site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेसभित्र विवाद : क्षणिक कलह कि स्थापित प्रवृत्ति ?

राजनीतिक दलहरूभित्र यदाकदा देखिने विवादलाई अस्वाभाविकरूपमा लिनु हुँदैन । किनभने यस्तो विवादले दलभित्रको आन्तरिक राजनीतिलाई जीवन्त बनाइरहेको हुन्छ । यस प्रकृतिका विवादहरु विधि, विधान तथा पार्टीभित्र स्थापित मान्यताअनुरूप समाधान पनि भइरहेका हुन्छन् । तर, एउटै किसिमको विवाद पटकपटक दोहोरिने र प्रवृत्तिकै रुपमा स्थापित हुँदै गयो भने पार्टीका लागि निकै घातक हुनसक्छ । हाल कांग्रेसभित्र देखिएको विवाद नेतृत्व प्राप्तिका लागि हुने क्षणिक कलहमात्र हो भने यसको समाधान पार्टीको विधिविधानको आधारमा सहजै निस्किने छ । तर, यो विवाद विगतमा एकले अर्कोलाई निषेध गरेर नेतृत्व लिने नियतबाट सिर्जित भएको हो भने यसले नेतृत्व वर्गलाई मात्र नभएर सिङ्गो पार्टीलाई नै क्षति पुर्‍याउनेछ । 

अहिले कांग्रेसभित्र देखिएको विवादको प्रकृति तथा अन्तर्वस्तु हेर्दा यो क्षणिक नभई विगतकै प्रवृत्तिको निरन्तरताजस्तो देखिन्छ । यस्तै सामान्य प्रकृतिका विवाद बल्झिँदै जानाले हिजो कृष्णप्रसाद भट्राई र गणेशमान सिंहजस्ता आदर्श पुरुषहरुले आफ्नो जीवनको अन्तिम समयमा पार्टी परित्याग गर्नुपरेको थियो । विगतमा उनीहरूलाई त्यो अवस्थासम्म पुर्‍याउन षड्यन्त्र गर्नेहरू नै पार्टीभित्र महत्त्वपूर्ण जिम्मेवारी ओगट्न सफल भएका कारण पनि यो प्रवृत्ति कांग्रेसभित्र दोहोरिरहने सम्भावना देखिन्छ । 

एकपटक फुटको पीडा भोगिसकेको पार्टीभित्र विधानका सामान्य प्रावधानलाई समेत बेवास्ता गरेर एकपछि अर्को निर्णय गरिनु आफैँमा शंकास्पद देखिन्छ । सामान्यतया क्रियाशील सदस्यता वितरणमा पारदर्शिता खोजिनु, निर्वाचनको मुखमा आएर विभागलगायत पार्टीका दीर्घकालीन स्वरुपका संरचना तयार गरिनु उपयुक्त नहुनाले यसलाई सच्च्याउनुपर्छ भन्ने स्वाभाविक माग पनि हाल विवादका रूपमा देखिनुले शंकालाई थप बल पुगेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यो विवाद सङ्गठनभित्र नेतृत्ववर्गको कार्यसम्पादन क्षमताको अभावका कारण हुने मानवीय कमजोरीले सिर्जना भएको होइन । बरु यो एकले अर्कालाई निषेध गर्ने परम्परागत मानसिकताबाट सिर्जित विवादजस्तो देखिन्छ । यो विवादबाट पार्टीभित्र ‘म निर्विकल्प छु, मैले जे गर्छु, जे भन्छु त्यो नै अन्तिम सत्य हो यसमाथि प्रश्न उठाउने अधिकार कसैलाइ छैन’ भन्ने सन्देश दिन खोजिएको देखिन्छ । विधानको मूल भावनालाई लत्याउँदै आगामी महाधिवेशन आफ्नो पक्षमा पार्न गरिएको यस प्रकारको विवादले पार्टीभित्र जसरी पनि जित्नुपर्छ भन्ने संस्कृतिको विकास गराइरहेको छ । एक जना व्यक्ति आफू नेतृत्वमा पुग्न जुनसुकै हदसम्म पनि जाने र जे पनि गर्ने यस्तो अवस्था पार्टीविशेषको लागि मात्र नभएर लोकतन्त्रकै लागि पनि घातक हुन्छ ।

हाल कांग्रेसभित्र देखिएको यस्तो प्रवृत्ति केन्द्रीय तहमा मात्र सीमित नभएर वडातह सम्मै पुगेको देखिन्छ । यस्तो प्रवृत्तिका कारण एउटा इमानदार र पार्टीप्रति प्रतिबद्ध कार्यकर्ता वडा तहबाटै निषेधित हुन पुग्छ । किनभने ऊ आफनो व्यक्तिगत स्वार्थपूर्तिका लागि पार्टीभित्र विकसित यसप्रकारका गलत प्रवृत्तिको मौन साक्षी भएर रहन सक्दैन । आफ्नो स्वाभिमानलाई उच्च राख्दै राजनीति गर्न चाहने व्यक्तिलाई हाल कांग्रेसभित्र क्रियाशील सदस्य बन्नबाटै वञ्चित गर्ने प्रयास भइरहेको सजिलै देख्न सकिन्छ । सदस्यता वितरण गर्दा वितरकका आफ्ना परिवार, नातागोता, गुटका व्यक्तिको पालो पुगेपछि मात्र कुनै गुट उपगुटमा आबद्ध हुन नचाहने स्वतन्त्र र स्वाभिमानी कार्यकर्ताको पालो आउँछ । त्यसपछि उसले वडा तहमा निर्वाचित हुन कि त पार्टीको संस्थापन पक्ष सामु आत्मसमर्पण गर्नुपर्छ कि उसका प्रतिद्वन्द्वीले बनाएका सदस्यहरूको मत प्राप्त गरी विजयी हुन सक्नुपर्छ । यस्तो अवस्थामा सामान्यतया इमानदार र सम्झौता नगर्ने व्यक्तिको पराजय निश्चित नै हुन्छ । किनभने, सदस्यता वितरण गर्दा नै गुटका उम्मेदवारको विजय सुनिश्चित गरिएको हुन्छ । यसरी निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिले आफनो गुटको नेतृत्वको चाहनाविपरीत मतदान गर्न सक्दैनन् । यो प्रक्रिया वडा, क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्मै पुग्ने गर्छ । विधानमा गुटगत राजनीतिलाई निस्तेज गर्न केही प्रावधान राखिएका भए पनि संस्थापनकै संरक्षणमा विधानका ती प्रावधानको उल्लङ्घन गरिने हुँदा गुटविहीन कार्यकर्ताले न्याय पाउने सम्भावना रहँदैन ।

Global Ime bank

अहिले कांग्रेसभित्र क्रियाशील सदस्यता संगठन विस्तार भन्दा पनि गुट विस्तार गर्ने र नेतृत्व हत्याउने अचुक अस्त्र बनेको छ । हालै नेपाली कांग्रेसको पदाधिकारी बैठकले क्रियाशील सदस्यता पाँच लाखबाट दश लाख बनाउन गरेको निर्णय महत्त्वाकांक्षी छ । तर, यति ठूलो संख्यामा सदस्यता वितरण गर्दा उपयुक्त व्यक्तिलाई नदिने हो भने पार्टीकै औचित्य र अस्तित्व समाप्त हुन के बेर ? सङ्गठनलाई सशक्त र प्रभावकारी बनाउने हो भने नयाँ सदस्यता वितरण गर्नुपूर्व विगतमा बाँडिएका सदस्यता कति प्रभावकारी भए ? यिनले समाजका कति प्रतिशत व्यक्तिको प्रतिनिधित्व गरेका छन् ? के कांग्रेसले सदस्यता दिएका सबै व्यक्तिहरु समाजले सहजै स्वीकार गरेका व्यक्ति हुन् ? कतै समाजको मूल प्रवाह एकातिर क्रियाशील सदस्य अर्कैतिर त भएको छैन ? भन्नेजस्ता प्रश्नहरुको निष्पक्ष उत्तर खोज्नु आवश्यक हुन्छ । 

अहिलेको विवादको प्रमुख कार्यसूची क्रियाशील सदस्यता उपयुक्त व्यक्तिलाई पारदर्शी तवरले वितरण गर्नुपर्छ भन्ने नै हो । यो माग पूरा गर्दा कसैको कद घट्दैन । लोकतान्त्रिक मूल्य मान्यता आत्मसात् गर्ने हो भने निर्वाचनको मिति तोकिइसकेपछि विद्यमान सबै संरचना स्वतः तदर्थ हुन्छन् । त्यस्तो कार्यसमितिलाई दूरगामी प्रभाव पार्ने कुनै पनि निर्णय गर्ने अधिकार हुँदैन । कांग्रेसभित्र अहिले यही मान्यताको अतिक्रमण भइरहेको छ । त्यसैले त अचेल कार्यकर्ताको एउटा प्रश्न सुन्न पाइन्छ – सत्तरी वर्ष लोकतन्त्रका लागि अनवरत संघर्ष गरेको पार्टीले नै लोकतान्त्रिक प्रणालीका आधारभूत मूल्यमान्यतालाई आत्मसात् नगर्ने हो भने संविधान मिच्न उद्यत सत्तापक्षलाई कुन नैतिकताले विरोध गर्ने ? यो प्रश्नको उत्तर कार्यकर्तामात्र होइन एकदिन जनताले पनि खोज्ने नै छन् । नेतृत्व गर्नेले यसको सही र स्वाभाविक उत्तर दिन नसके कांग्रेस लोकतान्त्रिक पार्टी होइन भनेर जनताले नै उत्तर दिनेछन् ।

कांग्रेस विगतमा लामो समयसम्म पञ्चायती व्यवस्था र यसका शासकहरूको स्वेच्छाचारिताविरुद्ध लड्दै यहाँसम्म आइपुगेको पार्टी हो । हिजो जे कुराका लगि बलिदान गरियो आज यसका नेताहरू स्वयम्ले जानेर वा नजानेर क्षणिक स्वार्थपूर्तिका लागि त्यसैसँग मिल्दोजुल्दो व्यवहार गर्ने हो भने यसबाट विगतका लोकप्रिय तथा गौरवशाली नेृतृत्ववर्ग र उनीहरूको नेतृत्वमा सहादत प्राप्त गर्ने सहिदहरूको पनि अपमान हुनेछ । 

जसरी पनि नेतृत्वमा पुग्दैमा नेतृत्व सफल मानिदैन । लोकतन्त्रमा पारदर्शी र जवाफदेही नेतृत्वमात्र जनता र कार्यकर्ताको मनमस्तिष्कमा बस्न सक्छ । जनताको मनमस्तिष्कमा बस्न नसक्ने पार्टी लोकप्रिय हुन सक्दैन । विगतका थुप्रै कमी कमजोरी तथा आपसी कलहका कारण कांग्रेस सत्ताबाट धेरै टाढा पुगिसकेको छ । अहिले पनि गम्भीर नहुने हो भने सो पार्टीभित्र चुलिएको कलहकै कारण यसको औचित्य नै समाप्त हुनसक्छ । अझ यही बेलामा देशमा कुनै अलोकतान्त्रिक शक्तिले सत्ता हत्याएर प्रजातन्त्र नै मास्न सफल भयो भने इतिहासले हाल यसको नेतृत्व तहमा रहेकाहरूलाई क्षमा गर्नेछैन । साथै कांग्रेसले आफ्नो गरिमामय इतिहास र यसले ल्याएको लोकतान्त्रिक व्यवस्थाको आफैँ अवमूल्यन गरेको पुष्टि हुनेछ । कांग्रेसले दलभित्र विकसित व्यक्तिवादी प्रवृत्ति तथा गुटबन्दीको अन्त्यतर्फ ध्यान नदिने हो भने सुनियोजितरूपमा पार्टीभित्र विवाद सिर्जना गर्दै विगतमा जस्तै भविष्यमा पनि कृष्णप्रसाद र गणेशमानहरूलाई किनारा त लगाउन सकिएला तर पार्टी र यसका नेतृत्वकर्ताको सान्दर्भिकता एवं अस्तित्व भने संकटमा पर्नेछ । 

(समाजशास्त्र विषयअन्तर्गत ‘प्रजातन्त्र र सुशासन’ शीर्षकमा विद्यावारिधि अनुसन्धानरत )


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  २१:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC