site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 सरकार ! भोकै नमार !

कोरोना नियन्त्रणका लागि देश बन्दाबन्दीमा छ । संक्रमितहरूको ग्राफ दिनहुँ उकालो लागिरहेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दो छ । संक्रमण कहिलेसम्म नियन्त्रणमा आउला भन्‍ने केही ठेगान छैन । सार्वजिनक यातायातका साधनमा खिया लागिसके । दैनिक ज्याला मजदुरी गर्नेहरू घरको भाडा तिर्न नसकेर सडकमा पुगेका छन् । प्रहरीले तिनलाई सडकमा पनि बस्‍न दिँदैन । भोकले मानिसहरूको धैर्यको बाँध टुट्‌न थालिसक्यो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन जारी हुनुअघिका प्रायः सम्बोधनमा भनेका थिए, "म नेपालको प्रधानमन्त्री रहुन्जेल कोही पनि नेपाली भोकै मर्दैनन् । कोही नेपालीले त्यस्तो समस्या भोग्‍नुपरेको छ भने तत्काल सरकारलाई सूचना दिनूस् ।"  

देशको प्रधानमन्त्री ओली नै रहेका बेला कीर्तिपुरको सडकमा हातमा भारी बोक्‍ने डोरीसहित सूर्यबहादुर तामाङको शव फेला पर्‍यो । चार दिनसम्म पनि चुलो नबलेपछि पाँचौं दिन थेग्‍न नसकिने बुझेर खानाको खोजीमा निस्किएका सप्तरीका मलर सदा कहिल्यै नउठ्ने गरी ढले । छ दिनदेखि भोकै रहेका धनुषाका विरेन्द्र यादवले सीमानाकामा अन्तिम सास फेरे । के यो सूचना प्रधानमन्त्री ओलीले पाएका छैनन्  ? यसरी दिनहुँ भोकले कहिल्यै नउठ्ने गरी ढलेकासँगै सरकारप्रतिको जनताको विश्वास पनि ढलिरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कुनै समय सर्वहारा वर्गको उत्थान र गरिब जनताको भोक मेटाउने नारा लगाएर कुर्लिएको थलो रत्‍नपार्कमा अहिले भोकाएकाहरु  जम्मा हुनेगरेका छन् । त्यो बेला सर्वहाराका लागि भाषण गर्नेहरू अहिले सत्तामा छन् भने थपडी बजाउनेहरू ितनका कृपापात्र भएका छन् । तर, हिजो ती भाषणभन्दा पनि भोक मेटाउन पसिना चुहाउनेहरु अहिले रत्‍नपार्कमा भोकले जम्मा भइरहेका छन् । एक छाक खानाको लागि दैनिक सात सय जनाको हाराहारीमा असहाय र दैनिक ज्याला मजदुरी गर्नेहरु रत्‍नपार्कमा लाम लागिरहेका छन् । 

उनीहरुको भोक मेटाउन केही युवाको एउटा समूह 'हाम्रो टिम नेपाल' खटिएको छ । तर, सरकारले भने ती भोकाएकाहरुलाई नै गिज्याउने गरी  सर्प पालनका लागि 'झलनाथ खनाल प्रतिष्ठान' लाई ७२ करोड दिएको समाचार प्रकाशमा आयो ।  प्राथमिकता अहिले सर्प पालन हो कि मानिसको ज्यान जोगाउने भन्‍ने प्रश्‍न उठेको छ । यही बीचमा कर असुली गर्न बन्दाबन्दी अन्त्य भएको घोषणा गर्‍यो र फेरि निषेधाज्ञाकै बीचमा राष्ट्र बैंकले राजस्व संकलन गर्ने सम्पूर्ण बैंक शाखा खोल्‍न निर्देशन दियो । 

Global Ime bank

मानिसहरूले एक छाक खान पाएका छैनन् । वर्षातको बेला टाउको लुकाउने ओत पाएका छैनन् । अनि राजस्व के गरी कसले कसरी बुझाउने ? जनताप्रति उत्तरदायी भनिएको सरकारले यस विषयमा थोरै भए पनि संकोच मान्‍नुपर्ने । जनतालाई महामारीमा सहायता प्याकेज ल्याउने आशा गरिएका प्रधानमन्त्रीका सम्बोधनमा उधारा गफबाहेक केही हुँदैनन् । 

कोरोना महामारी सुरु भएपछि भारतकी चर्चित लेखिका अरुन्धती रोयले लेखेकी थिइन् - "यो संकट आफैँमा नयाँ दुनियाँमा प्रवेश गर्ने द्वार बन्न सक्छ ।" उनले भनेजस्तै साँच्चै यो समय नयाँ रूपान्तरणका लागि मार्ग बन्‍न सक्थो । स्वास्थ्य संस्था स्थापना गर्ने विषयमा, चिकित्सकको सुरक्षाका विषयमा, दैनिक ज्यालादारी गर्ने मजदुर, किसान र गरिबहरुको विषयमा । तर, समयलाई सदुपयोग नगर्दा उनले पछि भनेजस्तै नेपाललाई ‘नर्मल’ अवस्थामा फर्किन पनि त्रासदीपूर्ण बन्ने अवस्था सिर्जना भएको छ । 

दलाल पुँजीवादले देश सिध्यायो भन्दै सरकारको विरोध गरेपछि 'उपहार'मा पाएको कृषिमन्त्रालय सम्हाल्दै आएका घनश्याम भुसालले संसद्मा उभिएर भनेका थिए, "कृषिका बारे प्रष्ट हौँ हामी सबै । यो नेपाली जातले अघाउन्जी खानेछ । तीन छाक खानेछ । बच्चाबच्चीले त पाँच छाक खानेछन् । फलफूल खानेछन् । दुध खानेछन् । मासु खानेछन् । मज्जाले सुत्‍नेछन् । भोकले उठ्ने छैनन् । निद्राले उठ्नेछन् छोराछोरीहरु ।" 

उनले यसो भनिरहँदा भोकले सुत्‍न नपाएकाहरु दिनहुँ बढ्दै गएका छन् भने भोकले सधैंका लागि सुत्‍नेहरु पनि बढ्दै जान थालेका छन् । मंगलबार दिउँसो झमझम पानी परिरहेको थियो । एक पेट पाल्‍न समस्या भएकाहरुलाई पानीको पर्वाह थिएन । भोको पेटले सायद भिजेको महसुस गरेन होला । भिज्दै भए पनि उनीहरु खाना खाने लाममा बसिरहेका थिए रत्‍नपार्कमा । उनीहरुको खाना जोहो गर्न सरकारले अहिलेसम्म कुनै ठोस योजना ल्याएको छैन । 

नौ महिनाअघि सुरु भएको कोरोना संक्रमणले विश्‍वमा पुगनपुग नौ लाख जति मानिसको मृत्यु भइसकेको छ । नेपालमा पनि बन्दाबन्दी र निषेधाज्ञाको पाँच महिना बितिसक्यो । संक्रमण दर बढ्दो छ । अझै कर्फ्यु लगाउने विषयमा छलफल भइरहेको छ । सरकारले यस पाँच महिनाको अवधिमा के गर्‍यो र त्यो कति प्रभावकारी भयो भन्‍ने विषयमा समीक्षा गर्न आवश्यक छ । अझै सरकारले मानिसहरुलाई काम गर्न नदिने हो भने रोगले भन्दा पनि भोकले मर्नेको संख्या निकै बढ्नेछ ।

सन् २०१५ मा पहिलो पटक प्रधानमन्त्री बन्दा प्रधानमन्त्री केपी ओलीको एक महिनाको खाना र मनोरञ्‍जन खर्च १२ लाख भएको तथ्यांक सार्वजनिक गरिएको थियो । मितव्ययी बन्‍छु भन्‍ने प्रधानमन्त्रीले एक महिनामा १२ लाख रुपैयाँको खाना र चिया खर्च गर्छन् । तर, जनता एक छाक १०० रुपैयाँको खाना खानसक्ने हैसियतमा नहुँदा पनि उनले बेवास्ता गरेको देखिन्छ । 

संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रमले जुलाईमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा भोकमरीबाट दैनिक १२ हजार मानिसको मृत्यु हुने आंकलन गरिएको थियो । यो प्रतिवेदन सार्वजनिक हुँदा विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेमो संख्या दैनिक संख्या १० हजारको हाराहारीमा थियो । हाल विश्वभर दैनिक कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार रहेको छ । तर, कोरोना संक्रमणबाट भन्दा पनि भोकले मृत्यु हुनेको संख्या दोब्बरभन्दा बढी हुने छ । 

नेपालले सन् २०३० सम्म भोकमरी अन्त्य गर्ने लक्ष्य लिएको छ । तर, कोभिड-१९ सुरु हुनुअघि सम्म पनि नेपालमा ८ प्रतिशत अर्थात करिब २४ लाख मानिसहरुले पोषणयुक्त खाना पाएका छैनन् । त्यसैगरी करिब ३६ प्रतिशत बालबालिकाले पर्याप्त भोजन पाएका छैनन् भने १८ प्रतिशत महिलाहरुले पोसिलो खाना पाएका छैनन् । यो दर कोभिड-१९ पछि निकै बढ्नसक्छ । 

नेपालको संविधानको धारा ३६ मा खाद्य सम्बन्धी हकको व्यवस्था गरिएको छ । त्यसमा लेखिएको छ,"(१) प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक हुनेछ । (२) प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने  अवस्थाबाट सुरक्षित हुने हक हुनेछ । (३) प्रत्येक नागरिकलाई कानुन बमोजिम खाद्य सम्प्रभुताको हक हुनेछ ।" 

परिश्रम गरेर हात मुख जोर्नेहरुलाई भने पसिना बगाउनसमेत नपाउँदा संविधानको यी धाराले कहाँ छोएको छ भनेर सरकारलाई अहिले जनताले प्रश्‍न गरिरहेका छन् । कोरोना भाइरसको महामारी सधैँ नरहला तर, यस महामारीले पारेका डोबहरु समयमै पुर्न सकिएन भने ती  ठूला खाडल बन्‍नसक्छन् । थिति बदल्‍ने राजनीतिको नाममा सत्ताको धुरी चढेकाहरुको ठाँटबाँट, संविधानको धारामा भोको नराख्‍ने र भाषणमा भोकमरी अन्त्य भएको घोषणामा कहीँ पनि सामञ्‍जस्य पाइँदैन । समानताका लागि लडेकाहरूले नै सिर्जना गरेको यो असमाञ्‍जस्यलाई तत्काल सम्बोधन गर्नुपर्छ । तीन तहमा सरकार हुँदा पनि नागरिक भोकले मर्छन् भने त्यो जति कहालीलाग्दो अवस्था अरू के हुन सक्छ ? 

त्यसकारण अब कोही पनि भोकले मर्न नदिन सरकार गम्भीर हुनुपर्छ । मानिसहरुलाई घरभित्रै थुन्‍ने मात्र महामारी नियन्त्रण हुँदैन भन्‍ने पाँच महिनाको बन्दाबन्दीले देखाइसकेको छ । स्वास्थ्य मापदण्ड पालना गरेर गरिखानेहरूलाई काम गर्नबाट रोक्‍नु हुँदैन । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC