site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्वास्थ्य, शिक्षा र कोरोना

स्वास्थ्य र शिक्षा आधुनिक समाजका आधारभूत पूर्वाधार हुन् । अझ विश्वका कतिपय समाजले त यिनलाई मानवअधिकार नै भनेर मानेका छन् । समृद्ध समाजका लागि शिक्षित र स्वस्थ नागरिक आवश्यक हुन्छन् । नेपालमा पनि साक्षरता वृद्धिसँगै समाजको जनस्वास्थ्ययको अवस्था र जीवनस्तर क्रमिकरूपमा उन्नत हुँदैगएको अनुभव गरिएको छ । सामाजिक तथा आर्थिक विकास विज्ञहरूले शिक्षा र स्वास्थ्यय विकासोन्मुख समाजको बाटोका दुई पाटा भन्दै आइराखेका छन् । उनीहरुकै सुझावमुताबिक विकसित राष्ट्र र अन्तर्राष्ट्रिय संघ संस्थाले विकास र गरिबी निवारण कार्यक्रमका लागि दिने अनुदानको ठूलो हिस्सा यिनै दुई क्षेत्रमा केन्द्रित हुनेगरेको छ ।

स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा भएको अनुसन्धानले शिक्षित नागरिक आफ्नो स्वास्थ्यप्रति सजग हुने, र प्रायः स्वस्थ जीवनशैली अपनाउने प्रमाणित गरेको छ । तसर्थ, स्वास्थ्योपचारको क्रममा सकारात्मक नतिजाका लागि डाक्टरको निर्देशन बुझ्न र सहीरूपमा पालना गर्न पनि शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ । 

जनस्वास्थ्यका अधिकांश कार्यक्रम र निर्देशन व्यक्तिभन्दा पनि समुदाय लक्षित हुने भएकोले साक्षरताको भूमिका अझ गहन हुन्छ । अहिले कोरोनाको महामारीले पनि यस तथ्यलाई पुष्टि गरेको छ । महामारीको सुरुदेखी अहिलेसम्म निरन्तर गतिले कोरोनाकै बारे सरकारले पठाएको अत्यावश्यक सूचनामूलक सन्देशका साथै अन्य भ्रामक जानकारी पनि विभिन्न स्रोतबाट सम्प्रेषण भइराखेको छ । आजभोलि हरेक व्यक्तिको साथमा हुने स्मार्ट फोन र सामाजिक संजालमा पहुँचले गर्दा भ्रम फैलाउन पनि सहज भएको छ । सामाजिक संजाल सही सूचना प्रवाह गर्न जति प्रभावकारी हुन्छ उत्तिकै बाधक पनि सिद्ध भएको छ । यही बुझेर विश्व स्वास्थ्य संगठनले सुरू मै गलत समाचार र सूचना पनि ‘एपिडेमिक’ सरह बहेको छ भन्दै त्यसलाई ‘इंफोडेमिक’को संज्ञा दिएर सचेत गराउन पहल गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

स्वास्थ्य साक्षरता र सञ्चार कार्यक्रम 

हिजोआज भारतीय टेलिभिजनबाट हरेक साँझ प्रसारित हुने साईबाबाको कार्यक्रम नेपालमा पनि लोकप्रिय छ । सामन्यता यस कार्यक्रममा धार्मिक, आध्यात्मिक र सामाजिक विषयवस्तु प्रस्तुत हुन्छ । तर बेलाबेलामा प्रसारण हुने दृश्यले दशकौंदेखिको सामाजिक विकास र परिवर्तनमा शिक्षाले अन्धविश्वासविरुद्ध ल्याएको परिवर्तन तथा जनस्वास्थ्यका क्षेत्रमा जगाएको चेतनालाई प्रश्न गर्ने बाटो खोलिदिन्छ । 

Global Ime bank

नेपाली र भारतीय समाजमा सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय संघसंस्थाको अथक प्रयासपछि जनस्वास्थ्यका धेरै परिसूचकमा सुधार आएको हो । सामान्य झाडा पखालाबाट हुने मृत्युदरमा गिरावट, बाल र मातृस्वास्थ्य तथा मृत्युदरमा भएको सुधार, स्वास्थ्य सरसफाइ, सफापानी, पोषण र रहनसहन आदिमा भएको प्रगतिले नेपालीको औसत आयुमा उल्लेखनीय सुधार भएको छ । तर, जब संचार माध्यममा आगोबाट झिकेको खरानीमा रोग निको पार्ने अलौकिक शक्ति देखाइन्छ तब समाजका केही मानिसलाई त्यस्ले सजिलै भ्रममा पार्न सक्छ । 

अहिले सञ्चार माध्यममा सबैको पहुँच सहजै हुन्छ । विगतमा जस्तो माथिल्लो वर्गमा मात्र यो सुविधा सीमित छैन । शिक्षाको कमी र गरिबीले ग्रस्ते समूहलाई आधुनिक चिकित्सा प्रणालीभन्दा अलौकिक शक्ति सस्तो र सहज पहुँच हुने विकल्प पनि हो । फलस्वरूप सरकारले दशकांै लगाएर हासिल गरेको उपलब्धि नै जोखिममा पर्ने डर हुन्छ । समाजका ठूलाबडाको बोलीले त झनै ठूलो प्रभाव पार्छ । यस्ता एकाध घटना त महामारीका बीचमा समेत भएका छन् ।

अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारीलाई राजनीतिक रंग दिएर बारम्बार विज्ञान र आफ्नै सरकारका विज्ञहरूसँग बाझिने अभिव्यक्ति दिएका छन् । उनले विज्ञानको छद्म व्याख्या गरेर वा कोरोनाबाट जोगिन अवैज्ञानिक उपाय बताएर जनस्वास्थ्यभन्दा आफ्ना मतदाता रिझाउने बोली बोलेको पाइएको छ । उनले भनेअनुसारको गलत औषधि सेवन गरेर वा मास्क र भौतिक दूरीको अवज्ञा गर्दा कतिपयले राजनीतिक भेलाका सहभागीहरूले पीडा भोग्नु परेको छ भने कसैले त ज्यान नै गुमाए । अहिले उनी स्वयं सपरिवार कोभिड—१९ बाट संक्रमित भएर पुगेका अस्पतालमा छन् । हामी अमेरिकालाई विकसित र शक्तिशाली राष्ट्र ठान्छौँ तर त्यहाँ पनि त विभिन्न सामाजिक निर्धारकले मानिसको व्यक्तिगत निर्णयलाई असर पारिरहेको हुन्छ । साक्षरता सबै परिस्थितिमा सूचित र शिक्षितको पर्याय हुँदैन भन्ने अमेरिकी समाजका यस्ता घटनाबाट प्रमाणित हुन्छ ।

विकसीत र आधुनिक समाजको त अवस्था त्यस्तो छ भने नेपालजस्तो अनेकौं सामाजिक निषेध र वर्जनामा जेलिएको समाजमा शिक्षित र सूचित नागरिक पाउनु त परैजाओस् साक्षर व्यक्ति पनि थोरै भेटिन्छन् त्यहाँ स्वास्थ्य र जनहितको जानकारी दिन सामान्य अवस्थामा त कठिन छ भने महामारीका बेलामा त झनै कठिन हुन्छ । अनि अस्पष्ट सन्देशले जोखिमपूर्ण अवस्था उत्पन्न हुन्छ । त्यसमा पनि पढेलेखेको र शासकीय ओहदाको व्यक्तिले बोलेको र गरेको कुरामा एकरूपता नभएपछि संचार माध्यमबाट निरन्तर प्रसारित सन्देशके सही के गलत भनेर छुट्याउन गाह्रो हुन्छ । 

सन्देश र प्रसङ्ग 

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमै हल्का तबरले ‘बेसार पानी’ र ‘हाछ्युँ’ गरेर कोरोना भगाउने अभिव्यक्ति दिए । त्यो अभिव्यक्ति बुझ्ने समूहबीच उपहासको विषय बन्योे भने समाजको तल्लो वर्गमा त्यसबाट गलत सन्देश गयो । हुनत, बेसारका गुणहरूको चर्चा नेपालमात्र होइन पश्चिमी मुलुकमा पनि केही समय यता भइरहेको छ, आयुर्वेद  विज्ञहरूले पनि बताइरहका छन् तर प्रधानमन्त्रीले त्यो सबै प्रसङ्ग नमिलाईकन, गलत मञ्चमा हलुका तरिकाले बोलिदिनाले त्यो भ्रामक बन्न पुग्यो । यस्तै अरु राजनीतिक नेताका गलत भनाइले पनि भ्रम उत्पन्न भएको छ ।

विज्ञ कहलिएका व्यक्तिले भ्रामक तर्क  दिएर अफवाहलाई आफ्नो एजेन्डा बनाएर प्रस्तुत गर्दा पाठक वा दर्शकमा केही न केही असर पर्छ । यस किसिमको एजेन्डा बोकेर प्रस्तुत हुने दुई कोटीका विज्ञ देखिएका छन् — एकथरी विषयको जानकार तर वैज्ञानिक तर्कको भन्दा संचार माध्यमबाट फैलिने नाम र अन्य फाइदाको पछि लाग्नेहरू र अर्कोथरी, भ्रामक र अवैज्ञानिक तर्कमा आधारित समाचार संचार माध्यमबाट फैलाउनेहरू । एक जना वैकल्पिक स्वास्थ्य विधिमा संलग्न व्यक्तिले सरकारले कोरोनाबाट मृत्यु भएकाहरूको शरीरबाट भित्री अंग झिक्छन भन्ने तथ्यहीन भ्रम फैलाएछन् । अर्का राजनीतिकर्मी भनेर आफूलाई चिनाउने विज्ञले कोरोना महामारी हुँदै होइन भन्नेदेखि उपचारका लागि खोप बनाउन असंख्य गौहत्या गर्नुपर्ने भ्रम फैलाए । तिनीहरूको उद्देश्य के हो भन्ने आफँैमा अस्पष्ट छ । तर, त्यस्तो अभिव्यक्तिलाई संचार माध्यमले प्रसङ्ग नमिलाईकन यस्तो विषम परिस्थितिमा ठाउँ दिनु गलतमात्र होइन व्यावसायिक नैतिकताविपरीत पनि हो ।

ज्ञान, मनोवृत्ति, व्यवहार 

स्वास्थ्य साक्षरताको कमी भएको सामाजिक पृष्ठभूमिमा निरन्तर भ्रामक सन्देश सम्प्रेषण भइरहँदा मानिस अन्योल हुनु अचम्म भएन । त्यसैले महामारीको समय पनि जनस्वास्थ्यमा प्रभावकारी साबित भएको सूचना विधि ज्ञान, मनोवृत्ति, र व्यवहारलाई आत्मसात गर्नुपर्छ । जनस्वास्थमा स्वास्थ्यसम्बन्धी कुनै प्रभावशाली लक्ष्य हासिल गर्न समुदायको व्यवहारमा सकारात्मक परिवर्तन नआएसम्म निरन्तर सूचना दिरहनुपर्छ । सूचना संप्रेषणबाट समुदायमा कूनै पनि समस्याका बारेमा ज्ञान प्राप्त हुन्छ । तर ज्ञान आर्जनमात्र शरीर र स्वास्थ्यमा परिवर्तन ल्याउन पर्याप्त हुँदैन । हामीलाई धुम्रपान या मध्यपान, हाम्रो दैनिक खानाको किसिम र मात्रा, अनि शारीरिक व्यायामको कमीले पार्ने नकारात्मक असर बारे पर्याप्त जानकारी छ तर डाक्टरहरूसँग कुरा गर्ने हो भने वा तथ्यांक हेर्र्ने हो भने त्यस्तो ज्ञानले असर पारेको अनुभूति हुँदैन । कुनै पनि व्यक्तिले प्राप्त गरेको ज्ञानका साथै उसको शैक्षिक, सांस्कृतिक, धार्मिक, सामाजिक मूल्य मान्यताले व्यक्तिगत धारणामा प्रभावित पार्छ र उक्त व्यक्तिको मनोवृत्ति त्यसैमा आधारित हुन्छ । तसर्थ व्यक्तिले ज्ञान हुनेबित्तिकै तदनुरूप व्यवहार गर्ने निश्चित हुँदैन । व्यक्ति र समुदायले संप्रेषित सूचना तथा लागू गरिएको कार्यक्रमको फाइदा र बेफाइदा पहिचान गरेर आफ्नो व्यवहारमा चरितार्थ नगर्दासम्म त्यस्तो कार्यक्रम वा सूचना निरर्थक हुन्छ ।

अहिले कोरोनाको बारेमा ज्ञान भए पनि कतिपय व्यक्ति र समुदायले व्यवहारमा उतार्न अवज्ञा गर्दा महामारी नियन्त्रण कठिन भएको छ । व्यवहारमा चरितार्थ गर्न नसक्नुका पनि मूलतः दुई कारण देखिन्छन् — एक, समाजको कुनै वर्गमा स्वास्थ्यसम्बन्धी जानकारी न्यून हुनु र दोस्रो, कतिपयको सामाजिक र आर्थिक बाध्यताले पनि आवश्यक सुरक्षा विधि अपनाउन नसकनु । अर्को एकथरीले भने जानीबुझी पनि मुर्ख्याइँ वा स्वाथका कारण आफूलाई अजेय ठानेर आफू, आफन्त र समाजलाई खतरामा पारिरहेका छन् । 

महामारीकै  बेलामा केही महीनाअगाडि नेपालसँग मिल्दोजुल्दो सामाजिक आर्थिक पृष्ठभूमि भएको उत्तरपस्चिम इथियोपियाको एउटा समुदायमा गरिएको अध्ययनमा करिब एक तिहाइ दीर्घरोगीलाई त कोरोनाको बारेमा न्यूनतम ज्ञानमा रहेको पाइयो भने ग्रामीण क्षेत्रका बासिन्दालाई सहरी क्षेत्रभन्दा कोरोनाको असर बारे १९ गुणा कम जानकारी रहेको पाइयो । चीनमा गरिएको अनुसन्धानले पनि यस्तै देखाएको छ । यसैगरी करिब ६० प्रतिशतले आफूले पाउने स्वास्थ्यसम्बन्धी जानकारी र सन्देशको स्रोत टिभी र रेडियो भएको जनाएका छन । बचावटको विधि अपनाउने व्यवहारमा पनि ज्यादै कमले भिडभाडमा नजाने भनेका छन् भने ३६ प्रतिशतले मात्र बाहिर जाँदा मास्क लाउने गरेका छन् । चीनमा भने ९८ प्रतिशतले मास्क लगाउने बताए । अन्वेषकले शिक्षा र समाजिक आर्थिक परिस्थितिले समस्याको ज्ञान, मनोवृत्ति र व्यवहारमा असर पार्ने औँल्याएका छन् । मेरो अनुमानमा नेपालमा पनि तथ्यले यही पुष्टि गर्छ होला ।

तसथर्, हाम्रो समाजको यो न्यूनतम स्वास्थ्य साक्षरताको र अधिकतम व्यक्तिगत र सामाजिक बाध्यताको पृष्ठभूमिमा कुनै पनि जनस्वास्थ्यको समस्या र बचावटको विधि समाजमा कसरी प्रस्तुत गर्ने, व्याख्या गर्ने र सूचना ग्रहण गर्नेले कसरी बुझ्छन् भन्ने विषय महत्त्वपूर्ण हन्छ । सन्देश प्रभावकारी हुन दुई पक्षको भूमिका हुन्छ । सरोकार निकाय कार्यक्रम व सूचना प्रस्तूत गर्दा ग्रहण गर्ने व्यक्ति वा समूहको सामाजिक स्थिति र कारकहरूप्रति संवेदनशील हुन आवश्यक हुन्छ । अन्यथा सन्देश प्रभावकारी हुँदैन । साथै संचार माध्यम र तिनको मंच प्रयोग गरेर आफ्नो अभिव्यक्ति दिने, विज्ञता दर्शाउनेले पनि हाम्रो सामाजिक परिस्थिति, स्वास्थ्यसम्बन्धी साक्षरता तथा अन्य समुदायको मूल्य मान्यतालाई ध्यानमा राखेर बोल्नुपर्छ । 

अहिले हामी सबै ‘माइक्रोवेभ’ समाजमा छाैँ । सबैलाई आफ्नो इच्छा आकांक्षा तत्काल पूर्ति हुनुपर्छ भन्ने लाग्छ । अनि त्यस ख्यातिका लागि अदूरदर्शी होडबाजी चलिरहेको छ । त्यसले पनि विमर्शपछि समाजमा सही सूचना पुग्नुको साटो अन्योल सिर्जना गरिदिन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  ०७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC