनाएका छौं, त्यसलाई कायम पनि राख्नुपर्छ । कति गीत त मैले गाउँदा त्यसको शब्द र धुन परिवर्तन गर्न लगाएर पनि गाएको छु । कारण बुबाको व्यक्तित्व र हाम्रो छवि नै हो । जस्तो आउँछ, त्यस्तै पैसाका लागि भनेर म गाउँदिनँ । 

प्रतिस्पर्धा बुबासँग गरिरहनुभएको छ ? 
अरू त सोच्ने अवसरै पाइएन । जे गाए पनि बुबासँगै तुलना भयो । समकालीन तथा सिनियर गायकहरूसँग प्रतिस्पर्धा गर्ने त मौकै पाइएन । राम्रो गाए भक्तराजका छोरा हुन् यति त गाउनै पर्यो नि । नराम्रो गायो भने बुबाका कस्ता गहकिला गीत थिए, छोराहरूले के गरेका भन्ने भयो । नेपाली सांगीतिक क्षेत्रमा यो अवस्था कसैलाई पनि छैन हामीबाहेक । 

अडियोमा मात्रै होइन भिडयोमा पनि हामीले जोपायो त्यही मोडल राख्ने अवस्था छैन । यसमा पनि सोच्नुपर्छ । आफ्नो एल्बममा मात्रै होइन अरूका गीत गाउँदा पनि छनोट गर्नुपर्छ । 

बुबाले हिँडेको बाटो हिँडिरहनुभएको छ । बुबाले लिएको उचाइँमा पुगिन्छ जस्तो लाग्छ कि लाग्दैन । कि त्यो लक्ष्य नै छैन ? 
लक्ष्य त बुबाको लेबलमा पुग्न सकौं, त्यस्तै गीत गाउन सकौं अथवा बुबाको जस्तै टेस्ट आओस्, उहाँको जस्तो रियाज र मूर्च्छना होस् भन्ने चाहना हुन्छ । तर, जुन लेबलमा बुबा हुनुहुन्छ, मलाई लाग्छ नेपाली सांगीतिक क्षेत्रमा कोही गायक त्यो लेबलमा पुग्नै सक्दैन । त्यहाँ पुग्ने सोच हुँदाहुँदै हाम्रो मृत्यु हुन्छ । त्यो लेबलमा पुग्ने सोच हुन्छ तर सक्दैनौं जस्तो लाग्छ । नारायण गोपाल, भक्तराज आचार्यको लेबल कसले मिट गर्ने ? अहिलेसम्म कोही जन्मिएन । भारतमा किशोर कुमार र मोहम्मद रफीजस्तै आउँदै आएनन् । नेपामा पनि त्यस्तै हो । 

बुबाहरूको बेला जुन मिहिनेत हुन्थ्यो, त्यो अहिले छैन । हामी फास्टफुडको जमानामा गइसक्यौं । तर पनि सत्य र मेरा सोचचाहिँ हुन्छ– बुबाको लेबलमा पुग्न सकौं, त्यो लेबलको गीत–संगीत छनोट गर्न सकौं भन्ने हुन्छ । तर, बुबाको लेबलमा पुग्ने सोच्दा सोच्दै हाम्रो मृत्यु हुन्छ । 

व्यावसायिकताका नाममा गीत–संगीतको गुणस्तर खस्कियो भनिन्छ । हो ?
शतप्रतिशत हो । व्यावसायिकताको नाममा साह्रै सस्ता गीतहरू आए । न ती गीतले पैसा कमाए न सर्जक र सिर्जनाको क्षेत्रमा नै राम्रो भयो । सयमा दुई–तीनवटाले भन्दा धेरैले पैसा पनि कमाएनन् । तर, गीतको गुणस्तर खस्कियो ।

व्यावसायिक गीत पनि भन्दिनँ म, उच्छृङ्खल गीत भन्छु । तर, सबै नराम्रा पनि छैनन् । ९८ प्रतिशत गीतमा मिहिनेत पुगेको देखिँदैन । भाइरल हुने रहर मात्रै छ । ट्रेन्डिङमा म हुन्छु कि हुन्न भन्ने मात्रै ध्यान छ । भ्युज कति छ भन्नेमा ध्यान छ । यस्तो कुराबाट दर्शक पनि वाक्क भइसकेजस्तो लाग्छ । यसलाई म व्यावसायिकता भन्दा पनि सो कल्ड व्यावसायिकता भन्छु । यस्ता सस्ता शब्दले समाजलाई के सिकाउँदै छ, कतातर्फ डोर्याउँदै छ भन्ने ख्याल नगरी गीतहरू आइरहेका छन् । 

तर, व्यावसायिक गीतमा पनि त क्लास र मास मिक्स गर्न सकिन्छ । हो यही प्रयास हामीले ‘मैसाप’मा गरिरहेका छौं । यो पूर्ण व्यावसायिक गीतहरूको संग्रह हो । यसमा दुःखका गीत छैनन् । सबै नाच्न मिल्ने र रमाउन मिल्ने गीतहरू छन् ।

गुणस्तरीय संगीतमा पनि व्यावसायिकता खोज्न सकिन्छ ? 
हाम्रो कोसिस नै यही हो । यो एल्बमका लागि सत्य र मैले वर्कआउट गरेको चार वर्ष भयो । कम्पोज गर्न थालेको चार वर्ष भयो । दुई दर्जन गीत बनाएर त्यसबाट क्रिम (राम्रा) गीतहरू ६–७ वटा छान्न खोजिरहेका छौं । 

व्यावसायिक गायक–गायिकाहरूले आफ्नै लगानीमा काम नगरिरहेको अवस्थामा कसै न कसैले त राम्रा गीतमा पनि लगानी गर्नुपर्छ भन्ने थिति बसाउन पनि हामी यो काम गरिरहेका छौं । क्लास म्युजिकलाई मास म्युजिकसँग मिलाएर लैजाने हाम्रो प्रयास छ । नाच्ने गीत नै छन् । तर, नाच्ने गीतमा पनि भोकलमा यसरी खेल्न सकिने रहेछ, शब्द, संगीत र संयोजन यसरी हुन सक्दोरहेछ भन्ने प्रमाणित गर्न खोजिरहेका छौं । सबै वर्ग हाम्रो लक्षित स्रोता हो । जति पनि स्टुडियोमा आएर आएर सुन्नुभएको छ, उहाँहरूले सत्य–स्वरूपले केही फरक गर्न खोजिरहेका रहेछन् भनिरहनु भएको छ । 

बुबाको व्यक्तित्वका कारण नै सत्य–स्वरूपलाई गायनमा सजिलो भयो भन्ने आरोप पनि यहाँहरूलाई सधैं लाग्यो । यसमा यहाँको टिप्पणी ?
यसमा दुवै कुरा छन् । सजिलो पनि छ र छैन पनि । सत्य–स्वरूपलाई सुरुवातका दिनमा कतै गएर कसैसँग लिंक राख्न सजिलो भयो होला, चिनाउन सजिलो भयो होला । तर, अन्ततः ३० प्रतिशत सजिलो भयो भने ७० प्रतिशत गाह्रो भयो ।

अगाडि भनेकै कुरा दोहोरिन्छ, राम्रो भए यति त गाउनै पर्यो । नराम्रो भए यस्तो के गाएको ? लिजेन्डका छोराछोरीहरूले भोग्नुपर्ने समस्या नै यही हो । जीवन रहेसम्म सत्य र मैले आफूलाई प्रमाणित गर्दै बित्छ । मात्रै भक्तराज आचार्यसँग तुलना । ‘मधुशाला’ र ‘मनमोहिनी’ जस्तो प्रयोग गरिएको एल्बम अरूहरूको कमै होला । इन्डियनहरूले सुने भने पनि वाह...वाह... भनेर तारिफ गर्छन् होला । त्यो एल्बम अरूले गरेको भए कति तारिफ हुने थियो । तर, हामीले गरेकाले भक्तराजका छोरा यति त गर्नै पर्यो नि भन्ने भयो । 

अभिषेक बच्चनको तुलना अमिताभसँग हुन्छ ? लिजेन्डका छोराछोरीले राम्रो गरे रगतमै होला यति त गर्नैपर्यो नि भनेर सामान्य रूपमा लिने, नराम्रो भए गाली गर्ने विश्वमै हुन्छ । बुबाले गरेको कामलाई फलो गरेर त्यसलाई शिखरमा पुर्याएर लिड गर्नुजस्तो कठिन काम केही होइन । 

भक्तराज आचार्यले गायक सत्य–स्वरूपको हाइट बढाइदिए कि सत्य–स्वरूपले भक्तराजलाई थप अजर–अमर बनाइरहेका हुन् ?
यो त हामीले सोचेको छैन । बुबालाई अजर–अमर बनाउन हामी कहाँ सक्छौं ? आफैं अजर–अमर भइसकेको स्रष्टालाई अरूले अजर–अमर बनाउनै पर्दैन । स्रष्टा अजर–अमर उसको कृतिले हुने हो, कसैले बनाएर बन्ने वा हुने होइन । स्रष्टा छोराछोरी बाउआमाले बनाउने होइन र छोरोछोरीले पनि बाउआमालाई स्रष्टा र अजर–अमर बनाउने होइन । कृति स्वयंको मूल्यांकन हुने हो । पैसा लगानी गरेर स्रष्टा हुने होइन । उसका कृतिहरूले अजर–अमर बनाउने हो । 

तर, यतिचाहिँ सही हो बुबाका अधुरा इच्छाहरू पूरा गर्नुपर्छ भनेर उहाँले दिएको सांगीतिक संस्कारलाई लिएर अगाडि बढिरहेका छौं । त्यो नै हाम्रो गोल हो, त्यो नै हाम्रो अन्तिम लक्ष्य हो । 

बुबा गीत–संगीतबाट टाढा रहनुभएको धेरै भयो । तपाईंहरूले गाउनुभएको गीत कत्तिको सुन्नुहुन्छ ? 
हामीले गाएका सबै गीत हामी बुबालाई सुनाउँदैनौं । कारण बुबाको रुचि के हो हामीलाई थाहा छ, त्यसैले सबै गीत सुनाउने आँट आउँदैन । किन भने कति गीतहरू हामी व्यावसायिक भएर गाउनुपर्छ । कति गीत ठीक–ठीकै लाग्दा–लाग्दै पनि गाउनुपर्छ । तर, हामी आफ्नो एल्बमका आफ्नो कम्पोजिसनमा रहेका गीतहरूचाहिँ सुनाउँछौं । सुनाएर मात्रै एरेन्जमेन्टमा जान्छौं । सुनाउँदा कति गीतहरूमा बुबाले यस्तो भएन भनेर सच्याइदिनुभएको पनि छ । हामीले गाएका सबै गीत बुबालाई मन नपर्ने भएकाले पनि सुनाउँदैनौं । तर, हामीलाई के थाहा हुन्छ भने यो गीतचाहिँ बुबालाई मन पर्छ । यसको शब्द, संगीत, गायकी मनपर्छ भन्ने लागेको अवस्थामा मात्रै सुनाउँछौं । तर, ३६५ दिन गाएका गीत सुनाउँदैनौं, त्यसबाट हामीले कति गाली पनि खाएका छौं । कारण हामी कतिपय अवस्थामा हार्न नसकेर पनि गीत गाइरहेका हुन्छौं । त्यस्ता गीत सुनाउने हिम्मत गर्दैनौं । 

तपाईंलाई अचम्म पनि लाग्ला सत्य र मैले गाएर बजारमा हिट भएका गीत बुबालाई थाहै छैन । कारण, हामीले सुनाउने आँट नै गरेका छैनौं । 

गीत–संगीतप्रतिको चेत हुँदाहुँदै पनि त्यसलाई नजरअन्दाज गर्नु र तपाईंहरूका गीतमा पनि खासै धेरै चासो नदेखाउनु वा सक्रियता नदेखाउनुको कारण के होला ? 
गायन करिअरको पिक अवस्थामा, सांगीतिक क्षेत्रलाई लिड गरिरहेका बेला देखेका सपनाहरू पूरा गर्न बाँकी नै थियो । आकांक्षाहरू बाँकी नै रहेका बेला गाउने व्यक्तिको जिब्रोमा क्यान्सर भएर जिब्रो नै काट्नु परेपछि वितृष्णा भयो । गाउने उमेर गएर गाउन नसक्ने भएपछि त्यस्तो भएको भए पनि सायद त्यसले त्यति धेरै चोट दिँदैन थियो होला । तर, करिअरको उत्कर्षमा रहेकाबेला जिब्रो नै गुमाउनुपर्यो भने कति पीडा हुन्छ, बुबालाई भएको त्यही नै हो । भगवान्को कानमा नपरोस् तर अहिले मेसीको खुट्टा नै रहेन भने के हुन्छ ? तपाईंप्रति भगवान् कहिल्यै देब्रा नहून्, तर तपाईं लेख्ने मान्छेको ब्रेन नै तलमाथि भयो भने तपाईंलाई कति पीडा हुन्छ ?, यस्तै भएको हो । 

र, अर्को कुरा जब बुबाको जिब्रो रहेन अब यसले गाउन सक्दैन भनेर जुन खालको व्यवहार आफ्नै साथी जो कुम जोडेर हिँड्थे, सँगै गाउने–पिउने साथीहरू एकपटक पनि फर्केर हेर्न आएनन् अनि बुबालाई यो क्षेत्रप्रति नै वितृष्णा पैदा भयो । मर्यो कि बाँच्यो नै मतलब नराख्ने गरी सांगीतिक क्षेत्रले व्यवहार गर्यो । त्यो कटु व्यवहारले बुबालाई सांगीतिक क्षेत्रबाटै टाढा राख्न भूमिका खेल्यो । 

हामी संगीतमा छौं, त्यसैले अलिअलि हामीले सुनाएका गीत सुन्नुहुन्छ । यदि हामी पनि संगीतमा नरहेर अरू कुनै पेसा व्यवसायमा भएको भए हाम्रो घरमा गीत बज्दा पनि बज्दैनथियो होला । त्यसैले मलाई लाग्छ बुबालाई गीत–संगीतसँग होइन संगीतकर्मीहरूसँग वितृष्णा भएको हो । 

बुबाले हामीलाई अहिले पनि भन्नुहुन्छ– तिमीहरू गाउन सकुन्जेल मात्रै हो है तिमीहरूका साथीसंगी, भोलि गाउन सक्न छाडेका दिन तिमीहरूको पछाडि कोही हुने छैन । 

बुबालाई हेरेर मैले आफैंले महसुस गरेको छु, अफ्ठ्यारो परेका दिन आँखा रसिला बनाउने परिवारबाहेक कोही हुँदैन । ओहो ! भक्तराजजी जे–जस्तो भयो अब यसमै चित्त बुझाउनुपर्छ भनेर सान्तवाना दिन आफ्नै साथीसंगीहरू नआएपछि संगीतकर्मीहरूप्रति उहाँको असन्तुष्टि हो । पछि विस्तारै संगीतप्रति नै चासो कम हुँदै गयो ।

तस्बिर स्वरूपराज आचार्यकाे फेसबुकबाट

तलको लिंक पनि पढ्नुहोस् :

२७ वर्षदेखि भक्तराज आचार्यको एउटै दैनिकी 

प्रतिकृया दिनुहोस
ad