काठमाडौं । कलाकारहरुले सांगीतिक क्षेत्रलाई ‘नडुबाउन’ आग्रह गरेका छन् । गीत-संगीतका नाममा विकृति फैलिएको भन्दै कलाकारहरुले गायनमा सुर र तालको हेक्का हुने पर्नेमा जोड दिएका छन् ।
गायक तथा संगीतकारहरु भक्तराज आचार्य, हेमन्त शर्मा, कालीप्रसाद बास्कोटा र हरि लम्सालले दीर्घकालीन रुपमा गीत-संगीतमा लाग्नलाई साधना गनुपर्नेमा जोड दिएका छन् ।
गायक तथा संगीतकार भक्तराज आचार्य संगीतलाई डुबाउन होइन यसमा डुब्न आउनुपर्ने बताउँछन् । उनी गीत-संगीतमा आउनेलाई सुर ज्ञान हुनुपर्ने, शब्द उच्चारण राम्रो हुनुपर्नेमा जोड दिन्छन् । सुर, ताल र शब्द उच्चारण राम्रो नहुने व्यक्तिले गीत-संगीतलाई डुबाउने उनी बताउँछन् ।
भक्तराज आफूलाई भेट्न आउने अहिलेको पुस्तालाई पनि संगीतको ज्ञान लिएर मात्रै गायन तथा संगीतमा प्रवेश गर्न सुझाव दिन्छन् । उनी आज गाएर भोलि बिर्सिनेभन्दा पनि कालजयी गीत गाउन सुझाउँछन् ।
सांगीतिक क्षेत्रमा लाग्ने व्यक्तिलाई सुर र तालसँगै आफ्नो परिवेशको पनि जानकारी हुनुपर्ने गायक हेमन्त शर्मा बताउँछन् । “संगीत सिक्ने असंख्य तरिका हुन्छन् । गुरु चेला परम्परा, मास लर्निङ, अनलाइन लर्निङ, प्राकृतिक सिकाइ हुनसक्छ । जसले जे गर्दै छ त्यसबारे जानेर काम गर्दा त्यो दिगो हुन्छ,” हेमन्त भन्छन्, “यसो गरियो भने न कलाकार डुब्छ न कला क्षेत्र नै डुब्छ ।”
स्रोता जस्तो गीत सुनिरहेका छन् त्यसमै बानी पर्ने उनको भनाइ छ । “स्रोताको कान भनेको बानी हो । जे सुन्दै गयो त्यसमै बानी पर्ने हो । यदि हामीले सुर, बेसुर, ताल, बेतालका, शब्द प्रदान अथवा शब्द प्रदान नभएका वा श्लील र अश्लील जे गाउँदै गयो स्रोताको कान त्यसमै बानी पर्दै जान्छ,” उनी भन्छन्, “आउँदो पुस्ताले त्यसैलाई मानक बनाउन सक्छ । त्यसैले संस्कृति पनि बचाउने र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली गीत भनेर सुनाउँनु पर्दा पनि इज्जत हुने गीत हुनुपर्छ ।”
सुर र तालबाहेक नेपाली साहित्य, संस्कृति, संस्कार, नेपाली विनम्रपन तथा सहजताको पनि पर्याप्त ज्ञान हुनुपर्नेमा गायक हेमन्तको जोड छ ।
“एकछिन त घर बालेर ताप्दा पनि न्यानो हुन्छ । तर केही घण्टापछि ओत लाग्ने ठाउँ पनि हुन्न भन्ने तथ्यलाई भुल्नु हुँदैन,” उनी भन्छन् । गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा कला देखाउनेभन्दा पनि आत्मसात् गर्ने विषय भएको बताउँछन् । कलालाई आत्मसात गरेर त्यसमा रमाउन सक्यो भने स्वतः योगदान पुग्ने बताउँछन् ।
“कला भएको व्यक्तिले आफ्नो कामबाट आनन्द लिने हो,” कालीप्रसाद भन्छन्, “कलाको प्रयोग गरेर पपुलर हुने र सेलिब्रिटी हुने सपना देख्नु हुँदैन ।” ठूलो महत्त्वाकांक्षा पालेर गायन वा कलाको क्षेत्रमा लागेर यो वा त्यो गर्न सकिनँ भन्ने कुण्ठा पालेर बस्दा कलामा डुब्न नसकिने उनको भनाइ छ ।
“म आफैं पनि गीत-संगीतमा लाग्दा अर्को काम गर्थें । यो क्षेत्रबाट ठूलो अपेक्षा थिएन, तर पनि गीत-संगीतमा रमाएर काम गरिरहेको थिएँ,” उनी भन्छन्, “देखेको सपना पूरा हुनु/नहुनु आफ्नो ठाउँमा छ तर त्यसबाट आउने आनन्द छुट्टै हुन्छ ।”
“कतिपय ठाउँमा कलाकारभन्दा पनि सेलिब्रिटी बढी भएको पनि देखिन्छ । जब दर्शक स्रोताले स्वीकार्छन्, फेस बिक्छ त्यसपछि ऊ कलाकारभन्दा पनि सेलिब्रिटी भएको देखिन्छ, “कालीप्रसाद भन्छन्, “वास्तवमा यो राम्रो होइन । कलाकार हुनलाई सेलिब्रिटी हुनु जरुरी छैन । इमानदारीपूर्वक लाग्यो भने कलाकारितामा दिनुपर्ने योगदान पनि दिन सकिन्छ र त्यसबाट आफूले पाउने आनन्द पनि लिन सकिन्छ ।”
संगीतकार हरि लम्साल गीत-संगीत बाहिरबाट देखेजस्तो सामान्य विषय नभएको बताउँछन् । गीत-संगीत कठोर अनुशासन, निरन्तरता, साधना, धैर्य र संस्कार भएको भन्दै यसका लागि इमानदारी आवश्यक भएको उनको भनाइ छ ।
“संगीत भनेको धर्यता, साधना र संस्कार हो । यदि यसमा डुब्न सकियो भने देशको कला, साहित्यदेखि संस्कृति सम्मलाई उजागर गर्न र चिनाउन सकिन्छ,” संगीतकार हरि भन्छन्, “तर गाउने रहर लाग्यो र गाएर त्यसलाई भाइरल बनाउने चलन छ । जसमा साधना र संस्कार छैन उसले यसो गरिरहेको छ ।” यो प्रवृत्तिले समग्रमा समाज र देशलाई असर गरिरहेको उनी बताउँछन् । संगीतलाई सोच्ने र मनन् गर्ने कुरा नै सस्तो भएर जाने भन्दै उनी संगीत साधना भएको बताउँछन् ।
“आज १० घण्टा साधना गरेको छ तर भोलि गरेन भने पर्सि त्यो बिर्सिसकिन्छ,” उनी भन्छन्, “ऋषिमुनीहरुले वर्षौं लामो गरेको तपस्या जस्तै हो संगीत भन्ने भुल्नु हुँदैन ।”