site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राज्यविहीनहरुको समाजवाद

बुद्धले एउटा प्रश्न गर्दै भनेका छन्—“तिमी अँध्यारोमा डुबिरहेका छौ भने उज्यालोको खोजी किन गर्दैनौ ?” यस प्रश्नले व्यक्ति विशेषलाई जत्तिकै विश्वभरका कमजोर, शोषित, उत्पीडित, निमुखा र राज्यविहीन मानिसलाई पनि जाकरूक हुन झकझक्याउँछ । बुद्ध द्वन्द्वात्मक भौतिकवादी अर्थात् वैज्ञानिक तथ्यवादी थिए । उनी चमत्कार, ईश्वरीय शक्ति, अदृश्य शक्तिआदिमा पटक्कै विश्वास राख्दैन थिए । बुद्धको शिक्षा मनन गर्नेबित्तिकै कार्ल माक्र्सको समाजवाद वैज्ञानिक देखिँदैन, हुनै सक्दैन । यसै पनि माक्र्स पहिलो नास्तिक र भौतिकवादी थिएनन् । बुद्धले पच्चीस सय वर्षभन्दा अघि नै भौतिकवादी दर्शन, शिक्षा र ज्ञान बाँडेका थिए । 

द्वन्द्वात्मक भौतिकवाद भने प्रामाणिक विज्ञान हो । अर्थात्, यसले कुनै आधारहीन, तथ्यहीन र मिथ्या परिकल्पनामा होइन विज्ञानद्वारा प्रमाणित विषयमा मात्रै विश्वास गर्छ । विडम्बना, माक्र्सवादीहरु यही कुरा मिलाएर भन्न जान्दैनन् र फेल खान्छन्/खाइरहेका छन् । उसो त माक्र्सले समाजवादलाई वैज्ञानिक कहीँ पनि कहिल्यै भनेनन् । बरु उनका सहकर्मी फ्रेडरिक एङ्गेल्सले —यति भइसकेपछि ‘माक्र्र्र्सवाद’ लाई वैज्ञानिक भन्दा फरक नपर्ने कुरा कहीँ कतै आफ्नो मन्तव्यको क्रममा बोलेकै भरमा भ्रमवादीहरुले ‘वैज्ञानिक समाजवाद’ भन्न थाले । जो अत्यन्तै गलत र भ्रमको खेतीबाहेक अन्य केही होइन ।

माक्र्सको ‘राजनीतिक समाजवाद या साम्यवाद’ उनका पुस्तक र विश्वविद्यालयका कक्षाकोठा तथा पुस्तकालयहरुमा बाहेक विश्वमा अज्यत्र कतै लागु भएन । माक्र्सका आर्थिक समाजवादी सिद्धान्त भने सान्दर्भिक छन् । माक्र्स जन्मिनुभन्दा अघि नै समाजवाद शब्द अस्तित्वमा थियो । स्मरण रहोस्, हाम्रो संविधान २०७२ मा लेखिएको समाजवाद लोकतान्त्रिक समाजवाद हो, माक्र्सीय (कथित वैज्ञानिक) समाजवाद होइन ।

Prabhu Bank
Agni Group
NIC Asia

माक्र्सले भनेका छन्— ‘पुँजीवादले आफू पुरिने खाडल आफैँ खन्छ र समाजवादी क्रान्ति हाम्रै पालामा सम्पन्न हुन्छ ।’ तर, यी दुवै कथन दुई शताब्दी बितिसक्दा पनि चरितार्थ भएनन् । माक्र्सले भनेका थिए — ‘समाजवादी क्रान्ति सम्पन्न भएपछि राज्यविहीन, वर्गविहीन, स्वार्थ र परिवारविहीन समेत अवस्था आउँछ र त्यो साम्यवादको मूर्त रुप हो ।’ तथापि उनको त्यो सुन्दर सपना कहिल्यै विपनामा बदलिएन । अब वर्गविहीन समाजसमेत सम्भव देखिँदैन भने राज्यविहीन अवस्था आउला भनी विश्वास कसरी गर्नू ?  ठट्टा त यसरी पनि गर्न सकिएला — साम्यवादमा राज्यविहीन अवस्था आउने भविष्यवाणी माक्र्सले गरेकै हुन् । ती तमाम राज्यविहीनहरु पो साम्यवादी भए कि ! यो गज्जबको ठट्टा बन्न सक्ला तथापि राज्यविहीनहरुको समाजवादी सपना कथित कम्युनिस्ट या वामपन्थी या समाजवादी राजनीतिका नाउँमा चलाइएको ठगी धन्दामात्रै हो । आजको कम्युनिस्ट सत्ता या लोकतान्त्रिक राज्यका नाउँमा लाखौं जनता राज्यविहीन अवस्थामा पु¥याइएका छन् जो राष्ट्रका असली निर्माणकर्ता एवं मालिक हुन् ।

राज्यविहीनहरुको बुझाइ

Global Ime bank

नेपालको सन्दर्भमा राज्यविहीनहरुको बुझाइमा हालको राज्यको चरित्र कस्तो हो ? पहिले त्यसको निक्र्योल गर्नुपर्छ । राज्यविहीनहरु पनि दुई खालका छन् । एक —नागरिकता या राष्ट्रिय परिचयविहीन र दुई— नागरिकता या राष्ट्रिय परिचयपत्रसहित । पहिलो, राज्यले नागरिकता या कुनै राष्ट्रियता खुल्ने परिचयपत्र नदिएको समूह हो । यस समूहमा उत्पीडित जाति, समुदायको बाहुल्य रहे पनि सबै समुदाय, क्षेत्र, जातजाति, भाषिक र लैंगिक समूह पर्छन् । सयौं वर्ष या पुस्तौंदेखि नेपालको सरहदभित्र बसोवास गरेका तर हालसम्म कुनै स्थायी परिचयपत्र नभएका, भूमिहीन, नागरिकताविहीन र भोटको अधिकार नपाएका ठूलो जनसंख्या छ । विशेषगरी मधेसमा यस प्रकारका राज्यविहीनहरु ठूलो संख्यामा छन् । पहाडी भेगमा केही कम भए पनि समस्या त छ । तिनलाई राज्यले एउटा नागरिकताको प्रमाणपत्र दिन सकेको छैन । तथापि यो समूह समाजवादको सपनामा भने उद्वेलित हुने गर्छ । सामन्ती राज्यसत्तामाथि हाँक दिँदै आएको यो समूह या समुदाय आफू भने सधैँ अनागरिक नै रहिरह्यो र अझै छ ।

दोस्रो, राज्यले नागरिकताको प्रमाणपत्र त उसको हातमा थमाइदिएको छ तर कुनै अधिकार प्राप्त गर्न सकेको छैन । संविधानमा उसका अधिकारबारे के के लेखिएका छन् ? परिवर्तनमा उसको भूमिकाको के महत्त्व थियो र छ ? ऊ नागरिक हुनुको अर्थ एउटो कागजको खोस्टो नागरिकता प्राप्त गर्नुमात्रै हो कि अन्य पनि केही छ ? त्यो सवालको जबाफ उसँग थिएन र अझै छैन । अझ भन्नु पर्दा यी प्रश्नहरु सोध्ने आँट र ज्ञानसमेत छैन उनीहरुसँग । 

नागरिकता प्राप्त गरेबापत उनीहरुले दुईटा कुरा भने पाए ।

पहिलो, चुनावका बेला भोट हाल्न पाए । बेलाबेलामा भोट माग्न राजनीतिक नेता, कार्यकर्ता उनीहरुको ढोकामा आउने गर्छन् । मासु भात, रक्सी, चिउरा आदि खान दिन्छन् र भोट हाल्न आग्रह गर्छन् अनि जान्छन् । राजनीतिकर्मीहरु सधैँ भोट माग्न आउँछन् र उनीहरु त्यसैगरी चुनावमा भोट हाल्ने गर्छन् । को, किन, कसरी र केका लागि भोट माग्न आउँछन् र निर्वार्चित हुन्छन् ? आफ्नो अमूल्य मतबाट निर्वाचित हुने जनप्रतिनिधिको काम, कर्तव्य र दायित्व के हो ? केही वर्षपछि उसै गरी मानिसहरु भोट माग्न फेरि पनि आइरहन्छन् । यी सबै किन हुन्छ ? किन भइरहेको छ ? उनीहरु जान्दैनन् । उनीहरु गरिब, निमुखा, दुःखी र कमजोर किन भए र अझै किन छन् ? त्यसको दोष उनीहरु राजनीतिक प्रणाली या आफ्नो प्रतिनिधिलाई होइन आफ्नो भाग्यलाई दिन्छन् — पूर्व जन्मको पापले, अझ कर्मै अभागी लिएर जन्मिएकाले यो सब भएका हुन् । भन्ने गर्छन् — कर्मै खोटी लिएर जन्मिएपछि कसको के लाग्छ र ? यस्तो समुदायका व्यक्तिसँग नागरिकताको प्रमाणपत्र भएर पनि के अर्थ ?

दोस्रो, उनीहरु रोजगारीका लागि विदेश जान पाएका छन् । नागरिकताको प्रमाणपत्र भएपछि राहदानी बनाउन पाइन्छ र राहदानी भएकाहरु ऋण काढेर भए पनि रोजगारीका लागि विदेश जान पाउँछन् । विडम्बना, विदेशी भूमिमा श्रम बेच्न बाध्य हुनु पनि ठूलो पुण्य साबित भएको छ । त्यही वैदेशिक रोजगारीबाट उसको घर चलेको छ र राज्य पनि । थाहैै छ, रेमिट्यान्सकै कारण हाम्रो राज्य चल्न ठूलो टेवा पुगेको छ । त्यतिमात्रै कहाँ हो र, निजी स्कूल (बोर्डिङ), निजी अस्पताल आदि धान्ने मुख्य स्रोत पनि यही नै हो । नागरिकता नभएकाहरु यिनै दुई मुख्य अधिकारबाट वञ्चित हुने गर्छन् । यस बाहेक नागरिकता हुनु र नहुनुमा अन्य खास फरक छैन ।

राज्यको चरित्र कस्तो ?

वि.सं. २००६ सालमा पुष्पलाल र साथीहरुले नेपाल कम्युनिस्ट पार्टी स्थापना गरे । त्यो बेलाको नेपाललाई उनीहरुले अर्धसामन्ती, अर्धऔपनिवेशिक मुलुकको रुपमा परिभाषित गरे । राणाहरुको कू्रर जहानियाँ शासन, राजतन्त्र र नेपाली समाज नै सामन्ती मानसिकताबाट ग्रसित थियो त्यति बेला । अर्काेतर्फ दक्षिणी छिमेकी मुलुक भारतको प्रत्यक्ष÷परोक्ष हस्तक्षेप र र दादागिरी चल्थ्यो । र, हाम्रो सामन्ती राज्यसत्ताको मूल आधार भारतीय आड नै थियो । त्यसैले त्यो बेलाको नेपाल अर्धऔपनिवेशिक भन्नु जायज नै थियो । अहिले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुवै दलले करिब एउटै राजनीतिक  निष्कर्ष निकाले — नेपाल अब अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेन । नेपालको चरित्र अब अर्धपुँजीवादी अवस्थामा प्रवेश गरेको छ । माक्र्सले भनेकै छन् —सामन्तवादको अन्त्यपछि पुँजीवाद आउने र पुँजीवादको उत्कर्षपछि मात्रै समाजवादको यात्रा तय हुनेछ ।
 
समाजवाद प्राप्तिपछि राज्यविहीन, वर्गविहीन, शासक र शासितको जरुरी नहुने र वर्ग संघर्षको अन्त्य हुने परिकल्पना उनले गरेका छन् । माक्र्स यहीँनिर असफल देखिन्छन् । यो उनको परिकल्पनामात्रै थियो । किनभने, शासक वर्गविरुद्ध अन्य शोषित या माक्र्सको भाषामा मजदूर वर्ग संघर्षमा होमिएपछि मजदुर वर्गले आफ्नो सत्ता स्थापना गरे भन्ने होइन । त्यहाँ वर्ग संघर्षको अन्त्य हुने नभई सत्ता लुटिएको पुरानो शासक वर्ग शासितमा त फेरिन्छ तर चुप लागेर बस्दैन । नयाँ सत्ताविरुद्ध संघर्षको सृजना गर्नु उसको बाध्यता बन्न पुग्छ । यसरी पुनः नयाँ वर्ग संघर्षको थालनी हुन पुग्छ । त्यसैले वर्ग संघर्षको क्रम जारी नै रहन्छ । फेरि माक्र्सले नै सबैलाई संघर्षको हक प्रदान गरेका छन् । त्यसैले माक्र्सको वर्ग संघर्षको सिद्धान्त नै गलत प्रमाणित भइसकेको छ ।  अर्थात्, साम्यवाद सपनामात्रै रहेको सत्य माक्र्सवादीहरुले बुझ्नुपर्छ ।

राज्यविहीन वर्ग समुदायले आजको राज्यसत्ताको मूल चरित्र कस्तो हो भनी ठम्याउँदै धारणा स्पष्ट गर्न जरुरी हुन्छ । माक्र्सले दार्शनिक ढंगले निष्कर्ष निकालेका छन् — ‘मानिसले आफ्नो भाग्य आफैँ निर्माण गर्छ, तर ऊ उभिएको धरातलमा टेकेर ।’ त्यसैले जातीय विभेद नभोगेका, सुविधा सम्पन्न, सत्ता र शक्तिको भरपूर उपयोग गरिरहेका  नेकपाका नेताहरुले परिभाषित गरेजस्तो मुलुक र जनताको अवस्था पक्कै पनि छैन । अर्थात् नेकपा नेता घनश्याम भुसाल, राम कार्की या केपी ओली र पुष्पकमल दाहाल आदिले देखेको नेपाल र नेपाली जनताको चरित्र र यथार्थमा व्यापक भिन्नता छन् । उनीहरु र राज्यविहीनहरुको धरातल फरक छ । त्यसैले राज्यविहीन समुदायको राजनीतिक धारणा उनीहरु आफैँले निर्धारण गर्नु अपरिहार्य हुन्छ । शासक वर्ग र राज्यविहीनहरुबीचको समाजवाद सपना अवश्य फरक छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC