बाह्रखरी
sticky  ncell
British college
British college
ब्लग प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
ब्लग एउटा बेडको सकस !
NMB Bank
NMB Bank
रोविन पौडेल
बाह्रखरी - रोविन पौडेल बिहिबार, असोज २९, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

यही असोज २२ गते बिहीबार बिहान ९ बजे अघिल्लो दिन (२१ गते बुधबार) दिएको पीसीआर स्वाब परीक्षणको नतिजा आयो । रिपोर्ट थियो, कोरोना भाइरस अर्थात् कोभिड-१९ ‘पोजिटिभ’ । बिध ल्याबको नतिजा बाह्रखरीकर्मी जीवन सर (जीवन तिम्सिना, मार्केटिङ म्यानेजर) को स्रोतबाट १ घण्टाअगावै पाएको थिएँ ।

रिपोर्ट आउँदा गहभरी आँसु आए । तर, झर्न दिइनँ । सँगै ममी बुबा हुनुहुन्थ्यो । मेरो मुहारमा कोरिएका रेसाको संकेत पढिसक्नुभएको थियो । आमा जातिको मनै खै कस्तो हो ? पिल्ल रोइहाल्नुभयो । आफूलाई जसोतसो सम्हालें । दुई साताअघि नारायण (नारायण पौडेल, कर्पोरेट नेपालका प्रबन्ध सम्पादक) दाइलाई कोभिड-१९ रोग संक्रमण भएको थियो, उहाँको अनुभव सुनेरै ‘आफूलाई रोग लागिहाले यसरी ट्याकल गर्नेछु’ भन्ने मोटामोटी सोच बनिसकेको भएर पनि होला मेरा आँसु नझरेका ।

मेरो ‘इन्ट्युसन’ (भित्री मनले यो हुन्छ हुन्छ जस्तो लाग्नु) ले ममा कोभिड १९ लागिसकेको भन्थ्यो । इन्ट्युसन पूरा हुनु राम्रो हो कि होइन, त्यो त मलाई थाहा छैन । तर, मलाई भित्रै मनले आफ्नो सोच पूरा नहोस् लागिरहेको थियो । तर, विश्वका साढे ३ करोड व्यक्तिलाई निरिह तुल्याएको महामारीलाई मेरो शरीरले आफूभित्र पस्न नदिन सकेन । मलाई सोही भाइरसका कारण आफ्नो शरीरले पीडा र मेरा मान्यगण/प्रियगण/शुभेच्छुकले मेरो चिन्ताबोध गर्नु नपरोस् भन्ने चाहना राखेको थिएँ, त्यो पूरा हुन सकेन ।

Global bank

Agani Group

मलाई कोभिड-१९ संक्रमण हुने कुरामा आफू ढुक्क हुनुको कारण थिए, लक्षणहरू । गहिरो सुक्खा खोकी, अधिकतम १०२.५ डिग्री फरेनहाइटसम्मको ज्वरो, खोकेर घाँटीमा घाउ भएको महसुस, हल्का छाती दुख्नु, टाउको फुट्नै खोजेजस्तो दुख्नु आदि केही लक्षण ममा थिए, जो अरु कोभिड-१९ रोगीसँग मिल्दोजुल्दो थिए ।

मलाई लक्षण देखिन थालेदेखि नै मैले केही कुरा लुकाइनँ । आफूभन्दा मान्ने र जान्नेगणसँग सोधिरहेँ, प्रियजनलाई सचेत गराइरहेँ । पीसीआरका लागि स्वाब दिएदेखि नै बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधान सरलगायत केही व्यक्तिले मेरो लक्षणका आधारमा नतिजा पोजिटिभ आउने लख मैजसरी काटिसक्नुभएको थियो ।

sarbottam cement

ममा धैर्य हुनुको विकल्प थिएन । तर, आफू स्कुटर चलाउने नसक्ने भएर साथ मागेको अफिसकै एकजना साथी, परिवारका सदस्य, मामा हजुरबाको दाहसंस्कारका बेला मैले भेटेका सबै आफन्तगण, केही दिन सँगै काम गरेका कार्यालयका साथीहरूमा मेरै कारण कोरोना सर्ने सम्भावनासँगै मनमा सुपुष्त रहेको आत्मग्लानिले मलाई स्थिर बनाएन । धेरै सोचेर पनि होला, बुधबारै अर्थात् पीसीआर गरेर फर्केपछि मलाई उच्च ज्वरो आएको थियो ।

यतिखेरसम्म म सोच्‍न पनि सकेको थिइनँ कि यी लक्षण ममा कसरी देखिए ? २ साताअघि नारायण दाइबाट भनुँ भने यत्तिका दिन भइसक्या छ । दाइसँग एउटै प्लेटबाट खाने साथीहरूको रिपोर्ट नेगेटिभ आइसक्या छ । मामा हजुरबाका दाहसंस्कारका बेला पशुपतिमा सर्‍यो कि भनुँ भने, कसैमा शंका गर्ने ठाउँ छैन । कार्यालयका कोही साथीबाट भनुँ भने कार्यालयमा कसैमा मसँग मिल्दोजुल्दो लक्षण कसैको सुनाउनु भएको याद छैन ।

चीनबाट आएको भाइरस मेरो शरीरमा कुन माध्यमबाट पस्यो भन्न अझै सकेको छैन । खैर, यो सोच्ने विषय मात्र हो । पहिले, कोरोनालाई जित्ने उपाय खोज्न थालें ।

नतिजा पोजिटिभ आएपछि मलाई बेड खोज्ने चिन्ताले सतायो । घरैमा बस्ने ठाउँ छैन । घरबेटी आन्टी दीर्घरोगी हुनुहुन्छ । बुबा, ममी, बहिनीहरू, आन्टी (काकी) र सँगै बस्ने फुपूलाई बराबर जोखिममा राखेर म घर बस्ने कुरा भएन ।

घरबेटी आन्टीले कोठैमा बसेर कोरोन जित्ने हौस्याउँदै चाँडै जित्ने सान्तवना दिइरहनु भए पनि मलाई कोठामा बसेर परिवारमा जोखिम बढाउन रहर लागेन । त्यही भएर अस्पताल चाहिएको थियो मलाई । घरबाट ३० मिनेको पैदल दूरीमा सरकारले कोभिड विशेष अस्पताल तोकेको सशस्त्र प्रहरी बलको अस्पताल छ । मलाई त्यहीँ जान मन थियो । यहाँको राम्रो सुविधा, राम्रो स्याहार र सबैको चर्चाले त्यहाँ गए कोरोनालाई जित्न मलाई थप सहज हुने विश्वास ममा थियो ।

चिनेका दुईजना दाइहरू वीर अस्पतालको आइसोलेसन कक्षमा रहनुभएका कारण साथी मिल्ने सोचले मलाई एकबेला उतै जान इच्छाले नडोर्‍याएको पनि होइन । तर, उनै दाइहरूले बलम्बु जान सुझाएपछि म उपाए खोज्न थालें ।

वीर अस्पतालको हविगतबारे जानकार भइसकेको थिएँ ।

मलाई एपीएफ कोभिड अस्पतालसम्म पुग्ने बाटो त्यति सहज थिएन । ९ बजे रिपोर्ट आए पनि साढे ११ बजेसम्म म घरैमा थिएँ । अघिल्लो दिन मात्रै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा देशभरका अस्पतालका बेड भरिइसकेको जानकारी दिइसकेका थिए । त्यसैले पनि मैले अस्पतालको बेड पाउने सम्भावना निकै कम थियो । मैले अस्पताल नै बस्ने भनेपछि मलाई माया गर्ने मान्यगणहरू टेलिफोनमार्फत दौडधुप गर्न थाल्नुभयो ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक प्रतीक सरको मित्र भएका कारण बेड खाली नभएपछि वेटिङमा (प्रतीक्षा) बसेर अस्पताल प्रवेश गर्ने योजना थियो । बलम्बु अस्पतालका लागि बाह्रखरीमा स्वास्थ्य बिटमा समाचार लेख्ने सञ्जिता दिदी, सुरक्षा बिटमा समाचार लेख्ने केशव जोशी दाइ, प्रतीक सर स्वयं लागिपर्नुभएको थियो । कतैबाट पनि संकेत मिलिरहेको थिएन ।

सोही समय आफू आबद्ध आर्थिक पत्रकारहरूको संघ नेपाल आर्थिक पत्रकार संघ नाफिजका अध्यक्ष सीताराम भट्टराईले फोन गर्नुभयो । उहाँ पनि सशस्त्र अस्पताल स्रोतलाई फोन गर्न लाग्नुभयो । बेड पाउने आशामा म बलम्बुस्थित अस्पतालको गेटमा पुगें । तर अझै बेड पक्का भइसकेको थिएन । सुरुमा त पीसीआर गर्न आएको सोचेर मलाई सोही लाइनमा उभ्याइयो ।

अफिसका सहकर्मी दाजुहरू केशव दाजुद्वय, दिलीप दाजुलगायत सबैजना तारैतार सम्पर्क गर्दै हुनुहुन्थ्यो । एउटा बेडका लागि मिल्ने र सक्ने सबै कसरत मेरा शुभेच्छुकबाट भइरहेको थियो । पछि प्रतीक सरले डा. प्रवीण नेपाललाई कल गर्नू भनेर मेसेज गर्नुभयो ।

उहाँलाई कल गरें । तर, बेड खाली नभएको जानकारी उहाँले दिनुभयो । यद्यपि मलाई वेटिङमा राखिने र बेड खाली भएपछि बेडमा सिफ्ट गरिने जानकारी गराइयो । सोही समय केशव साउद दाइले वीर अस्पतालमा बेड मिलेको जानकारी गराउनुभयो । तर, म बलम्बुमै बस्न चाहें । उता क्यान्सिल गरिदिनु भनें ।

एउटा बेडको आशमा पूर्वतयारीबिनै म आफैं स्कुटर चलाएर अस्पताल गेटसम्म पुगेको थिएँ । मसँगै एउटा मास्क, एउटा हेल्मेट, स्कुटरको चाबी र आफूले लगाएको एकसरो कपडाबाहेक केही थिएन । पानी तताएर खाने कपसमेत थिएन ।

मलाई आफूजस्तै लक्षण भएका बिरामीहरू राखिने वार्डमा पुर्‍याइयो । बोर्डमा फिमेल वार्ड लेखिए पनि सबै पुरुष मात्र थिए । सशस्त्र प्रहरी बलका भीम श्रेष्ठ नामका एकजनाले आफू डिस्चार्ज हुने क्रममा रहेको र खाली भएपछि मलाई सोही बेडमा राखिने जानकारी गराए ।

बेडको पर्खाइमा मैले सबै आफन्त साथीभाइलाई संक्रमण भएको जानकारी गराएँ । करिब एक सय टेलिफोन कलपछि मोबाइलको चार्ज करिब शून्यमा झरिसकेको थियो । १२ बजे गेटमा आइपुगेर २ बजे वार्डसम्म आइपुगेको म ५ बजेसम्म बेडको पर्खाइमा थिएँ ।

५ बजे डिस्चार्ज हुनेहरूको नाम एनाउन्स भयो । भीम सरको नाम आएन, वार्डकै अर्का व्यक्ति स्वेच्छाले घर जाने भनेका रहेछन् । त्यतिबेला बेड २३३ का विष्णु लामिछाने र उहाँको छोरा तथा २३७ का सुरेन्द्र अधिकारी पनि डिचार्ज हुने चर्चा थियो ।

मलाई उपलब्ध गराइएको डाक्टरको नम्बरमा कल गरेर बेड खाली भएको जानकारी गराएँ । ड्युटी डाक्टरबाट मलाई बेड एलोकेट गरियो, बेड नं. २३४ ।

साँझ ६ बजिसकेको थियो, त्यतिबेलासम्म ।

सामान मगाउन खोजें । तर, गेटमा सामान आए पनि भोलिपल्ट मात्रै बिरामीले पाउने भन्ने बुझेपछि मैले रातारात दुःख नदिने सोच बनाएँ । तर, पानी तताएर केमा खाने ? त्यसको मलाई समस्या परेन । छेवैको बेडमा हेटौंडाका अच्युत अधिकारी सरले मलाई पानी खुवाउनुभयो । तातो पानी, बेसार पानी, लसुन अदुवा पानी, जडीबुटी पानी एक-एक कप खाएँ । अनि खानापछि औषधि खाएर केही नबोली घप्लक्कै सुतें ।

कस्तो पीडा हुन्छ ?
सबैले यही प्रश्न सोध्छन् । के कस्ता लक्षण देखिन्छन् ? भनेर । कस्तो महसुस हुन्छ भनेर । त्यसको प्रश्न म आज दिँदै छु । 

शत्रुलाई पनि कोरोना नलागोस् । मुटु भतभत पोल्छ । रोगले हैन, छटपटीले । विश्वका १० लाख व्यक्तिको ज्यान लिइसकेको छ यो पापी रोगले । आफ्नै अगाडि दैनिक १-२ वटा शव निकालिन्छ । आफन्तलाई अन्तिम भेट तस्बिरमा मात्र दिइन्छ । न त उचित अन्त्येष्टि गर्न पाउँछन् ।

त्यसअघि आउने उच्च ज्वरोले छटपटिँदा अब त बाँच्‍न नपरोस् भन्नेसम्म सोच आउँछ । छाती दुख्ने गरी र सास फर्न गाह्रो हुने गरी खोकी आउँदा, यसरी खोक्दा खोक्दै गइएला कि जस्तो लाग्छ ।

अझ आफ्नो कारण साथीभाइ, परिवारले आफूले जस्तो पीडा महसुस गर्नुपर्ने अवस्था आयो भने त्योभन्दा ठूलो पछुतो केही हुँदैन, हजुर । बेलाबेलामा आफ्ना मान्छेले ‘केही हुँदैन, चिन्ता नगर्नु’ भनिदिँदा पीडा थोरै कम हुन्छ । ‘विश्वभर लागेको रोगको दोष तलाईं दिन्‍न ।’ भन्दा अलिकति होस् फिर्छ ।

सबैले चर्चा गरे झैं उत्कृष्ट सेवा, कहिलेकाहीँ प्रश्न ?
सशस्त्र कोभिड अस्पताल सबैले चर्चा गरे झैं उत्कृष्ट छ । दुई समय खाना र दुई समय खाजा पाइन्छ । रेस्टुरेन्टको प्याकिङजस्तै आउँछ खाजा र खाना । खाना केही चिसो भए पनि निकै मीठो छ ।

केही समस्या परे डाक्टरलाई फोन गर्न नम्बर दिइएको छ । दिनमा दुईपल्ट डाक्टर राउन्डमा आउँछन् । नर्सहरू बेलाबेला झुल्किरहन्छन् । उनीहरूलाई पनि स्वास्थ्य स्थिति जानकारी गराउन सकिन्छ ।

टेलिभिजन र वासिङ मेसिनको सुविधा छ । दुई-दुई वटा ट्‌वाइलेट र बाथरुम छन् । छतसम्म जानसक्ने अनुमति छ । घाम ताप्‍न हावा खान पाइन्छ । चन्द्रागिरि उपत्यकाको हरियाली हेर्न पाइन्छ । बिहान ७ बजे भजन बज्छ । हल्का कसरत गराइन्छ । आफैं पनि हल्का कसरत गर्छौं ।

कहिलेकाहीँ भने प्रश्न उठ्छ । पीसीआर स्वाब लिएको पाँच दिनसम्म रिपोर्ट आउँदैन । १२० भन्दा बढी बेडका लागि १२ नर्स मात्र उपलब्ध छन् । सँगै बेडका तपेन्द्र दाइको रेबिज सुई लगाउन नर्स उपलब्ध नभएको कुराले राम्रो सुविधामाथि दाग लगाउँछ ।

‘खर्च गरेर पनि उपचार गराउँछु भन्नेले पनि बेड पाउने स्थिति छैन’
कोभिड १९ संक्रमित भएर घरैमा आइसोलेसन बसेका मेरा एकजना साथीका बुबालाई सास फेर्न अप्ठ्यारो महसुस भयो, म अस्पताल भर्ना भएको केही दिनपछि । साथी आत्तिँदै फोन गर्‍यो, आईसीयू कतै मिलेन, मेरो चिनजान काम लाग्छ कि भन्दै ।
रातको १० बजेसम्म अनेक प्रयास गर्दा पनि कतै आईसीयू बेड मिल्ने संकेत भएन । अंकलको अक्सिजन स्याचुरेसन लेभल ७० मा झरिसकेको थियो । उहाँलाई निमोनियाँ पनि देखिएकाले अक्सिजन मात्र दिएर राख्ने अवस्था थिएन ।

पर्ने सबै शुल्क तिरेर अस्पताल राख्छौं भन्दा पनि उहाँलाई कुनै आईसीयू पाइएन । देशका ठूला भनाउँदा अस्पताल नै बेड नभएको बताइरहेका थिए । अन्ततः उहाँलाई सो रात त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सामान्य कोभिड वार्डमा राखियो । भोलिपल्ट मात्र ओम अस्पतालमा आईसीयू मिल्यो । बेडको सकस मैले मात्र भोग्नुपरेको होइन, उहाँ अर्को पात्र हुनुहुन्छ । 

यसले देशमा कोभिड रोग जहाँ पैसा तिरेर उपचार गर्छुभन्दा पनि अस्पताल नपाइने अवस्थामा पुगिसकेको संकेत गर्दछ । 

कोरोनाको फेमस ब्याच
म कोरोना संक्रमितको त्यो फेमस ब्याचमा पर्छु, जुन ब्याचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, प्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो, नेपालका तीनजना मन्त्रीहरू योगेश भट्टराई, गिरिराजमणि पोखरेल, हृदयेश त्रिपाठी, नेताहरूसमेत पर्छन् । म सक्रिय संक्रमित रहँदा उल्लेखित व्यक्तिबाहेक प्रधानमन्त्रीका सल्लाहकार, नेपाली कांग्रेस युवा नेता गगन थापालगायत बालुवाटारका दर्जनौं व्यक्तित्व संक्रमित भए ।

र, वर्षौंपछि सन्तानलाई आफू कोरोना संक्रमित भएको कहानी सुनाउँदा यी पात्रको नाम लिँदै आफू सोही ब्याचको भनेर उल्लेख गर्दा रमाइलो हुँदो हो भनेर मनले सोच्छ बेलाबेला ।

एक-अर्काको सहयोग
जसरी मलाई आएको दिन अच्युत सरले सहयोग गर्नुभयो, मैले पनि अर्को व्यक्तिलाई सहयोग गर्न पछि परिनँ । बेड नं. २३१ का एकजना सर उच्च ज्वरो आएर सासै फेर्न नसक्ने भएपछि उहाँलाई पानीपट्टि गर्न सहयोग गरें । अक्सिजन वार्डको बेडसम्म पुर्‍याएँ । एक-अर्काको खानेकुरा, तातोपानी, जडीबुटी सबै सेयर गर्छौं ।

साथीहरू : नेता, बिजनेसम्यानदेखि पत्रकारसम्म, नाच गान र रमाइलो नै दैनिकी
बलम्बु अस्पतालमा हामी बसेको वार्ड निकै रमाइलो बनेको छ । हाम्रो वार्ड नेता, व्यवसायी, सरकारी कर्मचारी, बैंकर, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायत म पत्रकारले पूर्ण बनाएको छ । उमेरले १० जनामध्ये म नवौं पर्छु ।

के कस्तो काम गर्नुहुन्छ ? फलानोलाई कसरी चिन्नुहुन्छ ? एक-अर्कालाई कसरी संक्रमण भयो ? यस्तै कुरा हुन्थे ।

नवीन दाइले अस्पताल भर्ना हुँदै ‘रमाइलो गर्नू है बाबु’ भन्नुभएको मैले भुलेको छैन । अरु दिन गफगाफमै रमाइलोपन महसुस गराउने कसरत बाँकी नराखेका हामी बुधबारदेखि नाच्न थाल्यौं । कुटुमा कुटु सुपारी दाना, सालको पात टपरी हुने, साली मन पर्‍योलगायत गीतमा हामी नाच्‍न थालेपछि पल्लो वार्डका बिरामी दर्शक बनेर आए, एकजनाले त नाच्‍नमा साथै दिए ।

संक्रमणबाट जोगिन अपनाउनुपर्ने सामाजिक दूरी, आइसोलेसनको यहाँ अर्थै हुँदैन । किनकि सबैजना संक्रमित हुनुहुन्छ । उल्टै नाचगान गरेर हामी दुःखलाई भुलाउने प्रयास गरेका छौं । सबैजना सँगै कोरोना जितेर घर फर्कने योजनामा छौं ।

अस्पताल आएका दिन भेटिनुभएका केही सरहरू पीसीआर नेगेटिभ आएर डिस्चार्ज भइसक्नुभएको छ । केही साथीहरू डिस्चार्ज हुने क्रममा हुनुहुन्छ ।

नाच्ने र गाउनेबाहेक दिनभर अरु काम पनि गर्छौं । बिहान ६ बजे उठेर नित्यकर्म सक्छौं । ब्रेकफास्टपछि औषधि खान्छौं । मैलो कपडा धुने सुकाउने । एकछिन घाम ताप्‍ने, डायरी लेख्‍ने, गफगाफ गर्ने, खानाको प्रतीक्षा गर्ने, औषधि खाइसकेर एकछिन रेस्ट गर्ने (सुत्‍ने), फेरि खाजा खाने, गफगाफ गर्ने, टीभी हेर्ने (सबै क्रिकेटप्रेमी छौं, इन्डियन प्रिमियर लिगका म्याच हेर्ने), फेरि खाना खाने अनि सुत्‍ने । यसरी नै दिन बित्छन् ।

सबैजना तातोपानी टन्‍नै खान्छौं । एक-अर्कालाई तातोपानी खान सम्झाउँछौं ।

सम्भावित जोखिम र हार्दिक आभार
उच्च सावधानी अपनाउँदा अपनाउँदै म संक्रमित भएँ । मैले त स्वतःस्फूर्त परीक्षण गराउँदा संक्रमण देखिएको थियो । तर, मलाई कताबाट संक्रमण सरेको अझै हेक्का छैन । मलाई संक्रमण भएको सुनाउँदा कसैले परीक्षण गराएको र रोग पुष्टि भएको भनेन ।

यसअर्थमा मैले जो-जसलाई भेटें, उहाँहरूमध्ये एकजनामा संक्रमण थियो र थाह थिएन । मैले अरु व्यक्ति पनि भेटेको देखेको छु, जो कहिल्यै परीक्षण गराउन सक्दैन र राज्यले ट्रयास गर्न पुग्दैन ।

जसले संक्रमण समुदाय स्तरमा प्रवेश गरिसकेको र कसमा संक्रमण छ अझै शंका पनि गर्न नसक्ने अवस्थामा पुगिसकेको स्पष्ट हुन्छ । मलाई कोभिड १९ संक्रमण पुष्टि भएलगत्तै टेलिफोन तथा मेसेन्जरमार्फत शीघ्र स्वास्थ्यलाभको सयौं फोन र मेसेज प्राप्त भए । सबैलाई धेरै धन्यवाद ।

मलाई अस्पताल व्यवस्था गर्न सहयोग गर्नुहुने सबैप्रति झन् बढी आभारी छु । तपाईंहरूको शुभेच्छाले विश्वलाई आक्रान्त बनाएको रोगले मलाई च्याप्दा, यसलाई जितेर बिदा हुने आत्मबल मिलेको महसुस भएको छ । र, म यो कुरा विश्वस्त छु कि अबको केही दिनलाई कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज हुनेछु र चाँडै नियमित पत्रकारिता कर्म र अरु कोभिड संक्रमितको सेवामा खटिनेछु ।

Nepal Investment bank
Nepal Investment bank
बिहिबार, असोज २९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्