चुनाव र प्रजातन्त्र फरकफरक विषय हुन् । चुनाव माध्यम हो भने प्रजातन्त्र एउटा पद्घति । तर, हामीकहाँ चुनाव नै प्रजातन्त्रको पर्याय भएको छ ।
जतिसुकै डर त्रास धम्की, बुथ कब्जा तथा फौजदारी अपराध गरे पनि चुनाव भएपछि प्रजातन्त्र स्वतः स्थापित हुनेजस्तो सतही तर्क गरिँदै आएको छ हाम्रो समाजमा । पञ्चायत कालमा भएको चुनाव, बहुदल आएपछिको चुनाव र गणतन्त्र स्थापना भएपछिको चुनाव, सबै चुनाव प्रजातान्त्रिक कहलिए, प्रजातन्त्रका पर्याय भए । हामी यसैमा अभ्यस्त भयौँ ।
सभ्य संस्कारको विकासविना गरिने यस्ता आवधिक चुनावले हदै भए नयाँ शासक जन्माउने गर्छ । यस्तो शासकले नागरिकको अधिकारमाथि शक्तिको बुठले कुल्चँदै अन्ततः प्रजातन्त्रको आवरणमा अतिवादको बीउ रोप्छ भन्नेमा हामी मूकदर्शक बन्दै गयौं । नागरिकले मतपत्रमा छाप हान्नुभन्दा बाहिर निस्केर प्रजातन्त्रलाई हेर्ने संस्कार बनेन ।
हालै सम्पन्न स्थानीय निकायको पहिलो चरणको चुनावमा प्रदर्शित कैयौं गतिविधि अलोकतान्त्रिक तथा अमर्यादित देखिए । चुनावका मुखमा र परिणाम सार्वजनिक भइरहेका अवस्थासम्म हामीले देखाएका अनगिन्ती हर्कत प्रजातान्त्रिक अभ्यासजस्ता पनि देखिएन् ।
चुनावको बेला मतदातामा अवाञ्छित प्रभाव पार्ने, शक्ति र स्रोतको दुरुपयोग गर्ने तथा नतिजालाई प्रभाव पार्न अमार्यादित तथा अलोकतातन्त्रिक क्रियाकलाप गर्ने गरिँदा प्रजातन्त्रको निष्पक्षतामा प्रश्न चिन्ह लगाएको देखियो ।
यस्ता गतिविधिको जगमा उभिएको परिणामले निरङकुशतालाई प्रश्रय दिन्छ, खराब संस्कारको विकास गराउँछ र समाज दीर्घकालीन रूपले प्रताडित हुनेगर्छ । नागरिकहरूमा प्रजातान्त्रिक पद्धतिप्रति नै घृणा जगाउने कार्य गर्छ ।
यस चरित्रबाट र दुःस्वप्नबाट माथि नउठ्े हो भने चुनावपछिको हाम्रो समाज खण्डित हुनसक्छ । कतै अहिले सम्पन्न चुनावबाट पनि हाम्रो सामाजिक सौहार्दमा खलल पार्ने र यसबाट सामाजिक बन्धनका जुइनाहरू कमजोर बन्ने त होइन ? यसतर्फ हामी अहिल्यैदेखि सचेत हुनु अपरिहार्य देखिन्छ । परिवार, समाज र राष्ट्रलाई खण्डित बनाउने काम वर्तमान चुनावी प्रणालीबाट हुन्छ भने हामीले एकपटक यसका सबल र दुर्बल पक्षका बारेमा बहस चलाउनु पर्ने हुन्छ । सामाजिक मेलमिलाप र पुनःएकीकरणका प्रयास गर्नुपर्ने हुन्छ । त्यसो गर्न सकिएन भने चुनावले मुलुकलाई जोड्ने छैन बरु स्थिर र भाइचाराको सम्बन्धमा स्थापित समाजलाई खण्डित प्रायः बनाउनेछ ।
एउटै घरबाट फरकफरक पार्टीका उमेदवार बन्नु नराम्रो हैन तर हामी कहाँ एक अर्का दलका सदस्यका बीचमा आपसी बोलचाल नै बन्द भएको, गालीगलौज र झैझगडा भएको, कुटपिट र अन्य मारपिटका घटना भएको देखियो अहिलेको स्थानीय चुनावमा । हामीमा अन्य पार्टीलाई सम्मान गर्ने र त्यसका समर्थकप्रति सद्भाव देखाउने परिपाटीको विकास भएको देखिँदैन । बरु, यसको ठीक उल्टो मै सही र मैले आस्था राखेको पार्टीमात्र ठीक भन्ने छाप दिनप्रतिदिन पर्दै गएको देखिन्छ । यसले हामीलाई कहीँ पु¥याउँदैन ।
राजनीतिक आस्थाकै कारण हामी अरू केही नदेख्ने हुने हो र राजनीतिक आवरणमा जे मन लाग्यो त्यही गर्ने हो भने हामी अन्धकारतर्फ उन्मुख हुनेछौ । अहिले भएको स्थानीय निकायको चुनावले हामीलाई त्यतैतर्फ डोहो¥याएजस्तो देखिँदैछ । यो नै हाम्रो दुर्भाग्य हो । स्थानीय निकायको चुनावमा नागरिकबाट यथेष्ठ सहयोग र सद्भाव दर्शाए भए पनि राजनीतिक दलका कैयौं कार्यकर्ताबाट अलोकतान्त्रिक र गैरराजनीतिक चरित्र प्रदर्शन गरियो । बुथ कब्जा, फर्जी मतदान तथा मतगणनालाई प्रभावित पार्न मतपत्र च्यात्नेसम्मका घृणित कार्यको पुनरावृत्ति यस पटकको चुनावमा पनि भयो । यो कुनै अर्थमा पनि राजनीतिक र लोकतान्त्रिक संस्कार हैन, हुन सक्तैन । राजनीतिक संस्कारविनाको प्रजातन्त्र भिडतन्त्र हो, मनपरितन्त्र हो । यसले समाजलाई नाजीवादतर्फ उन्मुख गराउँछ ।
चुनावका बेला एक आपसमा हुने अस्वस्थ प्रतिस्पर्धाले समाजका सदस्यबिचमा पानी बाराबारको अवस्था उत्पन्न गरेको देखियो । हामी कहाँ फरक राजनीतिक आस्था राख्ने व्यक्तिलाई हार्दिकतापूर्वक लिने संस्कार विकास भइसकेको देखिएन । र, चुनावका बेला यो झन् उत्कर्षमा पुगेको देखियो । आफ्नै परिवारका सदस्यका बीचमा पनि चुनावका कारण कटुता पैदा भएको देखियो । हामी कल्पना गराँै जब जेठाजुले बुहारीलाई फरक राजनीतिक अस्थाका आधारमा कुटपिट गर्छ, ज्यान मार्ने धम्की दिन्छ भने हामीले कसरी सभ्य समाजको कल्पना गर्न सक्छौँ ? यो दुर्भाग्य हो । हामी दुर्भाग्यको वरपर घुमिरहेका छौँ । यस्तो संस्कारबाट प्रशिक्षित चुनावपछि हिंसा, भ्रष्टाचार, एकाधिकार तथा निर्धामाथि दमन बढ्न सक्छ । विश्वका कैयौँ मुलुकमा चुनावपछि अल्पमतका मानिसलाई अमानवीय व्यवहार गरिएको उदाहरण प्रशस्तै छन् । हामी कतै यसै श्रेणीभित्र त पर्दैछैनौ? एक पटक स्वच्छ दिलले सोच्नुपर्ने भएको छ । चुनावमात्रले प्रजातन्त्रलाई सबल बनाउने हैन । बरु, आचरण, विचार र व्यवहारले त्यसलाई सार्थक बनाउने हो ।
चुनावलाई विकासको एकमात्र गुरु मन्त्र सम्झेर सुगा रटान गर्नु आफैँमा एक गलत हो । चुनावले प्रतिनिधिमात्र छनोट गर्ने हो । हाम्रो संस्कार बदल्ने हैन । हामी चाहिएभन्दा बढी चुनाववादी भयौँ । आफूलाई मन परेको र मन नपरेको पार्टीलाई हामीले कसरी हेरेका छौँ भन्ने यो स्थानीय चुनावका बेला हामीले सामाजिक सञ्जालमा व्यक्त गरेका विचार हेर्दा पनि प्रष्ट हुन्छ । हामी सहिष्णु रहेन छौंँ । हामी सभ्य समाज निर्माण तथा प्रजातान्त्रिक संस्कारका मामिलामा धरैपछि रहेछौ । आफूबाहेक अरूलाई मान्छे नदेख्ने पवृत्ति हामीमा धेरै रहेछ भन्ने चुनावका बेलैमा देखाइसक्यौँ ।
चुनाव जित्न अपनाइने हतकन्डा, शक्ति उन्मादबाट निस्कने प्रतिफल अलोकतान्त्रिक, व्यभिचारी, आततायी र निरङ्कुश हुनेमा शंका हुँदैन । आज हामीले अवलम्बन गरेको शक्ति निर्भर र शक्ति प्रभावित चुनावलाई नै प्रजातन्त्र मान्ने हो भने हामी विचारका दृष्टिमा लिलिपुट सिद्ध हुनेछौँ ।
प्रजातान्त्रिक संस्कारविनाको चुनाव नौटंकीमात्र हो । हामीलाई विधिको शासन चाहिएको हो । संस्कारयुक्त पद्घतिबाट छानिएका आफ्ना प्रतिनिधि चाहिएको हो । स्वाभिमान र आत्मसम्मान चाहिएको हो । तिकडम र जालझेलको अन्तर्यमा गरिएको प्रक्रियामात्र चाहिएको हैन ।
हामीलाई विकास चाहिएको छ । हामीलाई सामाजिक सद्भाव पनि चाहिएको छ । ती सबै हामीले अहिले अभ्यास गरिराखेको संस्कारविहीन आवधिक चुनावले मात्र सुनिश्चित गर्न सक्तैन ।
स्थानीय चुनावले ल्याएको सामाजिक विभाजन पुरिन अझै केही समय लाग्नेछ । हामीले व्यर्थमा आफ्ना मानिससँग झगडा गरेछौँ भनेर पछुताउने अवस्था आउने छ ।
प्रजातन्त्र पश्चिमा मुलुकहरूले तयार पारेको ‘रेडिमेड फ्रेम’मा राखिएकोे तस्बिर हैन । हामीले अहिले अभ्यास गरेको चुनाव र यसैलाई मात्र प्रजातन्त्र देख्ने हौवाले भने नागरिकको हित हुन सक्तैन । हाम्रा आचरण र प्रवृत्तिमा सुधार नआएसम्म स्वरूपमा मात्र सीमित चुनावले समाजमा विभेद र विखण्डनबाहेक अरू केही ल्याउन सक्तैन । किनभने, चुनावपछि मुलुक सप्रनेमात्र हैन बिग्रने र ध्वसंका कारण खण्डितसमेत भएका उदाहरण विश्वमा प्रशस्तै देखिएका छन् । आशा गरौँ, हामी त्यस दुश्चक्रमा कहिल्यै फस्ने छैनौ ।