site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अवैध
Sarbottam CementSarbottam Cement

वसन्त आचार्य


खोलाले थोरै धार फेरेको छ । किनारमा टाँगिएका पालले पनि धार फेर्न लागेका छन् । वर्षात्को मौसम आकाशको दादागिरीलाई कुन प्रहरीले पो नियन्त्रण गर्न सक्छ र ? केही समय आकाशले दादागिरी गर्नेबित्तिकै फेरि खोलाले गर्न थाल्छ । त्यही खोलालाई आधार बनाएर बनेका केही थान पालका घरहरूलाई खोलासँगै जोगाउनु जो छ । 

“यो ठाउँमा बस्न्या होइन,” मुखिया वीरबहादुरले प्रजाहरूलाई आदेश दिए । एकतमासले खोला र आकाश प्रतिस्पर्धा गरेर दौडिरहेका छन् । त्योभन्दा पनि वेगले चन्द्रकलीको मन दौडिएको छ । राउटेका लागि बस्नको के चिन्ता, जहाँ गयो त्यहीँ घर । मन लाग्दा बस्यो, नलाग्दा पाल बोक्यो, हिँड्यो । कुनै मालपोत कार्यालयमा जानुपर्दैन उनीहरूलाई जग्गा लिन अनि खोज्नुपर्दैन, नक्सा पास गर्ने इन्जिनियर पनि । . . .

Prabhu Bank
Agni Group
NIC Asia

तर चन्द्रकलीलाई भने भगवान्ले इन्जिनियरिङ गरेर बनाएका थिए क्यार, बिछट्टै राम्री । गाउँ हिँड्दा पनि उसलाई केटाहरू फर्कीफर्की हेर्थे । ननुहाएको अनुहार, कहिल्यै तेल र काइँयो नभेटेको कपाल, साबुन नभेटेका लुगा र चप्पल नभेटेका खुट्टाका बीचमा पनि उसको सौन्दर्य धपक्क बलेको थियो । 

“अरू जातिमा जन्मेकी भए विश्वसुन्दरी हुन्थी होला,” गुराँसे बजारका केटाहरू उसको सुन्दरताको बखान गर्थे । लोभिन्थे । तर थुक निल्दैनथे, थुकिहाल्थे ।

Global Ime bank

बिहानैदेखि पारिलो घाम लागेको छ । चन्द्रकली एक बाटा लुगा बोकेर खोला ओर्लेकी छे । पुरूषहरू बाँदर मार्न जङ्गल गएका छन्, महिलाहरू अन्न र तरकारी माग्न गाउँ पसेका छन् । चन्द्रकली एक्लै खोला ओर्लेको देखेपछि पूर्णबहादुर बाँदर मार्न तयार पारेको लठ्ठी घर (पाल)मै राखेर कसैले थाहा नपाउने गरी खोलामा ओर्लियो । उमेरले ठ्याक्क नापेर बनाए जस्ता उनीहरू हेर्दा पनि उस्तै छन् । लुगा धुन मात्रै के आँटेकी थिई, पछाडिबाट गएर आँखा बेस्मारी बाँधिदियो । उसको आँखा नै बन्द गर्ने यो संसारको एउटै मात्र पुरूष हात पूर्णबहादुरको नै त थियो । उसले चिनिहाली । 

“क्या यस्तो गर्या देखे भने,” चन्द्रकली अलिकति हच्किई, “मया त लुकाउँदा नाम्रो हुन्छ ।”

आँखा बन्द गर्दा पनि जसको अनुहार आँखामा आउँछ, त्योबाहेक को हुन सक्छ र आँखा बन्द गर्ने हिम्मत भएको मान्छे । 

“आज मस्तै गुलियो भाछौ त,” पूर्णबहादुरलाई कसले सिकायो होला यति मीठो प्रशंसा गर्न । राम्रो भनेको सुनेपछि चन्द्रकलीको अनुहार झनै रातो भयो । उसले हातमा अटाउने जति पानी अनुहारमा छ्यापिदिई, “मुखाँ पानीले सफा भएसि तमी पनि नाम्रा छौ ।” चन्द्रकलाले प्रेमको आँखाले हेर्थी । “पछि मो मुख्या हुन्छु, तिमी मुख्खेनी हुने हो,” मीठा सपनाका टुक्राटाक्री पनि खसाउँथ्यो बेलाबेलामा ।

“मुख्खेनी भए पनि पालैमा बस्ने हो,” चन्द्रकली जिस्काउँथी ।
 
“राउट्या सन्तान भएपछि पालमा बस्ने हो । तर राजा भएर बस्ने हो,” पूर्णबहादुरले यति भनी नसक्दै चन्द्रकलीको गालामा म्वाइ खायो । 

“कहाँबाट सिक्यो यस्तो,” आधा रिस र आधा माया घोलेर ऊ बोली । 

“अस्ति बजार गयाँको होटलेको टिभीमा देख्याथ्यो,” मनमा आएको कुरालाई नबनाएर उसले जवाफ दियो । 

“मलाई पनि त्यो टिभी देखाए मैले के गर्ने भन्ने था पाउँथें,” चन्द्रकलीले सोझै तरिकाले भनी । 

“मोलाई थाछ मोइले जे गरे त्यै गर्ने हो ।” 

दुवै लजाए । 

चन्द्रकली र पूर्णबहादुरसँग अनेक सपना छन् । उनीहरूका जति सपना छन्, सबै एकअर्कासँग जोडिएका छन् । हुन त राउटे जातिमा सपनाको उचाइ नै कति हुन्छ र ? जिन्दगीको बाटो एकअर्काको बैसाखी भएर काट्ने एउटै सपना छ, उनीहरूको । तर निरूपाय छन् उनीहरू । 

उनीहरूका सबै साथीको बिहे भइसकेको छ । कतिका त छोराछोरी पनि । बिहेपछिका दिन उनीहरूले सुनाउँदा दुवैलाई बिहे गरौं गरौं हुन्छ । “मेरो खोरामा काँ लेख्या छ र जन्ती जाने,” चन्द्रकली साथीहरूसँग गुनासो गर्थी । तर त्यसको सुनुवाइ गर्ने निकायसम्म पुग्न भने उसले कहिल्यै पनि सकिनँ । 

राउटे जातिमा बिहे गर्न नै के गाह्रो छ र ? आफूले मन परायो, परिवारका मान्छेलाई भन्यो, परिवारले अर्को परिवारलाई भन्छ । यताउताबाट मागेर मीठोमसिनो पकाएर खायो अनि बिहे सकियो । अर्को दिन बस्तीमा नयाँ पाल थपिन्छ । 

चन्द्रकलीलाई नयाँ पालमा बस्न धेरै मन लाग्छ । नयाँ पालमा नयाँ जिन्दगीको सुरूवात गर्ने ऊभित्र निकै हुटहुटी छ । उनीहरू दुईका बीचमा भने यति धेरै सजिलो छैन, बिहे गर्नलाई । हुन्थ्यो त २५ को डिलसम्म पुग्दा पनि किन त्यसै बस्थे र ? सजिलो मात्रै होइन, सम्भव नै छैन । उनीहरूलाई राम्रोसँग थाहा छ यो कुरा । तर पनि पिरतीको डोरी फन्किरहेको छ । माया गर्दा कानुन र परम्पराका ठेली मले कहाँ पल्टाउँछ र ? 

“ब्या हुन्न कहिलेसम्म यस्तै गर्ने ?” पूर्णबहादुरको प्रश्नको जवाफ चन्द्रकली मात्रै होइन, कसैसँग पनि छैन । पूर्णबहादुर कल्याल ठकुरी हो, चन्द्रकली रास्कोटी । यी दुई जातिको विवाह राउटेमा सम्भव नै छैन, उनीहरूको उमेरका राउटेमा अर्का जातिका कोही पनि छैनन् । “आब जिन्नगी यस्तै काट्ने हो र ?” एउटै मन भएपछि सवाल पनि एउटै हुँदो रहेछ । 

“भागी गैजाऔं,” पूर्णबहादुरको प्रस्ताव सुन्नैबित्तिकै चन्द्रकलीले मन मीठो बनाएर खुट्टा उचालेकै हो । तर जाने कहाँ ? अर्को प्रश्नको जवाफै नभएपछि उसका खुट्टा पनि डेग चलेनन् । “सँगै हिन्या देख्नेले भन्छन्, राउटे जातिको संस्कार नफालेस्,” परिवारबाट सुनिने केही शब्दले उनीहरूलाई विचलित बनाउँथ्यो । नयाँ घरवार गर्ने मन र रहर भेरीको पानी त्यसैत्यसै बगेर जान्थ्यो । 

“भैगो आब हिन्न्या होइन,” मन साह्रै अमिलो पारेर चन्द्रकलीले भनी । उनीहरू त्यस्तो बाटो हिँड्दै थिए, जति हिँडे पनि गन्तव्य भेटिँदैनथ्यो । मुखले जति भने पनि मनले कहाँ मान्थ्यो र ? “हिन्ने हो, बरू जाँसम्म पुगिन्छ, त्यहीँसम्म जान्या हो,” पूर्णबहादुर ढाडस दिन्थ्यो । सही उपाय सोच्ने सामथ्र्य नै कहाँ थियो र उसको । “राउट्या कोखामा जन्माए, अनि ब्या पनि गर्न नमिल्ने भयो, अभाग रैछ हाम्रो,” दुःख साटेर केही क्षण मन बुझाउन सजिलो हुन्थ्यो उनीहरूलाई । 

माघको जाडो हिँड्नहिँड्न आँटेको थियो । बस्तीमा बिहेको रौनक थियो । जबजब बिहेको खबरले बस्ती उज्यालो हुन्थ्यो । चन्द्रकली र पूर्णबहादुरको मनमा पीडाको बादल मडारिन्थ्यो । सबै मिलेर बिहेमा मीठोमसिनो खानका लागि जङ्गलतिर हिँडे केही खोज्न । जङ्गल जाँदा प्रायः उनीहरू निकै रमाउँथे । भीडमा को कतातिर छ, कसैलाई थाहै हुँदैनथ्यो । उनीहरू पनि समूहमा मिसिएर गएका थिए । 

सबैले देख्ने गरी माया पोख्ने वैध सम्बन्ध नै थिएन उनीहरूको । माया त मुखले भन्दा पनि आँखाले पोखेको पो राम्रो । उनीहरू पनि आँखाले अनेक शब्दहरू फलाकिरहे । सबै सामु हुँदा कसैले थाहा नपाउने गरी माया गर्नुको आनन्द उनीहरूले लिइरहेका थिए । बाटो काटेको थाहै भएन । 

घना जङ्गलका बीचमा सबैको बाटो फरकफरक । कोही बाँदर खोज्दै थिए । कोही गिठाभ्याकुर । सबै आआफ्नै तरिकाले छुट्टिँदा उनीहरू एक्लै परे । खोजेको पनि त्यही थियो । 

पहिलो पटक बस्तीबाट सुनसान ठाउँमा थिए उनीहरू । आँखाले मात्रै माया गर्दा गर्दा साह्रै थाकेका थिए । “कोइ आया भने देख्दा नि,” चन्द्रकलीको मुखबाट त्योभन्दा बढी शब्द फुस्केन । “देख्या भने आँखा चिम्लेर जान्छ,” होटलको टिभीमा देखाएको भन्दा पनि गहिरो प्रेम गर्न थाल्यो पूर्णबहादुरले । पहिलो पटक कुनै पुरूषको मीठो स्पर्शले चन्द्रकला आनन्दित भई । उसको २५ वर्षे जिन्दगीका लागि यो नै सबैभन्दा आनन्दित पल थियो । मिल्ने भए यही पललाई “पज” गरेर जिन्दगीभर बाँच्ने थिई ऊ । उसले आफ्नो धपक्क बलेको शरीर आफसँग राखिन ।

बस्तीमा बिहेको रमझम थियो । उनीहरूभन्दा १२ वर्ष सानाको बिहे हुँदै थियो । दुवैले एकअर्का बेहुलाबेहुली भएको कल्पना मात्रै गर्न सक्थे । त्यही गरे उनीहरूले । जङ्गलको बसाइपछि चन्द्रकली अलि उज्याली भएकी थिई । शरीरका एकएक अङ्गको महत्वबोध गरेकी थिई । पहिलो पटक उसले आफ्नो शरीरबाट बिनाको सुवास महसुस गरी । “हिन गैजाऊँ, जे हुन्छ हुन्छ,” पूर्णबहादुरले मन राखिदिन बेलाबेला चन्द्रकलीलाई भनिरहन्थ्यो । चन्द्रकली आँसुले जवाफ फर्काउँथी, “देउताले नै बाँझै बस भनेसि हामीले मन गरेर के हुन्छ र ?” उनीहरूको सम्बन्ध जस्तै हरेक सवालको जवाफ केवल सवालमै हुन्थ्यो । 

चन्द्रकलाको बाहिर सर्ने रोकियो । दुई महिनासम्म पनि भएन । बाहिर सर्ने रोकिँदा राउटे बस्तीमा उत्सव मनाउँथे । तर यो घटना फरक थियो । चन्द्रकलीको साँघुरो दिमागले जीवनको आयतन कसरी फैलाउने सोच्नै सकेन । पूर्णबहादुरसँग पनि उपाय के थियो र ? 

जीवनमा एउटै बाटो हिँड्ने, एउटै पालमा ओतिने कति धेरै सपना थियो । “अब मर्ने हो, नत्र मार्छन्,” मुटु एकै ठाउँमा जोडिए जस्तै जीवनको सवाल पनि एउटै ठाउँमा जोडिएको थियो । अरूलाई जस्तो घर छाडेर हिँड्ने, बस्ती छाडेर हिँड्ने उनीहरूलाई अवसर कहाँ थियो र ? 

बस्तीभरि सबैका बारेमा सोच्थे मुखियाहरू । उनीहरूका बारेमा भने कसैले पनि सोचेन । सोच्नुपर्छ भन्ने पनि सोचेन । ओइलाउँदै जान थालेको उनीहरूको यौवनको आवेग महसुस गर्ने मन कहीँ भेटिएन । तर पनि बस्ती छाडेर हिँड्ने साहस थिएन, उनीहरूको । “कस्ता अभागी रैछन् राउट्या सन्तानको पनि जन्ती नहुने भयो,” बस्तीभरि उनीहरूबारे मन दुखाउने कुरा मात्रै सुनाउँथे । 

“आब त धेरै भयो, सबैले थाहा पाउँछन्,” उनीहरूको डर निरन्तर बढिरहेको थियो । पेट ठूलो नदेखियोस् भनेर उसले बाक्लो बनाएर पटुका लगाउथी । उनीहरूलाई बस्तीबाट निकाले जाने कहीँ पनि ठाउँ थिएन । एउटै समूहमा बस्ने उनीहरूको जातिको उर्दी थियो । कोही पनि बस्तीभन्दा अलग बस्न सक्दैनथे, हिम्मत पनि गर्दैनथे । राउटे समुदायमा विद्रोह गरेर अलग बस्न चेतनाको कहाँ विकास भएको छ र ?

जीवनको लामो बाटोमा उनीहरू यस्तो मोडमा आएका थिए, जहाँबाट मोडिन सम्भवै थिएन । बस्, भीरबाट हाम्फाल्नुभन्दा उनीहरूको विकल्प केही थिएन । मनको पीडा पोख्नसमेत उनीहरूलाई वर्जित थियो । जङ्गलमा हराएको निहुँमा मुखियाले उनीहरूलाई बोल्नसमेत प्रतिबन्ध लगाएका थिए । माया जति जेल हुँदै जान्छ, त्यति फुकिँदै जाँदो रहेछ । कसैले बोलेर माया नगर भन्दैमा मनले कहाँ आदेश पालना गर्न सक्छ र ? उनीहरूको मनले पनि आदेश पालना गर्ने कुनै उपाय थिएन । 

०००

खोलाको धारले बाटो बदलेपछि राउटेहरूले बस्ती बदल्ने तरखर गर्दै थिए । उनी दुईलाई खोलाको धारको कुनै पनि पर्वाह जो थिएन । “मर्नेभन्दा अब केही हुन्न,” एक दिन एक पल जीवन बाँच्न खोज्दा उनीहरूले सारा जीवन त्याग्नुपर्ने थियो । राउटे जातिमा बिहे नगर्न मिल्ने जातले अवैध सम्बन्ध राखे जे पनि हुन सक्थ्यो । विद्रोह गर्ने आँट थिएन, बाँच्ने उपाय थिएन । 

मुखियाका आदेश पालना गरेर सबैले पाल बाँध्दै थिए । उनीहरूको भने आफ्नै सुर्ता थियो । चन्द्रकलीले पूर्णबहादुरलाई बेस्सरी च्यापी अनि रोइरही । मनले केके न भन्छु भन्ने सोच्दथी र त आवाजै आउँदैनथ्यो । आँखाले सबै बोलिरहेका हुन्थे । 

“छाडी जाऊँ भेरी तर्न सक्ने होइन, मरी जाऊँ, मर्न सक्ने होइन,” चन्द्रकलीले मन धोई, “नमिल्ने ठाउँमा त माया पनि नलागेको भए हुने, एक्लै भए पनि मर्नुपर्दैनथ्यो,” पूर्णबहादुरसँग बोल्न सक्ने केही शब्द थिएन । जीवनको एक पल आज उनीहरूका लागि भारी भएको थियो । “मैले नगर्‍या भए हुने,” पूर्णबहादुर पश्चात्ताप गथ्र्यो । 

“भैगो, केही पनि थाहा नपाएर बाँझो जीवन बितौनुभन्दा त मया गरेर, जीवन भोगेर अलिकति बाँचेको राम्रो,” चन्द्रकलीले अक्षर चिन्दिनथी । तर अक्षर लेख्नेहरूभन्दा पनि गहिरो दार्शनिकता थियो ऊभित्र । एकअर्काको दुःख सुनेर रूनुभन्दा के नै थियो र ? विकल्प केही नभए पनि उनीहरूले विकल्प खोजिरहे । बस्तीका मान्छेले सबै कुम्लो बाँधेर हिँड्नुभन्दा अगाडि एउटा निष्कर्षमा पुगे । 

राउटेको सबै जत्था उकालो लाग्दै गर्दा उनीहरूले उर्लिएर आएको भेरीको नदी तर्न थाले । वरबाट सबै राउटे कराउँदै थिए, “त्यहाँ नजान्या हो, नजान्या हो ।” उनीहरूले आफूले गरेको निर्णयभन्दा पर केही पनि सुनेनन् । एकअर्काको हात बलियोसँग समातेर भेरी नदीमा हामफाले । भेरी पार गरे नयाँ जिन्दगी बाँच्ने, नगरे सँगै जाने । भेरीको बीचबीचमा पुगेका बेला उनीहरूले नदीको बहाव थेग्न सकेनन् । नदीले बगाउनै लाग्दा पूर्णबहादुरले टिभीमा जस्तै चन्द्रकलीलाई माया गर्‍यो । सबै राउटेहरूले हेरिरहेका थिए, तर पनि कुनै धक नमानी चन्द्रकलीले उस्तै गरी माया फर्काई । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  १०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC